राजमोको संगठनात्मक अभियान स्थगित

सचेतनाका कार्यक्रम जारी रहने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले फागुन महिनादेखि सञ्चालन गरेको संगठनात्मक अभियान स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणबाट सचेत रहन राजमोले आफ्ना सबै कार्यक्रम स्थगित गरेको जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । तर, कोरोना संक्रमणबारे जनतालाई सचेत बनाउने, नआत्तिन आग्रह गर्ने र सावधानी अपनाउन आवश्यक उपायबारे जनचेतनाका कार्यक्रम जारी रहने अध्यक्ष केसीले बताउनुभयो ।

‘जिल्ला समितिहरुले आ–आफ्नो अवस्था अनुसार के कस्तो कार्यक्रम गर्न सकिन्छ, त्यसबारे आफै निर्णय गर्नेछन्’ केसीले युगदर्शनसँग भन्नुभयो, ‘धेरै भिडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न र जनतालाई सचेत बनाउन साथीहरुसँग आग्रह गरेका छौं ।’

अध्यक्ष केसीले पार्टीका नेता कार्यकर्ताहरुलाई जनताका बिचमा जान र कोरोना संक्रमणबारे सचेतना फैलाउन पनि आग्रह गर्नुभएको छ । उहाँले संकटको अवस्थामा कसैलाई पनि नआत्तिन र जनतामा पनि त्यही सन्देश फैलाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाले गत फागुन महिनाभर देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा सदस्यता वितरण, प्रशिक्षण र संगठन निर्माण गरिएको छ । हजारौंले राजमोको सदस्यता लिएका छन् भने विभिन्न पार्टी परित्याग गरी सयौं जना राजमोमा प्रवेश गरेका छन् ।

फागुन महिनाको अभियानबाट उत्साहित भएर राजमोले चैत महिनामा पनि संगठनात्मक अभियानलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, विश्वप्यापी फैलिएको कोरोना संक्रमणका कारण संगठनात्मक अभियानलाई पनि स्थगित गरिएको राजमोले जनाएको छ ।

यसै सन्दर्भमा अध्यक्ष केसीले आइतबार एक वक्तव्यसमेत प्रकाशित गर्नुभएको छ । वक्तव्यमा भनिएको छः
राष्ट्रिय जनमोर्चाले फागुन महिनाका लागि देशव्यापी रुपमा संगठनात्मक अभियान सञ्चालन गरेको थियो र त्यो भव्य रुपले सम्पन्न भएको छ । त्यो अभियानलाई राष्ट्रिय जनमोर्चा, बिभिन्न जनवर्गीय संगठनहरुका कार्यकर्ताहरु तथा अन्य समर्थक, शुभेच्छुक र जनताको समेत व्यापक सहयोग प्राप्त भएको थियो । त्यसका लागि हामीले उहा“हरु सबैप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौ“ ।

चैत्र महिनामा पनि हामीले उक्त संगठनात्मक अभियानलाई सञ्चालन गर्ने निर्णय गरेका थियौं र त्यसको देशव्यापी रुपमा तयारी पनि भइरहेको थियो । तर कोरोना भाइरसको विश्वव्यापी खतरा र त्यसको नेपालमा परेको असर र त्रास समेतमाथि ध्यान दिंदै हाम्रो पार्टीले चैत्र महिनाको संगठनात्मक अभियानलाई स्थगित गर्ने निर्णय गरेको छ । तर सामान्य रुपमा स्थानीय परिस्थितिमाथि ध्यान दिंदै संगठन निर्माणका सामान्य कामहरु चलिरहने छन् । तर राष्ट्रिय रुपमा चलेको अभियान भने हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौ“ ।

संगठनात्मक अभियानको कार्यक्रमलाई स्थगित गरेपनि कोरोना भाइरसको सम्भावित खतरामाथि ध्यान दिंदै त्यसबारे जनतामा व्यापक चेतना दिने र त्यसबाट बच्न जनतामा उच्च प्रकारको शतर्कता दिने काममा हामी लाग्नुपर्नेछ र त्यसो गर्नु अहिलेको हाम्रो राष्ट्रिय दायित्व पनि भएको छ । त्यसका लागि हामीले व्यापक रुपमा जनताका बीचमा जानका लागि आफ्ना सबै कार्यकर्ता र समर्थकहरुसित पनि अपील गर्दछौं ।
आज विश्वमा देखा परेको कोरना भाइरस र नेपालमा पनि त्यसको सम्भावित खतराका विरुद्ध लड्नु सबै देशवासीको कत्र्तव्य हुन गएको छ । हामीले सरकार वा गैरसरकार वा कुनै प्रकारको भेदभाव नगरिकन व्यापक एकता कायम गरेर त्यो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै पक्षहरुसित अपील गर्दछौं ।

आज विश्वव्यापी रुपमा कोरोना भाइरसको जति ठूलो खतरा देखा परेको भएपनि र त्यो कारणले नेपालमा जति ठूलो डर, त्रास पैदा भएको भएपनि त्यो अस्थायी कुरा हो र त्यसमाथि हामीले विजय प्राप्त गर्न सक्नेछौ“ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । त्यसकारण अहिले देखा परेको कोरोना भाइरसको खतरा जति गम्भीर प्रकारको भएपनि हामीले अलिकति पनि नडराइकन दृढतापूर्वक र कुशलतापूर्वक त्यसको सामना गर्नुपर्दछ र अन्तमा त्यसमाथि विजय प्राप्त हुने छ भन्ने कुरामा हामीले सम्पूर्ण जनतालाई विश्वास दिलाउन चाहन्छौ  ।“ 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार