राजमो गण्डकी प्रदेश संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाइयो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभामा संसदीय दलको नेता पदबाट हटाएको छ ।

महासचिव मनोज भट्टको हस्ताक्षरमा गण्डकी प्रदेशसभाका सभामुखलाई पठाइएको पत्रमा सो जानकारी दिइएको हो ।

आफै संलग्न रहेको २०७८ वैशाख १० गतेको राजमो केन्द्रको बैठक तथा २०७८ वैशाख १२ गते राजमो गण्डकी प्रदेश संसदीय दलको बैठकको निर्णय विपरीत उभिएपछि कृष्ण थापालाई सो कारबाही गरिएको सभामुखलाई प्रेषित पत्रमा उल्लेख छ ।

सभामुखलाई प्रेषित पत्रको पूर्ण पाठ यस्तो छ–

“माननीय सभामुख महोदय
प्रदेशसभा सचिवालय
गण्डकी प्रदेशसभा
पोखरा, कास्की ।

विषय : दलको नेताबाट हटाइएकोबारे ।

उपर्युक्त सम्बन्धमा मिति २०७८ वैशाख १० गते माननीय कृष्ण थापासमेतको उपस्थितिमा बसेको दलको केन्द्रको एवम् मिति २०७८ वैशाख १२ गते स्वयम् माननीय कृष्ण थापाको अध्यक्षतामा बसेको राष्ट्रिय जनमोर्चााको संसदीय दलको बैठकले नेपाली काङ्ग्रेस, नेकपा (माओवादी–केन्द्र) एवम् जनता–समाजवादी पार्टीसहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरीत कामकारबाहीमा संलग्न रहनुभएकाले आज मिति २०७८ वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरीत कार्य गरेकाले तपाईंलाई संसदीय दलको नेताबाट हटाई अन्य आवश्यक कारबाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो । उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउनुभएकाले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको जुम बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाई सोको विवरण सचेतकमार्फत् संसद सचिवालयमा बुझाउने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार