वर्गसंघर्षको सिद्धान्त बारे टिप्पणी

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

146 जनाले पढ्नु भयो ।

जनक विसी

सम्पुर्ण सामाजिक सम्बन्धहरुको अभिब्यक्तिको माध्यम मानिस नै हो । अतःउत्पादन शक्तिहरु र उत्पादन सम्बन्धका बिरोधि प्रवृत्तीहरुको बिच संघर्ष पनि समाजमा विभिन्न वर्गहरुको संघर्षको रुपमा नै ब्यक्त हुने गर्दछ । उत्पादनका तरिकामा परिवर्तन उपस्थित हुनासाथै समाजमा नयाँ वर्गहरु पनि उत्पन्न हुन जान्छन । यस प्रकारका वर्गहरुको सोझो सम्बन्ध उत्पादन पद्धति वा समाजको आर्थिक आधारसँग हुन्छ । इतिहासको ब्याख्या गर्नको लागि यसै कुराहरूलाई अरु स्पस्ट पार्दै हामी के भन्न सक्दछौं भने मानिसका किर्तीहरुले नै इतिहासको निर्माण गर्दछन् । कर्म इच्छाहरुद्वारा सन्चालित हुन्छ । इच्छाहरु बिचारहरुको प्रतिरुप हुन्, बिचार मानिसका ती सामाजिक परिस्थितिहरुको नै प्रतिविम्ब हो । जस अन्र्तगत उ रहने गर्दछ र जसले उसलाई प्रत्येक समयमा घेरिरहेको हुन्छ । सामाजिक परिस्थितिहरु उत्पादन पद्धति अथवा आर्थिक परिस्थितिहरुद्वारा निर्धारित हुन्छन् । आर्थिक परिस्थितिहरुले नै समाजमा विभिन्न वर्गहरु र तिनका संघर्षहरुको स्वरुप निर्धारित गर्दछन् । अतः इतिहास ब्याख्याको लागि आर्थिक परिस्थितिहरुमा आधारित वर्गसंघर्षको ब्याख्या पनि आवश्यक हुन जान्छ । इतिहासको अध्ययनबाट वर्गसंघर्षको यसै महत्वलाई प्रतिपादन गर्दै एंगेल्सले लेखेका छन् “आधुनिक इतिहासमा कम्तिमा के पनि सिद्ध भइसकेको छ भने सम्पुर्ण राजनीति संघर्ष वास्तवमा वर्गसंघर्ष नै हो । स्वतन्त्रताको लागि पाइला चाल्ने वर्गहरुको यो सम्पुर्ण संघर्ष आफ्नो विशिष्ट राजनीतिक स्वरुपलाई राख्दाराख्दै पनि प्रत्येक वर्गसंघर्ष एक राजनीतिक संघर्ष हो र अन्ततः आर्थिक स्वतन्त्रताको विषय वस्तुसँग जोडिएको छ ।”

द्वन्द्ववादको नियय अनुसार कुनै पनि सामाजिक ब्यवस्थाको आन्तरिक असंगतिहरुसँग परिचित हुनका लागि सबै भन्दा पहिले हामीले त्यसको वर्गसंघर्षतिर ध्यान दिनु जरुरी छ । किनभने वर्गसंघर्ष नै सामाजिक असंगतिहरुको अभिब्यक्तिको प्रमुख माध्यम हो । यसबाट हामी के संकेत पनि पाउँछौ भने जुन सामाजिक ब्यवस्थामा उत्पादन सम्बन्धि असंगतिहरु हुदैनन् त्यसमा कुनै प्रकारको वर्गसंघर्ष पनि हुँदैनन् । उदाहरणका लागि हामी आदिम युगलाई लिन सक्दछौं । जसमा कुनै प्रकारको ब्यक्तिगत सम्पत्तिको भावना नै थिएन । उत्पादन पद्धति सामुहिक थियो र उत्पादित वस्तुहरुको उपभोग पनि सामुहिक रूपमा नै हुने गर्दथ्यो । अर्थात कबिला समाजका मानिसहरु जीवन निर्वाहका लागि मिलिजुली जे जति ल्याउथे उसको उपभोग पनि सबै मानिसहरु विना कुनै भेदभाव आवश्यकता अनुसार मिलिजुली गर्दथे । यसैले एंगेल्सले यस ब्यवस्थालाई “आदिम साम्यवाद” भनेका छन् । यसबाट हामी के संकेत पनि पाउँछौ भने उत्पादन पद्धतिमा अन्तर्बिरोध नहुनाले भावि साम्यवादी समाजमा पनि कुनै प्रकारको वर्गसंघर्ष हुने छैन ।

समाजमा वर्गहरु नत पहिलेदेखि नै थिए, नत पछिसम्म नै रहने छन् । आदिम समाज ब्यवस्था समाप्त भए पछि समाजमा जब वर्गहरुको उदय भयो त्यस बेलादेखि वर्तमान पुँजिवादी ब्यवस्थासम्म कहिले ब्यक्त र कहिले अब्यक्त रुपमा विरोधि वर्गहरु बिचको संघर्ष निरन्तर रुपमा चलिरहेको छ । माक्र्स र एगेल्सले आफ्नो प्रसिद्ध घोषणा पत्रमा लेखेका छन “स्वतन्त्र मानिस र दास अभिजात वर्ग र साधारण प्रजा सामन्त र तिनका कमारा, शिल्प संघका मालिक र मजदुर कारिगर– संक्षिप्तमा पिडक र पिडित सधैं एक अर्काको बिरोध गर्दै आइरहेका छन् । ती कहिले छदम त कहिले खुलमखुल्ला लगातार एक अर्कासँग लडिरहेका छन् । यस्तो लडाइको अन्त्य प्रत्येक चोटि कि त समाजका सम्पुर्ण ढाँचा परिवर्तनबाट भएको छ कि त लडिरहेका दुवै वर्गहरुको बिनासबाट ।” भनाइको अर्थ के हो भने जसरी उत्पादन पद्धतिमा परिवर्तन देखिरहेको छ त्यसैगरि समय समयमा वर्गहरुको स्वरुप त अवस्य फेरिरहेको छ । तर उनीहरुको संघर्षको अन्त्य भने हुनसकेको छैन । प्रत्येक सामाजिक क्रान्तिले एकातिर एउटा वर्ग संघर्षको समाधान गरेको छ भने त्यहाँ अर्को तिर उसले अर्को वर्गको र अर्को प्रकारको संघर्षलाई जन्माएको पनि छ । दास ब्यवस्थादेखि पुँजीवादी ब्यवस्थासम्म यहि क्रम चलिरहेको छ । मोटामोटी रुपमा हेर्दा त हामी प्रत्येक समाजमा अनेक प्रकारका वर्गहरु देख्दछौं, तर मार्क्सवादी धारणा नुसार श्रेणि वा वर्ग हामी तिनै ब्यक्तिहरुको समुहहरुलाई भन्न सक्दछौं । जसले उत्पादनमा एउटै किसिमका काम गर्दछन् र जसको आर्थिक अवस्था पनि उस्तैउस्तै हुन्छ । यसप्रकारको दृष्टिकोणले यदि हामी हे¥यौं भने दास ब्यवस्थादेखि आजसम्म दुईवटा संघर्षशिल वर्गहरुमात्र देखिन्छन् । ती हुन् ः एउटा शोषक वर्ग र अर्को शोषित वर्ग । आर्थिक अवस्थाका दृष्टिले अरु सम्पुर्ण वर्गहरु यिनै दुई वर्गहरु अन्तर्गत समाहित हुन्छन् । वर्तमान पुँजीवादी ब्यवस्थामा यो बिभाजन झनै तिब्र र स्पष्ट भएको छ । जसमा एकातिर थोरैमात्र पुँजीपतिहरु छन् जसका हातमा सम्पुर्ण उत्पादनको साधन सामाजिक सम्पतिहरु केन्द्रीत हुँदै गइरहेको छ । अर्कातिर बिशाल जनसमुदाय छन् जोसँग आफ्नो श्रमशक्ति बाहेक अतिरिक्त अरु केही पनि बाँकी छैन । यी दुवै वर्गहरुको बिचमा एउटा अर्को वर्ग पनि छ जसलाई मध्यम वर्ग भनिन्छ । वास्तवमा यो मध्यम वर्ग कुनै स्वतन्त्र वर्ग पनि होइन । किन भने यसै वर्गका केही मानिसहरु जसलाई कुनै प्रकारको धनोपार्जनको मौका प्राप्त हुन्छ । ती सम्पत्तीशाली भएर शोषक वर्गसँग मिल्न जाने गर्दछन् । अधिकांश ब्यक्ति गरिबी र बेरोजगारिको शिकार बनेर सर्वहारा वर्गसँग मिल्न जान्छन् ।

आदिम साम्यवादी ब्यवस्थाको वर्गविहिन समाज पछि गएर कसरी वर्गहरुमा विभाजित भयो यहाँ एउटा मनोरन्जन इतिहास छ । कबिलामा बस्ने गरेका आरम्भका अर्ध–सव्य मानिससँग काठ र ढुङ्गा बाहेक अरु केही थिएन तर सब्यताका मार्गमा उनीहरु जतिजति अघि बढदै गए उनीहरुले पशुहरु पाल्न, खेती गर्न, धातुका औजार र भाडाकुडाहरु आदि बनाउन सिके । उत्पादनका यस्ता फेरिदै गरेका तरिकाले समाजको स्वरुपलाई पनि फेरि दियो । अलगअलग कबिलाहरु भिन्नाभिन्नै पेशा अपनाउन थाले जीवनका आवश्यकताहरुलाई पूरा गर्नका लागि बिनिमयका रुपमा कबिलाहरुमा वस्तुहरुको आदानप्रदान, साटासाट पनि हुन थाले । किनभने कामको बिभाजन हुन गएकाले कुनै पनि कविला आफ्ना आवश्यकताका सम्पुर्ण वस्तुहरु स्वयं उत्पादन गर्न सक्दैनथे । यसकारण बिनिमयको सुरुवात भयो । वस्तुको बढदो माग पूरा गर्नका लागि उत्पादन र त्यसका लागि बढी परिश्रमको पनि आवश्यकता पर्न थाल्यो । यस आवश्यकताको परिपुर्ति कबिलाहरु बिचका आपसी लडाइँहरुमा पराजित पक्षलाई कमारा बनाएर र उनीहरुलाई काममा जोताएर पूरा गर्न थालियो । यसप्रकारको सामाजिक कामको बिभाजनले समाजलाई दुई वर्गमा बाढिदियो । एउटा वर्ग ती मानिसहरुको थियो, जो अरुलाई काममा जोताएर त्यसबाट स्वयं लाभान्वित हुने गर्दथियो । अर्कोतिर ती मानिसहरु थिए जुन अर्काका निमित्त काम गर्न विवस थिए । एउटा वर्ग शोषकहरुको थियो र अर्को शोषितहरुको । यसरी समाजमा वर्गहरुको उदय भयो ।

दास ब्यवस्थादेखि वर्तमान पुँजीवादी ब्यवस्थासम्मको सम्पुर्ण इतिहास वास्तवमा वर्गसंघर्षको इतिहास हो । मार्क्सवादी धारणा अनुसार बिरोधी वर्गहरुको स्थिति समाजका लागि एउटा अभिशाप हो । जसको फलस्वरुप वर्गसंघर्ष गरिरहेका प्रत्येक सामाजिक ब्यवस्था अन्र्तगत अब्यवस्था र अविश्वास हिंसा र कलह दुःख दरिद्रता उत्पन्न हुनु अवश्यंभावि छ । वर्तमान पुँजीवादी ब्यवस्था पनि यस्तै प्रकारको छ । जस अन्तर्गत आधुनिक समाजका दुई प्रधान वर्गहरु पुँजीपतीहरु र मजदुरहरुको संघर्ष अनिवार्य हुन गएको छ । अतः मार्क्सवाद यसप्रकारका वर्गविहिन समाज रुपी साध्यलाई प्राप्त गर्नका लागि वर्गसंघर्षलाई अनिवार्य साधनका रुपमा स्वीकार गर्दछ । सामाजिक दोषहरुलाई हटाउनका लागि एउटा वर्गविहिन समाजको स्थापनालाई अनिवार्य सम्झन जरुरी छ । मार्क्सवाद वर्गविहिन समाजको समर्थक हुँदाहुँदै पनि वर्ग संघर्षको उसको वास्तविक स्वरुपमाथि कुनै प्रकारको पर्दा खसाल्न उचित सम्झदैन । वर्ग संघर्षलाई घटाएर पुँजीपतिहरुसँग कुनै प्रकारको सम्झौता नै गर्न चाहँदैन । यसको विपरीत उ वर्ग चेतनालाई बढी भन्दा बढी प्रचार गरेर वर्गसंघर्षलाई त्यसको अन्तिम परिणामसम्म लैजान चाहन्छ र यसै खाले वर्ग विहिन समाज प्राप्त गर्नको लागि वर्गसंघर्षलाई एउटा अनिवार्य साधनको रुपमा स्वीकार गर्दछ । जसलाई वर्ग संघर्षको सिद्धान्त भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *