समुन्द्रपारिबाट जन्मभूमि ‘अरेवा’ लाई सम्झँदा…

81 जनाले पढ्नु भयो ।

गुल्मी जिल्लाका दुई नगरपालिका मध्य मुसिकोट नगरपालिका–१, साबिक पौदी अमराइ गाविसको समतल भूभाग, घना बस्ती, विभिन्न जात जातिहरु सौहाद्र्धपूर्ण वातावरणमा मिलेर बसेको समाज सहितको सुन्दर गाउँ हो ‘अरेवा’ । खेतीयोग्य उर्वरभूमि प्रसस्तै हुँदाहुँदै पनि यहाँ पुरानै परम्रागत खेती प्रणाली अपनाइन्छ । उचित सिंचाइको व्यवस्थापन र आधुनिक कृषि प्रणाली अपनाउन सक्यौं भने निश्चित रुपमा यो भूमिमा सुन फलाउन सक्ने प्रचुर सम्भावना छ । परापूर्वकालदेखि स्थानीयको सिंचाइ व्यवस्थापनको सपना पूरा हुन सकेको छैन । सिंचाइ अभावको कारण आयआर्जनमूलक कृषि प्रणाली, पशुपालन तथा तरकारी खेती गर्नेहरुको कमि हिजोदेखि अहिलेसम्म बिधमान छ ।

आज आफ्नै गाउँको संक्षिप्त राजनैतिक अवस्थाबारे लेख्ने कोशिश गर्दैछु ।

अरेवाको भूमी वामपन्थीहरुको उर्बरभूमी हो । यस गाउँका कयौं सामाजिक, शैक्षिक, वौद्धिक व्यक्तित्व, युवा तथा विद्यार्थीहरुमा कम्युनिस्ट आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता रहँदै आएको छ । बहुदलीय व्यवस्था आगमनपछि यो भूमि ‘लालकिल्ला’ रह्यो । गाविस चुनावमा स्थानीय स्तरमा वामपन्थी दलहरु विशेष गरि नेकपा (एमाले) र राजमोबीच चुनावी तालमेल गरी जित हासिल गर्दै आएका थिए ।

पौदिअरेवा निवासी हिरा गिरि नेकपा एमालेको तर्फबाट दुई कार्यकाल (१०वर्ष) गाविस अध्यक्षको रुपमा नेतृत्व गर्नुभयो । उहाँको कार्यकालमा विकास निर्माणका काम उल्लेख्य रूपमा नभए पनि सकारात्मक थियो भन्ने कुराको साक्षी सबै स्थानीयबासी छन् । त्यसैबारे म यहाँ थप ब्याख्या गर्न जरुरी ठान्दिन ।

पौदी अमराई गाविसभित्र अरेवामा रहेका वार्डहरु (१,२ र ९) थिए । जसमध्य १न. वडा विशेष थियो । बहुदलीय व्यवस्थापछि उक्त सो वडा ‘मसालगाउँ’ का रुपमा परिचित थियो । पहिलो स्थानीय चुनावमा नेकपा (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाबाट थुमबहादुर हितान वडा अध्यक्ष सहितको प्यानल विजयी भएको थियो । दोस्रो चुनावमा नाएक सुबेदार रेशम गिरि वडाअध्यक्ष सहितको प्यानल अत्यधिक मतका साथ विजयी बनेको थियो । दुवै वडाअध्यक्षको कार्यकाल गाविस भित्र उदाहरणीय रह्यो । कहीँ कतै कसैले पनि औंला ठड्याउन नसक्नेगरी सफल कार्यकाल गर्नुहुने दुवै वडाअध्यक्षहरु प्रति उच्च सम्मान गर्दै स्व. थुमबहादुर हितानलाई पुनः स्मरण गर्न चाहनछु । पार्टीको सही नीति निर्देशनका कारण पनि उहाँहरु सफल हुनुभयो । पौदी अरेवाका वामपन्थी शुभचिन्तकहरु विभिन्न पेशा व्यवसाय गर्ने, शैक्षिक बौद्धिक ब्याक्तित्व, युवा तथा विद्यार्थी साथसाथै भारतीय सेनामा कार्यरत सैनिकहरु र सेनाबाट अवकाश प्राप्त व्यक्तित्व पनि हुनुहुन्थ्यो ।

राजनैतिक अभिभावकको रूपमा पौदीअमराइ–१, बाट स्व. तारापती अर्याल, स्व. थुमबहादुर हितान, स्व. खडगबहादुर बलामी, चुडामणि घिमिरे, स्व. हेललाल गिरि, भिमलाल गिरि, रेशम गिरि, स्व. देबा गिरि,स्व. डिला गिरि, पारास्वर घिमिरे र चेतनारायण घिमिरे हुनुहुन्थ्यो । युवाहरुमा नारायण धिताल, उमानन्द घिमिरे, शेरबहादुर पुन, टीका गिरि, गोपाल गिरि, दल बहादुर रेस्मी, स्व. टोपबहादुर हितान र रबि गिरि त्यसैगरि विद्यार्थीहरुमा युवराज गिरि, स्व. पृथबहादुर पुन, खडगबहादुर हितान, हरि घिमिरे, खडग बहादुर बलामी, केदार घिमिरे, तारा घिमिरे, कालिका घिमिरे, रामबहादुर रेस्मी, डिल्लिराज पोख्रेल, गोपाल गिरि, चित्रबहादुर बलामी हामि सबै नेपाल कम्युनिस्ट पार्टी मसालसँग सम्बन्धित जननर्गीय संगठनमा आवद्ध थियौँ । सांगठनिक अवस्था संगठित र अनुशासित थियो ।
तत्कालीन समयमा हाम्रो गाउँ अरेवा पास्ती भित्र २ वटा प्रगतिशील बिबाह पनि भएका थिए । जमुना घिमिरे (शर्मा) को बुर्तिबाङ्ग बाग्लुङ र हरि घिमिरे/कल्पना पोख्रेल दगा तुन्डाडाबीच प्रगतिशील बिबाह भएको दिन गाउँबासीको मानसपटलमा ताजै छ । उहाँहरुको वैवाहिक जीवन सबल र सफल भएको पनि हामीले देखिरहेका छौँ । समयको गतिसँगै हामीले कयौं स्थानीय नेता तथा कार्यकर्ताहरुलाई गुमायौँ । केही साथीहरु पार्टी परिवर्तन गरि अन्य पार्टीहरुमा समाहित हुनुभएको छ ।

वडा न. २ र ९ मा स्थिति फरक थियो । वामपन्थी युवा दस्ता विशेष गरि तत्कालीन एमाले समर्थित युवा तथा विद्यार्थीहरु धेरै हुनुहुन्थ्यो । जस्तैः हिरा गिरि, शेरबहादुर आचार्य, सिन्धु बुढाथोकी ‘जलेसा’ सूर्य पाठक, चन्द्र पाठक, तुल्सी गिरि, शेरबहादुर रायमाझी, स्व. गणेश गिरि, दुर्गा प्रसाद पौडेल, लिलाधर गौतम, विष्णु गौतम, रामप्रसाद भुसाल, सूर्य रायमाझी, टीका रायमाझी, स्व. रुद्र रायमाझी, बुद्ध पौडेल, गिरिप्रसाद पौडेल, पूर्णप्रसाद पौडेल, भुपेन्द्र रायमाझी, लक्षमण आचार्य, लालबहादुर रायमाझी, टेकबहादुर रायमाझी, रेशम कुँवर, तारा पौडेल, राम बहादुर रायमाझी र अर्जुन गिरि लगाएत अन्य ।

तत्कालीन नेकपा एकताकेन्द्रका दिग्गज नेताहरु टेकबहादुर पाठक (क. प्रचण्डका सम्धी) र दलबहादुर आचार्य उहाँहरु दुवै प्रवासमा रहेर संगठनमा सक्रिय भूमिका बहन गरि संगठनको नेतृत्वमा पुग्नुभयो । दुवै कमरेडहरु एकताकेन्द्र हुँदै नेकपा माओवादी केन्द्र र पार्टी एकता पछि नेकपामा हुनुहुन्थ्यो । बिडम्बना अहिले फेरि सर्वोच्चको फैसलापछि पुनः पुरानै अबस्थामा फर्किनु परेको छ । केही समयअगाडि मात्रै समाज रुपान्तरणका धरोहर एक अभिभावक क. दलबहादुर आचार्यको अकल्पनीय निधन भएको छ । सोही पार्टीसँग अन्य केही व्यक्तित्व प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिनु भएको थियो । कृष्णप्रसाद चालिसे, नारायण चालिसे र रामलाल चालिसे पनि एकताकेन्द्रसँग जोडिएर प्रवास भारतमा सांगठनिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । कृष्णप्रसाद चालिसेको भौतिकवाद र द्वन्द्वात्मक भौतिवाद सम्बन्धी विष्लेषणात्कमक लेख मेरो अभ्यासपुस्तिकामा लामो समयसम्म सुरक्षित थियो ।

तत्कालीन अबस्थामा बहुदल र निर्दल दुवैको आन्दोलनमा सरिक हुने गाउँलेहरुको एउटा सानो झुन्ड पनि थियो । आज पञ्चायती व्यवस्था ठिक छ भन्दै पञ्चायाती र्यालिमा अबिर माला र खादा लगाएर हिँडनेहरु बहुदल घोषणा हुँदाको अर्को दिन फेरि विजयी र्‍यालीमा पार्टीको झण्डा बोकि हिँडेको पनि देखियो । यस्ता चतुर राजनैतिक खेलाडीहरु पुनः स्थानीय चुनावी मैदानमा उत्रिएर जितेका कारण कयौं इमानदार, भिजन भएका युवा कार्यकर्ताहरु राजनीतिमा आफ्नो भविष्य छैन भन्ने सोचकासाथ किनारा लागेका छन् । साथै समाज परिवर्तन गर्ने युवाहरु आफ्नो जिविकोपार्जन र उज्ज्वल भविस्य निर्माणका लागि विभिन्न पेशा व्यवसाय, रोजगारी र वैदेशिक रोजगारीको कारण पनि राजनीतिबाट ओझेलमा परेको कुरा ध्रुवसत्य हो ।

माथि उल्लेखित नेता कार्यकर्ता र शुभचिन्तकहरुसँगै अन्य कयौं अरेवा निवासी वामपन्थी व्यक्तित्वहरु जस्तैः भुपालबहादुर रायमाझी, हवल्दार गोपाल पाठक, झबिलाल आचार्य, इन्द्रा गिरि, पुनाराम गौतम, सुबेदार जितबहादुर पाठक, सुबेदार दुर्गा गिरि, टीका गिरि, पदमराज घिमिरे, कृष्ण घिमिरे, छबिलाल बलामी, गुमान सिंह बलामी तथा दलित समुदायबाट पनि खडगबहादुर विक, जुद्ध बहादुर, दुर्गा विक, काशिराम परियार, ठानबहादुर परिवार, कृष्ण विस्वकर्मा र मनोहर विक हुनुहुन्थ्यो । यहाँ मैले तत्कालीनअवस्थाका नेता तथा कार्यकर्ताहरुको विवरण मात्र पेश गरेको हुँ । त्यसपछि पनि थुप्रै नयाँ पुस्ताका नेता कार्यकर्ताहरु उक्त भूमिमा उत्पादन भएर विभिन्न पार्टी संगठनमा कृयाशील भएको अवस्था छ ।

त्यसैगरी पौदी अरेवामा नेपाली कांग्रेसको अवस्था अल्लि कमजोर थियो । नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति बन्नुभएका सुरेशचन्द्र भुसाल सहित केही बुद्धिजीवी, समाजसेवीहरु जस्तै पूर्णप्रसाद भुसाल, भिमलाल गिरि, डण्डु गिरि, कुबिर सिंह घिमिरे, पूर्णबहादुर हितान (मुसिकोट नगरपालिका–१ का बर्तमान वडा अध्यक्ष) रुद्रा गिरि, नरबहादुर भुसाल, डालेस्वर भुसाल, थम्मनबहादुर केसी, डिलाराम आचार्य र डा. दामोदर भुसाल, नरेश कुँवर, गोबिन्द भुसाल, दिपक भुसाल जस्ता व्यक्तित्व कांग्रेसको झण्डामुनि गोलबन्द भएर कृयाशील हुनुहुन्थ्यो । तर अहिले परिस्थिति केही फरक छ । कांग्रेसको अवस्था सुधारोन्मुख र खासगरी राजमोको अवस्था निकै कमजोर छ । माथि उल्लेखित राजनैतिक व्यक्तित्वहरु (वामपन्थी–कांग्रेस) नेपालमा ३०औँ वर्षसम्म शासन गरेको पञ्चायती व्यवस्थाको विरुद्ध आन्दोलन गर्न भूमिगत अवस्थादेखि संगठित र बहुदलीय व्यवस्था ल्याउनको लागि संघर्ष गर्ने योद्धाहरु सबैलाई उच्च सम्मान छ ।

मैले यहाँहरु कहाँ कुन राजनैतिक पार्टीमा भन्ने सरोकारको विषय, व्यक्तिगत स्वतन्त्रता तथा नैसर्गिक अधिकारमाथि प्रश्न गर्न चाहन्न । यो भूमिसँग सम्बन्धित कयौं व्यक्तित्व नेपाल सरकारका रास्ट्रसेवक कर्मचारी र उच्च पदमा आसिन हुनुहुन्छ । कतिपय नेता कार्यकर्ताहरु केन्द्रीय राजनीतिमा सकृय हुनुका साथसाथै प्रतिनिधि सभामा पनि हुनुहुन्छ । कोही बसाइँसराइ गरि अन्यत्र शहर हुनुहोला । सिंगो गाउँ पौदीअरेवाबाट यति धेरै राजनैतिक–सामाजिक व्यक्तित्व र देश विदेशमा उर्जाशील युवाहरु हुँदाहुँदै पनि आज गाउँ शून्य हुनु र विकासले गति लिन नसक्नु, अहिले पनि गाउँमा धेरै घरहरु मानिसविहीन भएको र उर्वरभूमी खन्जर बनेको अवस्था छ । जंगली जनावर बाँदरहरु घर आगनी र खेतीयोग्य जमिनमा परेड खेलिरहेका छन् । तपाई–हामी जो जहाँ छौँ आफ्नो जन्मभूमि माटोको चिन्तन र माया गरि विकासका लागि आ–आफ्नो ठाउँबाट पहल गर्यौं अथवा नयाँ प्रोजेक्टहरु लिएर आउन सक्यौं भने निस्चितरुपमै जन्मभूमिको सम्मान हुने र गाउँबासी सबैलाई खुशी मिलिरहने छ। सबैले सोचौँ राजनैतिक आस्था र विचारदेखिमाथि उठेर समग्र गाउँको विकासमा जुटौँ । जय भूमी !!!

(गोपाल गिरी , हाल कुवेत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *