लघु कथा : गोरुहरु र धनपति

सुरेशकुमार पाण्डे

“मसँग बर्मेली मकै माना चार बिउ भन्दा बढि हुन सक्छ । कसैले कालिपारे मकै अलि छिटो पाक्छ भन्छन् भए साट्न पाए हुन्थ्यो” धनपतिले भन्यो ।

फुर्शेको बारीमा उ परिमा काम गर्न आएको थियो । बिहानभरी जोतेर एकछिन् अर्नि खानलाई दुबै रुखको छाँयामा बसेका थिए । पसिनाले लतपथ धनपति साठि नागेको बुढा । उस्तै गोरुहरु पनि बुढा थिए ।

बुढो शरिर भएपछि ज्यान थाक्छ, सो आफुले नास्ता गर्दा गोरूहरु पनि फुकाएर नजिकै रुखको फोर्शो खसाल्यो । एक वाँला र उनीहरु पनि डाँठ समेत चबाई रहेका थिए ।

फुर्शे भने हट्टाकट्टा नौजवान थियो– मसँग छ, बाजे कालिपारे त छैन अर्को कुख्रे मकैको बिउ लैजानु होला । झन चाँडि पाक्छ ।

खितितत् हाँस्दै– कुख्रे मकै स्यानो मकै भन्ने हो ?

हजुर हो !

हो, त्यो मुलाबारीमा छरुला मैले मलाई दिए । भन्दै गोरु तिर हेर्छ । गोरु फुर्शेका भएपनि फुर्शेलाई भन्दा धनपतिलाई चिन्ता थियो । उसले आफ्नो बारी पनि तिनै गोरु लिएर जोत्नु थियो ।

गोठे नाम गरेको गोरु खक्रकै बुढो थियो, सुस्त सुस्त हिंड्थ्यो । सुपारे अलि जबान थियो । कहिले काहिं आगाडि जान खोज्थ्यो, तर कुन्नि गोठे गोरुको मान राखेर होकि उपनि त्यतै हेरेर टाउको झुकाउँथ्यो ।

बिचरा पशुमा पनि कति राम्रो प्रेम । अहिले गोठे गोरुको काँधमा सुपारेले चाटि रहेको बुढा हलिले हेरी रहेका थिए । साहेद यस्तै साथ दिने उस्की श्रीमती संझिएर होला । जब धनपति कतै जोतेर आउँथ्यो, उसकी श्रीमतीले उसका हात खुट्टामा तेल घस्दिन्थिन् । उसले जोडा गुमाएको पनि तिन बर्ष बिति सकेको थियो । ति गोरुहरुको माँया देखेर आफ्नो साथिको याद ताजा भएकोले उसका सुकेको परेलिहरु पनि भिजेका थिए ।

बाजे, किन मलिन हुनु भयो ? छिटो खानुस नास्ता भन्दै फुर्शेले नास्ता तिर ईसारा गर्छ ।

ठेकिमा बाक्लो मुही ल्याएको थियो । धनपतिले दुई बटुका मुहि पिउँछ । –घरमा पनि दुहुना थिएन, मुहि नदेखेको पनि बर्ष दिन भएछ । भन्दै बुढाले महि पिए ।

उनका छोराहरु सबै लाखापाखा लागिसकेका थिए । एउटी छोरीले पनि पोहोर साल आफै बिहे गरेर गए पछि बुढा चार भाई छोरा भएपनि अहिले एक्लै बस्थे ।

नास्ता गरेर गोरुलाई फेरी जोत्नलाई ढिलो नगरी नार्छन् र जोत्न थाल्छन् । आजको ज्यालादारी काम होईन परिमा भनेर आएको पर्सि फुर्शेका यिनै गोरु लिएर एकै दिनमा आफ्नो बारी पनि जोत्ने बिचार थियो । एक्लो भएपनि बाँच्दासम्म खान ता पर्यो ।

शरिरमा पनि कति पानी छ, पसिना एकैछिन्मा हरर आईहाल्छ । धनपतिले पछिपछि डल्ला फोर्दै आएको फुर्शेलाई भन्छन् ।

गर्मि बढी छ बाजे अनि बुढो शरिर । फुर्शेले भन्छ ।

तर पशुलाई आउँने होईन्छ पसिना ? गोरुतिर हेर्दै धनपतिले भन्छ । आफै खितितिति हाँस्छ ।

यसपालि त फुर्शेलाई पनि हाँसो लाग्यो । हाँस्दै हाम्रा बाजेले कति हँसाउँनु हुन्छ ।

के गरम बाबु कति दिन बाँचुला यस्तै हाँस्दै दिन काट्न खोज्छु । धनपतिले ठुलो शास लिँदै भने । यस्तो लाग्थ्यो बुढाको मुटुमा लाखौं पिडाहरु लुकेका थिए ।

पहाडको बारी किसानको पसिना र परिश्रमले आकाशको हृदय पग्लिए पछि फलेको अन्नमा अट्कलेर प्राण धान्नु पर्छ । सिंचाई छैन, राम्रो औजार छैन, मात्र आकाशको भर र किसानको पौरखमा बञ्जर जमिनमा अन्न उब्जाएर जीवन निर्वाह गरेका हुन्छन् । तर पनि गाउँमा अहिले पनि परिमा गरेर एक अर्कामा प्रेम बाँड्छन् ।

धनपति जस्ता हलिले यो बञ्जर जमिनमा जीवन बिताए । आफु हलि जन्मेर हलि मरे पनि आफ्ना पसिनाले हजारौँ हजारको जीवन आवाद गरेका छन् । धनपतिले पनि आफ्ना छोरा छोरीलाई राम्रै पढाए पछि बिहे गर्दै जाँदै गरे । अन्तिममा आफु एक्लै थिए ।

हजुरले अनो छोप्दा वित्तिकै गोरु हिँड्न थाल्छन्, चिनेका छन् गोरुले पनि हजुरलाई, फुर्शेले भन्छ ।

हो किन नचिन्ने बाबु तिमि त बल्ल बिदेशबाट आयौ, त्यति थाहा छैन होला । यि गोरुले त मलाई धेरै बर्षबाट चिनेका छन्, धनपतिले भने ।

धनपतिले गोरुलाई बिहानबाट जोतेका थिए तर लाठि हातमा त थियो ट्याप पारेका थिएनन् । उनले गोरुलाई पिट्नै पर्दैनथ्यो । फुर्शेले अनो छोप्यो कि ति गोरु ठिङ्ग उभिन्थे । यो देखेर फुर्शे पनि अचम्मै परेको थियो । साँझसम्म जोत्यो तर फुकाए पछि पनि उनका काँध मसार्दै धनपतिले पिठ्युँमा नथपथपाउँदासम्म गोरु हिडेनन् ।

यस्तो राम्रो हलि र गोरुको मायाँ देखेर फुर्शे पनि कायल हुन्छ । आकाशको छाति पनि किन नपग्लेला यस्ता मिहेनति पूर्वजलाई देख्दा । फुर्शेले आफ्नो मनमनै सोँचेको छ । भित्रबाट चारमाना त्यो कुख्रे मकैको बिउ ल्याएर दिन्छ । फेरी पर्सिको दिन भेट हुने भन्दै धनपति त्यहाँबाट बिदा लिएर घर फर्किन्छ ।

(यो काल्पनिक कथा हो, कसैको जीवनसँग मेल खान गएमा त्यो केवल संजोग मात्र हुनेछ । – लेखक )

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार