संघीयता खारेजीका लागि मंसिर १४ गते देशब्यापी विरोधसभा

84 जनाले पढ्नु भयो ।

काठमाडौं । राष्ट्रिय जनमार्चाले संघीयता खारेजीको माग गर्दै आइतबार (मंसिर १४ गते) देशब्यापी विरोध सभाको आयोजना गर्दैछ । ‘संघीयता खारेज गरियोस्, कोरोना भाइरसका विरुद्ध प्रभावकारी कदम चालियोस्; भन्ने नाराका साथ देशब्यापी विरोधसभा गर्न लागिएको राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

संघीयताले देश टाट पल्टँदै गएको र राष्ट्रियता कमजोर बनेको निष्कर्ष सहित संघीयता खारेजीका लागि संघर्ष गरिरहेको राजमोले पछिल्ला दिनमा संघीयताकै कारण कोरोना भाइरसविरुद्ध प्रभावकारी कदम चाल्न नसकिएको जनाएको छ । संघीयता अन्तर्गत प्रदेश संरचनामा खर्च भइरहेको अनावश्यक ठुलो धनराशी कोरोना संक्रमणविरुद्ध लगाउनुपर्ने राजमोको माग छ ।

यस्तै, राजमोले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्न सरकार उदासिन रहेको भन्दै सरकारको आलोचना गरेको छ । देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, विदेशबाट फर्किएका युवालाई रोजगारी दिनेबारे कुनै योजना नबनेको, सरकारले किसान र विद्यार्थीका समस्यालाई वेवास्ता गरेको, तथा महिला, बालबालिकामाथि जघन्य अपराधका घटना बढ्दै गएको भन्दै त्यसविरुद्ध देशब्यापी संघर्षको घोषणा गरेको हो ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध सभा हुनेछ । यस्तै, देशका विभिन्न जिल्ला सदरमुकाम र प्रवासमा पनि कार्यक्रमको आयोजना गरिनेछ ।

हामीलाई प्राप्त जानकारी अनुसार बागलुङका १० स्थानमा विरोधसभा हुनेछ भने रुपन्देहीको बुटवल, दाङको तुल्सीपुरचोक घोराही, कञ्चनपुरको झलारी बजारमा विरोध सभा आयोजना गरिएको छ ।

यस्तै, भारतमा ऐक्यवद्धता स्वरुप केन्द्रीय समितिको आयोजनामा बिहान १० बजेदेखि अनलाइन अन्तरक्रिया कार्यक्रम हुनेछ भने, भारतब्यापी विभिन्न कार्यक्रमको ओजना गरिनेछ । यसैगरी विभिन्न देशमा रहेका नेपाली एकता समाजले पनि कार्यक्रमबारे ऐक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *