सबैखाले षडयन्त्रलाई परास्त गरौं !

  •   
  •  
  •  
  •  
  •  
  •  

507 जनाले पढ्नु भयो ।

यतिवेला नेपाली समाजमा अन्तर्विरोध झन् पछि झन् तिब्र बन्दै गइरहेको छ । त्यसको प्रत्यक्ष परिणामहरु राजनीतिक पार्टीहरुमा देखापरेका छन् । सिंगो नेपाली समाजमा भएको अन्तर्विरोधको असरले नेकपा सिंगो रहन सकेन, पूर्व एमालेको अवस्था पनि उस्तै छ । त्यस्तै माओवादी केन्द्र र मधेसवादी दलहरु पनि अन्तर्विरोधको शिकार भएका छन् । नेपालमा कुनै पनि राजनीतिक पार्टीलाई सिंगो राखेर साम्राज्यवादी शक्ति र प्रतिगामी शक्तिहरुको अभिष्ट पुरा नहुने भएकोले नै स–साना झुण्डमा परिणत गर्न उनीहरु जुटेका छन् ।

लामो समयदेखि फरक राजनीतिक धार प्रस्तुत गर्दै आएको राष्ट्रिय जनमोर्चा माथि पनि अन्तर्विरोधको उछिटा छर्किने कोशिस भएको देखिन्छ । बाहिरी वा भित्री शक्तिहरुले राष्ट्रिय जनमोर्चा र त्यस निकटका मोर्चाहरुलाई पनि प्रभाव पार्ने कोशिस यतिवेला गरिरहेका छन् ।

यसले यो स्पष्ट हुन्छ, जहिले पनि साम्राज्यवादी शक्तिहरुले नेपालमा राजनीतिक स्थायीत्व चाहँदैनन् । नेपाल अस्थिर भइरह्यो भने उनीहरुको चलखेल खुल्ला रुपमा हुन पाउने हुँदा आ–आफ्ना एजेण्टहरु मार्फत नेपालका अवसरवादी समुहहरुलाई प्रयोग गर्दै नेपाललाई अस्थीर बनाउने भूमिका खेलिरहेका छन् । त्यसैको एउटा मात्रै उदाहरण विभिन्न माध्यमबाट छिराइएको र छिराउन लगाइएको संघीयता हो, अहिले आएर एमसिसि । एमसिसिको विषयलाई हेर्ने सवालमा पनि नेपालका राजनीतिक पार्टीहरुको धारणा विभाजीत छ । जसरी संघीयतालाई शक्ति विकेन्द्रीकरण गरेर देश समृद्ध बन्ने सपना बाँढिएको थियो, त्यस्तै प्रकारले एमसिसिबाट आउने आर्थिक साहेताले देशको चौतर्फी विकासको मिठा सपनाहरु बाढिएका छन् ।

उतीवेला संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चा एकलो ध्रुवको रुपमा रहेको थियो, अहिले पनि छ । यसले लगातार संघीयता नेपालको परिवेशमा उपयुक्त नभएको बताउँदै आएको थियो । वर्तमानमा नेपालमा देखिएका विभिन्न प्रकारका आर्थिक, राजनीतिक र शक्ति सन्तुलनमा देखिएको समस्याले नेपालमा संघीयता असफल भैसकेको छ । केही राजनीतिक संघ संस्थाहरुले संघीयता खारेजीको मधुरो आवाज उठाउन थालेका छन्, तर उनीहरुको त्यो आवाजमा कति समय टिक्ने छ त्यो उनीहरुले अपनाउने राजनीतिक गतिविधिले नै पुष्टि गर्दै जाला ।

साम्राज्यवादी शक्तिहरुले संघीयता भित्र पनि जातीय राज्यको मागलाई छिराएर एक मदेश एक प्रदेश, बहुराष्ट्रवाद, आत्मनिर्णयको अधिकार आदि नाराको माध्यमबाट नेपाललाई अस्थिर बनाउँदै गृहयुद्धमा धकेल्ने गुरुयोजनाका तहत नेपालमा कार्य गरिरहेका थिए र त्यो विषय वर्तमानमा केही मत्थर देखिएता पनि निमिठ्यान्न भैसकेको भने छैन । पुनः अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्यअखडाको रुपमा प्रयोग गर्ने उदेश्यद्वारा नै एमसिसि छिराइ नेपाली समाजलाई अन्तरद्वन्द्वमा फसाएको छ ।

साम्राज्यवादी शक्तिहरुको सबैभन्दा ठूलो हथियार अराजकता हो । उसले कुनै पनि देशको अस्तित्वमाथि हमला गर्न चाह्यो भने संभव भएसम्म प्रत्यक्ष हमला गर्दछ । यदि त्यो सम्भव नदेखिएको अवस्थामा सम्बन्धित देशमा रहेका आफ्ना एजेण्टहरुलाई अराजकता तर्फ धकेलिदिन्छ र शान्तिको बहानामा, राजनीतिक मध्यमार्गी भूमिकाको बहानामा वा अन्य विभिन्न बहानामा ति देशहरुमा धावा बोल्ने गर्दछ । जसका कैयौं अन्तर्राष्ट्रिय उदाहरणहरु छन् । अहिले नेपालमा ल्याउन खोजिएको एमसिसि पनि नेपाली समाजलाई अन्तरद्वन्द्वमा फसाउने विजारोपणको हो ।

वर्तमान नेपालको सन्दर्भमा संविधान, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा राष्ट्रिय तथा ऐतिहांसिक आवश्यकता हो, तर राजनैतिक दलहरु (ठूला दल भनाउँदाहरु) उल्लेखित विषयमा गम्भीर देखिंदैनन् । माओवादी समुह, एमाले, काँग्रेस, मधेसवादी दलहरु नै संविधान, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाको सवालमा भन्दा पनि आप्mनै पार्टी भित्रको अन्तरसंघर्षलाई साम्य पार्ने कसरतमा छन् । तर त्यसको अर्थ अन्य देशभक्त राष्ट्रवादी शक्तिहरु जिम्मेवार छैनन् भन्ने होइन । तात्कालिन प्रधानमन्त्री केपी ओलीद्वारा पहिलो र दोश्रो गरि दुई पटक संसद्को विघटन गरिएको विरुद्ध देशभक्त राष्ट्रवादी शक्तिहरुद्वारा गरिएको आन्दोलनको बलले नै सर्वोच्चको परमादेशबाट संसद पुनस्र्थापना भएको छ । यसले देश प्रतिगमन तिर जानबाट सच्चिएको छ ।

तत्पश्चात नयाँ सरकार पनि गठन भएको छ तर यो सरकार संविधान, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा सवालमा कति सवल बन्ने छ भन्ने विषयको परिणाम भने आउन बाँकि नै छ । जेहोस् मुलुक प्रतिगमनतीर जान र असफल राष्ट्र घोषित हुनबाट रोकिएको छ । यदि आन्दोलनकारी शक्तिहरु एकजुट नभएको भए देशमा गम्भीर प्रकारको अशान्ती वा विखण्डनको शिकार हुने सम्भावनालाई अस्वीकार गर्न सकिंदैनथ्यो । अहिले पनि पुनः पाँच राजनीतिक पार्टीहरुको कार्यगत एकतालाई विखण्डन गर्न विदेशी शक्तिहरु र प्रतिगामी तत्वहरु दिन एकगुना रात चौगुना गरि लागिरहेको छन् ।

मुलुकमा साम्राज्यवादी शक्तिहरुको द्वन्द्वको प्रभाव हो कि जातिवादी र क्षेत्रीयतावादी शक्तिहरुले आफुले चाहे अनुसार संविधान नबनेमा सकेसम्म संविधान नै बन्न नदिने कोशिस गरेका थिए । बनिसके पछि पनि उनीहरुले विभिन्न प्रकारले संविधानलाई कार्यान्वयनमा नै अवरोध पैदा गर्ने कोशिस गरेका थिए । त्यो सबै अबरोध र समस्याहरुलाई निष्तेज पार्दै त्यतिवेलाका राजनीतिक पार्टीहरुले संविधान निर्माण मात्र गरेनन् कार्यान्वय पनि गरे । यतिवेला साम्राज्यवादी शक्तिहरुले नेपाली समाजमा अन्तर्विरोध झन् पछि झन् तिब्र पार्दै लैजाने कोशिस गरिरहेका छन् । त्यसलाई सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु एकजुट भई परास्त गर्नुको विकल्प छैन । लोकतान्त्रिक मूल्यमान्यता बहाल गर्दै राष्ट्रियता, गणतन्त्र, संविधान र धर्म निरपेक्षताको रक्षा गर्नुको विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *