सडक दुर्घटनामा परी कुवेतमा नेपाली युवतीको मृत्यु

खुम रायमाझी, कुवेत ।

कुवेतमा सडक दुर्घटना हुँदा एक नेपाली युवतीको मृत्यु भएको छ । झापाको मेचिनगर–२ भृकुटी घर भई कुवेतको ‘४टी२ एसपीए’ कम्पनीमा कार्यरत २७ वर्षीया प्रज्ञा प्रधानको मृत्यु भएको हो ।

२०२० अक्टुबर ९ शुक्रबार, राति उनी चढेको सवारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनलाई घाइते अवस्थामा कुवेतको आदान अस्पताल पुर्याइए पनि शनिबार बिहान उनको मृत्यु भएको हो ।

मृतकका दाजु कृष्ण पौडेलले प्रज्ञा र उनकी दिदी रितामाया प्रधान चढेको कारलाई अर्को कारले ठक्कर दिएको जानकारी दिए । दुर्घटनापछि दुवैलाई आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन नसकिएको पौडेलले बताए । दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन् ।

पौडेलले भने, ‘९ अक्टोबर राति काम सिध्याएर कोठामा फर्किंदै गर्दा प्रज्ञा र रिता चढेको सवारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिंदा दुर्घटना भएको हो ।’

उनलाई समयमै कुवेतको अदान अस्पताल पुराई शल्यक्रिया गरिए पनि अत्याधिक रक्तस्राव बगेको कारण शनिबार बिहान अस्पतालले मृत घोषित गरिएको थियो ।

कुवेतस्थित नेपाली राजदूतावासका द्वितिय सचिव श्रीकृष्ण सिलवालले राहदानी नं.१०८०८७६५ भएकी प्रज्ञाको सडक दुर्घटनामा परी मृत्यु भएको पुष्टि गरे ।

उनले भने, ‘४टी२ एसपीए नामको कम्पनीमा प्रधान दुई वर्ष ६ महिना देखि कार्यरत रहेकी थिइन्। मृतकको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमै रहेकाले उहाँहरुले नै शव लिएर नेपाल जान दूतावासले सहजीकरण गरेको हो ।’

प्रज्ञाको शवलाई अक्टोबर १५ तारिकका दिन उडानबाट नेपाल पठाइएको छ । मृतककी दिदी रिता र कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले शव बिहीबार बेलुकी ८ वजे कतार एयरवेजको उडान मार्फत नेपाल लिएर गएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार