विष्णुबहादुर मानन्धर कम्युनिष्ट आन्दोलनका अथक यात्री : मसाल

  •   
  •  
  •  
  •  
  •  
  •  

100 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार शोक वक्तव्य प्रकाशित गरी दिवंगत नेता मानन्धरप्रति श्रद्धञ्जली अर्पण गर्नुभएको छ ।

९१ वर्षीय मानन्धरको सोमबार साँझ उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको थियो । शोक वक्तव्यमा महामन्त्री सिंहले नेता मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

यस्तो छ शोक वक्तव्य

‘का. विष्णुबहादुर मानन्धरको २०७७ चैत्र १६ गते साँझ मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दछौँ र सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

का. मानन्धर नेपाली कम्युनिस्ट आन्दोलनको एक निरन्तर यात्री हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट आन्दोलनको बाटोबाट कहिल्यै पनि विचलित हुनुभएन । उहाँको सम्पूर्ण जीवन कम्युनिस्ट आन्दोलनभित्र नै व्यतित भयो ।

कैयौँ व्यक्ति कम्युनिस्ट आन्दोलनबाट पतन भइरहेको अवस्थामा पनि उहाँ धैर्यतापूर्वक निरन्तर रूपमा कम्युनिस्ट आन्दोलनभित्र नै सक्रिय रहनुभयो । उहाँले व्यक्तिगत स्वार्थ, सत्तालाभ वा पदप्रतिष्ठाको लागि कतै कुनै सम्झौता गरेको पाइन्न ।

नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न कारणले विभाजित अवस्थामा रहेको छ । का. मानन्धर र हामी पनि सैद्धान्तिक वा राजनीतिक मतभेदका कारणले अलगअलग रहनुप-यो । यसका लागि सामाजिक संरचना, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, तात्कालिक कार्यदिशा आदि सम्बन्धी हाम्रा दृष्टिकोण र धारणामा रहेको हाम्रो मतभिन्नता तथा त्यसका आधारमा निर्माण हुने हाम्रो कार्यव्यवहार लगायत विभिन्न कारणहरूले काम गरेका थिए । त्यस प्रकारको वस्तुगत परिस्थितिमा हाम्रा कार्यदिशा पनि अलगअलग बन्न गएका थिए ।

तर त्यसका वावजुद पनि हामीले राजनीतिक अधिकार, राष्ट्रियता, जनजीविका लगायत कैयौँ राष्ट्रिय राजनीतिका महत्वपूर्ण प्रश्नमा कार्यगत एकता कायम गरेर विभिन्न समयमा विभिन्न सङ्घर्ष पनि सञ्चालन गरेका थियौँ ।

कम्युनिस्ट आन्दोलनको प्रवाहमा रहेर विभिन्न सैद्धान्तिक तथा राजनीतिक वहस पनि भएका थिए । वहस, विवाद, कार्यगत एकता आदि प्रक्रियाबाट नै उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा रहेर आफ्नो जीवनको यात्रा पूरा गर्नुभएको थियो ।

उहाँको मृत्युबाट नेपाली कम्युनिस्ट आन्दोलनले एक उच्च व्यक्तित्व गुमाउनका साथै आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ । अन्तमा हामीले का. मानन्धरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *