सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले शताब्दी पुरुष जोशीको नाममा विद्यालय स्थापना गर्न लागेको बताउनु भएको हो ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उहाँको निवासमा पुग्नुभएका मन्त्री श्रेष्ठले विद्यालय खोल्नेबारे सरकारको आगामी वर्षको नीति, कार्यक्रममा राखिने बताउनुभयो ।

कहाँ स्थापना गर्ने भन्ने हालसम्म टुङ्गो नलागेको भएपनि विद्यालयको आवश्यकता भएको तथा घनाबस्ती भएको ठाउँमा स्थापना गरिने बताउनुभयो । शताब्दी पुरुष जोशीको नाममा स्थापना हुने विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गरिने पनि बताउनुभयो ।

शताब्दी पुरुष जोशीले राष्ट्रपति भण्डारीले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिन मन्त्रीलाई पठाउनु भएकोमा आभार व्यक्त गर्नुभयो । सरकारले आफ्नो नाममा विद्यालय खोल्न लागेकोमा हर्ष लागेको पनि बताउनुभयो । उहाँले हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार