राष्ट्रिय जनमोर्चाको पार्टीस्कुलमा एक दशक

  •   
  •  
  •  
  •  
  •  
  •  

169 जनाले पढ्नु भयो ।

२०६२–६३ को जनआन्दोलनको उल्लासमय वातावरण कायमै थियो । देशमा गणतन्त्र स्थापित भई प्रथम पटक राष्ट्रपति र उपराष्ट्रपतिसमेतको चुनाव भइसकेको थियो । गणतन्त्र आए पनि बुर्जुवा गणतन्त्र नै थियो । गणतन्त्रको उपयोग गर्दै जनवादी गणतन्त्र स्थापना गर्न आफ्ना कार्यकर्तालाई राजनैतिक चेतनास्तर उच्च बनाउने पहिलो काम राष्ट्रिय जनमोर्चाको अगाडि खडा भएको महशुस गरेर पार्टीस्कुलको उद्घाटन भयो ।

२०६५ साउन २१ गतेका दिन उद्घाटन भएको स्कुलमा देशका विभिन्न जिल्ला र विदेशसमेतबाट २५ जिल्लाका ४० जना प्रशिक्षार्थी सहभागी भएका थिए । देशविदेशबाट सहभागी भएका प्रशिक्षार्थीमा जोशजाँगर र उत्साहसहित आमूल परिवर्तनको पक्षमा काम गर्न आवश्यक पर्ने राजनीतिक चेतनास्तर माथि उठाउने एउटा मात्र उद्देश्यले काम गरेको थियो । दुई महिनासम्म चलेको उक्त पहिलो सत्रको प्रशिक्षणमा ४२ जना प्रशिक्षकले प्रशिक्षण दिएका थियौँ ।

आफ्नो स्थापनाकालदेखि नै प्रशिक्षण कार्यक्रममा जोड दिने राष्ट्रिय जनमोर्चाले औपचारिक रूपमा प्रशिक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको यो पहिलो पटक थियो । त्योभन्दा पहिलेका प्रशिक्षण कार्यक्रम ३ दिन, ५ दिनको कार्यक्रम जिल्लाले आयोजना गरेर केन्द्रबाट प्रशिक्षक झिकाई दिने गरिन्थ्यो । १० दिनभन्दा बढी समयको प्रशिक्षण आयोजना गर्दा धेरै जना प्रशिक्षक चाहिने र प्रशिक्षक पठाउन र पाउन दुवै पक्षलाई कठिन हुने भएकाले सम्भव भएको थिएन । शारीरिक तालिमसहितको प्रशिक्षण भने शारीरिक प्रशिक्षक एक जनाले पनि दिन सक्ने हुनाले ठाउँठाउँमा आयोजना हुने गर्दथे । एक जना मुख्य प्रशिक्षक र १÷२ जना सहायक प्रशिक्षक भएमा १०–१५ दिनसम्मको शारीरिक प्रशिक्षण सञ्चालन हुन सक्दथ्यो र हुने पनि गर्दथ्यो । सैद्धान्तिक प्रशिक्षणका लागि विषयविज्ञ प्रशिक्षक धेरै चाहिने हुनाले सञ्चालन गर्न सामान्य तयारीले पुग्दैनथ्यो ।

घना सङ्गठन भएका प्युठान, बागलुङ, अर्घाखाँची, दाङ आदि जिल्लाका धेरै क्षेत्रमा धेरै प्रशिक्षण कार्यक्रम सञ्चालन हुने गरेका थिए । जिल्लाले एकै पटक एक महिनाको प्रशिक्षण कार्यक्रम आयोजना गरेर १–२ जना प्रशिक्षक केन्द्रबाट बोलाउन र ३–५ दिनका घुम्ती प्रशिक्षण जिल्लाका विभिन्न एरियामा क्रमैसँग सञ्चालन गर्ने काम पनि धेरै भइसकेका थिए । ती प्रशिक्षणको अभ्यासले केन्द्रमा १–२ महिनाका प्रशिक्षण सञ्चालन गर्ने आधार तयार पार्ने काम गरे ।

पार्टीले आफ्नो भूमिगत अवस्थामा समेत भारतमा १५ दिनको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र देशभित्रबाट खर्च व्यवस्था गरेर भारत गई आफ्नो मेसमा प्रशिक्षकसमेतलाई सहभागी बनाएर प्रशिक्षण लिई देशमा आएर राजनैतिक गतिविधि सञ्चालन गर्ने कामले समेत देशभित्रै १–२ महिनाका प्रशिक्षण गर्ने आधार तयार पारेको थियो । अनौठो कहाँ छ भने देशका अवसरवादी राजनैतिक पार्टीले राजनीति गर्नेको नाममा राज्यकोषमा आफ्ना पहुँच पु¥याएर रकम आफन्तमा बाँड्ने अभ्यास गरेको हुनाले राजनीति त गर्ने काम पो हो, पढ्ने काम पनि राजनीति हुन सक्छ र ? यस्ता प्रश्न धेरैले उठाएको अनुभव पनि हामीसँग छ । जेजस्ता अप्ठ्यारा र कठिनाइ आइपरे पनि राष्ट्रिय जनमोर्चाले आफ्नो प्रारम्भदेखि नै प्रशिक्षणमा जोड दिने काम गर्दै रह्यो ।

देशमा सामन्ती शासन सञ्चालन भएको अवस्थामा राजनैतिक दल भूमिगत अवस्थामा थिए । राजाको प्रशस्ति भट्याउने र जनताको नाममा जम्मा भएको राष्ट्रिय आम्दानी र विदेशी ऋणको रकम विभिन्न बहानामा अपारदर्शी हिसाबले खर्च गरेर आफ्नो सामन्ती चरित्र प्रदर्शन गराउने पञ्चको मुख्य जिम्मा हुन्थ्यो । जनताले राजा मान्ने, धर्म मान्ने, सामन्तलाई मान्ने, पण्डित मान्ने आदिका साथै पूजापाठ गर्ने र आफ्नो स्वर्गको स्थान सुरक्षित पार्ने काल्पनिक काम गर्दथे । त्यस्तो अवस्थामा जनताबिच समाजवाद र मजदुर वर्गको राज्यसत्ताको बारेमा विश्वस्त गराउने काम निकै कठिन थियो । रुसमा भएको समाजवादी सत्तामा प्रतिगमनपछि क्रमशः माक्र्स–एङ्गेल्स र लेनिन–स्टालिनका रचना र समाजवादको प्रचार प्रसार क्रमशः कम गर्दै पूरै बन्द गरिसकेको अवस्थामा प्रचार सामग्री उत्पादन र वितरण अत्यन्तै कठिन थियो । समाजवादको बारेमा व्यवस्थित अध्ययन–अध्यापन गराउने काम कति कठिन थियो भन्ने कुरा तलको घटनाबाट सहजै अनुमान लगाउन सकिन्छ ।

काठमाडौँको भोटाहिटीमा रुसले नेपाली भाषामा उल्था गरेर पठाएका समाजवादी व्यवस्था र समाजवादी समाजबारेमा लेखिएका पाठ्यसामग्री नाम मात्रको मूल्यमा विक्री गर्ने व्यवस्था थियो । त्यो पुस्तक दुकानमा सिभिल डे«सका सरकारी व्यक्तिले किताब किन्ने व्यक्तिको नाम, ठेगाना, उसको जिल्ला प्रहरी कार्यालयमा पठाउने र त्यो व्यक्तिको पेशामा कतै सरकारी अङ्कुश लगाउन पाउने भए पुलिस रिपोर्टमा आतङ्ककारीको लिस्ट तयार पार्ने काम हुन्थ्यो । त्यस्तो प्रतिकूल अवस्थामा पठनपाठन अत्यन्तै अप्ठ्यारो हुने भएकाले कालरात्री भने पनि हुन्थ्यो । देशमा गणतन्त्र स्थापना भएपछि स्थितिमा सुधार त भयो, तर पनि व्यवस्था त शोषणप्रधान नै हो र अवस्था पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक नै हो । खुकुलो अवस्थामा केही सजिलो भए पनि जनताबिच अवसरवादीहरूले र पैसाको चलखेलका कारण जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउने र आफ्नो मुक्ति आफैले ल्याउने अवस्थामा पु¥याउने कामका लागि लामो समय र अनुशासित पार्टी अवश्य चाहिन्छ । त्यस्तो पार्टी र त्यसमा काम गर्ने व्यक्तिको टिम तयार नपारिकन व्यवस्थित पार्टी बन्ने र आमूल परिवर्तन गर्ने कुनै हुन सक्दैन । त्यसका लागि पहिलो आवश्यकता अध्ययन–अध्यापन नै हो । अध्ययन–अध्यापन नगरिकन वर्गसङ्घर्ष र आमूल परिवर्तनको कुनै व्यावहारिक प्रयोग हुन सक्दैन । विश्वदृष्टिकोणमा आमूल परिवर्तन गर्नुपर्ने पहिलो शर्त भएको हुनाले राष्ट्रिय जनमोर्चाले पार्टीस्कुल स्थापना र सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

पहिलो पटक स्थापना र सञ्चालन गरेको गोरखपुरको पार्टीस्कुलमा देशभित्रबाट महिलाको टिम, युवकको टिम, पार्टीसदस्यको टिम र मजदुरका टिम आदि विभिन्न टिमलाई १५ दिनको प्रशिक्षणको व्यवस्था गरिएको थियो । त्यो १५ दिनमा दर्शन, अर्थशास्त्र, राजनीति र समाजवादका विषयमा ३–४ जना प्रशिक्षकले प्रशिक्षण दिने गरी व्यवस्था मिलाइएको थियो । ती टिममा सहभागी पनि धेरै हुने अवस्था थिएन । राजनीतिको प्रचार प्रसार कम भएकाले आफ्नै खर्चमा १५ दिनसम्म बसेर खाने तथा प्रशिक्षकलाई खुवाउनसमेत काम सामान्य रूपले अनुमान गरिएभन्दा बढी कठिन थियो । त्यसकारण त्यो प्रशिक्षण कार्यक्रम ३ वर्षभन्दा बढी चल्न सकेन । त्यो कार्यक्रमले वर्ग र वर्गसङ्घर्षबारे प्रारम्भिक धारणा विकास गराउन सहयोग पु¥यायो ।

देशको राजनीतिक जटिलता र माओवादीको कथित जनयुद्धसमेतले व्यवस्थित प्रशिक्षण कार्यक्रममा बाधा पु¥यायो । त्यसपछि भारतको प्रशिक्षणलाई परिवर्तन गरेर देशभित्र र भारतसमेतमा त्यहाँका सङ्गठनले आयोजना र व्यवस्थापन गर्ने गरी १–२ जना प्रशिक्षकले घुम्ती प्रशिक्षण शिविर सञ्चालन गर्ने गरियो । सामन्ती अर्थतन्त्र भएको समाज, जहाँ पुँजीवादी राज्यसत्ता स्थापना र सञ्चालन हुन नै बाँकी छ, त्यस्तो अवस्थामा समाजवादको विषयमा गरिने प्रशिक्षणले प्रशिक्षार्थीमा एउटा प्रगतिशील मनोवैज्ञानिक परिवर्तनमा त सहयोग अवश्य पु¥यायो । तर त्यो प्रशिक्षणले देशको राजनीतिक क्षेत्रमा आफ्नो स्थान सुरक्षित र बलियो बनाउन सक्ने कुरा भएन ।

राजनीति पुँजीवादतिर बढ्दै जाने, हाम्रो प्रशिक्षण पुँजीवादी व्यवस्थाको विरुद्धमा लक्षित हुने भएको हुनाले प्रतिकूलता बढ्दै गए । व्यक्तिहरूले तत्कालै उपलब्धि खोज्ने, फाइदा उठाउने र अवसरको खोजी गर्ने ठाउँ, राजनीतिक क्षेत्रलाई बनाउने र अवसरको उपयोग गर्ने, तर आमूल परिवर्तनको दीर्घकालीन कार्यक्रमको पछाडि नलाग्ने प्रवृत्ति बढ्दै गयो । तर पनि हामीले आफ्नो उद्देश्यमा दृढ रही प्रशिक्षण चलाउने काम जारी राख्यौँ । त्यसबाट वर्गीय स्वार्थ र शोषितवर्गको सङ्गठित प्रयत्नको आवश्यकताबोध हुँदै गयो । प्रशिक्षार्थीहरू टपरटुइयाँ खालका थिएनन् । सिधा सरल स्वभावका र समाजका सामान्य नागरिक नै थिए । अवसरको फाइदा उठाउन चाहानेहरू हाम्रो प्रशिक्षणमा छँदै थिएनन् भन्ने होइन तर पनि त्यस खालका व्यक्ति त्यहाँ गएर फाइदा उठाउन सकिन्छ भन्ने हिम्मत गर्ने अवस्था नै थिएन । उनीहरूलाई इमान्दारिता र आफ्नो योगदान सामूहिकताका लागि थप्नुपर्छ भन्नेसम्मको चेतनाले काम गरेको थियो ।

गणतन्त्र स्थापना भइसकेपछि अवस्थामा परिवर्तन त भयो, तर त्यो अवस्थामा पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिको मनोविज्ञानले पनि पार्टीको काममा सकारात्मक गति दिन सकेन । भूमिगत कालमा पार्टीमा काम गर्ने भनेको पार्टीका सर्कुलर भारतको सीमाबाट नेपाली सीमा र त्यहाँबाट देशका विभिन्न ठाउँमा पु¥याउने मुख्य काम थियो । त्यस्तो काम सर्वसाधारण जनताका छोराछोरीलाई भन्दा सुविधासम्पन्न सामन्तका सन्तानलाई सजिलो हुन्थ्यो । उनीहरूका यातायातका साधन घोडा हुन्थे । राजनीतिक पेशा सम्मानित पेशा थियो र जमिन्दारीबाट किसानको मिहिनेत, पसिनाको उत्पादनले सामन्तको भकारी भरिन्थ्यो । आफू उत्पादनको काममा लाग्नुपर्र्दैनथ्यो । त्यसैले त्यस्ता व्यक्तिका लागि उचित पेशा राजनीति थियो । जनतामा गरिबको पार्टी कम्युनिस्ट पार्टी हो भन्ने बुझाइ भएकाले सामन्तको सुरक्षित पेशा राजनीति थियो । तर पार्टी खुल्ला भइसकेपछि उनीहरूको स्थितिमा परिवर्तन आयो । सबै पार्टीमाथिको प्रतिबन्ध हटाइए ।

जनतामा राजनीतिक पार्टी खुल्ला भएपछि पनि सबैका अगाडि खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या खडा भएकै हुन्थे । ती समस्या समाधान गर्नु त पर्ने नै भयो । उत्पादनका साधन जग्गा र उद्योग आफ्ना नाममा भएका सीमित व्यक्ति नाफा बढी कमाउने होडमा लागे भने सामान्य किसान र सानातिना व्यापार, व्यवसाय भएका व्यक्ति विदेश गएर रोजगारी सृजना गर्नपट्टि ध्यान केन्द्रित गरे । यस्तो अवस्थामा जसरी पनि आम्दानी बढाउनुपर्छ भनने मनोविज्ञानको विकास तीव्र भयो । राजनीति पनि कमाइखाने भाँडो बनाएर अवसरवादीले राज्यसत्तामा आफ्नो पहुँच पु¥याएर राज्यको ढुकुटीबाट रकम हात पार्ने र आफ्ना अराजक कार्यकर्ताको भिड बनाउने काम पनि बढ्दै गयो । कसैले आफ्नो पक्षमा बढी मत ल्याउन राङा, खसी, कुखुरा आदि जनावर काटेर रगतमा हात राखेर प्रतिज्ञा गराउने कि हामीले भोट अन्त दिने छैनौँ । कसैले विकास निर्माण, बाटो, पुल, स्कुल, बिजुली आदि र रोजगारीको व्यवस्था गराइदिने वाचासहित आफ्नो पक्षमा बढी मत खसाल्ने होड नै चल्यो । तर राष्ट्रिय जनमोर्चाले जनताको राजनैतिक चेतना उच्च बनाउनेबाहेक अरू छोटो र सजिलो बाटो केही देखेन । त्यसका लागि राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक विषयमा प्रशिक्षण दिने व्यवस्था गर्नैपर्ने महशुस ग¥यो । तर खर्चको व्यवस्था र प्रशिक्षार्थीको व्यवस्था सजिलै समाधान हुने अवस्था पनि थिएन । एकातिर, राजनैतिक प्रशिक्षणको खाँचो महशुस भयो भने अर्कातिर, जनताको बिचमा राजनीति लैजानुपर्छ भन्ने चाहना भएका व्यक्ति पनि खोज्ने र भेट्टिने काम भयो । त्यही सिलसिलामा आफ्नो व्यक्तिगत खर्च कटौती गरेर भए पनि पार्टीस्कुल सञ्चालनका लागि निरन्तरको सिलसिलामा स्थापनासम्म र १–२ सेसनको खर्चसमेत व्यवस्थापन गर्न सहयोग गर्ने व्यक्ति पनि भेट्टिए, जसको कारणबाट पार्टीस्कुल स्थापना गर्न सम्भव भयो ।

एकपटक त यस्तो समस्या प¥यो कि घरभाडा तिर्ने रकम भएन । साथीहरू एक जना उद्योगपतिकहाँ जानैपर्ने भयो । काठमाडौँमा पानीको खाँचो असाध्यै हुने, घरबेटीकहाँ पानकिो ट्याङ्की नभएको, उद्योगपतिकहाँ गएर ५ हजार लिटरको क्षमता भएको पानी ट्याङ्की उत्पादक कम्पनीको मालिकसँग गई कुरा गर्नुपर्ने भयो । पहिलो पटक अलिकति सहुलियत दरमा दिने, दोस्रो पटक छुट रकम अलि बढाउने, तेस्रो, चौथो र पाँचौँ पटकमा ट्याङ्की पुरै दिएर सहयोग गर्नेले मात्र नपुगेर ढुवानीसमेत गरिदिने मञ्जुर गराउनुभयो । त्यसरी ट्याङ्की भाडाको घरमा पुगेपछि घरबेटीसँग फेरि २–४ पटक कुरा गरेर त्यो ट्याङ्कीको रकम भाडामा कट्टा गर्ने सहमति गरेर/गराएरसमेत समस्याको समाधान गरिएको थियो । जहाँ आवश्यकता हुन्छ, त्यहाँ समाधानको उपाय पनि निस्कन्छ भनेको शायद त्यही होला ।

अहिलेसम्म पार्टीस्कुलमा उन्नाइसौँ नियमित सेसनसम्म पूरा भएका छन् । पहिलो सेसन दुई महिनाको थियो । दोस्रो सेसनदेखि सबै सेसन एक महिना मात्रका भएका छन् । ती नियमित सेसनको अतिरिक्त एउटा उच्चस्तरीय सेसन, एउटा जिल्लास्तरीय नेतृत्वको सेसन (यो सेसन एकै पटकमा सञ्चालन गर्दा अप्ठ्यारो पर्ने हुनाले ३ पटकका लागि पालोपालो गरेर जिल्ला छनौट गरी गरिएको थियो) । एउटा महिला नेतृत्वको सेसन, एउटा शिक्षक नेतृत्वको सेसन र एउटा युवक नेतृत्वको सेसन गरेर जम्मा २६ वटा सेसनमा ६ सय ५३ जना प्रशिक्षार्थीलाई सहभागी बनाएर केन्द्रीय प्रशिक्षण सम्पन्न गरिसकेका छौँ । उच्चस्तरीय सेसनमा पहिले प्रशिक्षण लिएर फर्केका र पार्टीले दिएका सबै जिम्मेवारी पूरा गरिसकेकालाई श्रेष्ठताको आधारमा छनौट गरेर १९ जनालाई प्रशिक्षित गरेका थियौँ । यो सेसन खासगरी प्रशिक्षक तयार पार्ने उद्देश्यसहित पूरा गरिएको थियो ।

हाम्रो देशमा कम्युनिस्ट पार्टी नाम राखेर गठन गरिएका धेरै पार्टी छन् । तर हामीले दावीका साथ भन्न सक्छौँ, यसरी व्यवस्थित तरिकाले प्रशिक्षण सञ्चालन गरेको हाम्रो मात्र पार्टी हो । अरू पार्टी यो वा त्यो रूपमा वर्तमान व्यवस्थालाई सहयोग पु¥याउने गरी आफ्नो स्थान सुरक्षित गर्न खोलिएका छन् र त्यसैअनुसार अवसरवादी पार्टीको रूपमा निम्न–पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेका छन् । अर्को कुरा, चार दशकभन्दा बढी समयसम्म जनताको राजनैतिक चेतनास्तर उच्च बनाउन साप्ताहिक पत्रिका प्रकाशन गरेर जनताबिच वितरण गरेको पार्टी पनि हाम्रो मात्रै हो । अरू कतिपय पार्टीको पत्रिका पार्टीले प्रकाशन र सञ्चालन गरेका छैनन् । कतिपय नियमित छैनन् । यसरी सैद्धान्तिक प्रशिक्षण र पत्रिका प्रकाशन तथा वितरणमा आफ्नो ध्यानकेन्द्रित गर्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै हो । हामीले इतिहासमा र वर्तमानमा मात्रै होइन, भविष्यमा पनि यिनी काममा मुख्य ध्यान केन्द्रित गराउने छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *