राष्ट्रिय जनमोर्चाको सङ्गठन विस्तार गर्न तथा सुदृढ पार्न अपिल

न्यायप्रेमी जनसमुदाय,
राष्ट्रिय जनमोर्चाले राजनीतिक प्रचार तथा जनचेतनामूलक कार्यक्रम भर्खरै सम्पन्न गरेको छ । यही फागुन महिनाभर सङ्गठन विस्तार गर्न तथा सुदृढ पार्न देशव्यापी सङ्गठनात्मक अभियान सञ्चालन गर्दै छ । त्यस क्रममा राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता तथा सङ्गठनकर्ताहरू जनताको बिचमा आउँदै हुनुहुन्छ । विभिन्न जनवर्गीय सङ्गठनहरू पनि यो अभियान सफल पार्न लाग्दै छन् । यसमा सबै न्यायप्रेमी, देशभक्त, जनतान्त्रिक तथा वामपन्थी जनसमुदायले राजमोको सदस्य बनेर, सहयोग र समर्थन गरेर राजमोको सङ्गठन विस्तार गर्न र सुदृढ पार्न हामीले हार्दिक अनुरोध गर्दछौँ ।

गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेज गर्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि देशव्यापी सङ्घर्षका कार्यक्रम सञ्चालन गरेका छौँ । त्यसका साथै भयावह बन्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न, करवृद्धि तथा महङ्गी नियन्त्रण गर्न, समृद्ध नेपालको निर्माण गर्न, समाजवादउन्मुख नीति लागु गर्न, विदेश पलायन भइरहेको युवा जनशक्तिलाई देशभित्रै रोजगार सृजना गर्न, औद्योगीकरण गर्न, कृषिमा आधुनिकीकरण गर्न, हदबन्दीभन्दा बढी जग्गा राष्ट्रियकरण गरी भूमिहीन किसानलाई वितरण गर्न, महिलामाथिको बलात्कार, हत्या वा परिवारिक हिंसा अन्त्य गर्न, विदेशमा रहेका नेपालीलाई देशको आम चुनावमा सहभागी हुने व्यवस्था गर्न, साम्राज्यवाद एवं बहुराष्ट्रिय कम्पनीबाट राष्ट्रिय पुँजीपति वर्गको हित रक्षा गर्न तथा मजदुर–किसानलगायतका वर्ग र समुदायको हितको पक्षमा काम गर्न जोड दिँदै आएका छौँ । गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताका कतिपय प्रश्नमा सरकारले सकारात्मक नीति अपनाएको छ । त्यसैले हामीले नेकपाको सरकारलाई समर्थन गरेका छौँ । तर व्यवहारमा सरकारका क्रियाकलाप सन्तोषजनक छैनन् ।

यो सरकार बनेपछि पनि कर, भ्रष्टाचार, महङ्गी र व्यापार घाटा बढेको छ । आर्थिक विकासका कार्यक्रमहरू कुण्ठित हुँदै गएका छन् । अरूण तेस्रो जलविद्युत परियोजना भारतलाई सुम्पिएको छ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको पनि भारतीय कम्पनीलाई म्याद थप्दै गएको छ । साम्राज्यवादका नीति विरुद्ध देश र जनताको पक्षमा सरकारले कुनै ठोस कार्यक्रम ल्याएको छैन । कालापानीसहित भारतले अतिक्रमण गरेका भूमि फिर्ता गर्न सरकारले प्रभावकारी कदम चाल्न तथा नेपालकोतर्फबाट नक्सासमेत प्रकाशित गर्न सकेको छैन । अमेरिकी साम्राज्यवादको घोर राष्ट्रघाती एमसिसी कार्यक्रम संसदबाट पारित गर्ने दुश्प्रयत्न गर्दै छ । सरकारले ल्याएको जनहित विरोधी गुठी विधेयक जनताको सङ्घर्षले फिर्ता भएको थियो । मधेशवादीहरू (मधेशी जनताले होइन) ले भने झैँ राष्ट्रघाती प्रकारले संविधान संशोधन हुने सन्त्रास अहिले पनि छ । यदि त्यस प्रकारले संविधान संशोधन भए ठुलो राष्ट्रघात हुने छ । सरकारले गर्न सक्ने सामान्य प्रकारका कार्य, जस्तो– बलात्कार, हत्या, महङ्गी आदि नियन्त्रण गर्ने र सुव्यवस्था कायम गर्ने काम पनि गर्न सकेको छैन ।

यस प्रकारको गम्भीर स्थितिमा र दूरगामी रूपमा राष्ट्रियता, जनतन्त्र तथा जनहितको पक्षमा राष्ट्रिय जनमोर्चा नै देशको भरोसायोग्य राजनीतिक पार्टी हो । यसका सही नीति र कार्यक्रमको पक्षमा राष्ट्रिय रूपमा व्यापक र सशक्त भूमिका खेल्न वा आन्दोलनको सृजना गर्न राष्ट्रिय जनमोर्चाको सङ्गठन व्यापक बनाउन र सुदृढ पार्न अत्यन्त जरुरी भएको छ । त्यसकारण न्यायप्रेमी, देशभक्त, जनतान्त्रिक तथा वामपन्थी जनता राष्ट्रिय जनमोर्चामा सङ्गठित वा गोलबन्द भई सङ्घर्ष गर्नुपर्छ । त्यसका लागि हामीले सम्बन्धित सबै जनसमुदायसँग हार्दिक अनुरोध गदैछौँ ।

राष्ट्रिय जनमोर्चा
केन्द्रीय कार्यालय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार