राष्ट्रिय जनमोर्चाको चेतावनी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा भङ्ग गर्ने षड्यन्त्रमा नलाग्न गण्डकी प्रदेश प्रमुखलाई चेतावनी दिएको छ ।

राजमोले भनेको छ– “प्रदेश प्रमुखले हाम्रा सांसद तथा विपक्षी गठबन्धनका सांसदसहितले गरेको हस्ताक्षरलाई त्यस कार्यालयका कर्मचारीको रोहबरमा सनाखतसमेत गरिसकेको अवस्थामा र विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगिसकेको हुनाले पनि प्रदेश प्रमुखले अविलम्ब विपक्षी गठबन्धनको नेतालाई मुख्यमन्त्रीको रूपमा नियुक्ति गर्न तथा सत्तापक्षसँग साँठगाँठ गरी कुनै पनि प्रकारले जननिर्वाचित प्रदेशसभालाई भङ्ग गर्ने षड्यन्त्रमा नलाग्नसमेत प्रदेश प्रमुखलाई चेतावनी दिन चाहन्छौँ ।”

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ जेठ २९ गते जारी प्रेसवक्तव्यमा सो चेतावनी दिइएको हो ।

बहुमत सांसदहरूले सरकार निर्माणका लागि हस्ताक्षर बुझाइरहेको र कार्यालयका कर्मचारीले सनाखत गरिसकेका बेला प्रदेश प्रमुखको पछिल्ला गतिविधिबारे राजमोले यस्तो धारणा व्यक्त गरेको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“नेपालको संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गतको सरकार गठनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चाको पनि सहमति र समर्थन रहेको ब्यहोराको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको कुरा विभिन्न सञ्चार माध्यमद्वारा जानकारी हुन आएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गतको सरकार गठनका लागि राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अनाधीकृत रूपमा संसदीय दलको नेताको हैसियतले पृथ्वीसुब्बा गुरुङलाई समर्थन गरेको कुरासमेत जानकारी हुन आएको छ । पृथ्वीसुब्बा गुरुङको सरकारको बहिर्गमनका लागि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलले जारी गरेको ह्विप उल्लङ्घन गरेकै कारण कृष्ण थापालाई दुईदुई पटक सांसद पदबाट हटाई स्थान रिक्त गराएको कुरा सबैलाई जगजाहेर नै छ । स्वयम् गण्डकी प्रदेशसभाले पनि २०७८ जेठ २८ गते नै कृष्ण थापालाई पदबाट हटाई स्थान रिक्त रहेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको अवस्थामा सांसद नै नभएको व्यक्तिको नामबाट संसदीय दलको नेताको रूपमा प्रदेश प्रमुखकहाँ आÇनो समर्थन पृथ्वीसुब्बा गुरुङलाई रहेको भनेर दिएको निवेदन स्वतः झुटा र कपोलकल्पित रहेको छ । त्यसको भ्रममा नपर्न तथा नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दललाई पनि अनाधीकृत रूपमा राष्ट्रिय जनमोर्चाको पृथ्वीसुब्बा गुरुङलाई समर्थन रहेको भनेर सांसद नै नभएको व्यक्तिलाई प्रयोग गरी झुटा निवदेन दिन लगाउने कार्य निन्दनीय र भ्रत्र्सनीय छ ।

हाम्रो दलको समर्थन नेकपा (एमाले) इतरको विपक्षी गठबन्धनलाई रहेको र हाम्रा सांसदहरूले विपक्षी गठबन्धनको सदस्यलाई मुख्यमन्त्री बनाउन समर्थन तथा सहमति दिइसकेको जानकारी गराउन चाहन्छौँ । प्रदेश प्रमुखले हाम्रा सांसद तथा विपक्षी गठबन्धनका सांसदसहितले गरेको हस्ताक्षरलाई त्यस कार्यालयका कर्मचारीको रोहबरमा सनाखतसमेत गरिसकेको अवस्थामा र विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगिसकेको हुनाले पनि प्रदेश प्रमुखले अविलम्ब विपक्षी गठबन्धनको नेतालाई मुख्यमन्त्रीको रूपमा नियुक्ति गर्न तथा सत्तापक्षसँग साँठगाँठ गरी कुनै पनि प्रकारले जननिर्वाचित प्रदेशसभालाई भङ्ग गर्ने षड्यन्त्रमा नलाग्नसमेत प्रदेश प्रमुखलाई चेतावनी दिन चाहन्छौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार