संगठनको आवश्यकता, उद्देश्य र महत्व

  •   
  •  
  •  
  •  
  •  
  •  

769 जनाले पढ्नु भयो ।

– दुर्गानाथ खरेल

एकभन्दा बढी सङ्ख्याका मानिसले आपसमा छलफल गरेर संयुक्त रूपमा निश्चित काम गर्ने निकाय सङ्गठन हो । सङ्गठनमा आबद्ध भएका व्यक्तिले पूरा गर्ने जिम्मेवारी सामूहिक हुन्छ । एकजना व्यक्तिको प्रयत्न, परिश्रम र जिम्मेवारीबाट काम पूरा हुन नसक्ने हुनाले जिम्मेवारी बाँडफाँड गरेर काम पूरा गर्न सङ्गठनको आवश्यकता पर्दछ । सङ्गठन औपचारिक रूपमा गठन नगरेको अवस्थामा समेत व्यक्ति सङ्गठनको मातहतमा रहेको हुन्छ । धेरैजना व्यक्तिले म सङ्गठनको मातहतमा छु र सङ्गठनले दिएको जिम्मेवारी पूरा गरिरहेको छु भन्नेसमेत थाहा नपाउनेगरी समय कटाइरहेका हुन्छन् । काम गर्छन्, गरिरहेका हुन्छन् तर यो काममा संलग्न हामीहरूले कुनै संस्थाको मातहतमा रहेर कसैको स्वार्थ पूरा गरिरहेका छौँ भन्नेसम्म थाहा पाउन्नन् । आफ्नो कामले आफ्नो स्वार्थ, आफन्तको स्वार्थ वा विरोधी व्यक्ति, समूह र संस्थाको स्वार्थ पूरा भएकोसमेत थाहा नपाउने व्यक्ति छन् । विश्लेषण नगर्ने र गलत विश्लेषण गर्ने, लामो समयसम्म आफू शोषणको चपेटामा परेको थाहा नपाउनेको सङ्ख्या धेरै भएको हुनाले वर्तमान व्यवस्था टिकेको छ । समाजमा परस्पर विरोधी वर्गका व्यक्तिको अस्तित्व कायम छ । विरोधी वर्गमध्ये एउटा वर्गको सदस्यको हैसियतमा व्यक्ति रहन्छ । आफ्नो हैसियतअनुसार आफू एउटा वर्गको प्रतिनिधि हुनुपर्नेमा थाहा नपाएर विरोधी वर्गको प्रतिनिधिले पूरा गर्ने जिम्मेवारी लिन्छ र पूरा गर्न आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गर्छ । आफ्नो योग्यता, अनुभव, लगनशीलता सबै प्रयोग गरेर गरेको श्रमले आफैलाई आफ्नो सन्तानलाई र आफूजस्तै हजारौँको सङ्ख्यामा रहेका श्रमजीवीलाई शासन गरेको वास्तविकता वर्तमान समाजका थोरै व्यक्तिलाई मात्र थाहा छ । थाहा भएकामध्ये पनि थोरैले मुक्तिको बाटो समातेका छन् र जीवनको सदुपयोग गरेका छन् ।

सङ्गठित प्रयत्न नभइकन काम पूरा नहुने भएकाले सबै मान्छेले गर्नुपर्ने आवश्यकता सङ्गठन हो । सङ्गठन गर्नका लागि सबैभन्दा पहिले उद्देश्य निश्चित गर्नुपर्छ । किन सङ्गठन बनाउने र त्यो जिम्मेवारी सामूहिक प्रयत्नबाट कसरी पूरा गर्ने ? त्यो निश्चित गर्नुपर्छ । धेरै व्यक्तिले सामूहिक हितको मातहतमा रहेर आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने मात्र सङ्गठनको औचित्य हुन्छ । भन्दा सङ्गठन भन्ने, काम गर्दा त्यसमा रहेका केही सीमित व्यक्तिका स्वार्थ पूरा हुने र अरू धेरैले तिनै केही व्यक्तिको पक्षमा काम गर्नुपर्ने भयो भने त्यो सङ्गठनको दुरूपयोग हो । त्यसैले सङ्गठनको दुरूपयोग होइन, सदुपयोग गर्नु पर्छ । सङ्गठनमा आबद्ध हुने उद्देश्य निश्चित गर्ने र जिम्मेवार बाँडफाँड गर्ने बेलामा ध्यान दिनुपर्ने प्रमुख पक्ष आर्थिक पक्ष सङ्गठन सञ्चालन गर्ने रकम कहाँबाट कसरी जुटाउने र खर्च कुन कुन शीर्षकमा कहीँ कहीँ खर्च गर्ने भन्ने विषयले अहम् महत्व राख्छ । त्यति मात्र होइन, त्यो सङ्गठनका पदाधिकारी र सदस्यको व्यक्तिगत खर्च कसरी पूरा गर्ने भन्ने प्रश्न समाधान नगरिकन अरू सतही कुरा मात्र गरेर सङ्गठनको औचित्य पुष्टि गर्न सकिन्न । समाजमा व्यक्तिगत सम्पत्ति र वर्गीय हैसियत फरक फरक भएको अवस्थासम्म सङ्गठनले पनि तिनै परस्पर विरोधी स्वार्थ भएको वर्गका व्यक्तिमध्ये एउटा वर्ग उपयोग हुने र अर्को विरोधी वर्गका व्यक्तिको स्वार्थ पूरा हुने काम नभई छाड्दैन । त्यसैले अवसरको खोजी गर्ने सिलसिलामा सङ्गठन निर्माण गर्न र वर्गीय स्वार्थ पूरा गर्न आफ्नै सङ्गठनमा भएका विरोधी वर्गका व्यक्तिलाई उपयोग गर्ने परम्परा धेरै लामो छ । त्यो तरिका उपयोग गर्नेहरूले भन्दा उपयोग हुनेले राम्ररी बुझ्नुपर्ने आवश्यकता पर्छ । उपयोग गर्नेको काम गर्ने तरिका र उपयोग हुनेको काम गर्ने तरिका एउटै भयो भने जोसँग जति मात्रामा धेरै व्यक्तिगत सम्पत्ति छ, ऊसँग त्यति मात्रमा सम्पत्ति जम्मा हुँदै जाने र जोसँग जति मात्रामा थोरै सम्पत्ति छ, त्यो त्यति मात्रामा उपयोग हुँदै जाने नतिजा नआई छोड्दैन ।

सङ्गठन निर्माण अति आवश्यक काम हो । सङ्गठन निर्माण त गर्नुपर्छ । तर सङ्गठित व्यक्तिको आर्थिक हैसियत र आवश्यकता पूरा गर्ने तरिका ख्याल गरेर मात्र सङ्गठनमा आफू समावेश हुनुपर्दछ । सर्वसाधारण व्यक्ति सङ्गठनमा सामेल हुँदा सङ्गठनको उद्देश्य र सङ्गठित व्यक्तिको आर्थिक हैसियतका साथै आवश्यकता पूरा गर्नका लागि गर्ने श्रमको प्रकृति तीनै पक्षमा ध्यान पुर्याउनुपर्छ । एउटै आर्थिक हैसियतका व्यक्ति सङ्गठित भई समाजमा अरू व्यक्तिलाई शोषण वा उपयोग गरेर आफूहरूको आर्थिक हैसियत उच्च बनाउन लागियो भने आफ्नो जीवनको उद्देश्य सही तरिकाले पूरा हुन सक्दैन । आफूहरू शोषकको स्थानमा रहेको र मान्छेले मान्छेलाई शोषण गर्ने व्यक्तिको अन्त्य गर्नुको सट्टा झन् बढाउने काममा आफ्नो जीवन दुरूपयोग भएको हुन्छ । सदुपयोग गर्नलाई आफू सर्वहारा भई काम गरेर आफ्नो खर्च टार्ने र सम्पूर्ण श्रमजीवी वर्गको नेतृत्व गरेर सामूहिक स्वामित्वमा सम्पत्ति दर्ता गराउन र व्यक्तिगत स्वामित्व समाप्त पार्न प्रयत्न गर्नुपर्छ । समस्या सम्पत्तिको होइन, समस्या स्वामित्वको हो । त्यसैले भएको सम्पत्तिलाई सामूहिकताको आधारमा उपयोग गर्दै जाने सामूहिक सम्पत्ति थप्ने जाने व्यक्तिगत स्वामित्व घटाउँदै जाने गर्नुपर्छ । त्यसो नगर्दासम्म हाम्रो अमूल्य जीवनको सदुपयोग हुनुको सट्टा दुरूपयोग हुन्छ । सदुपयोग गर्नलाई सङ्गठित प्रयत्न हुनुपर्दछ । एउटा व्यक्तिको भूमिका उद्देश्य पूर्तिमा महत्वपूर्ण हुन सक्ने भए पनि एकल प्रयासबाट काम पूरा नहुने हुनाले सामूहिक प्रयत्न आवश्यक पर्दछ । त्यो भनेको सङ्गठन बनाएर परिचालन गर्ने र जिम्मेवारी बाँडफाँड गरे आफ्नो जिम्मा पूरा गर्नुपर्छ । व्यक्तिगत आवश्यकता पूरा गर्ने कुरा पनि योग्यता, क्षमतानुसारको काम गरेर ज्याला लिई खर्च गर्ने नै उत्तम तरिका हो । सामान्य व्यक्तिगत आवश्यकता हरेक जीवले पूरा गरेकै छन् । मानव सबैभन्दा उच्च प्रकारको जीव भएकाले अरू मान्छेलाई शोषण गर्नु हुन्न । सामूहिक प्रयत्नबाट प्रकृतिका अरू जीव र भौतिक वस्तुलाई उपयोग गरेर मात्र मुक्तिका लागि आफ्नो योगदान थप्नुपर्छ ।

व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएको करिब दश हजार वर्षसम्म मानव समाजमा विभिन्न किसिमका सङ्गठन निर्माण गरिएको भए पनि व्यक्तिगत सम्पत्तिलाई आधार बनाएर गठन भएका सङ्गठनले प्रमुखता पाएका छन् । सुरुमा मान्छेले मान्छेलाई किनबेच गर्न सक्नेगरी सम्पत्तिको मालिक तथा सम्पत्ति र अरू अधिकार केही नभएका दास गरी परस्पर विरोधी सङ्गठनका दास परस्पर विरोधी सङ्गठनका व्यक्ति थिए । त्यस्तो वर्गीय सङ्गठनमा शोषणमा परेका दासको चेतना र सङ्गठनबाट विरोधको सामना गर्न नसकेर व्यवस्थामा आमूल परिवर्तन भएको थियो । मान्छेलाई किन्न र बेच्न नपाइने र उत्पादनको मुख्य साधन जमिनको मालिक बनेर त्यसमा उत्पादन गर्ने किसानलाई शोषण गर्ने व्यवस्था सुरु भए पनि मुख्य शोषण मान्छेले मान्छेलाई गर्नेमा नै सङ्गठनको मुख्य काम हुन गयो ।

औद्योगिक उत्पादन सुरु भएपछि मान्छेलाई होइन, उसको श्रम शोषण गर्ने चलन सुरु भएको हो । नाफा कमाउने चलन सुरु भएपछि सस्तो श्रम किनेर वस्तु उत्पादन गर्ने र त्यो वस्तु बढी मूल्यमा बेचेर नाफा कमाउने गर्दा श्रम सस्तोमा किन्ने र श्रमबाट उत्पादित वस्तु महङ्गोमा बेच्ने गरेर श्रमजीवी र पुँजीजीवी गरी परस्पर दुई विरोधी सङ्गठन अहिलेका समाजमा प्रचलित छन् । विभिन्न किसिमका धार्मिक, जातीय वा जस्तासुकै सङ्गठन भए पनि त्यसको निचोड पुँजीले श्रमको शोषण गर्ने अन्तिम निष्कर्षसहित सङ्गठन परिचालन गर्ने गरिन्छ । वर्तमान समाजका सङ्गठन जति सर्वहाराको नेतृत्वमा सङ्गठन निर्माण गरेर सामूहिकताको पाठ सिकाउने अथवा पुँजीपतिको नेतृत्वलाई स्वीकार गरेर नाफा कमाउने पाठ सिकाउने गरी दुई परस्पर विरोधी किसिमका सङ्गठन परिचालित छन् । अरू सबै सङ्गठन ती दुईमध्ये एउटाको पक्षपोषण गरेर अर्कोमाथि शासन गर्ने उद्देश्य राखेर नै सङ्गठन परिचालन भएका हुन्छन् ।

राजनीति गर्ने भनेको समाजमा भएका दुई परस्पर विरोधी वर्गमध्ये एउटाले राज्यसत्तामार्फत् आफ्नो शासन चलाउन गरिने सङ्घर्ष हो । व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछि अहिलेसम्म सम्पत्तिका मालिक वर्गले शासनसत्तामा रहेर श्रमजीवीमाथि शासन गरिरहेका छन् । श्रमजीवीले आफूलाई वर्गको रूपमा सचेत, सङ्गठित र अनुशासित भई सङ्घर्ष सञ्चालन गर्न गरेका प्रयत्न पनि महत्वपूर्ण छन् । पेरिसमा ७२ दिन, रुसमा ४० वर्ष र चीनमा २७ वर्ष राज्यसत्तामा रहेर शासन गर्ने अवसर पनि प्राप्त भयो । तर त्यो प्रयत्न १० हजार वर्षको अभ्यास, साधन सम्पन्नताको अवस्था आदिको तुलनामा सानो अंश मात्र भयो । अहिले संसारमा कतै पनि मजदुर–किसान र अन्य श्रमजीवीका प्रतिनिधि राज्यसत्तामा रहेर सामूहिक स्वामित्व विकास गरिरहेको अवस्था छैन । तर संसारमा हजारौँहजार श्रमजीवी सचेत, सङ्गठित र अनुशासित भई सत्तामा रहेको अवस्था नभए पनि सत्ताका लागि सङ्घर्ष गरिरहेका छन् । समाजवादी व्यवस्थाको इतिहास र भविष्य पनि छ । लाखौँको सङ्ख्यामा सर्वहारा त्यसैका लागि सङ्घर्ष गरिरहेका छन् । सर्वहारा वर्गले सत्ताकब्जा गर्ने रणनीतिले साम्राज्यवादीलाई रातदिन साटो काढिरहेको छ । उनीहरू आतङ्कित छन् र आफ्नो शोषणलाई बढाइरहेका छन् । अहिले सत्तामा नभए पनि सचेत, सङ्गठित र अनुशासित भएर सत्ताका लागि सङ्घर्ष गर्ने सर्वहारा वर्गको सङ्ख्या दिन दुईगुणा रात चौगुनाको दरले बढिरहेको छ । शोषकले जतिसुकै ठुला गरे पनि शोषण अन्त्य गर्ने क्षमता उनीहरूसँग छैन । शोषणलाई बढाउन र क्रान्तिकारी सङ्घर्षलाई मलजल पु¥याउने काम मात्र गर्न सक्छन् । राज्यसत्ताजस्तो श्रमजीवी वर्गलाई शासन गर्ने शक्तिशाली औजार सधैँ जनता विरुद्ध प्रयोग भइरहन सक्दैन । जनता सचेत नहुँदासम्म मात्र त्यो टिक्न सक्छ । जनताले राज्यसत्तालाई नै समाप्त पार्नेगरी सर्वहारा वर्गको शासन सुरु भएर सधैँका लागि शोषणको अन्त्य गर्ने अवस्था ल्याउनमा सङ्गठित प्रयत्न बढिरहेको छ ।

महत्वका हिसाबले सङ्गठन तेस्रो स्थानमा पर्दछ । सबैभन्दा पहिलो स्थानमा सिद्धान्त पर्दछ । त्यसमा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष र ज्ञानको सिद्धान्तजस्ता कुरा पर्दछन् । दोस्रो स्थान राजनीतिले ग्रहण गर्दछ । त्यसमा समाजवाद, साम्यवाद, रणनीति, कार्यनीति आदि पर्दछन् । तेस्रो स्थानमा मात्र सङ्गठन पर्दछ । तर पनि सङ्गठनले सम्पूर्ण अन्य पक्षसहितको फैसला आफूमा दुईवटा पक्षको ख्याल नराखिकन बनाइएको सङ्गठनले उद्देश्य नभएको अवसरको खोजी गर्ने मात्र काम गर्दछ । निश्चित जिम्मेवारी नभएपछि त्यो सङ्गठनले शोषणलाई बढाउने र आफूहरूले अवसरको उपयोग गर्नेबाहेक अरू रचनात्मक काम गर्द सक्दैन । समाजवाद व्यक्तिगत स्वामित्वमा भएका साधनलाई निषेध गरेर सामूहिक स्वामित्व बढाउँदै लैजाने अवस्था हो । त्यो काम सर्वहारा वर्गको अधिनायकत्वमा सञ्चालन हुने वर्गसङ्घर्षबाट मात्र सम्भव हुने व्यवस्था हो । निम्न पुँजीपति वर्गले व्यक्तिगत स्वामित्व बढाउने उद्देश्यसहित अवसरको उपयोग गर्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुने हुनाले उनीहरूलाई चेतनागत रूपमा र भौतिक रूपमा समेत सर्वहाराकरण नगरेसम्म समाजवादको पक्षमा काम अघि बढ्न सक्दैन । समाजवादी व्यवस्था पुँजीवादी व्यवस्थालाई निषेध गरेर मात्र स्थापना गर्न सकिने भएको हुनाले निम्न पुँजीवादी विश्व दृष्टिकोण र निम्न पुँजीपति वर्गलाई सर्वहारा विश्व दृष्टिकोणले र सर्वहारा वर्गको डण्डाले लगातार हिर्काइरहनुपर्छ । आफू सर्वहाराकरण नभइकन समाजवाद स्थापना र सञ्चालन गर्न नसकिने हुनाले निम्न पुँजीपति वर्गले खोज्ने अवसरलाई पूरै निस्तेज पारेर अनुशासनको मातहतमा बस्न बाध्य पारेपछि मात्र समाजवादको काम अगाडि बढ्छ ।

वर्गसङ्घर्ष सञ्चालन गर्नका लागि वर्गीय मुक्तिका लागि वर्ग कस्सिनुपर्दछ भने राष्ट्रिय मुक्तिका लागि त्यो देशका जनता कस्सिनुपर्छ । त्यसकारण क्रान्ति सम्पन्न गर्न र समाजवाद स्थापना गर्न सर्वहारा वर्ग आफै कस्सिनुपर्छ । उद्योगको विकाससँगै सर्वहारा वर्गबाहेकका व्यक्तिले सर्वहारा वर्गलाई धोका दिन्छन् र अवसरको खोजी गर्दै वर्गसङ्घर्षको क्षेत्र छाड्छन् । त्यसकारणले समाजवादी व्यवस्था स्थापना गर्नका लागि सर्वहारा वर्ग सचेत, सङ्गठित र अनुशासित हुनु पहिलो आवश्यकता हो । पुँजीवादको विकास भएको देशमा पुँजीपति वर्ग र सर्वहारा वर्गको विकास भएको हुन्छ तर पुँजीवादको विकास भइनसकेको देशमा निम्न पुँजीपति वर्गको बाहुल्यता बढी हुन्छ । त्यस्तो अवस्थामा सङ्गठनमा तिनै निम्न पुँजीपति वर्गबाट कम्युनिस्ट पार्टीमा आएका हुन्छन् । ती निम्न पुँजीपति वर्गका व्यक्तिलाई सर्वहाराकरण गर्ने काम उच्च महङ्खवको काम हुन्छ । उनीहरू अवसरको खोजी गरिरहने हुनाले सर्वहारा नेतृत्व र सर्वहारा अधिनायकत्व बढी महत्व हुन्छ । मजदुर वर्ग र सर्वहारा वर्ग उदाउँदो शक्ति हो । दिनदिनै जनताको कित्ताबाट धेरै सर्वहारा वर्गका व्यक्ति उत्पादन भइरहेका हुन्छन् । निम्न पुँजीपति वर्गको कित्ताबाट पनि सचेत, सङ्गठित र अनुशासित हुने क्रममा सर्वहारा वर्गको दृष्टिबिन्दु ग्रहण गरेर आफ्नो भविष्यको विचार गरेर सर्वहाराको कित्तामा सामेल भई काम गर्नेको सङ्ख्या पनि बढ्दै जान्छ । क्रान्तिकारी परिस्थिति निर्माण हुँदै जाँदा अवसरको खोजी गर्ने क्रममा उग्रवामपन्थी र दक्षिणपन्थीका साथै मध्यपन्थीको समेत ठुलो सङ्ख्या कम्युनिस्ट पार्टीमा सामेल भएका हुन्छन् । ती सबै अवसरवादी विरुद्ध लगातार सङ्घर्ष गरेर मात्र कम्युनिस्ट पार्टीलाई मजदुर वर्गको पार्टीका रूपमा विकास गर्न सकिन्छ ।

पार्टीबाहिरका अवसरवादीसँग भन्दा पार्टीभित्रका अवसरवादी विरुद्ध सङ्घर्ष गर्न कठिन हुने भए पनि सङ्घर्ष नगरिकन क्रान्तिकारीकरण गर्ने सजिलो र छोटो बाटो छैन । सङ्गठित शक्तिको ठुलो महत्व  हुन्छ । सङ्गठित भएर अनुशासित बनाउने काम फलामलाई चुम्बकले रगडेर फलामलाई चुम्बक बनाउने कामजस्तै हो । बिना उद्देश्यका विभिन्न फरक फरक स्वार्थ र उद्देश्यबाट प्रेरित भएर रहेका समाजका व्यक्तिलाई निश्चित उद्देश्यसहित अनुशासित बनाउने काम पनि अति महत्वपूर्ण काम हो । त्यसका लागि वर्गीय नेतृत्व हुन आवश्यक पर्छ । सङ्गठनमा प्रवेश गर्दा सिद्धान्त, राजनीति र व्यावहारिक क्रियाकलाप तीनवटै पक्षमाथि विचार पुर्याउनुपर्छ । सङ्गठित हुनेका नाममा गलतलाई सही मानियो भने हाम्रो जीवनको अमूल्य समयको सदुपयोग हुन पाउन्न । अहिलेसम्मका व्यवस्थामध्ये सबैभन्दा उच्च व्यवस्था समाजवाद र सङ्गठनमध्ये उच्चस्तरीय सङ्गठन कम्युनिस्ट पार्टी हो । धनबहादुर नाम राखेर धनी हुन नसकिने, बलबहादुर नाम राखेर बलियो हुन नसकिनेजस्तै कम्युनिस्ट पार्टीको नाम राखेर मात्रै कम्युनिस्ट हुन नसकिने हुन्छ । कम्युनिस्ट पार्टी उच्च प्रकारको वर्गीय सङ्गठन हो । सर्वहारा वर्गको नेतृत्वमा गठन हुने उक्त पार्टीमा मजदुर वर्गीय अनुशासनको आवश्यकता र महङ्खव हुन्छ । आफू मजदुर नभइकन अरू मजदुरको पनि मुक्ति गर्न सकिन्न । आफू मजदुर हुने भनेको श्रम बेचेर खर्च टार्ने व्यक्ति हो । शोषक वर्गीय चरित्र आफूमा नहुने हो र निश्चित उद्देश्य पूरा गर्न आफ्नो दैनिक काम व्यक्तिगत आवश्यकता पूरा गर्नेबाट केही बचाएर सामूहिक उद्देश्य पूरा गर्नका लागि अनिवार्य रूपमा लगातार खट्ने हो । सर्वसाधारण जनताभन्दा उच्चस्तरको हुने, सामूहिक स्वामित्वका लागि आफ्नो योगदान थप्ने र थप्न सक्ने हुने हो । आफ्नो योग्यता, क्षमता लगाएर श्रम गर्ने, साथै आफ्ना दैनिक आवश्यकता पूरा गेर सामूहिक स्वार्थका लागि थोरै–धेरै समय खर्च गर्ने व्यक्ति मात्र कम्युनिस्ट बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *