राजमो अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो ।

अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिनुभएको छ । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताउनुभयो ।

‘देश विदेशबाट मेरो स्वास्थ्यप्रति चासो राख्नुहुने पार्टीका साथीहरु, शुभचिन्तक, विभिन्न पार्टीका नेताकार्यकर्ता र सबै जनताप्रति आभारी छु’ केसीले युगदर्शनसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘सबै शुभचिन्तक र खासगरी उपचारमा संलग्न चिकित्सक तथा नर्सहरुप्रति धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष केसी पेटको दीर्घकालिन रोगले ग्रस्त भएसँगै निमोनिया र डायरियाबाट पीडित भएपछि अघिल्लो मंगलबार पाटनको मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँलाई अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार