‘समानुपातिक र समावेशी प्रतिनिधित्व गर्ने देशकै एकमात्र दल राष्ट्रिय जनमोर्चा’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो दल नै समावेशी र समानुपातिक प्रतिनिधित्व गर्ने देशकै एकमात्रै दल भएको बताएको छ ।

निर्वाचन आयोगले विभिन्न दलहरुलाई कानुनी व्यवस्था बमोजिम समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था मिलाउन सूचना प्रकाशित गरेका सन्दर्भमा राजमोले आफ्नो पार्टी सो बमोजिम व्यवस्था मिलाउने देशकै एकमात्र दल भएको स्पष्ट पारेको हो ।

बुधबार विज्ञप्ति प्रकाशित गरी उपाध्यक्ष एवं प्रवक्ता दुर्ग पौडेलले आफ्नो पार्टीमा महिला, दलित, जनजाती, मुस्लिम लगायत समुदायको यथोचित प्रतिनिधित्व रहेको बताउनुभएको छ ।

वक्तव्यमा विभिन्न समुदायबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको विवरण पनि दिइएको छ ।

यस्तो छ वक्तव्यः

‘निर्वाचन आयोगले देशका विभिन्न राजनीतिक दलहरुले संविधान र कानुनले व्यवस्था गरे अनुसार कार्यकारिणी समितिमा समानुपातिक वा समावेशी प्रतिनिधित्वको व्यवस्था नगरेको भनेर आलोचना गरेको तथा त्यस अनुसार व्यवहार गर्न दिएको सूचनाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षित भएको छ । त्यस सन्दर्भमा हामीले यो जानकारी गराउन चाहन्छौं कि राष्ट्रिय जनमोर्चाले संविधान र कानुनमा व्यवस्था गरेअनुसार आफ्नो केन्द्रीय समितिमा समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत व्यवस्था गरेको छ ।

हाम्रो पार्टीको केन्द्रीय समितिमा ३१ पूर्ण सदस्यहरु हुनुहुन्छ । जसमा महिलाहरुको संख्या ११ छ । जसको विवरण यस प्रकार छ ः दुर्गा पौडेल (प्यूठान) दलको उपाध्यक्ष, प्रवक्ता र सचिवालय सदस्य हुनुहुन्छ ।

उहाँ बाहेक केन्द्रीय समितिका अन्य महिला सदस्यहरुको नाम यसप्रकार छ : कल्याणी श्रेष्ठ (काठमाडौं), कमला जिसी (दाङ), तारा पौडेल (चितवन), तारा जिसी (प्यूठान), पियारी थापा (बागलुङ), कृष्णा रावल (सुर्खेत), कल्पना भण्डारी (बझाङ), तारा थापा (गुल्मी), इन्दिरा ज्ञवाली (रुपन्देही), मीना पोख्रेल (कपिलवस्तु) ।

हाम्रो केन्द्रीय समितिमा विभिन्न जातिहरुको प्रतिनिधित्व यसप्रकार छः बद्रे आलम (रुपन्देही), मधेशी र मुस्लिम पनि हुनुहुन्छ । उहाँ दलको उपाध्यक्ष हुनुहुन्छ । मोमिना खातुन (सल्लाहकार) ले पनि मुश्लिम र मधेशीको प्रतिनिधित्व गर्नुहुन्छ ।

शेरबहादुर विक (सल्लाहकार) र मञ्जु परियार (सल्लाहकार)ले दलितको प्रतिनिधित्व गर्नुहुन्छ । कल्याणी श्रेष्ठ (पूर्ण सदस्य), झविलाल थापा (पूर्ण सदस्य), पियारी थापा (पूर्ण सदस्य), हेमकुमार गुरुङ (वैकल्पिक सदस्य) काजिलाल वाइवा (सल्लाहकार) अमर थापा (सल्लाहकार) ले जनजातिको प्रतिनिधित्व गर्नुहुन्छ ।

कार्यकारिणीका पूर्ण सदस्यहरुमा महिलाहरुको ३३ प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनुका साथै वैकल्पिक सदस्यमा लक्ष्मी के.सी. र सल्लाहकारहरुमा मोमिना खातुन र मञ्जु परियारहरुले पनि महिलाहरुको प्रतिनिधित्व गर्नुहुन्छ ।

माथिको विवरणबाट राष्ट्रिय जनमोर्चा संविधान र कानुन अनुसार महिला, जनजाति, मधेशी, मुस्लिम र दलित समेतको समानुपातिक र समावेशी प्रतिनिधित्व गर्ने दल भएको कुरामा कुनै शंका रहन्न । सम्भवतः राष्ट्रिय जनमोर्चा त्यस प्रकारको समानुपातिक वा समावेशी प्रतिनिधित्व गर्ने देशको नै एकमात्र राजनीतिक दल हो ।

अन्य कुनै दल वा संगठनहरुले पनि त्यसप्रकारको समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको भए त्यो स्वागतयोग्य कुरा हुनेछ । तर जसले आफ्नो केन्द्रीय समितिमा त्यसप्रकारको प्रतिनिधित्वको व्यवस्था गरेका छैनन्, उनीहरुसित त्यसप्रकारको व्यवस्था गर्नको लागि हामीले अनुरोध गर्दछौँ । वास्तवमा यो प्रश्न महिला, मधेशी, मुस्लिम, दलित र जनजातिहरुको अधिकारको संरक्षणको प्रश्न हो ।

उनीहरुले लामो संघर्षपछि नै त्यसप्रकारको अधिकार प्राप्त गरेका छन् । जसमा राजनीतिक दलहरुको पनि महत्वपूर्ण योगदान रहेको छ । उनीहरुले (राजनीतिक दलहरुले) उनीहरुको त्यसप्रकारको अधिकारको रक्षाको लागि प्रतिबद्धता पनि गरेका छन् ।

तर उनीहरुले नै आफ्ना दलहरुको कार्यकारिणी समितिहरुमा त्यसप्रकारको प्रतिबद्धतालाई लागु नगर्नु दुःखको कुरा हो । हामीले त्यसप्रकारको प्रतिबद्धतालाई कार्यान्वयन गर्न उनीहरुसित अनुरोध गर्दछौँ ।

उक्त प्रश्नमा हामीले निर्वाचन आयोगको पनि गम्भीर प्रकारको ध्यानाकर्षित गराउन चाहन्छौँ । विभिन्न दलहरु दर्ता भएको यति लामो समय बित्दा वा निर्वाचन आयोगले बारम्बार त्यसबारे ध्यानाकर्षित गराउदा पनि त्यसअनुसार दलहरुले समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था नगर्दा पनि त्यस सम्बन्धि कानुनलाई लागु गर्न निर्वाचन आयोगले कडाईपूर्वक कारबाही नचलाएकोमा हामीले त्यसको (निर्वाचन आयोगको) आलोचना गर्न चाहन्छौँ ।

त्यसबारे पटक पटक सूचना निकाल्नु मात्र प्रयाप्त छैन । राजनीतिक दलहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गराउन कडा कदम चाल्नको लागि हामीले निर्वाचन आयोगसित माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार