संघीयता ‘मूरी लगानी गरेर मानो उपलब्धि’ हुने सांसद जिसीको ठहर

3431 जनाले पढ्नु भयो ।

बुटवल । नेपालको परिवेशमा संघीय व्यवस्था “मूरी लगानी गरेर मानो उपलब्धि” हुने व्यवस्था भएको राजमो प्रदेश सांसद तारा जिसीले बताउनु भएको छ । जिसीले प्रदेशको वर्तमान बोझिलो संरचना सहित संघीयताको खारेजी राष्ट्रिय जनमोर्चाको माग मात्र नभएर सम्पूर्ण नेपाली जनताको माग भैसकेकोको समेत बताउनु भएको छ ।

जिसीले प्रदेशको आफ्नै आयको कुनै श्रोत नभएको अबस्थामा एकातर्फ केन्द्रको अनुदान र अर्को तर्फ जनताको ढाडै सेकिने गरी चर्को कर लगाएर बनाइने बजेटको प्रदेश सभाले विनाकामै ठूलो हिस्सामा “गुलछर्रा” उडाएको कटाक्ष गर्नुभयो । प्रदेश सभा र माननीयहरु समाज चुस्ने जुका जस्तो भएको समेत सबत्र महसुस भएको बताउनु भयो ।

प्रदेश सभा स्थापनाको तीन बर्षको अवसरमा “संघीयता कार्यान्वयनमा प्रदेश-सभा” समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजमो नेतृ जिसीले प्रदेश सभाले बनाउनु पर्ने ११६ कानुन मध्ये ६५ वटा पास गरे पनि ५९ वटा मात्र प्रमाणीकरण भएको बताउनु भयो । अति आवश्यक र महत्वपुर्ण महिला, जनजाति, दलित जस्ता विधेयकले अझैसम्म प्रवेश नपाउनु आश्चर्यजनक रहेको भन्नु भयो ।

प्रदेश भरका गुणस्तरहिन, लावारिस विकास योजनाहरुमा सरकार र विभागीय कर्मचारीहरुको मिलिमतोमा भ्रष्टाचार मौलाएको जिसीको थप नाई थियो । जिसीले प्रदेशबाट हुने अनुगमन नाममात्रको र फितलो प्रवृतीको रहेको औल्याउँनु भयो ।

प्रोहत्साहनको लागि भनेर दिइने अनुदान वास्तविक अनुग्राहीसम्म नै नपुगेको, सन्तुलित विकास नीति भनिए पनि कागजमा सिमित रहेको बताउनु भयो । सांसद जिसीले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रश्नमा पनि बिषयले प्रबेश पाउँदैका दिन आफूले पार्टीको धारणा राख्दै बिशेष समितिको आवश्यकता नभएको, समय र रकमको दूरुपयोग मात्र हुने भनि दुइ तिहाइ बहुतको सरकारले सदनबाटै निर्णय गर्ने अधिकार भएको विषय उठाए पनि ध्यान नदिई विवाद सहित टुङ्ग्याउनै परेको बताउनु भयो ।

“आगामी दिशाबोधको सन्दर्भमा संघीयता अन्तर्गतको यही तामझाम सहितको बर्तमान बोझिलो प्रदेश संरचना रहे देशको सार्वभौमिकता र अखण्डता समेतमा खतरा पुग्ने निश्चित छ” जिसीले भन्नु भयो– “मुख्यत आर्थिक रुपले देशले संघीयता धान्न सक्दैन, आम जनतामा पनि विनाकामको यो संरचनाप्रति वितिष्णा पैदा हुँदै गएकोछ । सांसदहरु घृणाका पात्र बनेकोले समय छँदै सोचौं र जती सक्दो छिटो संघीयता खारेज गरौं ।”

संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सभामुख पूर्ण बहादुर घर्ती र उपसभामुख कृष्णि थारुले पनि विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *