सन्दर्भ भ्रष्टाचारका काण्डहरूको

  •   
  •  
  •  
  •  
  •  
  •  

593 जनाले पढ्नु भयो ।

–मोहनविक्रम सिंह

क.
शुरू गरौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.को उदाहरणबाट । अहिले जनतामा व्यापक रूपले भइरहेका दुईवटा टिप्पणीहरूका सन्दर्भमा उहाँको उदाहरण विशेष रूपले उल्लेनीय छ : प्रथम, कम्युनिस्टहरू पनि सत्तामा पुगेपछि बिग्रन्छन् । द्वितीय, सत्ता भन्ने यस्तो कुरा हो, जहाँ पुगेपछि जस्तोसुकै इमान्दार मान्छे पनि भ्रष्ट बन्छ । त्यस सिलसिलामा यो कुरा पनि भन्ने गरिन्छ : पैसाको मुख नै कालो छ, त्यसलाई देखेपछि जसको इमान पनि बिग्रन्छ । चित्रबहादुरको उदाहरणबाट ती सबै प्रकारका टिप्पण्ँी वा आलोचनाहरू गलत सावित हुन्छन् ।

एकाध हप्ता पहिले राजनीतिशास्त्रका एकजना प्राध्यापक– जसको नाम अहिले मलाई याद छैन–ले एउटा रेडियोमा दिएको आफ्नो अन्तवार्तामा सत्तामा पुगेपछि जो पनि बिग्रन्छ भन्ने मान्यताको खण्डन गर्दै भनेका थिए : सत्तामा पुगेपछि जुन मान्छे पनि बिग्रन्छ भन्ने कुरा सत्य होइन । जसभित्र नराम्रो प्रवृत्ति छ, त्यो व्यक्ति नै सत्तामा पुगेपछि त्यो व्यक्तिमा अन्तनिर्हित प्रवृत्ति नै सत्तामा पुगेपछि ठूलो रूपमा प्रकट हुन्छ । तर जसको चरित्रमा त्यसप्रकारको दोष छैन, उनीहरू सत्तामा पुगेपछि पनि बिग्रदैनन् । यहाँ मैले उनको भनाइलाई शब्दशः होइन (भाव नै दिएको छु) । यस सिलसिलामा उनले वीपी कोइराला र पण्डित जवाहरलाल नेहरू आदिका उदाहरण दिएका थिए । वीपी वा नेहरूका विचारसित सैद्धान्तिक रूपमा हामी सहमत नभएपनि उनीहरू कुनै प्रकारको भ्रष्टचारका लागि बदनाम छैनन् । उनीहरू सत्तामा पुगेर पनि आफ्नो सिद्धान्त वा मान्यताअनुसार देश वा जनताको लागि जीवनभरि नै सक्रिय रहे । त्यही प्रकारका कैयौँ महापुरूषहरूका उदाहरणहरू संसारमा पाइन्छन् । हाम्रो देशमा त्यही प्रकारको एउटा उदाहरण के.सी.जीको हो ।

उहाँ ओलीको सरकारमा उपप्रधानमन्त्री बन्नु भयो । उहाँ सरकारमा सामेल हुन नीतिगत रूपमा सही थियो वा गलत ? त्यसबारे बेग्लाबेग्लै मतहरू हुन सक्दछन् । तर उहाँका कट्टर आलोचकहरूले पनि उहाँले भ्रष्टाचार गरेकोे कुनै आक्षेप लगाउँदैनन् वा लगाउन सक्दैनन् । उहाँ उपप्रधानमन्त्री भएका बेलामा कर्मचारीहरूले उहाँलाई त्यहाँको भ्रष्टाचारमा फसाउन कैयौँ प्रयत्न गरे । तर उहाँको इमान कहिल्यै बिग्रिएन । त्यति मात्र होइन, उहाँले आफ्नो कार्यालयका भ्रष्ट अधिकृतहरूलाई बर्खास्त पनि गर्नुभयो, यद्यपि उनीहरूलेपछि सर्वोच्चमा गएर स्टे अर्डर पनि त्याए । उहाँ लेखा समितिको सभापति भएको बेलामा पनि कैयौँ मानिसहरूले उहाँलाई करोडौँ घुस दिन प्रयत्न गरेका थिए । तर उहाँले एक रूपियाँ पनि लिनुभएन । त्यसरी नेपालको राजनीतिक इतिहासमा उहाँको सत्तामा गएर पनि भ्रष्ट नहुने व्यक्तिको रूपमा एउटा बेग्लै र विशिष्ट स्थान रहेको छ । त्यसको अर्थ नेपालको राजनीतिमा एक मात्र त्यस्तो व्यक्ति हुनुहुन्छ भन्ने होइन । सत्तामा गएर वा प्रशासनको उच्च पदमा पुगेर पनि भ्रष्ट नभएका अरू कैयौँ व्यक्ति हुन सक्दछन् । तिनीहरू मध्ये के.सी. जी पनि एकजना हुनुहुन्छ ।

कुरा के.सी.को मात्र होइन, नेपालको संसदीय इतिहासमा सांसदहरू भ्रष्ट भएका थुप्रै उदाहरणहरू पाइन्छन् । उनीहरूले आर्थिक भ्रष्टाचार गरेको उदाहरणको कमी छैन । तर यो कम महत्वपूर्ण होइन कि राष्ट्रिय जनमोर्चाले संसदको उपयोग गर्न थालेदेखि अहिलेसम्म राजमोका एकजना पनि सांसद वा सभासद त्यसप्रकारको भ्रष्टाचार वा आर्थिक हिनामिनामा संलग्न भएको एउटा पनि उदाहरण छैन । सांसदहरूले विकासको रकममा भ्रष्टाचार गर्ने गरेकाले उनीहरूलाई संसद विकास कोषको रकम दिन बन्द गर्नुपर्दछ भन्ने व्यापक आवाज उठेको पाइन्छ । हाम्रा कुनै पनि सांसदहरूले त्यो रकम भ्रष्टाचार गरेको वा त्यो रकमबाट व्यक्तिगत रूपमा एक पैसा पनि लिएको कुनै उदाहरण छैन । के.सी.को मात्र होइन, हाम्रा सबै सांसदहरूले त्यसप्रकारको छवि कसरी बन्यो ? त्यो सामान्य कुरा होइन । के.सी.ले जुनप्रकारको आदर्श चरित्र प्रस्तुत गर्नुभएको छ, त्यसका पछाडि उहाँको उच्च प्रकारको चरित्रले ता काम गरेको छ नै । तर राष्ट्रिय जनमोर्चाका सबै सांसदहरू पनि भ्रष्टाचारमा नमुछिएको वास्तविकताले त्यसप्रकारको चरित्र राष्ट्रिय जनमोर्चाको संस्थागत विशेषता नै भएको कुारमा कुनै शङ्का छैन । ने.क.पा.(मसाल)को क्रान्तिकारी चरित्र र त्यसभित्रको कडा अनुशासनको कारणले हाम्रा सबै सांसदहरूको त्यसप्रकारको कार्यप्रणाली वा भूमिका बन्न गएको कुरा प्रष्ट छ ।

माथि जे भनियो, त्यसको अर्थ ने.क.पा.(मसाल) वा राष्ट्रिय जनमोर्चाका कुनै पनि मान्छे बिग्रन्न वा कसैले भ्रष्टाचार गर्दैनन् भन्ने होइन । तर के हुन्छ भने जसले त्यसप्रकारको कुनै गल्ती गर्दछ, उसलाई पार्टीले या त त्यसप्रकारका कार्यका लागि कडा कारवाही गर्दछ वा त्यस्ता व्यक्तिहरू पार्टीबाट अलग भएर जान्छन् । त्यसले गर्दा पार्टीको चरित्र वा अनुशासन बिग्रन पाउन्न । त्यसप्रकारको कार्यप्रणालीका कारणले पार्टीको आदर्श, चरित्र मूल रूपमा कायम रहिरहन्छ । निश्चय नै पार्टीभित्रको त्यसप्रकारको अवस्था स्वतः र सजिलैसित कायम रहन जान्न । त्यसका लागि एकातिर लगातार सैद्धान्तिक प्रशिक्षण कार्यक्रमको सञ्चालन र अर्कातिर पार्टीमा अनुशासन कायम राख्नलाई कडा सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसको परिणामस्वरूप नै पार्टीको अवस्था कायम रहन सकेको हो ।

माथि पार्टीको जुन प्रकारको कार्यप्रणालीको उल्लेख गरियो, त्यो माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि आधारित छ । अहिले विश्वस्तरमा नै एकातिर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र, अर्कातिर, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट विचलन भइरहेको पृष्ठभूमिमा हाम्रो पार्टीको क्रान्तिकारी चरित्र र लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अनुरूप पार्टीको सङ्गठनात्मक प्रणाली र अनुशासन कायम राख्न सजिलो छैन । तैपनि त्यसबारे हाम्रो पार्टीले कडा प्रयत्न गरिरहेकोले देशका बुर्जुवा पार्टीहरू मात्र होइन, आफूलाई कम्युनिस्ट बताउने पार्टी वा सङ्गठनहरूका तुलनामा पनि हाम्रो पार्टीको चरित्र सङ्गठनात्मक प्रणाली र अनुशासन पद्धति धेरैमाथि छ । एकातिर, हाम्रो पार्टी र अर्कातिर नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का बीचमा सरसरी प्रकारले तुलना गरेर हेर्ने हो भने पनि त्यो कुरा प्रष्ट हुने छ ।

ख.
हामीले बारम्बार यो प्रष्ट गर्दै आएका छौँ, प्रथम, नेकपा (नेकपा) कम्युनिस्ट पार्टी होइन । द्वितीय, त्यसभित्र भ्रष्ट, नोकरशाही माफिया तत्त्वहरूले घर जमाएका छन् । देशमा घटिरहेका घटनाहरूबाट त्यो कुरा प्रष्ट हुँदै गइरहेको छ । नेकपाको माक्र्सवादी–लेनिनवादी सिद्धान्त र लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबाट विचलनका कारणले नै त्यसको चरित्र र कार्यशैलीमा कैयौँ प्रकारका असङ्गति र दोषहरू देखा परिरहका छन् । अहिले विष्फोटक रूपमा देखा परेको सुरक्षा मुद्रणसम्बन्धी काण्ड र नेकाभित्रको त्यसप्रकारको सैद्धान्तिक र सङ्गठनात्मक विचलनको नै एउटा प्रकट रूप हो ।

अहिलेको सुरक्षा मुद्रणसम्बन्धी काण्डबारे हामीले खालि एउटा काण्डको रूपमा मात्र होइन, त्यसमा जोडिएका अन्य कैयौँ कुराहरूसित जोडेर हेर्नुपर्ने आवश्यकता छ । प्रथम, अहिले प्रकाशमा आएका यही प्रकारका केही काण्डहरू बाहेक अहिलेसम्म प्रकाशमा नआएका अरू पनि कैयौँ काण्डहरू लुकेर बसेका हुन सक्दछन् । यो कुराको अनुमान गर्न सकिन्छ कि वास्कोटाका लागि एक्लै त्यति ठूलो भ्रष्टाचारको खेल खेल्नु सम्भव थिएन । खालि सुरक्षा मुद्रण प्रेससम्बन्धी मात्र होइन, त्यसप्रकारका अन्य ठूला भ्रष्टाचारका काण्डहरूमा पनि उनको संलग्नता भएका समाचारहरू बाहिर आइरहेका छन् । त्यो अवस्थामा सुरक्षा मुद्रणसम्बन्धी काण्डमा अरू को को सामेल थिए ? त्यसबारे उच्च स्तरमा छानवीन गरेर दोषीहरूलाई सजाय गर्नुपर्ने आवश्यकता छ ।

द्वितीय, वास्तवमा अहिले जुन प्रकारका काण्डहरू अगाडि आएका छन्, त्यो सम्पूर्ण संसदीय प्रणालीका परिणामहरू हुन् । संसदीय प्रणालीअन्तर्गत संसारभरि नै भ्रष्टाचारका ठूला ठूला काण्डहरू हुने गरेका छन् । वास्तवमा संसदीय प्रणालीलाई सम्पूर्ण रूपले समँप्त गरेर त्यसका ठाउँमा नयाँ जनावादी व्यवस्थाको स्थापना गरेपछि नै यो समस्याको वास्तविक समाधान हुन सक्दछ ।

अहिले सुरक्षा मुद्रणसम्बन्धी काण्डबारे नेकाले चर्को आवाज उठाइरहेको छ । कुनै पनि प्रतिपक्षले त्यसप्रकारको भ्रष्टाचार वा कमिशनका कुनै काण्डबारे त्यसरी विरोध गर्नुलाई गलत भन्न सकिन्न । तर त्यस सन्दर्भमा दुईवटा कुराहरू उल्लेखनीय छन् । प्रथम, ने.का.ले अहिले भ्रष्टाचारको विरोध गरेपनि त्यसको अर्थ भ्रष्टाचारको विरोध नभएर वर्तमान सरकारको विरोध मात्र हो । गतकालमा बनेका त्यसका सबै सरकारहरूको इतिहास भ्रष्टाचारका ठूलाठूला काण्डहरूको कालो सूचीले भरिएको कुराबाट त्यो कुरा प्रष्ट हुन्छ । द्वितीय, उनीहरूले वर्तमान सरकारसित सम्बन्धित भ्रष्टाचारका कतिपय मामिलाहरूको विरोध गरेपनि स्वयम् आफ्नो पार्टीका भ्रष्टचारसित सम्बन्धित व्यक्तिहरूलाई बचाउन नै प्रयत्न गरेको पाइन्छ । हालै अख्तियारले ललिता निवास जग्गाबारे विशेष अदालतमा जुन व्यक्तिहरूका विरुद्ध मुद्धा दायर गरेको छ, तिनीहरूमा नेकाका कतिपय उच्च स्तरीय नेता पनि परेका छन् । तर नेकाले त्यस्ता व्यक्तिहरूका विरुद्ध दायर गरिएको मुद्धाका विरुद्ध प्रदर्शन नै गरेको छ । त्यसले नेकाको वास्तविक विरोध भ्रष्टाचारप्रति नभएर वर्तमान सरकारप्रति मात्र हो भनेर बुझ्न गाह्रो पर्दैन ।

हाम्रो पार्टीले विना दलीय भेदभाव वा पूर्वाग्रह सबै प्रकारका भ्रष्टाचारको विरोध गर्दै आएको छ । हाम्रो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको छ । तर त्यसका साथै वर्तमान सरकारले सामन्त वर्ग, दलाल पुँजीपतिवर्ग वा अमेरिकी र भारतीय साम्राज्यवादप्रति सम्झौतपरस्त नीति अपनाउँदै आएको छ । त्यसैले हाम्रो पार्टीले वर्तमान सरकालाई समर्थन गरेपनि त्यसका सबै सम्झौतपरस्त नीतिहरूका विरुद्ध कडा र सम्झौताहीन प्रकारको सङ्घर्षको नीति अपनाउँदै आएको छ । त्यही प्रकारले सरकारका गलत नीति, कार्यशैली र त्यसअन्तर्गत भ्रष्टाचारका कार्यहरूको पनि हामीले दृढतापूर्वक विरोध गर्ने नीति अपनाएका छौँ । वर्तमान सरकार, जस्तै किमाथि भनियो, एकातिर, कम्युनिस्ट सरकार नभएको र अर्कातिर, त्यो सरकार भ्रष्ट, नोकरशाही र माफियाहरूले घेरेको हुनाले त्यसको कार्यशैली अत्यन्त गलत रहेको कुरा पनि हामीले प्रष्ट गर्दै आएका छौँ । हालै हाम्रो पार्टीको युवक मोर्चाले सरकारका भ्रष्टाचारसम्बन्धी कार्यहरूका विरुद्ध महेन्द्रनगरदेखि झापासम्म निकालेको मोटरसाइकल मार्चबाट पनि भ्रष्टाचारको प्रश्नलाई पार्टीले कति गम्भीर रूपमा लिएको छ ? प्रष्ट हुन्छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा पनि बिना कुनै पक्षपात वा पूर्वाग्रह भ्रष्टाचारसित सम्बन्धित व्यक्तिहरूका विरुद्ध कारवाही अगाडि बढाएर दोषिलाई कडा सजाय गरिनुपर्दछ भन्ने कुरामा हाम्रो पार्टीले जोड दिएको छ ।

हामीले भन्दै आएका छौँ, वर्तमान सरकारका गलत कार्यशैलीका कारणले प्रतिगामी शक्तिहरूलाई बढी बल प्राप्त भइरहेको छ । अहिले सुरक्षा मुद्रणसम्बन्धी काण्डबाट त्यो कुरा प्रष्ट भएको छ । त्यसप्रकारका काण्डका कारणले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको छ र त्यसको आधारमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतमाथि नै हमला बढाउँदै लगिरहेका छन् । अहिलकोे सुरक्षा मुद्रणसम्बन्धी काण्डका सन्दर्भमा पनि प्रतिगामी शक्तिहरूले वर्तमान सरकारमाथि चर्को प्रकारले हमला गरिरहेका छन् । त्यसका पछाडि उनीहरूको वास्तविक उद्देश्य भ्रष्टाचारलाई समाप्त पार्न नभएर त्यसप्रतिको जनताको असन्तोषलाई उपयोग गरेर गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै हमला गर्नु नै हो ।

वर्तमान सरकारअन्तर्गत भ्रष्टाचारसम्बन्धी भइरहेका काण्डहरू आम रूपमा थाहा भएको कुरा हो । संसदीय प्रणाली वा वर्तमान सरकारअन्तर्गत त्यसप्रकारका कार्यहरू हुँदैनन् भनेर हामीले वर्तमान सरकारलाई समर्थन गरेको होइन । हामीले मुख्य रूपले गणतन्त्र र धर्मनिरपेक्षतासम्बन्धी प्रश्नमा नेकपाले लिएको अडानका कारणले नै वर्तमान सरकारालाई समर्थन गरेका हौँ र अहिले पनि सरकारको त्यसप्रकारको अडान कायम छ । त्यसैले अहिले पनि त्यसलाई समर्थन गर्ने कार्यको औचित्यता कायम छ । यो कुरा ठीक त्यस्तै हो, जसरी नेकासितको हाम्रो गम्भीर प्रकारको मतभेदका वावजुद हामीले गणेशमानको नेतृत्वको २०४६ सालको आन्दोलन वा गिरिजाप्रसाद कोइरालाको सरकारलाई समर्थन गरेका थियौँ ।

वर्तमान सरकारले गणतन्त्र वा धर्मनिरपेक्षताबारे स्पष्ट अडान लिएको भएपनि त्यही कुरा राष्ट्रियताबारे भन्न सकिन्न । मधेशवादीहरूको संविधानमा संशोधनसम्बन्धी मागहरूलाई अस्वीकार गर्नु वा कालापानीबाट भारतीय सेना हटाउने विचार प्रकट गर्नु त्यसका सकारात्मक पक्षहरू हुन् । तर भारतले थिचोमिचो गरेको वा त्यसले आफ्नो नक्शामा समावेश गरेका कालापानी समेतका भूभागबारे भारतीय साम्राज्यवादका विरुद्ध त्यसले दृढतापूर्वक भूमिका खेल्न सकेको छैन । एमसीसीबारेका ओली सरकारले पूरै नै अमेरिकन साम्राज्यवादपरस्त नीति अपनाएको देखिन्छ । स्वयम् नेकपाको कार्यदलले यथास्थितिमा त्यसलाई समर्थन गर्न नसकिने प्रतिवेदन दिएपनि त्यसलाई स्वीकार गर्न पनि सरकार हिच्किचाएको देखिन्छ, जब कि आवश्यकता त्यसलाई सम्पूर्ण रूपमा अस्वीकार गर्नु वा खारेज गर्नु हो । त्यो अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा स्वयम् अमेरिकी पक्षले नै प्रष्ट गरिसकेको छ । त्यो अवस्थामा त्यसलाई स्वीकार गर्नुको अर्थ नेपालको परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकी साम्राज्यवादको क्याम्पमा उभिन पुग्ने छ । एमसीसीको मुख्य उद्देश्य चीनका विरुद्ध घेराबन्दी गर्ने हो । त्यसैले एमसीसीलाई स्वीकार गर्नुको अर्थ नेपाल चीन र अमेरिकाका बीचको भिडन्तको मैदान बन्न पुग्ने छ र दीर्घकालीन रूपमा त्यसबाट नेपाललाई दूरगामी क्षति पुग्ने छ । यति गम्भीर प्रश्नमा पनि ओली सरकारले दूरदर्शितापूर्वक विचार गर्न नसकेको देखिन्छ ।

समग्र रूपमा के भन्न सकिन्छ भने सरकारले अपनाएको गलत प्रकारको कार्यशैलीका कारणले एकातिर, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध प्रतिगामी शक्तिहरूलाई मद्दत पुगिरहेको छ भने अर्कातिर, एमसीसी समेतबारे सरकारले अपनाएको सम्झौतापरस्त नीतिबाट देशको राष्ट्रियता र सार्वभौमिकतामा गम्भीर प्रकारको आँच पुग्ने खतरा बढ्दै गइरहेको छ । त्यो अवस्थामा उक्त विषयहरूमा व्यापक जनआन्दोलन उठाएर नै हामीले गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गर्न सक्ने छौँ र गर्नु हाम्रो ऐतिहासिक दायित्व हुन्छ ।

मिति : २०७६ फागुन १३

Leave a Reply

Your email address will not be published. Required fields are marked *