श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीका पुराना नेता परशुराम श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

कीर्तिपुर निवासी ८१ वर्षीय श्रेष्ठको शुक्रबार बिहान निधन भएको हो । महामन्त्री सिंहले शोक वक्तव्यमा ‘गलत शैली, पद्धति, सिद्धान्त वा राजनीतिका विरुद्ध सम्झौताहीन संघर्षको बाटोलाई आत्मसात गर्दै निरन्तर रुपमा पार्टीप्रति प्रतिवद्ध र क्रियाशील’ रहँदै आउनुभएको बताउनुभएको छ ।

सिंहले श्रेष्ठको आस्थाप्रतिको प्रतिवद्धता र निष्ठाको मूल्यलाई सबै पार्टी सदस्यहरुले आत्मसात गर्दै परिवर्तन र सामाजिक परिवर्तनको कार्यमा निरन्तरता दिन सकेमा नै हामीले उहाँका सपनाहरुलाई पूरा गर्न सक्ने छौँ, त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि स्पष्ट पार्नुभएको छ ।

यस्तो छ, वक्तव्य

परशुराम श्रेष्ठ(का. हिमाल)को २०७७ कार्तिक ०७ गते ८१ वर्षको उमेरमा मृत्यु भएको छ । गोरखा गाइखुरमा जन्म भई हाल काठमाडौ, किर्तिपुरका बासिन्दा रहनुभएका का. श्रेष्ठ चारदशक भन्दा पहिलेदेखि नै हाम्रो पार्टीको सदस्य रहँदै आउनुभएको थियो । उहाँ हाम्रो पार्टीको एक दृढ, निष्ठावान र जुझारु सदस्य हुनुहुन्थ्यो । पार्टीको जीवनमा आएका अनेकौँ उतारचढावको अवधिमा पनि उहाँ अविचलित रुपमा पार्टीको पक्षमा खडा रहँदै आउनुभएको थियो । जीवनभर कुनै पनि परिस्थितिले पार्टीप्रतिको उहाँको दृढ आस्थालाई असर गर्न सकेको थिएन । गलत शैली, पद्धति, सिद्धान्त वा राजनीतिका विरुद्ध सम्झौताहीन संघर्षको बाटोलाई आत्मसात गर्दै निरन्तर रुपमा पार्टीप्रति प्रतिवद्ध र क्रियाशील भएर नेपाली कम्युनिस्ट आन्दोलनलाई योगदान दिनुभएको थियो ।

का. श्रेष्ठ लामो समयसम्म शिक्षण पेशामा संलग्न रहनुभएको थियो । त्यो अवधिमा उहाँले हाम्रो पार्टीको संगठनात्मक विकास र वृद्धिका लागि सकारात्मक भूमिका खेल्नुभएको थियो । उहाँले आफ्नो पेशागत मूल्यको पालना गर्दै हाम्रो पार्टीको सदस्यीय भूमिकालाई पूरा गर्नुभएको थियो । उहाँ हाम्रो पार्टीका बिभिन्न समितिमा रहेर पार्टीको कामको दायित्व पनि निर्वाह गर्नुभएको थियो । पछिल्लो समयमा का. श्रेष्ठको स्वास्थ्य स्थिति बिग्रँदै गएको थियो । अहिले उपचारको क्रममा उहाँको मृत्यु भएको छ ।

जुझारु, दृढ, प्रतिवद्ध र अनुशासित सदस्यलाई गुमाउनुपर्दा पार्टीले अपुरणीय क्षति बेहोर्नु परेको छ । का. श्रेष्ठको आस्थाप्रतिको प्रतिवद्धता र निष्ठाको मूल्यलाई सबै पार्टी सदस्यहरुले आत्मसात गर्दै परिवर्तन र सामाजिक परिवर्तनको कार्यमा निरन्तरता दिन सकेमा नै हामीले उहाँका सपनाहरुलाई पूरा गर्न सक्ने छौँ, त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । अन्तमा हामीले का. श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। त्यसैगरी उहाँको मृत्युबाट प्रत्यक्ष रुपमा क्षति र दुःखको सामना गर्नुपरेकोमा काठमाडौँ जिल्लाका सबै साथीहरुप्रति पनि हार्दिक सहानुभुति प्रकट गर्दछौँ ।
२०७७ कार्तिक ०७ गते ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार