विभिन्न राजनीतिक शक्तिहरुसितका एकता वा संघर्षका कार्यनीतिक रुपहरु

66 जनाले पढ्नु भयो ।

  • मोहनविक्रम सिंह

कम्युनिष्ट आन्दोलनका कार्यक्रमहरु लाई हामीले रणनीतिक र कार्यनीतिक दुई प्रकारले छुटाएका हुन्छौँ । रणनीतिक रुप भन्नुको अर्थ अपेक्षाकृत दीर्घकालीन र लामो समयसम्मका नीति, कार्यक्रम वा राजनीतिक शक्तिहरुका विश्लेषणहरु वा उनीहरुप्रतिका नीतिहरु आउछन् । कार्यनीति तात्कालिक कार्यक्रम, नीति वा विभिन्न राजनीतिक शक्तिहरुसितका एकता वा संघर्षहरुसित सम्बन्धित हुन्छ । कार्यनीति मूल रुपमा रणनीति अन्तर्गत नै हुन्छ र त्यसको उद्देश्य पनि रणनीतिको सेवा गर्नु नै हुन्छ । कैयौँ पल्ट कार्यनीतिको रुप रणनीतिको भन्दा विल्कुल बेग्लै पनि हुन्छ वा हुन सक्दछ ।

उदाहरणका लागि रणनीतिक रुपमा हामीले कुनै व्यवस्थामा परिवर्तनका लागि शसस्त्र संघर्षलाई अनिवार्य मान्दछौँ । तर कार्यनीतिक रुपमा तात्कालिक स्थिति र अवस्था अनुसार शान्तिपूर्ण आन्दोलनको नीतिलाई पनि अपनाउछौँ । लेनीन वा माओले त्यस प्रकारका नीतिहरुमा भएको अन्तर वा बेग्लै प्रकारका प्रयोगहरुबारे बारम्बार प्रकाश हाल्ने गरेका छन् ।

साम्राज्यवादी शक्तिहरु वर्गीय र राजनीतिक दुबै प्रकारले हाम्रा दुश्मन शक्तिहरु हुन । उनीहरुका विरुद्धको संघर्षमा नै हाम्रो मुख्य जोड हुन्छ तर कार्यनीति रुपमा उनीहरुसित आवश्यकता अनुसार संयुक्तमोर्चा वा कार्यगत एकताको नीति पनि अपनाइन्छ । त्यस सन्दर्भमा स्टालिनले जर्मन फासिवादका विरुद्ध अमेरिका, ब्रिटेन वा फ्रान्सका साम्राज्यवादी शक्तिहरुसित गरेको एकता पनि उल्लेखनीय छ । हामीले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्या समाधान हुन नसक्ने सिद्धान्तलाई मान्दछौँ । तर कतिपय अवस्थामा त्यसलाई उपयोग पनि गरेका हुन्छौँ । त्यस सन्दर्भमा लेनिनले रुसको डुमा (संसद) को उपयोग गरेको उदाहरण पनि हाम्रा अगाडि छ ।

वर्गीय रुपमा हामीले राजा र नेका दुबैलाई समान दुश्मन मान्दछौँ । तैपनि तात्कालिक, राजनीतिक वा कार्यनीतिक रुपमा नेकासित कार्यगत एकता वा सहकार्य गरेका कैयौँ उदाहरणहरु पनि हाम्रा अगाडि छन् ।

कतिपय राजनीतिक शक्तिहरुले गतकालमा राष्ट्रियता, जनतन्त्र वा अन्य विषयहरुमा गंभीर प्रकारका गल्तीहरु गरेका हुनसक्दछन्, त्यो कारणले उनीहरुसित हाम्रा कडा संघर्षहरु भएका हुन सक्दछन् र आउने दिनहरुमा पनि पुनः ती कुराहरु दोहोरिन सक्दछन् । तर तात्कालिक रुपमा कसैसित एकता गर्दा हामीले उनीहरुसितका पहिलेका वा आउने दिनहरुमा सम्भावित विरोध वा संघर्षहरुलाई होइन, तात्कालिक राजनीतिक स्थिति वा त्यो स्थितिमा उनीहरुले अपनाएका नीतिहरुलाई नै आधार बनाउछौँ । हाम्रो नेकासित पहिले जतिसुकै संघर्ष वा विरोध भएपनि ती कुराहरुका बावजुद ४६ साल वा ०६२-०६३ मा हामीले उनीहरुप्रति एकताको नीति अपनायौँ ।

माओवादीहरुसित उनीहरुको शसस्त्र द्धन्द्ध कालमा हाम्रो तिव्र संघर्ष भयो । तर त्यसका बावजुद ०६२-०६३ सालमा हामीले उनीहरुसित एकता गर्ने नीति अपनायौँ । एमाले र माओवादीको सरकारलाई अपदस्त गरेर नेकासित गठबन्धन गर्ने, तराई वा ५ नं. प्रदेशलाई फुटाउन उनीहरुले ल्याएको विधेकसँग हामीहरुले कडा विरोध ग¥यौँ । तर प्रचण्ड नेकपाको गठबन्धनबाट अलगिएपछि हामीले चुनावमा उनीहरु सँग सहकार्य गर्ने नीति पनि अपनायौँ । नेकपासित हाम्रा गंभीर प्रकारका सैद्धान्तिक, राजनीतिक मतभेदहरु छन् । तैपनि हामीहरुले उनीहरुको सरकारलाई समर्थन गर्ने नीति अपनाएका थियौँ । तर ओली सरकारले संसदको विघटन गरेपछि हामीले त्यसलाई दिएको समर्थन फिर्ता लिएका छौँ । तर अर्कातिर प्रचण्ड–माधव पक्षले संसदको विघटनको विरोध र त्यसको पुर्नस्थापनाको पक्षमा संघर्ष गर्ने नीति अपनाएकोले हामीले उनीहरुसित कार्यगत एकता गर्ने वा उनीहरुको संघर्षलाई समर्थन गर्ने नीति अपनाएका छौँ ।

मधेशवादीहरुसित हाम्रा गंभीर प्रकारका मतभेद भएपनि ०६२-०६३ को जनआन्दोलनमा हामीहरुले उनीहरुसित मिलेर संघर्ष गरेका थियौँ र अहिले पनि उनीहरुसित कार्यगत एकता र सहकार्य गर्ने वा उनीहरुको आन्दोलनलाई समर्थन गर्ने हाम्रो नीति रहेको छ ।

अहिले संसदको विघटनका विरुद्ध आउने सबै शक्तिहरु (राजावादी बाहेक) सित हामीले कार्यगत एकता वा सहकार्यको नीति खुला गरेका छौँ वा उनीहरुका आन्दोलनहरु लाई समर्थन गर्ने नीति अपनाएका छौँ  । त्यस प्रकारको एकता गर्दा हामीले तात्कालिक राजनीतिक आवश्यकता माथि नै ध्यान दिएका छौँ र उनीहरुको गतकालको इतिहास, उनीहरुको वर्गीय र राजनीतिक चरित्र वा आउने दिनहरुमा उनीहरुले अपनाउन सक्ने गलत नीति वा उनीहरु सित सम्भावित हाम्रा मतभेद वा संघर्षहरुलाई हामीले बाधा बनेर उभिन दिएका छैनौँ ।

निश्चय नै कार्यगत एकता वा सहकार्यको परिधि भन्दा बाहिर उनीहरु सित हाम्रा विभिन्न मतभेद र संघर्षहरु साथसाथै पनि चल्न सक्दछन् । तर ती सबैका बावजुत तात्कालिक राजनीतिक आवश्यकतामा, अर्थात संसदको विघटन र सम्भव भएसम्म संसदको पुर्नस्थापनाको लागि भएपनि एकता गर्ने कुरामा नै हाम्रो मुख्य जोड हुन्छ । किनभने त्यो अहिलेको देशको तात्कालिक मुख्य राजनीतिक आवश्यकता हो र त्यसमाथि आउने दिनहरुका कैयौँ राजनीतिक परिणामहरु निर्भर गर्दछन् ।

विभिन्न बामपन्थी शक्तिहरुसित पनि हाम्रा बीचमा भएका कैयौँ मतभेदहरुका बावजुत आपसमा सहमति भएका विषयहरुमा कार्यगत एकता गरेर जाने हाम्रो नीति रहदै आएको छ र हुनेछ ।

हामीले यसरी नै रणनीति र कार्यनीतिका बीचमा अन्तर गर्ने गर्दछौँ र त्यही माक्र्सवादी लेनिनवादी तथा द्धन्द्धात्मक पद्धती पनि हो । कतिपय कम्युनिष्ट पार्टी वा संगठनहरुले रणनीति र कार्यनीतिमा भएको त्यस प्रकारको अन्तरलाई ठिकसित बुझ्ने वा प्रयोग गर्ने कुरामा ध्यान दिदैनन् । त्यसको परिणाम स्वरुप उनीहरु विभिन्न प्रकारका दक्षिणपन्थी वा उग्रवामपन्थी गल्तिहरु गर्न पुग्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *