राष्ट्रिय जनमोर्चाका नेताहरुको जिम्मेवारी हेरफेर

  •   
  •  
  •  
  •  
  •  
  •  

390 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाले केही पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । यही साउन २६ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ ।

राजमोले केन्द्रीय समितिका कोषाध्यक्ष ओमबहादुर केसीलाई कोषाध्यक्ष र केन्द्रीय समितिको सदस्यबाट हटाएको छ । रिक्त हुन आएको कोषाध्यक्ष पदमा हिमलाल पुरीलाई बैठकले चयन गरिएको छ ।

यस्तै, सचिवको जिम्मेवारी सम्हालिरहनुभएका हिमलाल पुरी कोषाध्यक्षमा चयन भएपछि रिक्त हुन आएको सचिव पद तथा रिक्त सचिवालय सदस्यमा डम्मर पुरीलाई चयन गरिएको छ ।

शुक्रबार अध्यक्ष केसीले प्रेशित गर्नुभएको वक्तव्यमा यो बैठक मुख्यतः पार्टीका आन्तरिक कामहरुबारे विचार गर्न बसेको जनाउनुभएको छ ।

यस्तो छ वक्तव्यः

‘राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आकस्मिक बैठक २०७७ साउन २६ गते काठमाडौंमा बसेको थियो । यो बैठक मुख्यतः पार्टीका आन्तरिक कामहरुबारे विचार गर्न बसेको हो । बैठकले गरेका निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

१. कोरोना संक्रमण तीब्ररुपमा बढेको छ । भारतका अति कोरोना संक्रमित प्रदेशहरु बिहार र उत्तर प्रदेशबाट अनियमित तरिकाले आवतजावत हुँदा नेपालमा पनि ठूलो संख्यामा कोरोना संक्रमण बढेको छ । त्यसलाई रोक्न वा आवतजावतमा कडाइपूर्वक नियमन गर्न अति आवश्यक छ । तेस्रो मुलुकहरुमा अलपत्र परेका र रोजगारी गुमाएका नेपालीहरुलाई देशमा ल्याउन र उनीहरुको परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्थालाई कडाईपूर्वक लागु गर्नुपर्छ । कोरोना संक्रमणको रोकथाम तथा उपचार गर्न सरकारी तथा स्थानीय तहको कार्य एकदम अपर्याप्त छ । पीसिआर परीक्षण, औषधि उपकरण, उपचार, आइसोलेसन र क्वारेन्टाइनको राम्रो र पर्याप्त व्यवस्था छैन । सामाजिक दूरी कायम गर्ने कुराप्रति हेलचेक्र्याई हुने गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने वा पौष्टिक आहार पनि जनस्तरमा उपलब्ध छैन । अनियमितता र भ्रष्टार बढेको छ मानिसको जनजीवन अत्यन्त कष्टकर बनेको छ । उद्योग, व्यवसाय, व्यापार, कृषि, पर्यटन आदि संकटपूर्ण अवस्थामा छन् । रोजगारी गुमेको छ । महंगी बढेको छ । यो स्थितिमा कोरोना संक्रमणले गम्भीर रुपलिदै गएको छ । यो गम्भीरतालाई ध्यान दिई हामीले उपरोक्त विषयहरुमा रखवारी गर्न र जनताको सेवा गर्न राष्ट्रिय जनमोर्चाका सबै समिति र सदस्य कामरेडहरुसँग अनुरोध गरेका छौँ । यो स्थितिमा मुख्य जिम्मेवारी सरकारको हो । तसर्थ, हामीले यसतर्फ सरकारको ध्यानाआकृष्ट गर्न र समस्या समाधान गर्न जोड दिन्छौँ ।

२. बैठकले राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका कोषाध्यक्ष का. ओमबहादुर केसीलाई कोषाध्यक्ष र केन्द्रीय समितिको सदस्यबाट हटाएको छ । रिक्त हुन आएको कोषाध्यक्ष पदमा का. हिमलाल पुरीलाई बैठकले चयन गरेको छ । सचिवको जिम्मेवारी सम्हालिरहनु भएको का. हिमलाल पुरी कोषाध्यक्षमा चयन भएपछि रिक्त हुन आएको सचिव पद तथा रिक्त सचिवालय सदस्यमा का. डम्मर पुरीलाई चयन गरेको छ ।

३. राष्ट्रिय जनमोर्चाले जितेका वा प्रतिनिधित्व गरेका गाउँपालिका, नगरपालिका तथा जिल्लाको कार्यको मूल्यांकन र अनुगमन गर्ने निर्णय यस अघि नै भएको थियो । त्यस अनुसार बागलुङ जिल्लाको बरेड गाउँपालिका तथा गुग्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाका लागि का. भैरव रेग्मी, प्यूठान जिल्लाको झिमरुक गाउँपालिका तथा मल्लरानी गाउँपालिकाका लागि का. हिमलाल पुरी, स्वर्गद्वारी तथा ऐरावती गाउँपालिकाहरुका वडाहरुका लागि का। मनोज भट्ट र अर्घाखाँची तथा नवलपुर जिल्लाहरुका वडाहरुका लागि का. सुरेश थापालाई ठेगान गरिएको छ ।

४. राष्ट्रिय जनमोर्चाको २०७६ फागुन महिनामा संगठन विस्तार अभियानमा सदस्यता वितरण भएको थियो । चैत्रमा बाँकी रहेका स्थानमा सदस्यता वितरण गर्ने र स्थानीय समितिहरुको गठन पुनर्गठन गर्ने कार्यक्रम बनेको थियो । कोरोना संक्रमण र लकडाउनका कारणले त्यो कार्य गर्न सम्भव भएको थिएन । अहिले पनि बाँकी स्थानमा सदस्यता वितरण गर्न सम्भव हुँदैन । तर सुरक्षात्मक उपायहरु अपनाउँदै अनलाइन बैठक बस्ने र समिति गठन पुनर्गठन गर्ने निर्णय भएको छ ।

५. गए राति र आज बिहानपख सिन्धुपाल्चोक र कालिकोटमा पहिरो जादा धेरै धन–जनको क्षति भएको छ । कैयन व्यक्तिहरु बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु हुनेहरु प्रति श्रद्धाञ्जली तथा मृतकका आफन्तजनहरुप्रति समवेदना प्रकट गर्दछौँ । बेपत्ता भएकाहरुको तत्काल खोजी गर्न र दुवै ठाउँहरुका पीडितहरुलाई उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछौँ । कोरोनाको कारणले उक्त उद्धार कार्य तथा राहत दिने कार्यमा ढिलाई नगर्न पनि जोड दिन चाहन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *