श्रद्धाञ्जलीका शब्दहरु

हेम बिजी

” बाबु मलाई किन बचाउन सक्नु भएन ! छोरा छोरी टुहुरा भए !” सायद हजुरको चिर निद्रामा सुतिरहेको नबोल्ने आत्मले यहि भनिरहेको होला । मलाई माफ दिनुहोस् भाउजु ! लाखौं कोशिस गरेका थियौं तर हामी हजुरलाई बचाउन असफल भयौ । म, दाजी, छोरा, छोरी, शुभचिन्तक, डाक्टर, नर्स, औषधी, सुई, सलाइन पानी र अक्सिजन सबै हजुरकै साथमा थियौ तर हामी हजुरलाई बचाउन हाम्रो प्रण सुम्पेर लाग्दा लाग्दै हजुरले जिवनकै अन्तिम ढुकढुकी बन्द गरि दिनु भयो । हामी कति रोयौ ! कति चिच्चाएयौ ! कति छटपटियौ ! कति आँशु झारेर हजुरको अनुहार नै भिजाई दियौ तर हजुरले न हामीलाई हेर्नु भयो ! न बोल्नु भयो ! हजुर त हामी देखी धेरै टाढा पुगि सक्नु भएको थियो ।

” बाबु मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो अनि कसरी मेरो मृत्यू भयो !” सायद हजुरको चिर निद्रामा निदाईरहेको आत्मले मलाई दोस्रो पटक यहि सोधिरहेको होला ! फेरी पनि मलाई माफ दिनुहोस् भाउजु ! हजुर सँग हामी माफ माग्छौं ! हजुरको मृत्यू कसरी भयो ! सुन्नुहोस् भाउजु –

मानव जातिकै विनासकारी शत्रु कोरोना भाइरस हजुरको शरिर भित्र कुन दिन र कुन समय छिर्यो त्यो नत हजुरलाई थाहा भयो नत हामीलाई ! मान्छेको जिऊ खाना संसार भरि घुमेको दुश्मन भाइरस हाम्रो परिवार सम्म पनि आयो ! हजुर आफैलाई थाहा छ – तिन दिन ज्वरो आयो ! औषधीले नै निको भयो ! फेरि दुई दिन पछि ज्वरो फर्कियो तब कोरोनाको शंका लाग्यो र तुरुन्तै सुविधा सम्पन्न सरकारी अस्पतल हजुरलाई लिएर गयौ ! हजुरलाई अवगत नै छ भाउजु – हजरौ हजार रुपैयाँ खर्च गरेर निजी मेडिकलको औषधी उपचार साथ हजुरको संपूर्ण टेष्ट जाँच भयो ! कोरोना रिपोर्ट नेगेटिभ आउदा हामी निकै हर्षित भयौ ! युद्ध जिते जस्तै गरि । तर कोरोना भाइरस हजुरको शरिरमा आएर बसेर पनि बाहिर गएको थाहा भयो ।

भाउजु – जब नदि बग्दै जान्छ ! नदि पानीको वेग र भेलले किनार पनि भत्काउदै जान्छ ! त्यसरी नै हजुरको शरिरबाट कोरोना भाइरस बाहिर जादा हजुरको फोक्सो पनि भत्काउदै बाहिर गएछ ! त्यो निष्टुरी कोरोनाले हजुरको फोक्सो पनि क्षति बनाएछ ! घात र चोट पुर्याएछ ।

भाउजु – त्यस पछि जति उपचार गरे पनि हजुरको ज्वरो घट्दै घटेन ! एक सय तिन पुग्यो ! हजुर लामो समय सुगरको बिरामी त्यो समय सुगर पाँच सय पचास नाग्यो ! यहि कारण त हो नि भाउजु कोरोना नेगेटिभ हुदा हुदै पनि यो संसारबाट हजुरले कहिल्यै नफर्किने गरि बिदा लिनु भयो ! फोक्सोको उपचार गर्न मिलेन ! फोक्सोमा अक्सिजन मात्रा कम हुदै गयो ! हजुरलाई स्वास फेर्न गाह्रो हुदै गयो ! औषधीले काम नै गरेन ! साधारण वेड, अक्सिजन वेड हुदै आईसियु वेडमा सार्दा सार्दै हजुरको अन्तिम स्वास रोकियो ! हेर्दा हेर्दै हाम्रो संसार अन्धकार भयो र हाम्रो एउटा प्रण हामीबाट गुम्यो ।

भाउजु – यो विदेशी भूमिमा 38 बर्ष कै उमेरमा हजुरलाई श्रद्धाञ्जली दिदा हामी पनि हजुर जस्तै जमिनमा ढलेका थियौ ! हाम्रो मुटुमा प्रण बाँचेको रैछ र हामी ब्यूँझियौ तर हजुर ब्यूँझिनु भएन ! हामी किन ब्यूँझिए हौला ! हामी पनि नब्यूँझिएका भए हजुर सँग सँगै हुने थियौ अनि यो प्रदेशी भूमिमा हजुरलाई एक्लै छोड्न पर्ने थिएन होला ।

अन्तिममा भाउजु – फेरी पनि हामी माफ माग्छौ ! लाखौ कोसिस गरेर पनि हजुरको जिवन बचाउन सकिएन ! अकल्पनिय र अल्पआयुमा हजुरको निधन भयो ! मान्छेको जन्म र मृत्य अवश्य हुन्छ ! विज्ञान र प्राकृतिक नियम हो तर पनि प्रियजनहरुको अल्पआयुको मृत्यू सहन र भूल्न निकै गाह्रो हुदो रैछ ! हजुरलाई थाहा छैन अब हामी कति तड्पिएर बाँचेका छौ ! यिनै श्रद्धाञ्जलीका शब्द साथ :

हार्दिक श्रद्धाञ्जली – भाउजु

हार्दिक श्रद्धाञ्जली – भाउजु

हजुरको मृतक आत्मले चिर शान्ति पाओस् !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार