‘वामपन्थी’ संकीर्णवाद र फुटपरस्त प्रवृति

  •   
  •  
  •  
  •  
  •  
  •  

618 जनाले पढ्नु भयो ।

  • मोहनविक्रम सिंह

(क)

दक्षिणपन्थी संशोधनवाद विश्व कम्युनिस्ट आन्दोलनको मुख्य समस्या हो । विश्वमा र नेपालमा पनि मार्क्सवादी–लेनिनवादीहरूले त्यसका विरुद्ध कडा संघर्ष गर्दै आउनुपरेको छ । आधुनिक कालमा त्यो संशोधनवाद टिटोवादबाट सुरु भयो र सोभियत संशोधनवाद र चीनिया संशोधनवादका रूपमा त्यसले उच्च विकास ग¥यो । ती दुवै संशोधनवादी धाराहरूको विश्व कम्युनिस्ट आन्दोलनमा निकै नै असर पर्यो । अझ स्पष्ट शब्दमा भन्ने हो भने तिनीहरूले एक प्रकारले विश्व कम्युनिस्ट आन्दोलनलाई ध्वस्त जस्तै बनाइदिए । नेपालमा पनि दक्षिणपन्थी संशोधनवाद सर्वप्रथम डा. रायमाझीको नेतृत्वमा देखा प¥यो । तैपनि सोभियत संशोधनवादी धाराको नेपालमा कुनै खास असर परेन र चीनिया संशोधनवादी धाराले नै नेपालको कम्युनिस्ट आन्दोलनमा गहिरो असर पार्यो । तैपनि समग्र रुपमा के भन्न सकिन्छ भने विश्वमा र नेपालमा पनि माक्र्सवादी लेनिनवादीहरूले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सैद्धान्तिक, राजनीतिक रूपले लगातार संघर्ष गर्दै आएका छन् । हाम्रो पार्टीको पनि त्यस प्रकारको संघर्षको लामो र गौरवमय इतिहास रहेको छ ।

विश्वको कम्युनिस्ट आन्दोलन अहिले अत्यन्तै कमजोर र रक्षात्मक अवस्थामा पुगेको छ । तैपनि मार्क्सवादी लेनिनवादीहरूले त्यसका विरुद्ध लगातार संघर्ष गरिरहेका छन् किनभने यो कुरा स्पष्ट छ, दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष नगरिकन विश्वमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन ।

दक्षिणपन्थी संशोधनवादका साथै ‘वामपन्थी’ संकिर्णवादले पनि विश्व र नेपालको कम्युनिस्ट आन्दोलनलाई धेरै क्षति पु¥याएको छ । व्यवहारिक रूपले दक्षिणपन्थी संशोधनवादका विरुद्धको संघर्षले बढी महत्व राखेपनि वैचारिक रूपले दोस्रो पक्षले बढी महत्व राख्दछ । दक्षिणपन्थी संशोधनवाद वैचारिक रूपले नै धेरै नांगिएको हुनाले त्यसलाई चिन्न त्यति गाह्रो पर्दैन तर दोस्रो पक्ष, अर्थात ‘वामपन्थी’ संकीर्णवाद, ‘क्रान्तिकारी’ आवरणमा अगाडि आउँछ । त्यसकारण त्यसले वामपन्थीहरूलाई बढी भ्रम दिने क्षमता राख्दछ । त्यसैले त्यसलाई स्पष्ट गर्न वा त्यसको भ्रमलाई साफ गर्नको लागि बढी वैचारिक संघर्षको आवश्यकता पर्दछ । त्यो सम्पूर्ण विश्व कम्युनिस्ट आन्दोलन र नेपालको पनि गम्भीर समस्या हो ।

लेनिनले यो कुरामा जोड दिएका छन् कि पार्टीका कुनै पनि नीति र कार्यक्रममाथि विचार गर्दा सर्वप्रथम र मुख्य रूपले वस्तुस्थितिको ठोस विश्लेषण गर्नुपर्दछ । तर कम्युनिस्ट आन्दोलनमा वस्तुस्थितिको ठोस विश्लेषण नगरिकन अगाडि बढ्ने प्रवृत्तिहरू प्रायशः देखा पर्ने गर्दछन् । त्यसको परिणामस्वरुप कम्युनिस्टहरुले या त दक्षिणपन्थी बाटो समात्छन् या उग्र ‘वामपन्थी’ बाटो । वस्तुस्थिति भन्दा पछाडि हट्नुको परिणाम दक्षिणपन्थी भड्काव हुन्छ भने अगाडि बढ्नुको परिणाम उग्र ‘वामपन्थी’ भड्काव । तर यो लेखको विषय दक्षिणपन्थी भड्काव होइन । त्यसरी यो लेखमा मुख्य रुपले उग्र ‘वामपन्थी’ वा ‘वामपन्थी’ संकीर्णवादको नै चर्चा गरिनेछ ।

‘वामपन्थी’ संकीर्णवाद, ‘वामपन्थी’ लफ्फाजी वा उग्र ‘वामपन्थी’ भड्काव आदि बेग्लाबेग्लै रूपमा प्रकट हुने गर्दछ । यी सबै एक अर्कासित सम्बन्धित हुन्छन् । ‘वामपन्थी’ संकिर्णवाद मुख्य रूपले वैचारिक रुपमा देखापर्दछ । ‘वामपन्थी’ लफ्फाजीले बढी ‘क्रान्तिकारी’ प्रकारको प्रचारवाजीमा जोड दिन्छ । त्यसले ठुला ठुला ‘क्रान्तिकारी’ कुरा गर्दछ तर त्यसलाई व्यवहारिक रूप दिने क्षमता राख्दैन । उग्र ‘वामपन्थी’ भड्कावले व्यवहारमा नै उग्र प्रकारका कारबाहीहरूलाई अगाडि बढाउछ । तैपनि समग्र रुपमा यी सबैको विशेषता ठोस परिस्थितिको ठोस विश्लेषणको उपेक्षा गर्नु नै हो । त्यसैले उनीहरूमा जुन ‘क्रान्तिकारी’ विचारहरू देखा पर्दछन्, तिनीहरूले व्यवहारसित मेल खा“दैनन् र उनीहरू अन्तमा त्यसबाट पछाडि हट्नुपर्ने स्थिति हुन्छ । त्यो अवस्थामा ‘वामपन्थी’ संकीर्णवादी वा उग्र ‘वामपन्थी’ विचारहरूले अधिकतर अवस्थामा दक्षिणपन्थी दिशा नै समात्दछन् । विश्व र नेपालको कम्युनिस्ट आन्दोलनको अनुभवले पनि बारम्बार त्यो कुरा प्रमाणित गर्दै आएको छ ।

मार्क्सवादी–लेनिनवादीहरूले कुनै खास बेलाको परिस्थितिको विश्लेषण गरेर नै आफ्नो कार्यक्रम वा नीति निश्चित गर्ने हुनाले उनीहरूले परिस्थितिको आधारमा आफ्नो कार्यक्रमहरुलाई कैयौँ चरणमा बाँड्ने गर्दछन् । कम्युनिस्टहरूको मुख्य उद्देश्य साम्यवाद नै हो । त्यसैले सबैभन्दा ‘क्रान्तिकारी’ कार्य बिचका नयाँ जनवाद र समाजवादका कार्यक्रमहरूलाई नाघेर सिधै साम्यवादको कार्यक्रममा जानु नै हुन्थ्यो । तर त्यसका लागि परिस्थिति तयार नभएको हुनाले त्यसलाई (साम्यवादलाई) आफ्नो दीर्घकालीन लक्ष्यको रूपमा कायम राखेपनि माक्र्सवादी लेनिनवादीहरूले तुरुन्तै त्यसको (साम्यवादको) कार्यान्वयनमा जोड दिन्नन् किनभने त्यसो गर्नु चरम प्रकारको ‘वामपन्थी’ संकिर्णवादी सोचाइ नै हुनेछ । त्यसैले माक्र्स, एंगेल्स, लेनिनहरूले परिस्थितिमाथि ध्यान दिँदै साम्यवाद भन्दा पहिले समाजवादी क्रान्तिलाई सफल पार्ने कुरामा जोड दिए । तर माओले चीनको ठोस परिस्थितिमाथि ध्यान दिँदै त्पुँजी समाजवाद भन्दा पहिले नयाँ जनवादी क्रान्तिको कार्यक्रम अपनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

साम्यवाद, समाजवाद र नयाँ जनवादलाई बेग्लाबेग्लै चरणमा बाँडेको कुराबाट पनि के प्रष्ट हुन्छ भने कुनै कार्यक्रम वा नीतिलाई निर्धारण गर्ने निर्णयात्मक तत्व वस्तुस्थिति नै हो । त्यसका साथै पूरै नै वस्तुस्थितिसम्म मात्र सीमित रहनु पनि यथास्थितिवाद हो । त्यसकारण वस्तुस्थितिका आधारमा आफ्नो कार्यक्रम बनाउनुका साथै त्यस भन्दा उच्च प्रकारका ‘क्रान्तिकारी’ कार्यक्रमहरूलाई पनि अगाडि राख्नुपर्ने आवश्यकता हुन्छ । त्यसैले हाम्रो देशमा हामीले नयाँ जनवादी कार्यक्रमलाई अगाडि राखेपनि त्यसका साथै हामीले समाजवाद र साम्यवादका कार्यक्रमहरूलाई पनि आफ्नो लक्ष्यको रुपमा अगाडि राखिराखेका हुन्छौँ किनभने त्यसले हामीलाई दिशा निर्देशन गर्दछ ।

हामीले माथि साम्यवाद, समाजवाद वा नयाँ जनवादका विभिन्न कार्यक्रमहरूको चर्चा गयौँ तर कुनै खास बेलाको कुनै कार्यक्रमलाई पनि एकैपल्ट पूरा गर्न सकिदैन । त्यही प्रकारले नेपालमा नयाँ जनवादको कार्यक्रमलाई पनि एकैपल्ट पूरा गर्नु सम्भव हुँदैन । त्यसका लागि परिस्थिति तयार पार्दै लैजानुपर्छ र एउटै कालको कार्यक्रमलाई रणनीति र कार्यनीतिमा बाँडेर काम गर्नुपर्ने आवश्यकता हुन्छ । रणनीति हाम्रो लक्ष्य हुन्छ भने कार्यनीति त्यसलाई प्राप्त गर्ने साधन वा सिँढी । रणनीति वस्तुगत परिस्थितिमा परिवर्तन नहुँदासम्म लामो समयसम्म एउटै रहन्छ । तर कार्यनीति तात्कालिक परिस्थितिमा हुने परिवर्तन अनुसार बदलिरहन्छ ।

‘वामपन्थी’ संकिर्णवादीहरूले रणनीतिलाई नै तात्कालिक कार्यनीतिका रूपमा प्रस्तुत गरेर त्यसलाई अगाडि बढाउने कुरामा जोड दिन्छन् । रणनीतिले विद्यमान परिस्थितिमा आमूल परिवर्तन गर्ने कुरामा जोड दिन्छ र, त्यसैले त्यसको प्रकृति बढी ‘क्रान्तिकारी’ प्रकारको हुन्छ । तर कार्यनीति तात्कालिक नीति र कार्यक्रमहरूसित सम्बन्धित हुन्छ । त्यसैले ‘वामपन्थी’ संकिर्णवादीहरूले उच्च प्रकारको क्रान्तिकारी वा रणनीतिक कार्यक्रमलाई नै तात्कालिक कार्यदिशाको रूपमा अपनाउनुपर्ने कुरामा बढी रुचि राख्दछन् । बाह्य र प्रकट रूपमा हेर्दा त्यो बढी क्रान्तिकारी प्रकारको देखिन्छ । तर त्यसले वस्तुगत र व्यवहारिक पक्षसित मेल खादैन । त्यसैले व्यवहारमा त्यो बढी भन्दा बढी ‘वामपन्थी’ लफ्फाजीमा गएर टुंगिन्छ वा कुनै खास अवस्थामा त्यो उग्र ‘वामपन्थी’ भड्कावको रूपमा पनि देखा पर्दछ । तर ती सबैको अन्तिम परिणति प्रायशः यो नै हुन्छ – दक्षिणपन्थी अवसरवाद ।

‘वामपन्थी’ संकिर्णवादले वस्तुगत र आत्मगत परिस्थितिसित मेल खा“दैन । त्यसैले त्यो लामो समयसम्म अडिन नसक्ने कुरा निश्चित छ । त्यो अवस्थामा उनीहरूका (वामपन्थी संकीर्णतावादीहरूका) अगाडि एक वा अर्काे प्रकारको पलायन बाहेक कुनै विकल्प बाँकी रहँदैन । त्यो पलायन या त विसर्जनको रूपमा हुन्छ या दक्षिणपन्थी अवसरवादको रूपमा ।

‘वामपन्थी’ संकिर्णवाद माक्र्स एंगेल्सको समयदेखि नै समाजवादी आन्दोलनमा देखापर्दै आएको छ । मार्क्स, एंगेल्सको समयमा त्यस प्रकारको सोचाइको प्रतिनिधित्व वाकुनिनले गर्दथे । त्यही कारणले उनको उनीहरू (मार्क्स र एंगेल्स) सित तिव्र प्रकारको मतभेद थियो । त्यो मतभेद उनीहरूको जीवनभरि नै चलिरह्यो ।

वाकुनिनको त्यस प्रकारको विचारबाट त्यो बेलाको समाजवादी आन्दोलनलाई धेरै नै क्षति पुग्यो । निश्चय नै त्यो बेला वाकुनिनका साथै अन्य कैयौँ ‘वामपन्थी’ संकीर्णवादी वा दक्षिणपन्थी धाराहरू पनि प्रथम अन्तर्राष्ट्रियमा थिए । ती सबैका बिचको अन्तरसंघर्षको परिणामस्वरुप प्रथम अन्तर्राष्ट्रिय फुट र विघटनको अवस्थामा पुग्यो ।

वाकुनिनले पूरै नै क्रान्तिकारी कार्यक्रम अपनाउनुपर्ने कुरामा जोड दिन्थे । त्यसैले मानिसहरूमा उनीप्रति बढी आकर्षण थियो । त्यसका विपरित मार्क्स एंगेल्सले, एकातिर परिस्थिति अनुसार कार्यक्रम अपनाउनुपर्ने र, अर्कातिर, कार्यक्रमलाई अधिकतम र न्यूनतम कार्यक्रमका रूपमा बाँडेर संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्थे । कम्युनिस्ट घोषणापत्रको अध्ययन गर्ने हो भने त्यो कुरा प्रष्ट हुनेछ । कम्युनिस्ट घोषणापत्रलाई मार्क्स, एंगेल्सले द्वन्दवाद र ऐतिहासिक भौतिकवादको सिद्धान्तको आधारमा तयार पारेका थिए । तर वाकुनिनले द्वन्द्ववादको सिद्धान्त अपनाएकोमा मार्क्सको विरोध गर्दथे र त्यो सिद्धान्तलाई हेगेल जस्तो प्रतिक्रियावादी र राजावादी दार्शनिकबाट लिएको हुनाले त्यसलाई (द्वन्दवादलाई) पनि प्रतिक्रियावादी सिद्धान्त बताउँदथे ।

(ख)

अहिलेका ‘वामपन्थी’ संकिर्णवादीहरूले सिद्धान्ततः द्वन्द्ववाद वा ऐतिहासिक भौतिकवादको विरोध गर्दैनन् । तर व्यवहारमा उनीहरूले द्वन्द्ववाद कम तर अधिभूतवादलाई नै बढी अपनाएका हुन्छन् ।

यो सबैलाई थाहा भएको कुरा हो कि कम्युनिस्ट घोषणापत्रमा पुँजीवादको अन्तमा मात्र जोड दिइएको छैन, तर त्यसले विश्वव्यापी रुपमा नै पुँजीवादको अन्तका लागि सैद्धान्तिक आधार तयार पार्यो । तर पुँजीवादको विरोध गर्ने बेलामा कम्युनिस्ट घोषणा–पत्रले अधिभूतवादी होइन, द्वन्द्वात्मक दृष्टिकोण अपनाएको छ । त्यो कुरा यसबाट पनि प्रष्ट हुन्छ कि पुँजीवादको अन्तका लागि जोड दिने बेलामा त्यसले (कम्युनिस्ट घोषणापत्रले) पुँजीपति वर्गका सकारात्मक पक्षहरूमाथि पनि प्रकाश हाल्यो । त्यस सिलसिलामा कम्युनिस्ट घोषणापत्रमा यो लेखिएको छ : सामन्तवादका विरुद्धको संघर्षमा त्यसको (पुँजीवादको) सकारात्मक वा क्रान्तिकारी भूमिका रहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि पुँजीवादभित्र सकारात्मक पक्ष देख्ने विचार वाकुनिनका लागि सह्य हुन सक्दैनथ्यो ।

त्यही प्रकारले कम्युनिस्ट घोषणापत्रले एकातिर, पुँजीवादको अन्त र, अर्कातिर, समाजवादको स्थापनामा जोड दिने बेलामा पुँजीवादी व्यवस्थाभित्र कैयौँ तात्कालिक मागहरूका लागि पनि संघर्ष गर्ने कुरामा जोड दिएको थियो, जस्तै कि दिनमा ८ घण्टाको कामको लागि संघर्ष । तर वाकुनिनको दृष्टिकोणमा त्यस प्रकारको माग गर्नु पुँजीवादको अस्तित्वलाई नै स्वीकार गर्नु हुन्थ्यो र त्यसकारण, त्यो समाजवादी आन्दोलनसित गद्दारी थियो ।

वाकुनिनको ‘वामपन्थी’ संकिर्णवादी सोचाइको आधार अराजकतावाद थियो । विश्व कम्युनिस्ट आन्दोलनलाई त्यस प्रकारको सोचाइले कैयौँ रूपमा प्रभावित गरेको छ, सिद्धान्त र राजनीतिको क्षेत्रमा मात्र होइन, संगठन र अनुशासनको क्षेत्रमा पनि वाकुनिनले यो कुरामा जोड दिन्थे कि क्रान्तिपछि राज्यलाई कायम गर्नुपर्ने आवश्यकता छैन र त्यसलाई सम्पूर्ण रूपले नष्ट गर्नुपर्छ । त्यसैगरी पार्टीभित्र केन्द्रीय वा अनुशासनको औचित्यतालाई पनि उनले अस्वीकार गर्दथे र संगठनमा पूरै स्वतन्त्रता हुनुपर्दछ भन्ने कुरामा जोड दिन्थे । अहिलेका ‘वामपन्थी’ संकिर्णवादीहरूले क्रान्तिपछि राज्यलाई सम्पूर्ण रुपले समाप्त गर्नुपर्छ भन्ने सिद्धान्तलाई त मान्दैनन् र उनीहरूले सिद्धान्ततः समाजवादी क्रान्तिपछि सर्वहारावर्गको अधिनायकत्व वा नयाँ जनवादी क्रान्तिपछि जनताको अधिनाकत्वलाई पनि स्वीकार गर्दछन् । सिद्धान्ततः उनीहरूले जनवादी क्रान्तिको औचित्यतालाई अस्वीकार गर्दैनन्, तर व्यवहारमा लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्तलाई पालना गर्नुपर्ने कुराको विरोध गर्दछन् । कतिपयले त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त पुरानो वा ‘आउट अफ डेट’ भएको दावी गर्दै विश्वको बदलिएको परिस्थिति अनुसार त्यसमा परिमार्जनको आवश्यकतामा जोड दिन्छन् । परिमार्जनको अर्थ हो, अनुशासनलाई खुकुलो र छाडा छाडिदिनु । जनवादी केन्द्रीयता वा अनुशासनको विरोध वा अतिक्रमणको सन्दर्भमा दक्षिणपन्थी अवसरवादी र ‘वामपन्थी’ संकिर्णवादीहरू व्यवहारमा एकै ठाउँमा उभिएको पनि देखिन्छ ।

‘वामपन्थी’ संकिर्णवादी सोंचाई लेनिन, स्टालिन वा माओको समयमा पनि विभिन्न रूपमा देखा पर्दै गयो । लेनिनले पनि माक्र्सले जस्तै समाजवादी कार्यक्रमलाई सफल पार्नको लागि विभिन्न कार्यनीतिहरू अपनाउने कुरामा जोड दिएका थिए । त्यस अनुसार उनले राजनीतिक स्वतन्त्रता वा तात्कालिक मागहरूको लागि संघर्ष गर्ने, अक्टोवर क्रान्तिपछि त्यो बेलाको युद्धले पैदा गरेको संकटपूर्ण स्थितिमा पुँजीपति वर्गसित सहकार्य गर्ने, नयाँ आर्थिक नीति अपनाउने, जर्मनसितको युद्धको बेलामा आफ्नो देशको कतिपय भूमिहरूलाई छाडेर पनि जर्मनीसित शान्ति सन्धि गर्ने, जारको डुमामा भाग लिने जस्ता नीतिहरू अपनाएका थिए । तर लेनिनका त्यस प्रकारका सबै नीतिहरूको ‘वामपन्थी’ संकिर्णवादीहरूले कडा विरोध गरेका थिए । लोकवादीहरू, जसमा लेनिनका दाइ अलेकजेण्डर पनि सामेल थिए र जारद्वारा उनलाई मृत्युदण्ड सजाय दिइएको थियो । उनीहरूले लेनिनको तात्कालिक सुधारका मागहरूको लागि संघर्ष गर्ने नीतिलाई ‘पेटि वारफेट’ अर्थात सानातिना कुराका लागि संघर्ष गर्ने गैर क्रान्तिकारी नीति भनेर विरोध गरेका थिए ।

जर्मनीसित शान्ति सन्धि गर्ने विचारलाई ट्रटस्कीले विरोध गरेका थिए । त्यति मात्र होइन, त्यो बेलाको केन्द्रीय कमिटीको बहुमत पनि जर्मनसितको शान्ति सम्झौताको विरोधमा उभिएको थियो । त्यसपछि लेनिनले आफ्नो पदबाट राजिनामा दिएका थिए । त्यसपछि नै केन्द्रीय कमिटीले त्यो शान्ति सम्झौतालाई स्वीकार गरेको थियो । तर पछि आफ्नो स्थिति सुदृढ भएपछि जर्मनलाई छाडेको सम्पूर्ण भूमि सोभियत संघले फिर्ता लिएको थियो । यी केही उदाहरणहरूबाट लेनिनले अपनाएको उच्च प्रकारको द्वन्द्वात्मक प्रणालीलाई बताउँछ ।

जब हिटलरले सोभियत संघमाथि आक्रमण ग¥यो, स्टालिनले हिटलरलाई पराजित गर्नका लागि साम्राज्यवादी शक्तिहरू, अमेरिका, बेलायत र फ्रान्ससित संयुक्त मोर्चाको नीति अपनाएका थिए । त्यो संयुक्त मोर्चालाई सफल पार्नका लागि उनी कमिनटर्न (कम्युनिस्ट इन्टरनेशनल) लाई विघटन गर्न पनि सहमत भएका थिए । स्टालिनका त्यस प्रकारका सबै नीतिहरूलाई ट्राटस्कीले कडा शब्दमा विरोध गरेका थिए । उनले स्टालिनको एउटै देशमा, सोभियत संघमा, समाजवादको निर्माण गर्ने नीतिको पनि विरोध गरेका थिए । उनको जोड यो कुरामा थियो कि संसारका धेरै देशहरूमा एकै साथ समाजवादी क्रान्ति गर्नका लागि संघर्ष गर्नुपर्छ र एउटै देशमा मात्र समाजवादको निर्माणका लागि प्रयत्न गर्नु गलत हो । यी सबै कुराहरूका लागि ट्राटस्कीले स्टालिनलाई क्रान्तिसित गद्दारी गरेको भनेर आलोचना गरेका थिए ।

माओले पहिले चीनमा समाजवाद र सोभियत सरकारको कार्यक्रम अपनाएर संघर्ष गरेका थिए तर पछि उनले यो देखेकि चीनको विशिष्ट परिस्थितिमा अर्थात उद्योग धन्दाको उच्चतम रुपमा विकास नभएको अवस्थामा, त्पुँजी समाजवादी क्रान्तिको कार्यक्रममा जोड दिनु सही थिएन । त्यसकारण उनले युरोपियन देशहरू वा रुसमा अपनाइएको नीति भन्दा बेग्लै समाजवादी क्रान्तिको ठाउँमा नयाँ जनवादी क्रान्तिमा जोड दिए । माओले स्पष्ट गरे कि चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा भएको र त्पुँजी पुँजीवादको विकास कम भएको हुनाले त्यहाको वस्तुगत स्थितिमा पुँजीवादी प्राजातान्त्रिक क्रान्तिलाई सफल पार्नमा नै जोड दिनुपर्दथ्यो । त्यो कार्यक्रमको मूल स्वरुप पुँजीवादी प्रकारको नै हुन्थ्यो । अर्थात सामन्ती संरचनालाई ध्वस्त पार्ने र उद्योगधन्दाको विकास गर्ने । तर उनले यो कुरामा पनि जोड दिएका थिए, बदलिएको विश्वको परिस्थितिमा त्यो क्रान्ति सर्वहारा वर्गको पार्टीको नेतृत्वमा नै हुन सक्दथ्यो र हुनु पर्दथ्यो । त्यो अवस्थामा त्यो पुरानो प्रकारको पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नभएर नयाँ प्रकारको पुँजीवादी प्रजातान्त्रिक क्रान्ति हुन्थ्यो । त्यसैले त्यसको नाम नयाँ प्रजातान्त्रिक क्रान्ति वा नयाँ जनवादी क्रान्ति रहन गएको थियो ।

नयाँ जनवादी क्रान्तिको कार्यक्रमा समाजवादी क्रान्तिको कार्यक्रममा भन्दा बेग्लै, राष्ट्रिय पुँजीपति वर्ग, धनी किसान वा मध्यम वर्गीय किसानहरूको अस्तित्वलाई पनि स्वीकार गर्ने र जमिनमाथिको व्यक्तिगत स्वामित्वलाई कायम राख्ने नीति पनि अपनाइएको थियो । वाङ्मीनले माओको त्यस प्रकारको नीतिलाई समाजवादबाट पलायन बताएर उनलाई (माओलाई) गद्दार समेत घोषित गरेका थिए ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारका ‘वामपन्थी’ संकिर्णवादी सोचाइहरू अन्य देशहरूमा पनि विभिन्न रूपमा देखा पर्दै आएका छन्, जस मध्ये कतिपय ‘वामपन्थी’ लफ्फाजीको चरणमा मात्र सीमित रहे भने कतिपयले उग्र ‘वामपन्थी’ रूप पनि लिने गरेका छन् ।

(ग)

नेपालमा पनि ‘वामपन्थी’ संकिर्णवादी सोचाइहरू बारम्बार देखा पर्ने गरेका छन् र तिनीहरूका विरुद्ध संघर्षको हाम्रो लामो र गौरवपूर्ण इतिहास रहेको छ । त्यो प्रवृति सर्वप्रथम माले र पछि माओवादीहरूमा देखा पर्यो । उनीहरूको ‘वामपन्थी’ संकिर्णवादी सोंचाइ उग्र ‘वामपन्थी’ भड्कावका रुपमा पनि देखा परेको थियो । माले, जो पहिले झापाली वा कोअर्डिनेशनको रूपमा चिनिन्थ्यो, ले पहिले अफ्ना प्रारम्भिक दिनहरूमा सबै जनवर्गीय संगठन, पुँजीसम्म कि मजदूर र किसानहरूका संगठनहरू वा उनीहरूले तात्कालिक मागको लागि गर्ने सबै आन्दोलनहरूलाई, किसानहरूको वर्गसंघर्षलाई पनि विरोध गरेको थियो र उनीहरूको जोड लडाकु वा सशस्त्र दलहरूको गठनमा मात्र थियो ।

त्यो बेला भारतमा नक्सलवादी आन्दोलन चलिरहेको थियो । त्यसको प्रभाव उनीहरूमा पनि परेको थियो र उनीहरूले तत्काल देशमा सशस्त्र संघर्ष गर्ने कुरामा जोड दिएका थिए । उनीहरूको त्यो नीतिको विरोध गर्दै मेरो पुस्तक, उग्र ‘वामपन्थी’ विचारधारको खण्डन् प्रकाशित भएको थियो । त्यो बाहेक संगठनात्मक क्षेत्रमा पनि उनीहरूसित हामीले कडा संघर्ष गर्नु परेको थियो । तैपनि उनीहरू आफ्ना उग्र प्रकारका नारा र कारबाहीहरूद्वारा हाम्रा पार्टीका कार्यकर्ताहरूलाई ठूलो संख्यामा आफ्नो पक्षमा लैजान सफल भएका थिए । तर इतिहासले यो कुरा प्रष्ट गरिसकेको छ कि, जस्तो कि सबैतिर प्रायशः यस्तै हुन्छ, उनीहरुको उग्र‘वामपन्थी’ भड्कावको पतन दक्षिणपन्थी अवसरवादमा भयो । त्यो कुरा आज सम्पूर्ण देशका अगाडि छर्लंग भएको छ ।

पछि माओवादीहरूले पनि उग्र ‘वामपन्थी’ दिशा समातेका थिए । यो स्वीकार गर्नुपर्दछ कि नेपालमा उनीहरूको संगठन र संघर्षले धेरै नै उच्च रुपमा विकास गरेको थियो । त्यसले गर्दा त्यो संघर्ष खाली नेपालमा मात्र होइन, विश्वमा पनि धेरै नै प्रशिद्ध भएको थियो । विश्वका ‘वामपन्थी’हरूलाई पनि उनीहरु प्रसस्त भ्रम दिन सफल भएका थिए । तर हाम्रो सुरुदेखि नै यो स्पष्ट र दृढ विस्वास थियो कि त्यो आन्दोलनले पनि, एकातिर वस्तुस्थितिको ठोस विश्लेषण अनुसार कार्यनीति निश्चित गर्ने माक्र्सवादी लेनिनवादी सिद्धान्त र, अर्कातिर, वस्तुगत र आत्मगत परिस्थितिसित मेल खाँदैनथ्यो । त्यसैले त्यो, उग्र ‘वामपन्थी’ भड्काव थियो । हामीले पनि त्यो भड्कावका विरुद्ध कडा र लामो संघर्ष गर्नु परेको थियो । रिमले समेत उनीहरूलाई समर्थन गरेको हुनाले हाम्रो उनीहरूका विरुद्धको संघर्षले अरू गम्भीर रुप लिएको थियो ।

मालेको समयमा भन्दा बेग्लै उनीहरूले हामीमाथि खाली सैद्धान्तिक वा राजनीतिक रुपमा मात्र होइन भौतिक रूपमा पनि धेरै नै हमला गरेका थिए । कतिपय ठाउँमा हाम्रा साथीहरूको हत्या गरिएको थियो भने कतिपय ठाउँमा हाम्रा साथीहरूको पनि ठूलो संख्यामा अपहरण गरिएको थियो । उनीहरूका ‘क्रान्तिकारी’ लफ्फाजीहरूबाट प्रभावित भएर हाम्रो पार्टीका कार्यकर्ताहरू पनि ठूलो संख्यामा माओवादीहरूसित मिल्न पुगेका थिए । त्यस सिलसिलामा हाम्रो पार्टीमा पटक पटक फुट पारिएको थियो । तर ‘वामपन्थी’ संकीर्णवादी वा उग्र ‘वामपन्थी’ भड्कावको जुन विश्वव्यापी र ऐतिहासिक नियम रहेको छ, त्यसबाट त्यो समूह पनि अपवाद भएन र अन्तमा त्यसको पतन दक्षिणपन्थी अवसरवादमा नै भयो ।

अब त्यसले (माओवादीले) सैद्धान्तिक रुपमा नै नयाँ जनवादी कार्यक्रमलाई छाडिसकेको छ र त्यो एउटा बुर्जुवा पार्टी जस्तो नै भएको छ । तैपनि हामीले कसैप्रति पूर्वाग्रह राखेर होइन, उसको चरित्र र नीतिको वस्तुगत मूल्यांकन गरेर नै त्यसप्रति आफ्नो नीति निश्चित गर्ने गरेका छौँ । त्यही नै सही र द्वन्द्वात्मक पद्धति पनि हो । त्यसरी वस्तुगत रूपले विचार गरेर नै हाम्रो पार्टीको आठौै महाधिवेशनले माले र माओवादी दुबैलाई देशभक्त, जनतान्त्रिक र ‘वामपन्थी’ शक्ति तथा मित्र शक्तिको रुपमा विश्लेषण गरेको थियो ।

क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनको लागि दुई वटा कुराहरूमा विशेष ध्यान दिनु पर्दछ । प्रथम, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र, द्वितीय, वस्तुस्थितिको सही विश्लेषण । तर ‘वामपन्थी’ संकीर्णवादीहरूले उक्त दुवै पक्षहरूको उपेक्षा गर्दछन् । त्यसैले उनीहरूको दिशा उग्र‘वामपन्थी’ दिशातिर हुन्छ वा त्यो चरणमा पुग्न नसकेमा उनीहरू ‘वामपन्थी’ लफ्फाजीको चरणमा नै हुन्छन् । कतिपय अवस्थामा ‘वामपन्थी’ संकिर्णवादी चरणमा नै उनीहरूको विसर्जन हुन्छ ।

‘वामपन्थी’ संकीर्णवादीहरूले माक्र्सवादी लेनिनवादी सिद्धान्त र वस्तुस्थितिको ठोस विश्लेषण गरेर कार्यनीति निश्चित गर्ने पार्टी वा त्यसको नेतृत्वलाई दक्षिणपन्थी वा गद्दार पनि घोषित गर्ने गर्दछन् । त्यस अनुसार जस्तो कि माथि पनि बताइएको छ, वाकुनिनले माक्र्सलाई, टाट्स्कीले स्टालिनलाई र वाङ्मीनले माओलाई गद्दार घोषित गरेका थिए भने लोकवादीहरूले लेनिनलाई सुधारवादी कार्यक्रममा अलमलिएको भनेर कडा आलोचना गरेका थिए । ‘वामपन्थी’ संकीर्णवादीहरु, माक्र्सवादी सिद्धान्त र वस्तुस्थिति भन्दा माथि हावामा उड्ने गर्दछन् । त्यसैले उनीहरुले माक्र्स, लेनिन, स्टालिन र माओलाई पनि आफुभन्दा धेरै तलको र गैर–क्रान्तिकारी देख्ने गर्दछन् ।

‘वामपन्थी’ संकिर्णवादीहरूको प्रवृत्ति सामान्यतः रणनीतिक कार्यक्रमहरूलाई तात्कालिक कार्यक्रम वा नाराको रूपमा प्रस्तुत गर्ने तिर नै हुन्छ । उनीहरूमा तात्कालिक वस्तुस्थिति भन्दा माथि हावामा उड्ने प्रवृत्ति हुन्छ । कतिपय अवस्थामा त्यस प्रकारको प्रवृत्ति इमान्दारिता र उच्च प्रकारको उत्साह र क्रान्तिकारी स्प्रीटद्वारा पनि प्रेरित हुन्छ । तर मुल रूपमा उनीहरूले वस्तुस्थितिको ठोस विश्लेषण र त्यसका आधारमा कार्यनीति निश्चित गर्ने माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई त्यागेका हुन्छन् । त्यसकारण उनीहरूको त्यस प्रकारको प्रवृत्ति जतिसूकै क्रान्तिकारी स्प्रीटद्वारा ओतप्रोत भएको भएपनि त्यो गलत नै हुन्छ र त्यसले उनीहरूलाई अन्तत विसर्जनको बाटोमा वा गलत दिशामा नै लैजान्छ । वस्तुस्थिति भन्दा माथि हावामा उड्ने प्रवृकिा कारणले नै उनीहरू तात्कालिक राजनीतिक स्थिति अनुसार कार्यनीति निर्धारण गर्न र त्यसलाई अपनाउन असफल हुन्छन् र उनीहरूको जोड रणनीतिक लक्ष्य वा कार्यक्रमलाई तात्कालिक कार्यदिशाका रुपमा प्रस्तुत गर्नेतर्फ नै हुन्छ किनभने त्यसो गर्नु उनीहरूका दृष्टिमा बढी क्रान्तिकारी हुन्छ । त्यो कुरा नेपालको ‘वामपन्थी’ संकिर्णवादी सोचाइहरूको सरसरी अध्ययनबाट पनि प्रष्ट हुनेछ ।

(घ)

मालेले नयाँ जनवादी क्रान्तिलाई नै आफ्नो तात्कालिक कार्यदिशा बनाएको थियो । त्यसैले तात्कालिक सबै कार्यक्रम मात्र होइन, सबै जनवर्गीय संगठनहरुको संगठन वा उनीहरुका आन्दोलनहरुलाई पनि त्यसले गैर–क्रान्तिकारी बताएर निषेध गरेका थियो । माओवादीहरुले जनवर्गीय संगठनहरुको निषेध त गरेका थिएनन् तर नयाँ जनवादी क्रान्ति भन्दा तलका कार्यक्रमहरुलाई विरोध गरेका थिए र त्यो क्रममा बहुदलीय व्यवस्थालाई पनि समाप्त गर्ने कुरामा जोड दिएका थिए । त्यसैले बहुदलीय व्यवस्था र त्यसको लागि प्रतिगमनका विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक शक्तिहरुमाथि हमला गर्ने नीति अपनाएका थिए । त्यो क्रममा उनीहरु राजासित छद्म कार्यगत एकता पनि गर्न पुगेका थिए । राजाले पनि बहुदलीय व्यवस्थालाई समाप्त गर्न चाहान्थ्यो र उनीहरुले पनि त्यही नीति अपनाएका थिए । त्यसैले उनीहरु एकअर्काका नजिक आएका थिए र उनीहरुको बिचमा छद्म प्रकारको कार्यगत एकता पनि बन्न पुगेको थियो । त्यो कुरा उनीहरुका नेताहरुले त्यो बेला सार्वजनिक रुपले नै स्वीकार गरेका थिए । मालेहरुले त्यस प्रकारको नीति अपनाएको पाइन्न । त्यस प्रकारको, अर्थात राजासित एक वा अर्काे रुपमा कार्यगत एकता गर्ने, नीति अपनाएको पाइन्न ।

तर उनीहरुको नीति पनि बहुदलीय व्यवस्थामाथि आक्रमण गर्ने नै थियो । पछि मालेले आफ्नो उग्र ‘वामपन्थी’ नीतिबारे आत्मालोचना ग¥यो । तर माओवादीले अहिलेसम्म त्यस प्रकारको आत्मालोचना गरेको छैन, यद्यपि उनीहरू उग्र ‘वामपन्थी’ कार्यदिशालाई छाडेर शान्तिपूर्ण आन्दोलन वा बहुदलीय व्यवस्थाको पक्षमा आएका छन् । माओवादीको मूल धारले दक्षिणपन्थी दिशा समात्नुका वाबजुद त्यो बहुदलीय व्यवस्था, गणतन्त्र वा धर्मनिरपेक्षताको पक्षमा उभिएको छ । तर त्यसबाट अलग भएका केही समूहहरुमा अझै पनि माओवादीको पहिलेको उग्र‘वामपन्थी’ भड्कावको अवशेष रहेको पाइन्छ । उनीहरु मध्ये कसैले सशस्त्र विद्रोहको बाटो अपनाउने कुरामा जोड दिएका थिए, जस्तो कि विप्लव पक्षले भने कतिपय, जस्तो कि वैद्य पक्षले सुरुमा विद्रोहको कुरा गरेर प्रचण्डसित सम्बन्ध विच्छेद गरेको भएपनि अहिले सशस्त्र संघर्षलाई आफ्नो तात्कालिक कार्यदिशा बनाएको पाइँदैन । तर तात्कालिक वस्तुस्थिति र आत्मगत अवस्थाको सही विश्लेषण गरेर कार्यनीति अपनाउने माक्र्सवादी लेनिनवादी सिद्धान्तको ती दुबै पक्षहरुले उपेक्षा गरेको पाइन्छ ।

विप्लप पक्षले अब नेपालमा वैज्ञानिक समाजवादलाई र वैद्य पक्षले नयाँ जनवादलाई नै तात्कालिक कार्यदिशाको रुपमा अपनाउने कुरामा जोड दिइरहेका छन् । उनीहरुले धर्मनिरपेक्षताको ता विरोध गरेको पाइँदैन तर गणतन्त्र र संसदीय प्रणाली दुवैलाई प्रतिक्रियावादी बताएर तिनीहरुलाई खारेज गर्नका लागि आन्दोलन चलाउने कुरामा जोड दिइरहेका छन् । उनीहरुसित सम्बन्धित अन्य कतिपय पक्षहरुमा तत्काल वैज्ञानिक समाजवाद वा नयाँ जनवाद मध्ये कुनलाई तात्कालिक कार्यदिशाको रुपमा अपनाउने त्यसबारे उनीहरुमा केही मतभिन्नता पाइन्छ । तैपनि वैज्ञानिक समाजवाद वा नयाँ जनवादलाई नै तात्कालिक कार्यदिशा बनाउने र बहुदलीय व्यवस्था वा गणतन्त्रलाई प्रतिक्रियावादी बताएर त्यस माथि हमला गर्ने प्रश्नमा उनीहरुका विचारमा समानता पाइन्छ ।

आज राजावादीहरुले पनि गणतन्त्र र बहुदलीय व्यवस्थामाथि हमला गर्ने र राजतन्त्रको पुनस्र्थापनका लागि अभियान चलाइरहेका छन् । कतिपय ‘वामपन्थी’हरुले वैज्ञानिक समाजवादलाई तात्कालिक कार्यदिशा बनाए पनि यो स्पष्ट छ, त्यो कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्नु सम्भव छैन । यो कुरालाई उनीहरुले पनि स्वीकार गर्दछन् । त्यो अवस्थामा उनीहरुले बहुदलीय व्यवस्था वा गणतन्त्रमाथि हमला गर्ने जुन नीति अपनाएका छन, त्यसबाट राजावादीहरुलाई नै मदत पुग्ने वा प्रतिगमनको सेवा हुने कुरा प्रष्ट छ । त्यसरी उनीहरुले सिधै ता होइन, तर ‘क्रान्तिकारी’ दिशाबाट प्रतिगमनलाई सेवा गर्ने कुरामा कुनै शंका रहन्न ।

अहिले देशमा कायम भएको बहुदलीय व्यवस्था र गणतन्त्र नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षद्वारा प्राप्त भएका उपलब्धिहरु हुन । नेपालमा अहिले पनि प्रतिगमनसितको अन्तरविरोध वा संघर्ष समाप्त भएको छैन । अर्का शब्दमा सामन्तवादसितको संघर्ष अझै पनि कायम छ । सामन्तवादको जगमा नै राजतन्त्र उभिएको हुन्छ । अहिले देशमा राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भएको छ । तर सामन्तवादको वर्गीय आधार विद्यमान छ र त्यसले आफ्नो पुनस्र्थापनाका लागि लगातार प्रयत्न गरिरहेको छ । नेपालमा २०१७ साल र २०५९ सालमा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरंकुश राजतन्त्र अगाडि आएको उदाहरण हाम्रा अगाडि छ । तर अहिले त्यो सिलसिला समाप्त भयो भनेर सोच्नु अपरिपक्व र अदूरदर्शितापूर्ण सोंचाइ हुनेछ । तर ‘वामपन्थी’ संकीर्णवादीहरुले सामन्तवादसितको अन्तरविरोध गौण भएको र राजतन्त्रको पुनस्र्थापनाको कुनै खतरा नभएको कुरामा जोड दिइरहेका छन् । यसरी आज हाम्रा अगाडि गम्भीर रुपमा देखापरेको प्रतिगमनको खतरालाई गौण बताएर उनीहरुले प्रकान्तरले प्रतिगमनलाई नै मदत पु¥याउने काम गरिरहेका छन् ।

अहिले देशमा विद्यमान बहुदलीय व्यवस्था वा गणतन्त्रको प्रकृति निश्चित रुपले नै बुर्जुवा प्रकारको छ । विश्व स्तरमा संसदीय प्रणाली प्रतिक्रियावादी भइसकेको छ । तर नेपालको विशिष्ट परिस्थितिमा, जहाँ अझैपनि सामन्तवाद काफी हदसम्म बलियो छ र राजतन्त्रको पुनस्र्थापनाको खतरा टरिसकेको छैन, बुर्जुवा प्रकारको भएपनि बहुदलीय व्यवस्था वा गणतन्त्रले प्रगतिशिल अर्थ वा महत्व राख्दछन् । त्यसैले तिनीहरुको विरोध गर्नु वा तिनीहरुलाई समाप्त गर्ने नीतिमा जोड दिनु उनीहरुको नै सेवा गर्नु हो ।

(ङ)

हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका केही फुटपरस्त तत्वहरुले पनि वैद्य र विप्लव समूहका विचारहरुको अनुशरण गर्दै बहुदलीय व्यवस्था वा गणतन्त्र माथि हमला गर्ने नै आफ्नो मुख्य तात्कालीन कार्यदिशा बनाएका छन् । उनीहरु पहिले हाम्रो पार्टीमा नै थिए र उनीहरु मध्ये कतिपयले हाम्रो पार्टीको आठौँ महाधिवेशनमा पनि भाग लिएका थिए । त्यो बेला पनि उनीहरुले वैद्य वा विप्लवहरुको राजनीतिक लाइनलाई हाम्रो पार्टीको महाधिवेशनमा पारित गराउनको लागि पूरै प्रयत्न गरेका थिए । उनीहरुले विप्लवले जस्तो वैज्ञानिक समाजवादलाई अहिलको आफ्नो रणनीतिक कार्यक्रम त बताउदैनन् र त्यसको सट्टा उनीहरुले नयाँ जनवादी कार्यक्रमलाई नै समर्थन गर्दछन् । तर बहुदलीय व्यवस्था र गणतन्त्रलाई खारेज गराउन जोड दिने कुरामा उनीहरुले वैद्य र विप्लवको लाइनलाई नै अनुशरण गर्दछन् ।

अहिलेका पार्टीबाट निश्कासित र फुटपरस्त तत्वहरुले महाधिवेशनका बेलामा फोरममा प्रकाशित आफ्ना कतिपय लेखहरुमा यो कुरामा जोड दिएका थिए ः बहुदलीय व्यवस्था र गणतन्त्रको स्वरुप पुँजीवादी र प्रतिक्रियावादी छ र तिनीहरुको रक्षाका लागि काम गर्नु दक्षिणपन्थी सोचाइ हो । उनीहरुले सामन्तवादसितको अन्तरविरोधलाई गौण बताएर दलाल, पुँजीपति वर्गसितको अन्तरविरोधलाई नै प्रधान बताएका थिए । उनीहरुका दृष्टिकोणमा देशमा प्रतिगमनको कुनै खतरा थिएन र त्यसका विरुद्धको संघर्षमा जोड दिनु आवश्यकता थिएन । उनीहरुले विद्यमान गणतन्त्र वा बहुदलीय व्यवस्थालाई प्रतिक्रियावादी बताएको हुनाले त्यसको पक्षधर एमाले र माओवादीहरुलाई पनि प्रतिक्रियावादी र दुश्मन शक्ति बताएका थिए । उनीहरुका त्यस प्रकारका सोचाइहरुले वैद्य र विप्लवको राजनीतिसित मेल खाने कुरा प्रष्ट छ । तर हाम्रो पार्टीको आठौँ महाधिवेशनमा उनीहरुको त्यस प्रकारको लाइन पराजित भएपछि तथा सम्पूर्ण पार्टीलाई कब्जा गर्ने उनीहरुको प्रयत्न असफल भएपछि उनीहरुले पार्टीभित्र व्यापक रुपले गुटवन्दी गरेर हाम्रो पार्टीलाई फुटाउन वा ध्वस्त गर्नका लागि प्रयत्न गरेका थिए र अहिलेसम्म पनि गरिरहेका छन् । उनीहरुका त्यस प्रकारका कारवाहीहरुको सिलसिला लामो छ ।

उनीहरुले, जस्तो कि माथि भनियो, यो कुरामा जोड दिने गरेका छन् कि देशमा अब सामन्तवादसितको अन्तरविरोध गौण भइसकेको छ र दलाल पुँजीपति वर्गसितको अन्तरविरोध नै प्रधान भएको छ । यो सत्य हो, दलाल पुँजीपति वर्गसित पनि नेपाली जनताको अन्तरविरोध छ । तर त्यो वर्गसितको अन्तरविरोधलाई प्रधान बताएर सामन्तवादसितको अन्तरविरोधलाई गौण बताउनु निश्चित रुपले वस्तुस्थितिसित मेल नखाने ‘वामपन्थी’ संकीर्णवादी सोचाइ नै हो ।

दलाल पुँजीपति वर्गसितको अन्तरविरोध प्रधान बन्नका लागि दलाल पुँजीको आधारमा भएपनि देशमा पुँजीवादको धेरै नै विकास भएको हुनुपर्दछ । तर हामीले देशको समग्र स्थितिमाथि विचार ग¥यौँ भने स्पष्ट हुनेछ, देशको अर्थतन्त्रको मुख्य स्वरुप सामन्ती नै छ, पुँजीवादी होइन । त्यो अवस्थामा सामन्तवाद सितको अन्तरविरोधलाई गौण बताउनु अवस्तुवादी र राजनीतिक दृष्टिकोणले अपरिपक्व दृष्टिकोण नै हो । त्यस प्रकारको सोचाइले प्रकान्तरले सामन्तवाद र प्रतिगमनको नै सेवा गर्दछ ।

जस्तो कि विश्वभरका उग्र ‘वामपन्थी’ वा ‘वामपन्थी’ संकीर्णवादीहरुको परम्परा रहँदै आएको छ, माक्र्सवादी सिद्धान्त र वस्तुस्थितिको ठोस विश्लेषण गरेर कार्यनीति अपनाउने पार्टी वा व्यक्तिहरुलाई उनीहरुले गद्दार वा दक्षिणपन्थी भनेर हमला गर्ने गर्दछन् । त्यसरी उनीहरुले माक्र्स, लेनिन, स्टालिन र माओमाथि हमला गरेका उदाहरणहरु माथि उल्लेख गरिसकेका छौँ । आफ्नो उग्र‘वामपन्थी’ दृष्टिकोणका कारणले माले र माओवादीहरुले पनि हामीलाई गद्दार वा दक्षिणपन्थी घोषित गरेका थिए । त्यो परम्परा अनुरुप हाम्रो पार्टीबाट निष्काशित वा फुटेर गएका तत्वहरुले पनि हाम्रो पार्टीको आठौँ महाधिवेशनका निर्णयहरु वा त्यसको नेतृत्वलाई दक्षिणपन्थी बताउने गरेका छन् । त्यसरी ता पहिले पनि उग्र ‘वामपन्थी’ वा ‘वामपन्थी’ संकिर्णवादी पक्षहरुले हामीलाई दक्षिणपन्थी घोषित गरेर कम्युनिस्ट आन्दोलनबाट नै पाखा लगाउने कोशिस गरेका थिए । तर इतिहासले उल्टो उनीहरुलाई नै गलत सावित गरायो । अहिले ‘वामपन्थी’ संकीर्णवादी दिशा समातेका केही नयाँ साथीहरुले त्यही प्रकारको कसरत गर्दैछन् । तर उनीहरुको कार्यविधि राजनीतिक भन्दा बढी गाली गलौजसम्म नै सीमित रहेको छ । गाली गलौजका आधारमा कसैको पनि राजनीति धेरै अगाडि बढ्न सक्दैन । तैपनि त्यो दिशामा उनीहरु कतिसम्म र कहिलेसम्म अगाडि बढ्न सक्नेछन्, त्यो कुरा आउने दिनहरुमा नै थाहा हुँदै जानेछ ।

पहिले उग्र‘वामपन्थी’ दिशा समातेका माले वा माओवादीहरुको इमान्दारिता यस कुरामा छ कि उनीहरुले आफ्नो विचार अनुसार आफ्नो संगठन र आन्दोलनलाई अगाडि बढाउनको लागि पूरा प्रयत्न गरेका थिए । अहिलेका हाम्रा नयाँ ‘वामपन्थी’ संकीर्णवादी साथीहरुले त्यो दिशामा कति सफलता प्राप्त गर्ने हुन् ? त्यो कुरा पनि आउने दिनहरुमा नै प्रष्ट हुँदै जानेछ । उनीहरुले इमानदारितापूर्वक नै त्यसका लागि प्रयत्न गरेपनि उनीहरुको मूल कार्यदिशा नै गलत भएकाले, ‘वामपन्थी’ संकीर्णवादी भएकाले माक्र्सवादी सिद्धान्त र वस्तुस्थितिसित मेल नखाने रणनीतिक कार्यक्रमलाई तात्कालिक कार्यदिशाको रुपमा प्रस्तुत गरेकाले उनीहरुका प्रयत्नहरु असफल हुने कुरा निश्चित छ । त्यो अवस्थामा उनीहरु बढी भन्दा बढी अगाडि बढेर माले वा माओवादीहरुको शिखरलाई चुम्न सफल भए भने पनि उनीहरुको गन्तव्य या त विसर्जन हुनेछ या त्यसको दक्षिणपन्थी अवसरवादमा पतन हुनेछ । माले र माओवादीहरुको अनुभवले त्यो कुरामा कुनै शंका रहन्न ।

अहिले हामीलाई दक्षिणपन्थी बताएर आफूलाई सही रुपमा क्रान्तिकारी सावित गर्नका लागि उनीहरुले आफ्नो आन्दोलनलाई माओवादी वा मालेको भन्दा धेरै माथि उठाउनु पर्नेछ । तर अहिले उनीहरुले अपनाएको कार्यशैली र छाँटकाँट हेर्दा के उनीहरुले आफ्नो आन्दोलनलाई माले र माओवादीको स्तरसम्म वा त्यो भन्दा माथिल्लो चरणमा पुयाउन सक्लान ? त्यो प्रश्नको के जवाफ हुनेछ ? कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ । त्यो अवस्थामा या त उनीहरुको अहिलेको ‘वामपन्थी’ संकीर्णवादी अवस्थामा नै विसर्जन हुनेछ वा बढी भन्दा बढी ‘वामपन्थी’ लफ्फाजीको चरणमा पुग्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । वैद्य पक्ष विद्रोहको नारा दिएर प्रचण्ड पक्षबाट अलग भएको थियो । तर पछि उनीहरुले यो स्वीकार गर्नु परेको थियो, अहिले सशस्त्र संघर्ष गर्नको लागि आत्मगत परिस्थिति तयार छैन । विप्लव पक्षले सशस्त्र विद्रोहको कुरा गरेर केही आतंकवादी कारबाहीहरु पनि गरेको थियो । त्यो पक्ष पनि माले वा माओवादीको शिखरमा पुग्न असफल भएको थियो र बिच बाटोबाट नै फर्केर शान्तिपूर्ण आन्दोलनमा फर्कन बाध्य भएको थियो । अब हाम्रा नयाँ साथीहरु ‘वामपन्थी’ संकीर्णवादी सोचाइलाई कहाँसम्म अगाडि बढाउन सफल हुनेछन्, शायद त्यो कुरा जान्नको लागि हामीले धेरै पर्खनु पर्ने छैन ।

उनीहरुले अब नयाँ पार्टीको निर्माण गर्ने घोषणा गरेका छन् । तर त्यसको निर्माण कसरी गर्ने ? त्यसका लागि उनीहरुले कुनै ठोस् कार्यक्रम अगाडि सार्न सकेका छैनन् । उनीहरुले गोलमटोल शब्दमा खाली यो मात्र बताउने गरेका छन्, नयाँ जनवादी पक्षधर सबै राजनीतिक शक्तिहरुसित व्यापक छलफल र धु्रविकरण गरेर त्यस प्रकारको पार्टीको निर्माण गर्ने । तर उनीहरुले त्यसरी छलफल गर्ने र धु्रविकरण गर्ने भनेका राजनीतिक शक्तिहरु को को हुन ? त्यसबारे उनीहरुले सामान्य प्रकाश पनि हाल्न सकेका छैनन् र वस्तुस्थितिमाथि विचार गर्दाखेरि त्यसबारे उनीहरुले खुलासा पनि गर्न सक्ने छैनन् । विप्लव पक्ष नयाँ जनवादी पक्षधर होइन र त्यसले वैज्ञानिक समाजवादको कार्यक्रममा जोड दिन्छ र, त्यसरी, त्यसले नयाँ जनवादी कार्यक्रमलाई अस्वीकार गर्दछ । त्यसकारण त्योसित मिलेर पार्टी निर्माण गर्नु सम्भव देखिन्न ।

अब त्यसका लागि उनीहरुसित खाली एउटा मात्र विकल्प बाँकी रहन्छ, नेकपा (क्रान्तिकारी माओवादी) । त्यसले नयाँ जनवादी कार्यक्रमलाई मान्दछ । तर त्यो संघीयता र जातिवादको पनि पक्षपाती हो । हाम्रा नयाँ साथीहरु अहिलेको आफ्नो अडानमा इमान्दार र दृढ रहेमा संघीयता र जातिवादलाई स्वीकार गरेर वैद्य पक्षसित मिल्नु उनीहरुका लागि सम्भव हुनेछैन र त्यो आत्मघाती पनि हुनेछ । वैद्य पक्षलाई छाडेर उनीहरुले ध्रुविकरण गर्नका लागि अन्य कुनै राजनीतिक संगठनको नाम दिन सकेका छैनन् र दिन पनि सक्दैनन् । त्यो अवस्थामा नयाँ जनवाद पक्षधरहरुसितको ध्रुविकरणद्वारा नयाँ राजनीतिक पार्टीको निर्माण गर्ने कुरा एउटा लफ्फाजी बाहेक केही हुन नसक्ने कुरा प्रष्ट छ ।

तैपनि उनीहरुले नेकपा (मसाल) बाट निष्कासित र फुटपरस्त तत्वहरुलाई सामेल गरेर एउटा पार्टीको निर्माण गर्न सक्नेछन् । तर त्यसरीे पार्टीको निर्माण गर्नु मुख्य कुरा होइन । तर त्यसलाई उनीहरुले कहिलेसम्म चलाउन सक्नेछन्, त्यो मुख्य कुरा हो । तर खाली पार्टीको गठन गरेर मात्र उनीहरुले हाम्रा विरुद्ध लगाएको दक्षिणपन्थी आरोपलाई सार्थक रुप दिन सक्ने छैनन् । त्यसका लागि उनीहरुले हाम्रो पार्टीले अपनाएका नीतिहरु भन्दा धेरै माथि उठेर क्रान्तिकारी कार्यक्रम र आन्दोलनलाई अगाडि बढाउन सक्नुपर्नेछ । माले र माओवादीको हदसम्म गए भने पनि वा विप्लवको जस्तै सीमित रुपमा त्यस प्रकारका कारबाही गर्न सफल भए भनेपनि उनीहरुले बनाएको संगठनले क्रान्तिकारी पार्टीको रुप लिन सक्नेछैन । उनीहरुको स्थितिमाथि समग्र रुपले विचार गर्दा माले र माओवादीको कुरा परै छ, विप्लव जति पनि अगाडि बढ्नु उनीहरुका लागि सम्भव नहुने कुरा प्रष्ट छ । त्यो अवस्थामा उनीहरुका अगाडि एउटै विकल्प बाँकी रहने छ, नयाँ जनवादको कार्यक्रमलाई छाडेर विप्लव पक्षमा आफूलाई विलय गर्नु वा संघीयता र जातिवादलाई स्वीकार गरेर वैद्यको समूहमा सामेल हुनु । त्यो अवस्थामा एनकेन प्रकारले उनीहरुको अस्तित्व केही दिनसम्म रहन सक्ला तर उनीहरुले बेग्लै पार्टीको निर्माण गरेर आफ्नो पृथक अस्तित्व कायम राख्ने प्रयत्न गरे भने केही दिनमा नै उनीहरुको अस्तित्व समाप्त हुने कुरा निश्चित छ ।

अहिले उनीहरुमा जुन प्रकारका लक्षणहरु देखा परिरहेका छन्, त्यसबाट उनीहरु क्रान्तिकारी दिशामा होइन, प्रतिगमनको दिशामा नै अगाडि बढ्ने बढी सम्भावना देखिन्छ । प्रथमतः, उनीहरुले विद्यमान बहुदलीय व्यवस्था र गणतन्त्रलाई प्रतिक्रियावादी बताएर त्यसमाथि हमला गर्ने नीति अपनाएको हुनाले उनीहरुको सम्बन्ध प्रतिगमनसित नै बढ्दै जाने सम्भावना देखिन्छ । त्यसका साथै अहिले उनीहरुले प्रकट वा छद्म रुपमा ओलीको प्रतिगमनको पक्षमा नै आफूलाई उभ्याउने गरेका छन् । उनीहरुले सामन्तवाद वा प्रतिगमनको खतरालाई पनि गौण वा नगन्य बताउने गरेका छन् । यी प्रारम्भिक लक्षणहरुमाथि विचार गर्दा उनीहरु क्रान्तिकारी दिशामा बढ्ने सम्भावना कम र प्रतिगमनसित तालमेल गर्ने सम्भावना नै बढी देखिन्छ । त्यो कार्यमा प्रतिगामी शक्तिहरुबाट पनि उनीहरुलाई ठूलो मदत पुग्नेछ र पुगिरहेको पनि छ । त्यसरी प्रतिगमनको मदतको आधारमा क्रान्तिकारी दिशामा बढ्न सक्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो । गाली गलौजका आधारमा उनीहरुले केही दिन भ्रम दिन सक्दछन्, केही इमान्दार कार्यकर्तालाई पनि उनीहरुले आफ्ना साथमा लैजान सक्नेछन् तर त्यो खेल कति दिनसम्म चल्नेछ ? माले वा माओवादीहरुले पनि ‘क्रान्तिकारी’ लफ्फाजी र उग्र ‘वामपन्थी’ कारबाहीहरुका आधारमा हाम्रो पार्टीका कैयौँ इमान्दार साथीहरुलाई आफ्नो पक्षमा मिलाएका थिए ।

तर ती सबैलाई उनीहरुले दक्षिणपन्थी दलदलमा लगेर फसाएका थिए । अहिले हाम्रा नयाँ ‘वामपन्थी’ संकीर्णवादी साथीहरुले पनि हाम्रा कतिपय इमान्दार साथीहरुमा भ्रम पार्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर ती साथीहरुलाई कहाँ पु¥याएर बिचल्लीमा पार्नेछन् त्यो कुरा आउने दिनहरुमा नै प्रष्ट हुँदै जानेछ ।

यस सन्दर्भमा एउटा अर्काे प्रश्न पनि विचारणीय छ । त्यो हो, रणनीति र कार्यनीतिप्रति उनीहरुले अपनाएको नीति । उनीहरुले नयाँ जनवादलाई नै आफ्नो तात्कालिक कार्यदिशाका रुपमा अगाडि बढाइरहेका छन् । तर त्यो वामपन्थी लफ्फाजी मात्र हो । किनभने कार्यनीति तात्कालिक आन्दोलनसित सम्बन्धित हुन्छ । तर नयाँ जनवाद तात्कालिक आन्दोलनको विषय होइन । त्यो अवस्थामा वास्तविक अर्थमा भन्ने हो भने उपरी र प्रकट रुपमा हेर्दा उनीहरुको कुनै कार्यनीति नै छैन । तर त्यो कुरा उपरी र प्रकट रुपमा नै सत्य हो । उनीहरुको एउटा स्पष्ट र घोषित कार्यनीति छ, जसलाई उनीहरुले प्रकट रुपमा त बताउन सक्दैनन्, तर जुन वास्तविकता हो । उनीहरुको अहिलेको कार्यनीति भनेको बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नु नै हो । उनीहरुका अन्य सबै क्रान्तिकारी कुराहरु लफ्फाजी मात्र हुन् र उनीहरुको वास्तविक तात्कालिक कार्यनीति बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्नु नै हो । हाम्रो आठौँ महाधिवशनको कार्यक्रम र नीतिलाई दक्षिणपन्थी बताएर उनीहरुले कुन प्रकारको क्रान्तिकारी नीति अपनाउदैछन्, यो एउटा उदाहरणले पनि त्यो कुरालाई प्रष्ट गर्नेछ ।

पूर्व मालेले सशस्त्र संघर्षलाई धेरै अगाडि बढाएको थियो र पछि माओवादीले त्यसलाई अरु उच्च शिखरमा पु¥याएका थिए । तर ती दुवै असफल भएका थिए । त्यो असफलताको कारण के हो ? माक्र्सवादी–लेनिनवादी सिद्धान्तले स“धै यो कुरामा जोड दिन्छ कि कुनै नीति, कार्यक्रम वा संघर्षलाई अगाडि बढाउँदा ठोस् परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ । लेनिनले त्यसलाई माक्र्सवादको मूल तत्व पनि बताएका छन् । तर माले र माओवादी दबैले त्यो सिद्धान्तको उपेक्षा गरेर सशस्त्र संघर्ष सुरु गरेका थिए । संसारका सबै उग्र ‘वामपन्थी’हरुमा त्यस प्रकारको कमजोरी पाइन्छ र माले र माओवादीले पनि त्यही प्रकारको गल्ती गरेका थिए ।

त्यसरी आफ्नो उग्र‘वामपन्थी’ गल्ती गर्ने बेलामा एकातिर सशस्त्र संघर्षप्रति माक्र्सवादी लेनिनवादी सिद्धान्त र कुनै खास बेलाको वस्तुगत र आत्मगत स्थितिको ठोस विश्लेषणको उपेक्षा गरेका थिए । कुनै समूहमा जतिसुकै उत्साह, उच्च प्रकारको वीरता वा त्याग र वलिदानको भावना भएपनि त्यो माक्र्सवादी सिद्धान्तको अतिक्रमण गरेर सशस्त्र संघर्ष सुरु गरेमा त्यो उग्र‘वामपन्थी’ गल्ती हुने र असफल हुने कुरा निश्चित छ । विश्वभर र नेपालको पनि अनुभवले त्यो कुरा बारम्बार प्रमाणित गर्दै आएको छ । विप्लवले पनि पछि वैद्य समूहबाट विद्रोह गरेर सशस्त्र विद्रोहको बाटो समातेका थिए । तर केही स्थानमा बम पड्काउनु र केही हत्या गर्नु जस्ता आतंकवादी कारबाही बाहेक उनको सशस्त्र संघर्ष अगाडि बढ्न सकेन । तर हाम्रो पार्टीले सधै माक्र्सवादी–लेनिनवादी सिद्धान्त र वस्तुस्थितिको विश्लेषण गरेर नै पार्टीका नीति र कार्यक्रमहरु निश्चित गर्दै आएको छ । त्यसैले हाम्रो पार्टी सँधै दक्षिणपन्थी र उग्र‘वामपन्थी’ गल्तीबाट बच्दै आएको छ ।

यो देखापर्दै आएको छ कि करिब १० सालको अवधिमा प्रायशः नयाँ ‘वामपन्थी’ संकिर्णवादी वा उग्र‘वामपन्थी’ सोचाइहरु देखा पर्ने गर्दछन् र हामीले तिनीहरुका विरुद्ध बारम्बार संघर्ष गर्दै आउनु परेको छ । एकपल्ट त्यस प्रकारको कुनै गलत विचार वा भड्कावका विरुद्ध संघर्ष गरेपछि पुनः केही वर्षपछि अर्काे त्यस प्रकारको गलत विचार वा भड्काव उत्पन्न हुने गर्दछ र त्यसका विरुद्ध पुनः नयाँ प्रकारले संघर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यही क्रममा हाम्रो पार्टीबाट निष्काशित र फुटपरस्त केही साथीहरु पुनः वामपन्थी विचार लिएर अगाडि आएका छन् । यो स्पष्ट छ कि उनीहरुले वैद्य र विप्लवका विचारहरुको अनुकरण गरेर हाम्रो आठौँ महाधिवेशनमा नै आफ्नो लाइनलाई स्थापित गर्ने र पार्टी कब्जा गर्ने प्रयत्न गरेका थिए । पार्टीका साथीहरुको उच्च प्रकारको चेतना र अनुशासनको भावनाका कारणले उनीहरु त्यो उद्देश्यमा त सफल हुन सकेनन्, तर त्यसपछि पनि उनीहरुले पार्टीलाई फुटाउनको लागि लगातार प्रयत्न गर्दै आएका छन् । उनीहरुको योजना महाधिवेशनपछि तुरुन्तै फुट पार्ने थियो ।

त्यो बेला परिस्थिति अनुकुल नदेखेर उनीहरुले त्यस प्रकारको दुश्साहस गर्न सकेनन र भित्रभित्रै गुटबन्दी गर्ने तथा छद्म रुपमा पार्टीमाथि आक्रमण गर्ने काम गरिरहे । हामीले महाधिवेशनमा मतभेद राख्ने सबै साथीहरुको त्यस प्रकारको फुटपरस्त सोचाइ थियो भनेका छैनौँ र त्यो सत्य पनि होइन । तर केही मुठ्ठीभर साथीहरुले महाधिवेशन भन्दा पहिलेदेखि नै र महाधिवेशनमा र त्यसपछि पनि त्यस प्रकारको प्रयत्न गर्दै आएका छन् र अहिले पनि गरिरहेका छन् । तर यो स्पष्ट छ कि माले र माओवादीले हाम्रो पार्टीलाई फुटाएर जति टाढासम्म जान सकेका थिए, त्यसको छेउसम्म पनि कुनै सम्भावना छैन । माले र माओवादीहरु फर्केर आए र उनीहरुले पुनः दक्षिणपन्थी राजनीतिको नै गोलचक्कर लगाइरहेका छन् । वैद्य र विप्लवहरुले त्यो दक्षिणपन्थी गोलचक्करबाट निस्कने प्रयत्न गरे र त्यो उनीहरुको सकारात्मक प्रयत्न थियो । तर उनीहरुको पनि सशस्त्र विद्रोहको योजना सफल हुन सकेन किनभने त्यसले माक्र्सवादी लेनिनवादी सिद्धान्त र वस्तुगत तथा आत्मगत स्थितिले मेल खादैनथ्यो ।

तैपनि उनीहरुले नयाँ जनवाद र समाजवादको कुरा गरेर पुनः बहुदलीय व्यवस्था र गणतन्त्रमाथि आक्रमण गर्ने जुन कार्यनीति अपनाएका छन्, त्यो उनीहरुको क्रान्तिकारी मार्गमा एउटा गम्भीर अवरोध भएर उभिने कुरा निश्चित छ ।

वैद्य र विप्लवको राजनीतिको अनुशरण गरेर हाम्रो पार्टीलाई फुटाउन र क्रान्तिकारी दिशामा बढ्न खोजेका हाम्रा नयाँ साथीहरु माले र माओवादीको जस्तो सशस्त्र संघर्षको उच्च शिखरमा पुगे भने त्यसको अन्तिम गन्तव्य दक्षिणपन्थी अवसरवाद नै हुनेछ । तर अहिलेको उनीहरुको सम्पूर्ण कार्यविधि र गतिविधिमाथि विचार गर्दा उनीहरु वैद्य र विप्लवको अहिलेको राजनीतिको घेरालाई नाघेर क्रान्तिकारी दिशामा अगाडि बढ्न नसक्ने कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । उनीहरुको क्रान्तिकारीता खाली बहुदलीय व्यवस्था र गणतन्त्रलाई समाप्त गर्ने र त्यसरी प्रतिगमनको सेवा गर्नसम्म नै सीमित हुने कुरा पनि स्पष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *