लुकिछिपी होइन, सहज रुपमा स्वदेश फर्किने बातावरण बनाउन मूल प्रवाहको माग

नयाँ दिल्ली । भारत प्रवासमा अलपत्र परेका नेपालीहरुलाई सहज रुपमा स्वदेश भित्र्याउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल सरकारसँग माग गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले सोमबार एक विज्ञप्ती जारी गरि भारतमा विचल्लीमा परेका नेपालीहरूलाई सहज एवं व्यवस्थित रुपमा स्वदेश भित्र्याउनु पर्नेमा जोड दिनु भएको हो ।

सीमा नाका बन्द भएकोले नेपालीहरू प्रसाशनलाई घुसपेस गरेर वा खेत–जंगलको बाटो हुँदै नेपाल प्रवेश गरेकाले नै सिमावर्ती जिल्लाहरूमा अत्याधिक मात्रामा संक्रमण फैलिनुको कारण असहज या अनिमित प्रकारले नेपाल प्रवेश नै हो भन्नु अतिश्योक्ती नहुने अध्यक्ष केसीद्वारा जारि विज्ञप्तीमा उल्लेख छ । यसका लागि स्वयं नेपाल सरकार नै जिम्मेवार रहेको केसीले विज्ञप्तीमा बताउनु भएको छ ।

भारतमा विचल्ली परेका नेपालीहरूलाई सहज र व्यवस्थित रुपमा देश भित्र्याई उनीहरुलाई सीमानामा स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार आइशोलेशन एवं कोरेन्टाईनको व्यवस्था मिलाउन नेपाल सरकारसँग मूल प्रवाहले विज्ञप्तीमार्फत माग गरेको छ ।

प्रस्तुत छ प्रेस विज्ञप्ती :

“यति वेला विश्व नै नोवेल कोरोना भाईरस (कोविड–१९) को गिरफ्तमा छ । संक्रमण रोक्न गरिएको लकडाउन चौथो चरणमा प्रवेश गरेको छ । लकडाउनबाट प्रभावित नेपाली श्रमिकहरू झण्डै दुई महिनादेखि डेरामा कैद छन् । उनीहरु बेरोजगार र बेखर्ची भई भुखमरीको कगारमा पुगेका छन्, त्यसमाथीबाट डेराभाडाको समस्या पनि छ । यो अवस्थामा उनीहरु स्वदेश फिर्ता हुनुको विकल्प छैन ।

कैयौं स्थानीय निकायहरूको नाममा जारी गरिएका सामाजिक सञ्जालका स्टाटसहरूले नेपालको सीमानासम्म पुगेमा आफ्नो पालिकासम्म पुग्न सुबिधा दिने सुचनाहरू समेत जारि गरिएको हुँदा नेपालीहरूको पलायन र अलपत्र अवस्था तिव्र भएको छ । भोक र चिन्ताले हतास् भएका भारत प्रवासका नेपालीहरु अनेकन कष्ट शहेर पनि बोर्डरसम्म पुगिरहेका छन् । नेपाल सरकारले भारत प्रवासमा रहेका नेपाली नागरिकहरुको समस्यालाई गम्भिरता पूर्वक नलिनुका कारण नै उनीहरु लुकिपिछी आफ्नो देश फर्किन वाध्य छन् । सीमाना नाका बन्द भएकोले प्रशासनलाई घुसपेस गरेर वा खेत–जंगलको बाटो हुँदै लुकिछिपी भारत प्रवासबाट आफ्नो देश फर्किनु परेको छ । यसरी लुकिछिपी स्वदेश फर्किंदा उनीहरुको स्वस्थ्य परिक्षण हुन सक्दैन, जसले गर्दा संक्रमण फैलिने प्रवल सम्भावना रहन्छ । नेपाल सरकारको आफ्ना नागरिकहरुप्रतिको गैर जिम्मेवाराना रवैया कै कारण सिमावर्ती जिल्लाहरूमा अत्याधिक मात्रामा संक्रमण फैलिएको छ ।

अत : हामी नेपाल सरकारसँग भारतमा विचल्ली परेका नेपालीहरूलाई सहज एवं व्यवस्थित र आधिकारिक रुपमा देश भित्र्याउन माग गर्दछौं । त्यसका साथै उनीहरुलाई सीमानामा स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार आइशोलेशन एवं कोरेन्टाईनको व्यवस्था मिलाउन समेत माग गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार