शहरीया जीवनमा बिरामी पर्दाको पीडा !

134 जनाले पढ्नु भयो ।

लक्ष्मी चौधरी

अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा यो भाइरसले ठुलो असर पारेको छ । खासमा गरिखाने वर्गमा यसको ठुलो असर परेको छ । दिनभरि काम गरेर ल्याएको ज्यालाबाट परिवारको छाक टार्ने मजदुरवर्गमा यो भाइरसले नराम्रो प्रभाव पारेको देखिन्छ । कोरोनाका कारण रोगले मात्रै होइन, रोजगारी गुमाएर खान लाउन नपाउँदा पनि कैयौंको अकालमा ज्यान गएको समाचार आएका छन् ।

अहिले जनजीवन सामान्य बन्दै गएको छ । मान्छेले यसलाई सामान्यरुपमा लिन थालेका छन् । तर जनजीवन सामान्य बने पनि हाम्रो समाजको मानसिकताका कारण मानिसलाई रोगले भन्दा ठुलो पीडा दिइरहेको छ । कोरोना संक्रमित बिरामीले स्याहार वा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेका कैयौं समाचारहरु आउने गरेको छ । त्यो सँगै कोरोनाको आशंकामा कुनै पनि रोग लागेका बिरामीले उचित स्याहार वा उपचार नपाउने अवस्था छ । मानिसहरु नजिक जान डर मान्ने र कोरोनाकै बारेमा मात्रै सोधपुछ गरिरहने समाजको हेराइ र व्यवहारले मानिस अझै कमजोर बन्दो रहेछ ।

यद्यपी समाजका हरेक व्यक्ति उस्तै हुन्छन् भन्ने होइन, कैयौंबाट हौसला पनि प्राप्त हुन्छ, सहयोग पनि पाईन्छ । हरेक जिच आफूले चाहे अनुसार नहुन नि सक्छ । कोरोनाकै सन्त्रासबीच म आफै पनि बिरामी परेँ । यो अवधिमा एउटा बिरामी व्यक्तिले भोग्ने पीडा मैले पनि प्रत्यक्ष भोगेको छु । अहिले स्वास्थ्यलाभ गरिरहेको अवस्थामा आफ्नो अनुभव साट्न खोजेको छु ।

म र मेरा श्रीमान (विद्यानाथ अधिकारी) हामी दुवैजना केही दिनदेखि बिरामी पर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षणले दुवै जनालाई गाल्यो । उहाँलाई करिब एक सातादेखि नै अलि सञ्चो थिएन । तैपनि अफिस जाने आउने गरिनै रहनुभयो । बाइकमा राति हिँड्नुपर्दा छातीमा चिसो पसेको पनि हुनसक्छ । तर, सँगै काम गर्ने दुई जना साथीहरुलाई संक्रमण पुष्टि भएछ । तैपनि उहाँ अफिस गइरहनुभएको थियो तर, अलि गाह्रै भएपछि आफूलाई सञ्चो नभएको खबर गरेर अफिस जानुभएन ।

तैपनि घरबाटै अलि अलि काम गरि नै रहनुभयो । त्यही जागीरको भरमा परिवार पाल्नु छ । अरुकुनै आधार पनि छैन । काम त गर्नु नै छ । त्यसो गर्दा पनि शरीर गल्दै गयो र विरामी भएको करिव २ हप्तामा उहाँले कतै आफूलाई पनि कोरोना त भएन भनेर पीसीआर जाँच गराउनु भयो । खुसीको कुरा रिपोर्ट नेगेटिभ आयो । तर शरीर गलेर कमजोर भइसकेको थियो । त्यसैमा म पनि एक्कासी विरामी परेँ । ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, शरीरका हरेक अंग दुखेर झर्छन् कि जस्तो हुन थाल्यो । छाती दुखेर सास नै रोक्किन्छ कि भन्ने जस्तो हुन्थ्यो । कतिबेला त स्याँ स्याँ भएर सास फेर्न पनि गाह्रो हुने । टाउको दुखेर आँखाबाट आँशुमात्र झरी रहन्थ्यो । अहिलेको अवस्थामा अस्पताल जानु भनेको झन् पीडामाथि पीडा खेप्नु हुन्थ्यो । पीसीआर टेस्ट, त्यसपछि आफ्नाबाट टाढा अनि सकुशल फर्कने हो कि होइन भन्ने आशंका । त्यो भन्दा त बरु घरमै बसेर तातो पानी खाने, ज्वरोको, टाउको दुखेको र खोकीको औषधि खाँदै आराम गर्नु नै उचित थियो, त्यही गरियो ।

दुखाईको पीडा त आफ्नो ठाउँमा छ । त्यो भन्दा ठुलो पीडा ७ वर्षकी छोरीलाई टाइममा खाना पनि खुवाउन सकिएन । ममिको पीडा देखेर निराश भएकी छोरीले ‘भोक लाग्यो’ पनि भनिनन् । बरु बाबा र ममिलाई ओछ्यानमा पल्टेको देखेर तातो पानी खुवाउन सकिन्छ कि भनेर बल्ल तल्ल पानी तताएर मह र कागती पानी खुवाउँथिन् । छोरीले कागजमा विभिन्न चित्र बनाएर तातो पानी खानु, पोषिलो खाना खानु, ममि–बाबा छिटो सञ्चो हुनु भनेर स्वास्थ्य लाभको कामना गरिरहिन् ।

एक दिन म भित्र सुतिरहेको थिएँ, एक्कासी ठुलो आवाज आयो र छोरी रुन थालिन् । ऐया ममि मेरो खुट्टा भाँचियो भन्दै कराएको आवाज आयो । छोरी खेल्दाखेल्दै छतमा लडिछन्, घुँडामा चोट लाग्यो । तर मैले केही गर्न सकिन । यहाँसम्मकी नजिक गएर छोरीलाई सुमसुम्याउन पनि सकिन । यो भन्दा ठुलो पीडा एउटी आमाको लागि अरु के नै हुन सक्छ र ।

त्यतिबेला मलाई आफ्नो गाउँ र आफन्तको साह्रै नै सम्झना आयो । यस्तो अवस्थामा सायद हामी परिवारसँग भएको भए छोरी दिनभरी भोकै बस्नु पर्दैनथ्यो होला । हामीलाई यति धेरै गाह्रो पर्दैनथ्यो होला । अनि सम्झिँए सानो छँदा आफ्ना छिमेकीमा केही पर्दा वा छिमेकीको घर सुनसान देख्दा पनि ममि बाबाहरुले साना दिदी, भाइ बहिनीरुलाई सोधेको, तिम्रो बाबा ममि खोइ ? तिमीहरुले खाना खाएका छौं कि नाईं ? भोक लागेको होला ल आउ खाना खाउ भनेर खाना दिएको ।

तर शहरीया जीवनमा त्यस्तो नहुँदो रहेछ । परिवार भन्दा टाढा सानो नानी लिएर कोठामा बस्दाको पीडा । सानो नानी छ, खाना खायो कि खाएन होला भनेर सोध्ने कोही भएनन् । बरु कतिपयले त टाढैबाट सोध्ने गर्थे, पीसीआर चेक गराउनु भयो कि नाईं ? रिपोर्ट नेगेटिभ आयो कि पोजेटिभ ? यस्तो सुन्दा झन् बढी पीडा हुँदो रहेछ ।

यद्यपी कैयौं आफन्त र साथीभाइले स्वास्थ्यबारे चासो राखेर सोध्ने गर्नुहुन्थ्यो । आफूले जाने बुझेसम्मको सल्लाह दिने र नआत्तिन भन्नुहुन्थ्यो । गाह्रो भयो भने भन्नु हामी छौं भनेर कतिपयले ढाढस दिने गर्नुभएको थियो । कैयौं आफन्तले त कोठामा आएर मद्दत गर्न खोज्नुभएको पनि थियो । तर, हामीले धन्यवाद मात्रै दियौं । हामीलाई जुन रोगको आशंका थियो, हाम्रो कारणले त्यो अरुलाई नसरोस् भन्ने हामी चाहन्थ्यौं ।

पुरै शरीर दुखेर हामी दुवै जना केही रात सुत्नै सकेनौं । छटपटी मात्रै हुन्थ्यो । केवल एक अर्कालाई सोध्थ्यौं, एक अर्कालाई कस्तो छ भनेर । मैले सोध्थें हजुरलाई कस्तो छ ? उहाँले भन्नुहुथ्यो मलाई सञ्चै छ, बरु तिमीलाई कस्तो छ ? तर मलाई थाह थियो कि उहाँलाई पनि कहाँ सञ्चो छ र । मलाई तनाव नहोस् भनेर आफ्नो पीडा लुकाउनु हुन्थ्यो । सायद उहाँमा पीडा सहने शक्ति अलि बढी भएर होला मैले सोध्दा पनि ठिकै छ भन्ने । तर ममा उहाँ जति पीडा लुकाएर बस्ने शक्ति थिएन । रातभरि छट्पटाउँदै रात कट्दथ्यो ।

यसरी करिब १०-१२ दिनपछि उहाँलाई अलि सञ्चो भयो । त्यसपछि बिस्तारै घरको कामसँगै घरबाटै अफिसको काम गर्न थाल्नुभयो । त्यसरी एक जनालाई सञ्चो भएपछि म बिरामी नै भएपनि अलि सहज हुँदै गयो । दुवै जना बिरामी अवस्था रहेको करिब एक हप्ता हाम्रालागि पीडादायी बन्यो । न समयमा नानीलाई खाना खुवाउन सक्ने, न आफूहरु खान सक्ने । न राति सुत्न सक्ने । छोटै समय भएपनि शहरीया जीवनको वास्तविक पीडा अनुभव भयो । शहरमा अस्पतालहरु छन्, औषधि उपचारको सुविधा पनि छ । तर, बिरामी पर्दा तातोपानी खान दिने आफन्त छैनन् । टाउकोमा हात राखिदिने पनि कोही छैन । यहाँ सबै थोक छ तर आफ्नोपन छैन ।

अन्तमा के भन्न चाहन्छु भने कोरोनाको आतंक अलि बढी नै भयो । सामान्य बिरामी हुँदासमेत मानिसले मानिसबाट सहयोग नपाउने अवस्था आयो । अर्को कुरा, शहरमा कोठा लिएर बस्नेहरुका लागि बिरामी पर्दा झनै ठुलो समस्या हुँदो रहेछ । तर, हामी जहाँ भए पनि जहाँ गए पनि, जस्तो सुकै परिस्थितिमा पनि मानवता गुमाउनु हुदैन । एकले अर्कालाई सक्दो सहयोग गर्नु पर्छ । सामान्य सान्त्वनाले मात्रै पनि मानिसको मनोबल बढाउँछ । उच्च मनोबल राख्ने र परेको बेलामा एकले अर्कालाई सहयोग गर्न सधैँ तयार रहनुपर्छ । मानवता नै ठुलो धर्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *