वैकल्पिक शक्ति राष्ट्रिय जनमोर्चा हो भन्ने जनताले बुझेका छन्

390 जनाले पढ्नु भयो ।

तारा क्षेत्री, केन्द्रीय सदस्य, राष्ट्रिय जनमोर्चा तथा उपाध्यक्ष, कालीगण्डकी गाउँपालिका, गुल्मी

कालीगण्डकी गाउँपालिका उपाध्यक्षको रूपमा तीन वर्षमा के कस्ता उपलब्धि हासिल गर्नुभएको छ ?
गुल्मी जिल्लाअन्तर्गतको कालीगण्डकी गाउँपालिकाभित्रको भौगोलिक अवस्था एकदमै विकट छ । त्यसमा सुधार ल्याएर सुगम बनाउनका लागि भौतिक पूर्वाधार विकासको आवश्यकता तीव्र थियो । जस्तै– गाउँपालिकाभरि सडक बाटोघाटो अभाव छ । गाउँपालिकाका थुप्रै गाउँमा खानेपानीका समस्या थिए । बजारदेखि गाउँ र गाउँदेखि बजारसम्म आउनजान तथा गाउँपालिकावासीद्वारा उत्पादन गरिएका सामान ल्याउन र पठाउनका लागि समस्या थियो । २०७२ सालको शक्तिशाली भूकम्पका कारणले गर्दा विद्यालयका भवनहरू अझै जीर्ण अवस्थामा पुगेका थिए । ती सामुदायिक विद्यालयमा पढाउने शिक्षक पनि निजी स्रोतबाट जम्मा गरिएको आम्दानीबाट तलब खाएर पढाउने गर्थे । स्वास्थ्यचौकीद्वारा दिइनुपर्ने गुणस्तरीय सेवाको अभाव थियो । विभिन्न स्वास्थ्य परीक्षणका लागि ल्याब (प्रयोगशाला) को अभाव थियो । यी सबै समस्या समाधान गर्ने सिलसिलामा गत तीन वर्षभित्रमा प्रगतिका ९० प्रतिशतजति काम सम्पन्न गरिएको मान्न सकिन्छ ।

अरू गाउँपालिकाभन्दा कालीगण्डकी गाउँपालिकालाई फरक देखाउन के कस्ता परियोजना सञ्चालन गर्नुभएको छ ?
अरू गाउँपालिकाभन्दा हाम्रो गाउँपालिकालाई छुट्टै प्रकारको पहिचानयुक्त गराउनका निम्ति पनि हामीहरूले प्रयास गरेका छौँ । त्यस क्रममा ३ र ४ नं. वडाको सिरान सत्यवतीलाई ट्रयाकिङ मार्गको हिसाबले विकास गर्ने योजना अगाडि बढाएका छौँ । यसो गर्दा त्यो क्षेत्र पर्यटकीय स्थल बन्ने प्रक्रियामा छ । त्यसैगरी प्रत्येक गाउँ गाउँमा एक घर, एक धारा हुने गरी खानेपानी परियोजना अगाडि बढाएका छौँ । वैज्ञानिक कृषि योजनाबाट प्रत्येक किसानलाई लाभ पुगोस् भन्नका लागि माटो परीक्षण गर्ने हेतुले प्रत्येक क्षेत्रमा आवश्यक संरचना बनाइएको छ । त्यसैगरी कृषि उत्पादनअन्तर्गत खास वस्तुको उत्पादनलाई केन्द्रमा राखेर कफीखेतीका लागि फोक्सिङगाउँ, सुन्तलाको उत्पादन गर्नका लागि लम्सराङ गाउँ, तरकारी उत्पादन पकेटक्षेत्रको रूपमा पुर्तिघाट, टिमूर र सिलामको पकेटक्षेत्रको रूपमा भुर्तुङगाउँ, धान उत्पादनको पकेटक्षेत्र अर्बेनी, स्मार्ट कृषिक्षेत्रको रूपमा हर्मिचौर, मकैजोनको रूपमा खड्गकोट किटानी गरिएको छ ।

त्यसैगरी गाउँपालिकामा दुग्ध उत्पादन र सङ्कलन केन्द्र तथा कोल्डस्टोरको पनि व्यवस्था गरिएको छ । एवम् प्रकारले कालीगण्डकी गाउँपालिकामा मङ्गोल मूलका जनजातिको बाहुल्यता भएका कारणले उनीहरूको भाषिक उन्नतिलाई ख्याल गर्दै वडा नं. ७ को भुर्तुङमा गुरुङ मातृभाषाको पढाइ पनि सुरु गरिएको छ ।

जननिर्वाचित प्रतिनिधि र प्रशासनयन्त्रप्रति त्यहाँका जनताको सहयोग कुन प्रकारको रहेको छ ?
जनप्रतिनिधि र प्रशासनप्रति स्थानीय जनताको ठुलो आसाभरोसा र अपेक्षा छ । जनताको आसा र अपेक्षा धेरै ठुला छन् । तर जनताका ती आकाङ्क्षालाई भर्खरै पूरा गर्न सकिने स्थिति भने छैन । जनताको आकाङ्क्षालाई व्यवस्थित रूपमा सम्बोधन र समाधान गर्ने ढङ्गबाट अगाडि जानका लागि पर्याप्त समयको आवश्यकता हुन्छ । त्यसका लागि स्वयम् जनताको सक्रियता, धैर्यता र जनचेतनासमेतको आवश्यकता पर्दछ । त्यसका लागि हामीले चेतनामूलक कार्य सम्प्रेषण र सम्पादन गर्ने गरिरहेका छौँ ।

जनप्रतिनिधिलाई सम्बन्धित राजनीतिक पार्टीहरूले दिने निर्देशन, सहयोग र नियन्त्रण कसरी भइरहेको छ ?
जनप्रतिनिधिलाई आफू निर्वाचित मातृपार्टीबाट दिने निर्देशन राष्ट्रिय जनमोर्चाबाट प्राप्त भइरहेको छ । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले कालीगण्डकी गाउँपालिकाको कामकारबाही, निर्णय, योजनामा जनप्रतिनिधिलाई सही प्रकारले निर्देशन दिने काम गरिरहेको छ । जनताको हितलाई केन्द्रमा राख्दै भौगोलिक स्थितिको सापेक्षतामा समृद्ध हुने गरी योजना बनाउन सुझाव, सल्लाह दिने, गाउँपालिकाका विभिन्न काममा जनप्रतिनिधिलाई परिचालन गर्ने, अधिकतम रूपमा जनहितमा काम गर्ने, दिगो प्रकारको योजना सञ्चालनमा प्रोत्साहन गर्ने, परिचालनमा रहेका योजनालाई अनुगमन गर्ने, त्यसैगरी जनप्रतिनिधिलाई अनुशासनमा रहने गरी नियन्त्रण गर्ने काम पनि गरिरहेको छ । यसरी यस गाउँपालिकामा जननिर्वाचित प्रतिनिधिहरू जनताको कामका लागि परिचालन भएको अवस्था छ । बरु, अन्य राजनीतिक दलका जनप्रतिनिधिको हकमा भने त्यसरी अनुशासन र नियन्त्रण गरेको स्थिति हामीले पाएका छैनौ । अरू पार्टीका जनप्रतिनिधिले आफ्नै प्रकारले स्वेच्छाचारी प्रकारले कार्य सञ्चालन गरेको देखिएको छ ।

अहिलेसम्मको अनुभवको आधारमा तपाईंलाई के लाग्छ, वर्तमान नीति, कार्यक्रम र ऐननियमअन्तर्गत जनपक्षीय काम गर्नु वास्तवमै सम्भव छ ?
अहिलेसम्मको अनुभवको आधारमा अर्थात् गत तीन वर्षको अवधिमा वर्तमान नीति–कार्यक्रम र ऐननियमको आधारमा सम्पूर्ण रूपमा जनपक्षीय काम गर्नु सम्भव छैन भन्ने मलाई लागिरहेको छ । किनकि, वर्तमान सरकारले जनताको हकहितका लागि नीतिनियम र ऐनकानुन निर्माण गरेको छैन । यो व्यवस्थाले जनपक्षीय काम गर्ने कानुन बनाएको बनाएको पनि छैन । जब ऐननियम, कानुन र नीति जनपक्षीय छैन भने त्यसमाथि टेकेर जनपक्षीय काम गर्न सम्भव रहँदैन । नीतिगत रूपमा हामीले यस्तो अपेक्षा पनि गरेका छैनौँ ।

जनताको प्राथमिकता के हुन् ? खासगरी विपन्न र पिछडिएका जनताको समस्या के हुन् ? उनीहरूमाथि हुने सबै खालको शोषण, दमन र उत्पीडनलाई समाप्त गर्नका जुन खालको नीति निर्माण गर्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन । त्यसका बाबजुद सामान्यतः गतकालभन्दा अहिले स्थानीयतहमा जनताको पक्षमा काम भएको छ । तर विपन्न वा लक्षित तप्काको हित हुने गरी काम हुन सकिरहेको छैन । त्यसले गर्दा वर्तमान ऐननियम र कानुनको आधारमा जनताको जीवनमा आमूल परिवर्तन गर्नु सम्भव छैन, त्यसका लागि बेग्लै राज्यक्रान्तिको आवश्यकता छ भन्नेमा हामी स्पष्ट छौँ ।

स्थानीयतहको संरचना अस्तित्वमा आएपछि सिंहदरबार गाउँ गाउँमा त पुग्यो, त्यसका साथै सिंहदरबारको भ्रष्टाचार पनि गाउँ गाउँमा पुग्यो भन्ने टिप्पणी गरिँदै छ । तपाईंको गाउँपालिकामा प्रशासन र बेरुजुको अवस्था कस्तो छ ?
गाउँ गाउँमा सिंहदरबार आयो भन्ने कुरा नीतिगत रूपमा सत्य हो अर्थात् सिंहदरबार गाउँ गाउँमा आएको कुरा कानुन, नियम र संविधानमा मात्र सीमित भएको छ । यथार्थ अथवा व्यावहारिकतामा भन्नु र बुझ्नुपर्दा गणतन्त्र आएपश्चात पनि देश र गाउँका जनताको हालत उस्तै छ । केही नगन्य रूपमा भौतिक विकास निर्माणको काम भएको देखिएता पनि यो देश चलाउनका लागि ऋण खोजेर ल्याएको अर्थप्रणाली हामीकहाँ विद्यमान छ । देश, जनता र स्थानीय सरकारको स्थिति झन्पछि नाजुक हुँदै गएको अवस्था छ । देशमा महङ्गी, भ्रष्टाचार र करवृद्धि कैयौँ गुणा बढेर गएका छन् । यस्तो एउटा कालीगण्डकी गाउँपालिकालाई मात्र हैन, देशभरिको स्थिति यस्तै रहेको छ, त्यसबाट कालिगण्डकी गाउँपालिका पनि अछुतो रहेको छैन ।
जहाँसम्म बेरुजुको सम्बन्ध छ, हामीकहाँ त्यस खालको गम्भीर समस्या छैन । हामीले पारदर्शी रूपमा काम गरिरहेका छौँ ।

गाउँपालिकाको अध्यक्ष नेपाली काङ्ग्रेसको हुनुहुन्छ । जनताको काम गर्ने दौरानमा फरक पार्टीको अध्यक्ष र उपाध्यक्ष भएका कारण्ण अहिलेसम्म कुनै प्रकारको कठिनाइँ आइपरेको त छैन ?
अलिकति कठिनाइँ त स्वतः आउने भइहाल्यो । किनकि, उहाँ फरक राजनीतिक प्यानलबाट आएको गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । त्यसैमाथि उहाँकै नेतृत्वमा उपाध्यक्षमा रही काम गर्न सजिलो विषय पनि छैन । अध्यक्षसँग मिलेर काम गर्ने भन्ने विषयमा अध्यक्षको अनुकूल वा उहाँको पार्टीको कामगराइ वा नेपाली काङ्ग्रेसको राजनीतिक लाइनअुनरूप काम गरेर मात्र सहज हुने हो, अन्यथा स्थिति असहज भइहाल्ने अवस्था रहन्छ नै । तर पनि देश र जनताका लागि जति असहज स्थिति भए पनि सहज रूपमा काम गर्नैपर्ने बाध्यता हुन्छ । त्यसै पनि हामी कम्युनिस्टलाई अन्तरविरोधमाझ काम गर्ने मनोविज्ञान र अनुभव छ । अन्तरविरोधको माझमा एकता कम्युनिस्टको दर्शन नै हो । अन्तरविरोध जतिसुकै आओस्, हामीले पाँच वर्षसम्म कालीगण्डकीवासी जनताको सेवा गर्नुछ । त्यसका साथै यो गाउँपालिकालाई समृद्ध बनाउने जिम्मेवारी मेरो काँधमा पनि छ । त्यसैअनुसार मैले उपाध्यक्षको भूमिका निर्वाह गरिरहेकी छु ।

स्थानीयतहका जनप्रतिनिधिले आफ्नो सेवासुविधा बढाउन मरिहत्ते गरे, त्यसका लागि ऐननियमसमेतको बेवास्ता गरे भन्ने आरोप छ । त्यसबारे तपाईं के भन्नुहुन्छ ?
वास्तवमै भन्नुपर्दा जनप्रतिनिधि भनेको पनि जनसेवा वा राष्ट्रको सेवा गर्ने प्रतिनिधि नै हो । यसैकारणले जनप्रतिनिधिको दायित्व मैनबत्तिजस्तो हुनुपर्छ, “आफू जलेर सकिनु, तर पनि अर्कालाई उज्यालो दिइरहनु” । त्यसका विपरीत तिनै जनप्रतिनिधि कुनै स्वार्थमा रहेर काम गर्न थाल्छन् भने पक्का पनि त्यो जनप्रतिनिधि रहन्न । उसले देश र जनताको सेवा गरिरहेको हुँदैन । बरु, बढी सम्भव छ, उसले पदप्रतिष्ठा र स्वार्थमा रहेर काम गरिरहेको हुनुपर्दछ । त्यसो गर्नु मलाई स्वीकार्य छैन । मेरो पार्टीको नैतिकताले कहिल्यै पनि त्यसो गर्न सिकाएन र सिकाउने पनि छैन । जुन प्रतिनिधिले आफूलाई सेवासुविधाको आधारबाट जनताको काम गरको ढोल पिट्छ, त्यो जनप्रतिनिधि वास्तवमा असफल भएर जाने निश्चित छ ।
यस खालको दर्शन, मनोविज्ञान र आदर्श रहेका कारणले कालीगण्डकी गाउँपालिकामा हामीले आफ्नो सेवासुविधालाई केन्द्रमा राखेर काम गरेका छैनौँ र भविष्यमा पनि गर्ने छैनौँ ।

तपाईं नै गाउँपालिकाको महिला उपाध्यक्षसमेत हुनुहुन्छ । कालीगण्डकी गाउँपालिकामा महिलाहरूको अवस्था कस्तो छ र उनीहरूको उत्थानका लागि के गर्दै हुनुहुन्छ ?
२०७२ सालको संविधानले महिलाका अधिकारहरू केही भए पनि सुनिश्चित गरेको छ। तर सदियौँदेखि पुरुष प्रधान स्थितिमा रहेको यो समाजमा केही महिलाले झट्ट कुनै निर्णय गर्दाबित्तिकै स्थितिमा अन्तर आउन्न । त्यसमाथि पुरुषहरूको अर्थात् पुरुष प्रधान समाजको परम्परागत, रूढीवादी र महिला विरोधी दृष्टिकोण त फरक प्रकारले अस्तित्वमा छँदै छ । त्यसैमाथि पनि महिलाले नै महिलालाई नै फरक दृष्टिकोणबाट हेर्ने अर्को प्रकारको नजिर बनिरहेको पनि हामीले देखिरहेका छौँ ।

यता, गाउँपालिकाको उपाध्यक्षको अधिकार र त्यसैमाथि महिला भएका कारणले यो समाजमा काम गर्न कठिन नै छ । फेरि पनि यस गाउँपालिकाको हकमा म बोल्नुपर्दा पुरुषको अनुपातमा महिलाको सङ्ख्या यस गाउँपालिकामा बढी छ । तर त्यही अनुपातमा महिलाहरूको सहभागिता कायम नभएको यहाँ पनि सत्य हो ।

महिलालाई यो समाजमा अगाडि ल्याउनका लागि पुराना र यथास्थितिवादी सोचलाई समाप्त गर्नुपर्ने देखिन्छ । महिलालाई शिक्षादिक्षामा अगाडि बढाउनुपर्ने देखिन्छ । उनीहरूलाई वैज्ञानिक दृष्टिकोणमा शिक्षित–दिक्षित नबनाएसम्म उनीहरूले वैज्ञानिक दृष्टिकोण अपनाउन सक्दैनन् । जबसम्म महिलामा वैज्ञानिक दृष्टि, नयाँ सोच, योग्यता र क्षमताको विकास गर्न सकिँदैन, तबसम्म समाजमा परिवर्तन गर्न गाह्रो पर्छ । त्यसैगरी समाजको आमूल परिवर्तनका लागि पनि महिलाहरूको वैज्ञानिक दृष्टिकोण महत्वपूर्ण विषय हो ।

त्यसैकारणले यस गाउँपालिकाअन्तर्गतका सम्पूर्ण महिलालाई विभिन्न प्रकारका तालिम दिने, योग्यता र क्षमताको विकास गराउने, उनीहरूले गरेका सिपमूलक काममा प्रोत्साहन गर्ने, झैझगडालाई मेलपिलाप गराउने, घरेलुहिंसाको अन्त्य वा न्यूनीकरण गर्ने, महिला र पुरुषमाझ मेलमिलाप र सामञ्जस्यता कायम गराउने, नयाँ पुस्ताका बालिकाको शिक्षामा निरन्तरता दिनेजस्ता व्यवस्था मिलाउने प्रक्रिया अगाडि बढाएका छौँ । छोरी जन्मिँदाबित्तिकै बैङ्क एकाउन्टमा पाँच हजार रुपियाँ डिपोजिट गर्ने काम पनि गरिँदै छ । यसरी महिलाको हकमा नयाँ नयाँ कार्ययोजनासहित आवश्यकतानुरूप नभए पनि यथासक्य काम भइरहेको छ । आगामी दिनमा महिलाको पक्षमा थप काम गर्न हामी प्रयासरत छौँ ।

युवाहरूको रोजगारी सृजना गर्न स्थानीयतहले योजना कार्यान्वयन गर्न सकिन्छ भन्ने एक थरिको दावी छ । गाउँपालिकामा रोजगारी सृजना गर्न सकिने सम्भावना कत्तिको देख्नुहुन्छ ?
गाउँपालिका स्तरमा युवाहरूलाई स्वरोजगारको व्यवस्था मिलाउन सकिन्छ । तर यसलाई केन्द्र सरकार वा राज्य सरकारले पनि प्राथमिकतामा राख्ने दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता देखिन्छ । हुन त स्थानीय सरकार भनेको वास्तवमै जमिन र जनतासँग जोडिएको सरकार हो । तर जुन जमिन र जनतासँग जोडिएको सरकार छ, त्यसलाई युवा रोजगारी सृजना गर्नका लागि आवश्यक पर्ने बजेट केन्द्र सरकारले दिन सक्दैन । त्यसका पछाडिको एउटा कारण त सङ्घीयता नै हो । राष्ट्रको मूल बजेटजति प्रादेशिक सरकारलाई अनावश्यक रूपबाट पाल्दा र बाँड्दा नै ठिक्क भएको छ । यदि यही सङ्घीयतामा खर्च गरिने बजेट स्थानीय सरकारले पाउने हो भने बेरोजगार युवा शक्तिलाई सजिलैसँग स्वरोजगार बनाउन सकिन्छ भन्ने मलाई लाग्दछ ।

स्थानीय सरकारमा केन्द्रबाट पठाइने बजेट अत्यन्तै न्यून रहेको हुन्छ । यो बजेटलाई परिचालन गरेर गाउँपालिकालाई समृद्ध गर्न, युुवालाई स्वरोजगार बनाउन कुनै हालतले पनि सकिँदैन । सबैलाई थाह छ, स्थानीयतहमा विकास, निर्माण र दीर्घकालीन सोच बोकेर पर्याप्त बजेट पठाइएको हुन्न, खालि प्रशासनिक खर्च अर्थात् कर्मचारी र जनप्रतिनिधिलाई पाल्नका लागि ठिक्क हुने बजेट बढी पठाइन्छ ।
सङ्घीय व्यवस्थाका कारणले देशको अत्यधिक व्ययभार बढेको छ । त्यो अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।
कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक स्थिति कस्तो छ ?
कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको सङ्गठन गतकालको भन्दा बढ्दो अवस्थामा छ । राष्ट्रिय जनमोर्चाले अपनाएको नीति तथा कार्यक्रम अरू पार्टीको भन्दा जनमुखी र राष्ट्रमुखी हुन्छ । त्यो कुरा नेपाली जनतामाझ सर्वविदितै छ । देशमा सङ्घीयताले गर्दा दिन–प्रतिदिन आर्थिक अवस्था नाजुक हुँदै गएको छ । आयआर्जन न्यून रहँदै गएको छ । आन्तरिक आयस्रोत कमजोर अवस्थामा रहेको छ । महङ्गी र करवृद्धि यथावत बढ्दै गएको अवस्था छ । यस खालको विश्लेषण राष्ट्रिय जनमोर्चाले गरेको छ ।

राष्ट्रिय जनमोर्चाले राष्ट्रव्यापी रूपमा र गाउँपालिकाका सम्पूर्ण जनताको बिचमा यथार्थ चित्र प्रस्तुत गरिरहेको छ । त्यसैकारणले अहिले कालीगण्डकीका जनताले प्रत्यक्ष रूपमा राष्ट्रिय जनमोर्चाको नीति–कार्यक्रम बुझ्ने मौका पाएका छन्, त्यसका साथै राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्तालाई बुझ्ने र जान्ने मोैका पाएका छन् । हाम्रो गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको एउटा गाउँपालिकास्तरीय समिति क्रियाशील छ । सातै वटा वडामा राष्ट्रिय जनमोर्चाका वडा समिति छन् । गाउँ गाउँमा गाउँ समिति र टोल समिति निर्माण भएका छन् । जनताले राष्ट्रिय जनमोर्चालाई यस कालीगण्डकी गाउँपालिकाको वैकल्पिक शक्तिको रूपमा छ भनेर चिनेका छन् वा बुझ्ने गरेका छन् ।

कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको सङ्गठन र सङ्घर्षका आगामी कार्यक्रम के कस्ता छन् ?
कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक स्थितिको बारेमा मैले अगाडि नै व्याख्या गरिसकेको छु । पहिले कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको बलियो सङ्गठन थिएन । तर अहिले गाउँपालिकाभरिमा हामीले राष्ट्रिय जनमोर्चाको ४० वटाभन्दा बढी समिति गठन गरेका छौँ । राष्ट्रिय जनमोर्चाको २००० जति नयाँ सदस्यता वितरण गरिएको छ । कालीगण्डकीका जनताले अबको भविष्य अथवा गाउँपालिकाको भविष्य राष्ट्रिय जनमोर्चाले मात्र निश्चित गर्न सक्छ भन्ने मूल्याङ्कन गरेका छन् ।

हाम्रो पार्टीले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा देशव्यापी अभियान चलाइरहेको छ । सोहीअनुसार हामीले पनि केन्द्रीय कार्यक्रम सम्पन्न गरिरहेका छौँ । त्यसै क्रममा केही दिनअगाडि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको विशेष उपस्थितिमा पुर्तिघाटमा विरोधसभा सम्पन्न गरिसकेका छौँ । आगामी दिनमा सङ्गठन र सङ्घर्षको कार्यक्रम निरन्तर अगाडि बढाउने छौँ ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन नजिकैमा छ । त्यसको तयारी कालीगण्डकी गाउँपालिकामा कसरी चलिरहेको छ ?
यो राष्ट्रिय सम्मेलन मात्र हैन, अन्य विभिन्न कार्यक्रम, सम्मेलन, भेलालगायत केन्द्रदेखि गाउँटोलसम्मका सबै कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिले आर्थिक, नैतिक, भौतिक रूपबाट सहयोग पु¥याउँदै आएको छ । अबको राष्ट्रिय सम्मेलनलाई पनि प्राथमिकता आधारमा सहयोग गर्ने छौँ । केन्द्रले निश्चित गरेका प्रतिनिधि उपस्थित गराउने छौँ । विगतका दिनमा झैँ बृहत् जनमानसको उपस्थिति हुँदैन होला । खासगरी अहिले कोरोनाको कारणले गर्दा संवेदनशील हुनुपर्ने आवश्यकता छ । परिस्थितिको मूल्याङ्कन गरेर चौथो राष्ट्रिय सम्मेलन प्रतिनिधिमूलक रूपबाट सम्पन्न पार्ने राष्ट्रिय जनमोर्चा केन्द्रको घोषणालाई कार्यान्वयन गरेर जाने निर्णय भएको छ ।

अन्तमा, युगदर्शनमार्फत उल्लेख गर्नैपर्ने कुनै विषय प्रसङ्ग छुटेका छन् कि ?
खासै त्यस्तो केही छैन । तर खुसी लाग्यो । जनताको आवाज बोल्ने र लेख्ने पत्रिका युगदर्शन साप्ताहिक कोरोनाको कारणले करिब एक वर्ष रोकिएको थियो । अहिले प्रकाशित भएकोे देख्दा खुसी लाग्यो । अब निरन्तर जनताको आवाज बुलन्द गर्दै युगदर्शन साप्ताहिक प्रकाशित भइरहोस् । म यस पत्रिका निरन्तरताको शुभकामना व्यक्त गर्दछु ।

म कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष भएकाले कालीगण्डकीका जनताको समस्या, स्थानीय सरकारको अवस्था र यस गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको गतिविधिबारे मेरो राय व्यक्त गर्ने अवसर दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिन चाहन्छु ।

(अन्तर्वार्ता : प्रकाश थापा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *