श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू होस् : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनलाई राजधानीमा बुधबार सम्बोधन गर्दै पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीका सञ्चारमाध्यमको उठानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्न पत्रकारको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयताबारे प्रश्न उठ्न थालेको पनि बताए । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतालगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने विषय संविधानमै उल्लेख भएको बताउँदै पुनले पत्रकार आचारसंहितासमेत रहेको अवस्थामा कानुन प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहेको पनि बताए । नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति संविधानलाई स्वस्थ राख्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार