संगठनको उदेश्य पूरा गर्नको लागि तिजी कार्यक्रम मनाऔं

  •   
  •  
  •  
  •  
  •  
  •  

392 जनाले पढ्नु भयो ।

  • रामप्रसाद पौडेल

मानव समाजमा विभिन्न किसीमका धर्म र ती धर्मले निर्देशन गरेका संस्कार, रितीरिवाज र चालचलनहरु मार्फत सामाजिक सद्भाव र सह अस्तित्वको अनुभूती गराइएको हुन्छ । अनुभूती मात्र होइन आमामी दिनमा पनि समाजमा हरेक सदस्यले ती अनुभूती गरिएका अनुभव र चलनहरुलाई पालना गर्नको लागि निर्देशनात्मक व्यवहारहरु गरिंदै आए । ती व्यवहारहरुले मानव समुदायमा चाल चलन र रितीरिवाजको जग बसाल्यो । त्यही जगमा टेकेर समाजमा रहेका विभिन समुदायका मननिसहरुले आ–आफ्नो रिवाजको चाल चलनहरु अनुसार अभिव्यक्तिहरु प्रष्फुटन गराइरहेका हुन्छन् । हिन्दू समाज भित्रका महिलाहरुले पनि आफ्नो समाज परिवार र अवस्थाको बारेमा जानकारी गराउनका वा संधैभरी गुम्सीएर, दबिएर रहेका आफ्ना मन भित्रका इच्छा, आकाङ्क्षा र अभिलाषाहरुलाई विभिन्न गीत–संगीतको माध्यमबाट महिलाहरुले व्यक्त गरिरहेका हुन्छन् भने अर्कोतर्फ आफ्नो विहे भएको महिलाले पतिको आयु लामो होस् भनेर ब्रत बस्ने गर्दछन् भन्ने विवाह नभएका युवतीहरुले शिव जस्तो पति पाम भनेर व्रत बसिरहेका हुन्छन् । यो कसैले सिकाउन, भन्न आवश्यक पर्दैन । त्यो उनीहरुलाई संस्कारले निर्देशन गरिरहेको हुन्छ । एकातिर घर परिवार र आफ्नो श्रीमानको विरोध गर्दै गीतको माध्यमबाट सबै बिलौना पोख्ने गर्दछन् भने अर्कोतिर, उनै पतिको आयु लम्व्याउन व्रत बस्ने गर्दछन् ।

यी एकपसमा विरोधाभाष श्रृजना गर्ने कुराहरु हुन् । वास्तवमा यस्तो चलन कहिलेदेखि शुरु भएको हो भनेर किटानी साथ ठ्याक्कै भन्नका लागि नसके पनि समाजमा जब वर्गको उत्पत्ती भयो तबदेखि यो परम्परा उत्पत्ती रहेको अनुमान गर्न सकिन्छ । समाजमा जब मानिसहरुको बीचमा स्वार्थको विकास भयो, त्यसले तेरो र मेरो भन्ने अवधारणाको विकास गरायो । जब तेरो र मेरो भने अवधारणाको विकास भयो त्यसले व्यक्तिगत सम्पतिको धारणाको विकास गर्यो । त्यही व्यक्तिगत सम्पतिको धारणा सँगै समाजमा वर्गको उदय भयो । हातमा धेरै वल भएका केहि टाठाबाठाहरुले अन्य निर्वलीया र सिधासाधाहरुको कित्ताकाट हुन थाल्यो । त्यो कित्ताकाटले के सृजना गर्यो भने टाठाबाठाहरुले सोझा सिधाहरुलाई सधैं आफ्नो नियन्त्रण भित्र राख्नका लागि अलौंकिक शक्तिको महिमा गराएर उनीहरूलाई धार्मिक रुपमा मानसिक उत्पीडनमा पार्ने शिलशिलाबाट त्यही संस्कार र चाल चलनको आडम्बर समाजमा स्थापीत भएको हो र आजसम्म चलिरहेको छ । त्यही संस्कारभित्रको एक पर्वको रूपमा तिज या हरितालिकालाई लिन सकिन्छ ।

हरितालिकाको अवसरमा आफ्ना मन भित्रका कुण्ठा, पीर, मर्काहरुलाई दर्शाउन माइती घरमा सबै दिदी–बहिनीहरु जम्मा हुने गीतमार्फत भावना पोख्ने, दर खाने र मनोरञ्जन गर्ने गर्दछन् । तर अहिलेको परिवेशमा दर खाने तरिका गीत गाउने तरिका, भावना पोख्ने परिकामा भड्कावपूर्ण देखिन थालेको छ । त्यो भड्Þकाव सबै पक्षमा देखिएको छ । जस्तो कि दर खाने भनेको खास गरेर घ्यूमा भात पकाएर खाने जसलाई ’खाजा’ भनिन्छ । तामाको, कर्कलाको, चिचिन्डोको, घिरौंलाको परिकारसँग खाजा खानु नै परम्परागत रूपमा खाजा खानु नै दर खाने तरिका हो । जसले सामाजिक सद्भाव, आत्मीयता, निस्वार्थ र सरलपनाको प्रतिविम्बीत गरिरहेको हुथ्यो । तर आजकल दर खाने नाममा ठूला–ठूला होटेलहरूमा जम्मा हुने । तडक–भडकका साथ, महंगा कपडा, गरगहना, सृङ्गारहरु, प्रयोग गर्ने अनि वियर, हुस्की हुँदाहुँदा पुरुषहरु समेत सामेल भएर छाडा गीत गाउने महिलाले जाँगे लाउने, पुरुषले साडी लगाउने गरेर संस्कृति माथि नै आक्रमण हुँदै गैरहेको छ, यो ठूलो विडम्बना हो । साँस्कृतिक अराजकता हो । समाजभित्रको यस प्रकारको तरिकाले समाजलाई अगाडी लैजान मदत गर्दैन । यो केवल तिजको नाममा गरिएको साँस्कृतिक दुरुपयोग हो । परम्पराको मजाक हो, रिती रिवाजको उपहास हो । वास्तवमा तीज पर्व की मर्मको बर्खिलाप हो । यसो भनिरहँदा फेरी पूरानो पुरातनबादी शैलीबाट पतिको आयु लम्बाउन व्रत बस्ने, हरिया चूरा लगाउने जस्ता अन्धविश्वासलाई ठिक भन्न खोजिएको कदापी होइन । त्यसको पनि उत्तीकै विरोध गर्नुपर्दछ, जति छाडा संस्कारको विरोध ।

वास्तवमा तिजी पर्वलाई महिला माथि हुने हिंसा, अन्याय, अत्याचार, विभेद, षड्यन्त्र र यातनाहरुको विरुद्धमा आवाज मुखरित गर्ने पहिला स्वतन्त्रताको जगमा टेकर नै अपनाउनु पर्दछ । ताकी यो वास्तवमा हेपिएका, पिल्सीएका, महिलाहरुको पथमा हुन सकोस् । जसले उनीहरुमाथि न्याय होस् । अहिले मुठ्ठिभर केही धनाढ्य खानदानी महिलाहरूले पाँचतार होटेलमा मनाउने तडकभडकको तीजले सबैतिर वाहवाही पाइरहेको देखिन्छ । जस्तो कि सामाजिक सञ्जाल फेजबुक, युटुब आदिमा । त्यसले व्यक्तिगत कुण्ठा या व्यक्तिगत आडम्बरलाई दर्शाउँछ । त्यो व्यक्तिगत कुण्ठा र आडम्बरले वास्तवमा समाजमा नराम्रो प्रभाव पार्दछ । त्यो नराम्रो प्रभावको कालो वादल हटाउन प्रगतीशील सोंच विचार भएका तर गरिखाने महिलाहरु नै अग्रपंक्तिमा आउनु पर्दछ ।

महिलाहरूको पनि इतिहासमा महत्वपूर्ण भूमिका रहँदै आएको छ, तर अहिलेको पूँजीवादी समाजले ती महिलाको गौरवपूर्ण इतिहासको तोडमोड र मानमर्दन गर्दै महिलाहरूलाई केवल नाफा कमाउने साधनको रूपमा प्रयोगमा ल्याउने काम पूँजीवादबाट भैरहेको सन्दर्भमा महिलाहरु अझै सचेत बनेर महिलाहरूको अधिकार प्राप्तीको लागि संगठित बन्नु अपरिहार्य हुन्छ । एउटा संगठित आवाजले नै सत्ताशिन शासकवर्गको कान खोलाउन सक्छ । त्यसो भएको हुनाले अहिले समाजमा महिलाहरूलाई हेर्ने दृष्टीकोणलाई बदल्न बाध्य पार्नका लागि पनि महिलाहरूले सचेत र संगठित भूमिका निभाउनु पर्दछ, त्यो भूमिका र जिम्मेवारी पूरागर्न व्यक्तिगत इच्छा आकांक्षाहरुलाई तिलाञ्जली दिनु आवश्यक पर्दछ । सबैभन्दा ठूलो इच्छा भनेको कुरिती र कुसंस्कारले सृजना गरेको निम्न पूँजीवादी चिन्तनलाई हटाउनु पर्दछ । जसको समाजमा देखाएको विग्रह, देखासिकी, आडम्बर र फोहोरो प्रकारको प्रतिस्पर्धा जस्ता चीजहरूलाई हटाउन जरुरी छ ।

कतिपय अवस्थामा समाजमा के देखिन्छ भने केही पुरुषले महिलाहरुलाई आफ्नो घरमा स्वतन्त्रता र अधिकार दिएको दावी गर्छन् भने केही महिलाले आफु आफ्नो घरमा पूर्णरुपमा स्वतन्त्र र अधिकार सम्पन्न भएको कुरा गर्दछन् । अपवादको रुपमा हेर्दा त्यो हुन सक्छ, कुनै नौलो कुरा भएन । तर वास्तविक कुरा के हो भने महिला पुरुषको आपसी सम्बन्धबाट अधिकार र स्वतन्त्रता केवल घर परिवारको चौघेरो भित्र मात्र भएर हुँदैन । त्यसलाई त राज्यसत्ताको स्तरमा नै स्थापीत गर्नु पर्दछ । वास्तवमा समाजमा हुने गरेका अनेकथरीका विभेद र अन्याय अत्याचारहरु पुरुषको कारणले या महिलाको कारणले हुने गर्दैनन् । त्यो त राज्यसत्ताको चरित्र सामन्तवादी र प्रतिक्रियावादी भएको कारणले नै समाजमा यस्तो हुने गरेको हो भनेर बुझ्न जरुरी छ । किनभने व्यक्ति या पात्रको सवाल गौण कुरा हो । प्रमुख कुरा त वर्ग र वर्गीय चरित्रको कुरा हो । प्रतिक्रियावादी र वर्गिय चरित्र बोकेको राज्यसत्ताको विरुद्धमा नयाँ जनवादी व्यवस्था जहाँ शोषित पीडित जनसमुदाय र तप्काको पक्षमा राज्यसत्ता निर्माण हुनका लागि चेतनाको विकास गर्दै त्यो दिशामा अघि वढिरनु पर्दछ । क्रान्ति कर्णप्रिय शब्द हो तर सुन्नमा र बोल्नमा र लेख्नमा जति सजिलो लाग्छ त्यो व्यवहारमा उतार्नको लागि गाह्रो हुन्छ । फेरी पनि एकदिन अवश्य पुरा हुन्छ भन्ने दृढ इच्छा र विश्वासका साथ निरन्तर लागिरहनु पर्दछ ।

तिजी कार्यक्रमको सन्दर्भमा या हरितालिका तिजलाई मनाउनुको तात्पर्य यहि दिशामा विम्वीत हुनु पर्दछ । महिलाहरुको कुरा गर्दैगर्दा उनीहरूलाई अत्यन्तै ’नारीवादी’ दृष्टिकोणबाट मुद्दा उठाउनु पनि गलत हो । समग्र महिला जगतको हकहित र अधिकार अनि स्वतन्त्रताको निम्ती योजना बनाउँदै जानु सहि तरिका हो । फेरी महिला स्वतन्त्रता र अधिकारका नाममा समय समयमा घटने गरेका विभिन्न घटनाहरु, वेथितिहरु र विकृतिहरू पनि गलत हुन् । त्यसो भएको हुनाले स्वतन्त्रताको नाममा विकृति हुनु पनि भएन । त्यो विकृतिले घर समाजमा अराजकता र विग्रह सृजना गर्दछ । जसले परिवारको अस्तित्व समेत समाप्त हुने खतरा रहन्छ । त्यसैले समस्या पत्ता लगाउने, समस्या पता लगाइसकेपछि उपचार गर्दै या समाधान गर्दै बाटो खोज्नु पर्दछ । बाटो खोज्नु मात्र ठूलो कुरा होइन, खोजेको बाटोमा निरन्तर अघि बढ्दै जानु र गन्तव्यलाई सगमता तिर उन्मुख बनाउनु नै अहिलेको आवश्यकता भएको हुनाले महिलाहरुले पनि सोही उद्देश्यबाट ओतप्रोत भएर आन्दोलनलाई गति दिनु पर्दछ । महिलाहरूको पर्बलाई केवल मनोरञ्जन प्राप्त गर्ने उत्सवको रुपमा नलिई यसको गाथा व्याथाले भरिएको विरासतलाई अभिव्यक्त गर्नु पर्दछ ।

पूरानो पूरातनवादी सोंचबाट माथी उठेर परम्परागत शैलीमा अभ्यस्त भएर भन्दा नयाँ प्रगतिशील विचारले ओतप्रोत बनेर यो समाज निर्माणमा महिलाहरुको आवाज कोशेढुङ्गा सिद्ध गर्ने हेतुले यसलाई आत्मसाथ गर्नु पर्दछ । कतिपय मानिसहरुले समस्या छन् भनेर स्वीकार्छन् तर समस्याको समाधान गर्ने दिशामा अघि बढ्न खोज्दैनन् या चाहँदैनन् । समस्या भेटाएर देखाएर मात्र पुग्दैन । देखिएको समस्याको समाधान गर्नु प्रमुख कुरा हो । त्यसैले सम्पूर्ण महिला दिदी बहिनीहरु र समाजको दृष्टिकोणलाई विकास गर्ने दिशामा अचेतना र आडम्बरीले जरजरी बनेको विद्यमान समाजलाई चेतनाको दियो बालेर उज्यालो र चम्कीलो ज्योती दिन सक्ने हतियार भनेको नै सच्चा क्रान्तिको पक्षमा रहेको सचेत र सशक्त संगठन नै हो । त्यही संगठनको उदेश्य पूरा गर्नको लागि तिजी कार्यक्रम वा हरितालिकालाई मौलिक तर रचनात्मक प्रकारले मनाउनु पर्दछ । तव मात्रै हाम्रो उद्देश्यले व्यवहारीक रुप पाउन सक्नेछ । एकदिन समग्र रुपमा सम्पूर्ण नारी जातिको मुक्ति हुने लक्ष्यमा पुग्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *