संसद र कोरोना

  •   
  •  
  •  
  •  
  •  
  •  

118 जनाले पढ्नु भयो ।

डा. गोविन्दप्रसाद आचार्य ##
संसदबाट हुने भए अमेरिकामा हुन्थ्यो ।
संसदबाट हुने भए भारत किन रुन्थ्यो ।।
जनता मार्ने कोरोनालार्ई केही हैन भन्ने ।
धनी देशमा गरिब जनता अकालमा मर्ने ।।

कोरोनाको महामारी खिसिट्युरी गर्ने ।
फलानोको भाइरस भन्दै जनता मर्या हेर्ने ।।
यस्तो छुसी संसदको केको आसा गर्ने ।
किन होला धनी देशमा यति धेरै मर्ने ।।

हेराइको प्रतिक्षामा गएका छन् दिन ।
खोजी गर्ने बेला भयो जनता मरे किन ?
भेदभाव नमेटेको संसदले किन ।
बराबरी नगरेको संसदले किन ।।

देश धनी जनता दुःखी कस्तो नीति होला ।
कठैबरा गरिबले के बाँचेको होला ।।
उसको पनि जिन्दगी हो के साँचेको होला ।
मालिकको काम गरी कति पायो होला ।।

नहुनेलाई संसदले के दिएको छ र ।
संसदले दिने भए महामारी हेर ।।
बिपत्ति र बिचल्ली छ संसदको देशमा ।
हेर्दैकुर्दै गयो जीवन संसदको आसमा ।।

कोरोनाले भनिसक्यो संसदबाट हुन्न ।
मानको तितो पोख्ने गथलो जनहितमा हुन्न ।।
जनताले आसा नगर संसदले दिन्न ।
यै पाराले हो भने त रोग कैलै जान्न ।।

हनुमानको पगरी त ढेडुले गुथेको ।
मै हुँ भन्दै कालो संसद ठाडो भई उठेको ।।
संसदको लामो यात्रा झगडामा गयो ।
आरोप र सत्ता खोस्ने दाउ पेचमा गयो ।।

खुट्टा तान्न सिकाउने संसदबाट सिक ।
खसीबोका बिक्ने मानका संसदमा बिक ।।
के छ त खै संसदमा यौटा पनि ठिक ।
मान्छे पनि संसदमा बस्तुभाउमा बिक ।।

संसारका संसदमा कुर्सी भाँचिएको ।
संसदको इतिहास घातक देखिएको ।।
कोरोनाले भन्यो संसद चियापसलजस्तो ।
चुरोटको धुवाँ फाल्दै तिमालिएजस्तो ।।

कोरोनाका कहरमा कसको ग¥यो भलो ।
साँचै हो नि संसद त गफ गर्ने थलो ।।
गालीलाई ताली दिन्छन् झुटा तारिफ गर्छन् ।
आपसमा दाह्रा किट्छन् टोक्लान् कि झैँ गर्छन् ।।

संसारलाई थला पार्ने महामारी आयो ।
संसदमा मानवीय भाव कहाँ गयो ।।
मैले पाइनँ मलाई चाहियो कोही भन्छ दिन्न ।
विगत र वर्तमान संसद लाग्छ खिन्न ।।

कोरोनाको यति ठुलो कहर आउँदा पनि ।
हाँसीमजाक ठट्टा गर्छन् झम्टाझम्टी पनि ।।
कसले कसका जुँगा गोड्ने संसदमा रिस छ ।
त्यै रिसको बिषले संसार घाइते बनेको छ ।।

काम गर्ने मानिसले ठाउँ कतै नपाउने ।
काम गर्ने विज्ञानका हात समाउने ।।
विज्ञानले धपाउँथ्यो कोरोनाको कहरलाई ।
मार्नलाई दिँदैनथ्यो विश्व मानवलाई ।।

संसदको बाङ्गो नाङ्गो बानी साह्रै नराम्रो ।
भाग्यवाद जन्माइदिन्छ झनै नराम्रो ।।
कानुन बन्ने थलो भन्छन् बाङ्गा कानुन घुमेका ।
बन्छनु कानुन जनताको हक भुुलेका ।।

संसदले बाटो छेक्छ हत्या, दमन गरेर ।
कहाँ जाने जनताले गुहार मागेर ।।
कोरोनाले टप्प टिप्दा बोल्ने ठाउँ पाइएन ।
संसदमा मागौँ भने कान सुन्दैन ।।

देखाउने दाँत संसद चपाउन मिल्दैन ।
महामारी जत्रो आओस् संसद बोल्दैन ।।
रङ्गशालाजस्तो लाग्छ कुस्ती खेल्छन् संसदमा ।
झगडाको बिउ छर्ने संसद संसारमा ।।

कोरोनाले हाँसेको छ संसदले हेर्या छ ।
सङ्कटमा हेर्ने संसद फाल्नुपर्या छ ।।
मसानघाट बन्लाजस्तो संसदको सफलता ।
कोरोनाले गराएको विश्व बेपत्ता ।।

यति ठुलो कहर आउँदा पिरचिन्ता छैन ।
संंसदमा मानवीय भाव हुँदै हुन्न ।।
कोरोनाले कसलार्ई खायो नहुनेलार्ई खायो ।
हुने धनी संसारमा उपचार पायो ।।

संसदले कोरोनालार्ई खिल्ली उडाएको ।
यति ठुलो क्षति हुँदा चिन्ता नमानेको ।।
संसदभित्र हानमारमा बच्नलार्ई गाह्रो ।
जनताको पक्ष लिने हुन्छ त्यहाँ तारो ।।

जनताको पसिना खाई निदाएका हुन्छन् ।
रातभरि के गर्छन् र संसदमा घुर्छन् ।।
रोगलाई धम्की दिने हप्काउने पनि ।
रोगलाई राजनीतिको रङरोगन पनि ।।

रोगलाई सराप र गाली गर्दै बस्ने ।
कोरोना रोग फैलिएर संसारलाई डस्ने ।।
शीतल तापी आरामले घुर्न पाउने थलो ।
काम नगरी कुरा काटी बस्न पाउने थलो ।।

संसारले भन्नुपर्यो संसदबाट हुन्न ।
भनिसक्यो कोरोनाले संसदबाट हुन्न ।।
कोरोनाले संसारबाट मान्छे टिपेको छ ।
संसारले महामारी भोगिरहेको छ ।।

जनताले ओखती र उपचार मागे ।
मर्नेलाई समवेदना दिइकन भागे ।।
संसारमा संसदको यस्तै रूप हुन्छ ।
दुःख पर्दासाथ दिन्न सङ्कटमा पर्छ ।।

संसदमा घुर्नलाई पठाएको हैन ।
संसदका कुर्सीहरू सुत्नलाई हैन ।।
संसदमा ज्ञान छैन कुर्सी भाँचिएका ।
अविवेकी बस्ने थलो पुच्छर नभएका ।।

संसारका संसदको यौटै रूप हुन्छ ।
जनताको पिरमर्का कसले कुरा सुन्छ ।।
कोरोनाले यति ठुलो क्षति भयो आज ।
किन होला संसदलाई नलागेको लाज ।।

लाज मानेको संसद भए रोग किन आउँथ्यो ।
यति धेरै मानिसको जीवन किन जान्थ्यो ।।
संसरका संंसदले लाज फालिसके ।
जमिनमा यति धेरै मान्छे हालिसके ।।

संसदलाई मानवीय भावनाले छुन्न ।
भेडा जुध्ने थलोबाट मान्छेको हित हुन्न ।।
असफल भइसकेको संसदको बाटो ।
त्यहीँबाट समाजमा आएको छ फाटो ।।

त्यहीँबाट किला ठोक्छन् देश खण्ड गर्ने ।
त्यहीँबाट भएको छ जातिभेद गर्ने ।।
संसदबाट देशसँग देश गाभिएका ।
संसबाट हक भन्दै देश टुक्रिएका ।।

रूप हेर्दा मानिसको साँढे डुक्रिएका ।
संसदमा हेर मान्छे छाडा छेक्राएका ।।
छेक्राउन पाउने थलो संसदमा भयो ।
संसदको बाटो हेर्दा सारा जीवन गयो ।।

संसदका धनी देशमा अति क्षति भयो ।
रोगलार्ई पनि गाली गर्ने धुर्त बानी भयो ।।
धनी देशका अस्पतालमा कोेरोनाका लास ।
संसदमा जीवन छैन नगर्नू है आस ।।

संसदका आँखा बन्द कोरोनामा किन ।
कोरोनाले मान्छे मरे सेकेन्ड प्रतिदिन ।।
वृद्धाश्रम खाली भए धनी देशमा किन ।
सङ्कटमा दुलाभित्र संसद पस्यो किन ।।

रागसँग ठट्टा गर्ने संसदको बानी ।
यस्तै बानी सिक्नाले त गयो जिन्दगानी ।।
संसदको उत्ताउलो बानी सिक्नुहुन्न ।
मानिसका हित गर्ने नीति बन्न दिन्न ।।

कोरानालाई मानवका बस्ती हुल्ने को हो ।
मानिसका हितको नीति नबनाउने को हो ?
मानिसको जिन्दगानी कोरोनाले खायो ।
कुर्दाकुर्दै कोरोना खतरा रोग आयो ।।

संसदको साख गयो समयले भन्छ ।
धाकरवाफको थलो भयो वस्तु सत्य भन्छ ।।
धनी देशमा कोरोनाले मान्छे किन खान्छ ।
उपचार नगर्ने धन कतातिर जान्छ ।।

बन्द किन नगरेको धन जने बाटो ।
उपचार नपाएर जिन्दगानी माटो ।।
किन होला संसदले मुख नखोलेको ।
जनताको पक्षबाट किन नबोलेको ।।

म्याद नाघेको ओखती झैँ संसद भयो अब ।
संसारमा गिर्नुसम्म गिर्यो संसद अब ।।
संसदको मति गिर्यो विश्व नजरमा ।
संसदको सत्ता पनि पर्यो दुर्भाग्यमा ।।

संसदको फोक्सो पनि कोरोनाले खाइसक्यो ।
सिकिस्त भो संसद अब कोमा गए सक्यो ।।
संसद र कोरोना हुन् संसार खाए दुई रोगले ।
यस्ता रोेग निखार्ने हो अब हामीले ।।

मान्छे सक्ने नीति लिए कोरोना र संसदले ।
व्यभिचारी संसद हो बुझ्ने हामीले ।।
संसारले खुल्ने बोल्ने कोरोनाले नमार ।
संसारबाट संसदबाट गर्रौं बहिष्कार ।।

अस्पताल कमाइखाने पसल भए निजीका ।
तिनैलाई पाल्ने पोस्ने नीति संसदका ।।
संसदले खान लाउन न त दियो उपचार ।
यस्तो संसद राख्ने किन उखेल्छ संसार ।।

संसदको संविधानमा गरिब जनता हराए ।
तानातानको संसदमा गिद्द कराए ।।
संसदका ग्रहण लाग्यो यति राम्रो संसारमा ।
जनताको जिन्दगानी छैन संसदमा ।।

क्रान्तिकारी भन्छन् कोही तिनलाई गिद्द बनायो ।
बिलासको बासी सिनो खान भुलायो ।।
संसदका क्रान्तिकारी फर्किएर आएनन् ।
उतै डुले उतै भुले सिनो छोडेनन् ।।

संसदले संसारलाई सर्वनास पार्यो ।
लाखौँलाख मानिसलाई कोरोनाले मार्यो ।।
धनी देशमा बाँच्नेहरू रोग बोकेर बाँचे ।
सैतानका दुत धनी संसदमा नाचे ।।

सैतानकोे नाच्ने थलो संसदको बाटो ।
फाटो पारी लिनुपर्छ जनपक्ष बाटो ।।
त्यही बाटो सही हुन्छ विश्व हिँडाउने हो ।
संसदको ठग्ने सपना सबै मेटाउने हो ।।

सङ्घर्षलाई ओझेलमा संसदले पार्यो ।
ओझेलमा पा¥यो र त कोरोनाले मार्यो ।।
चाहिँदैन संसदको बुट्टा भर्या भाषा ।
प्रकृतिको आनन्दमा जिन्दगानी खासा ।।

संसदबाट हुन्न हित विश्व जानिसक्यो ।
कोरोनाले पर्या पीडा संसारले देख्यो ।।
हतियारको बलमा छ संसदको सत्ता ।
मिल्काउँछन् जनताले हतियारको सत्ता ।।

धनी देशका दम्भलाई कोरोनाले तोड्यो ।
संसारका गरिबको हृदयलाई जोड्यो ।।
षड्यन्त्रको संसदबाट जनहित हुन्न ।
धनीगरिब वर्गवाद मेट्न पनि दिन्न ।।

कोरोनाको कहरसँगै संसद बिदा गर्ने ।
जनताका हकहितको जनवाद ल्याउने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *