राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा २१ राजनीतिक दलद्वारा आन्दोलन

प्रकाश थापा मगर

काठमाडौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा नेकपा (मसाल) सहित २१ राजनीतिक दल तथा सङ्घसंस्थाले विरोध प्रदर्शन गरेका छन् । २०७७ असोज २९ गते राजधानीको माइतीघर मण्डलामा जम्मा भएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रमको बारेमा प्रतिक्रिया दिँदै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले एमसिसीलगायत देशको राष्ट्रियता, स्वाधीनता र भ्रष्टाचारको विरुछद्ध आफूहरूले आन्दोलन चलाउँदै आएको जानकारी दिनुभयो । ‘देशको राष्ट्रियता, स्वाधीनता, भ्रष्टाचारका विरुद्ध हामीले आवाज उठाउँदै आएका छौँ’ उहाँले अगाडि भन्नुभयो– ‘लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण, एमसिसीको खारेजी र कोरोना सङ्क्रमणको सन्दर्भमा सरकारको उदासिनताबारे पनि हामीले आवाज उठाएका छौँ ।’

उहाँले गत विभिन्न समयमा कहिले नौ त, कहिले ११ हुँदै अहिले २१ राजनीतिक दल तथा सङ्घसंस्थाको आयोजनामा संयुक्त आन्दोलन चलिरहेको बताउनुभयो । कोरोना महामारीका विरुद्ध, भ्रष्टाचारको विरुद्ध तथा प्रवासी र पिछडिएका विभिन्न तहतप्काको पक्षमा सरकारले ठोस योजना बनाउन नसकेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘सरकारको यस खालको ढिलासुस्तीका विरुद्ध सशक्त आन्दोलन उठान गर्नुपर्ने आवश्यकता छ; तर अहिलेको कोरोना महामारीका कारण आन्दोलन उठान गर्न सकिएको छैन ।’ उहाँले थप्नुभयो– ‘परिस्थिति अनुकूल हुँदासाथ हामी आन्दोलन अगाडि बढाउने छौँ ।’

कार्यक्रममा वक्ताहरूले औपचारिक सम्बोधन नगरे पनि विरोधस्वरूप नाराबाजी गरिएको थियो । त्यस क्रममा सहभागीहरूले एक घण्टासम्म अतिक्रमणकारी भारतीय सेना कालपानी छोड, एमसिसी चाहिँदैन—देश बेच्न पाइँदैन, लिम्पियाधुरा–लिपुलेक समावेश भएको पाठ्यपुस्तक वितरण गर, पिसिआर टेस्ट निःशुल्क गर, कोरोनाको नाममा भएका भ्रष्टाचारका घटनाको छानबिन गर, भ्रष्टाचारीमाथि कारबाही गर, देशभक्त क्रान्तिकारी शक्तिहरू एक हौँ, २१ दलीय एकता जिन्दावादलगायतका नारा लगाइएको थियो ।

कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेकपा (क्रान्तिकारी–माओवादी) का पिबिएम दिनेश शर्मा, राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका पवनमान श्रेष्ठ, नेकपा (माले) स्थायी समितिका सदस्य डम्बर श्रेष्ठ, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर श्रेष्ठ, नेकपा (माक्र्सवादी) का अच्युत ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टीका रत्न जोशी, राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, राष्ट्रिय जागरण परिषद्का सूर्य रेग्मी, वैज्ञानिक समाजवादी पार्टीका धनकुमारी सुनार, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी) की भावना विद्रोहीलगायतका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।

विरोध प्रदर्शनको आयोजना नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसिसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार