सडक दुर्घटनामा पतिपत्नीको मृत्यु

14746 जनाले पढ्नु भयो ।

हैदरावाद (भारत) ।।
स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्डारी र मीनादेवी भण्डारीको हैदरावादमा सडक दुर्घटनमा मृत्यु भएको छ ।

भारत हैदरावादमा आइतबार राती ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।

मित्रलाल भण्डारी र धुनीदेवी भण्डारीको जेठा छोरा भीमलाल ३८ वर्षका थिए भने बुहारी मीनादेवी भण्डारीको उमेर ३८ वर्ष थियो ।

गत नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन् ।

टिपर र टिपर चालकलाई पक्राउ गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय सचिव खिमबहादुर विक, क्षेत्रीय सचिवालय सदस्य रतन सिंह, सूर्य पुन, तिलक राना, मध्य हैदराबाद नगर समितिका कोषाध्यक्ष राजु दुलाल, सदस्य विकास परियार, मृतकका साइलो भाइ शिवराज भण्डारीलगायत आफन्तजनको टिमसहित पुलिस स्टेसनमा उपस्थित भै आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ ।

दाहसंस्कार

फेब्रअरी २१, २०२१ का दिन टिप्परको ठक्करबाट निधन भएका पतिपत्नी भीमलाल भण्डारी र मीना भण्डारीका हैदरावादस्थित अलवाल लालबजार शमशान बाटिकामा आज फेबु्रअरी २३ का दिन दाहसंस्कार गरिएको छ ।

गान्धी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा भइसकेपछि दाहसंस्कार गरिएको हो ।

मृतक भीमलालका साइला भाइको उपस्थितिमा पतिपत्नीलाई एकै चितामा राखेर उनीहरूको अन्तिम बिदाइ गरिएको हो ।

दासंस्कार स्थलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमबहादुर विक, मूल प्रवाहकै मध्यदक्षिण क्षेत्रीय समितिका के. रतन सिह, सूर्य पुन, मध्य हैदराबाद नगर समितिका सचिव तिलक राना, शुभचिन्तकहरू सङ्गीता केसी, भानु केसीलगायत आफन्तजन र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल र मीनाको आइतबार राती हैदरावादमा सडक दुर्घटनमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *