राजमो अध्यक्ष चित्र बहादुर केसी भन्नुहुन्छ : प्रतिगमनको खतरा टरिसकेको छैन

  •   
  •  
  •  
  •  
  •  
  •  

1270 जनाले पढ्नु भयो ।

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनको खतरा अझै टरिनसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– ‘नेपालमा पटक पटक संसद विघटन गरेर देशको राजनीतिलाई अस्थिर बनाउन देशीविदेशी शक्तिको चाहना तत्कालको लागि रोकिएको छ, तापनि प्रतिगमनको खतरा टरिसकेको छैन ।’

अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीद्वारा आयाजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनाको फैसलाको स्वागत गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अझै पनि प्रतिगामी शक्तिहरू मिलेर अगाडि बढ्न आवश्यक छ ।’

‘पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि छ’ उहाँले अगाडि भन्नुभयो– ‘गणतन्त्रको संस्थागत विकास भइनसकेको हुनाले त्यसको संस्थागत विकास लागि सङ्घर्षको आवश्यकता त्यत्तिकै छ ।’

उहाँले राजनीति गर्ने व्यक्ति वा संस्थाले दूरगामी सोचाइ राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘तत्कालको फाइदा लिने कुरा सोचेर राजनीति गर्दा कतै नपुगिने निश्चित छ’ उहाँले भन्नुभयो ।

सम्बोधनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै अध्यक्ष केसीले भन्नुभयो– ‘तपाईंहरू सुध्रिनुभएन भने जनताले छोडनेवाला छैनन् ।’

अन्तरक्रियामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले “संसद पुनःस्थापनापछि विकसित देशको राजनीतिक परिस्थिति र हाम्रो दायित्व” विषयक आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बुद्धिजीवी सङ्घका केन्द्रीय अध्यक्ष प्राडा श्रीधर गौतम, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोका, नेपाली काङ्ग्रेसका नेता हरि नेपाल, नेकपा (क्रान्तिकारी–माओवादी) का नेता प्रेम सुवेदी, नेकपा (माओवादी–केन्द्र) का नेता कुलप्रसाद केसी र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता बुद्धिजीवी सङ्घका जिल्लाध्यक्ष प्रा लिलबहादुर केसीले र सञ्चालन जिल्ला सचिव गोपालप्रसाद गैरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *