सरकारको चेतावनीलाई चुनौती दिदै राजमोले पुतला जलायो

  •   
  •  
  •  
  •  
  •  
  •  

467 जनाले पढ्नु भयो ।

काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले तुइन चुँडाएर महाकालीमा बेपत्ता बनाएको विरोधमा युवा विद्यार्थीहरुले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएर विरोध प्रदर्शन गर्दै आएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतवार एक विज्ञप्ति निकालेर छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही चेतावनी दिएका हुन् ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

यस्तै, गृहले मित्र राष्ट्रहरूसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने चेतावनी पनि दिएको छ । ‘मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ’ गृह प्रवक्ताले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको पनि गृहले जनाएको छ । ‘नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ। नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, गृहले भनेको छ, ‘मित्र राष्ट्रहरुको स्वाभिमान र सम्मान आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको पनि जिकिर गरेको छ। भविष्यमा पनि उत्पन्न हुने समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहले जनाएको छ ।

यसअघि सरकारले एमसीसीको विरोध गर्नेलाई समेत कारबाही गर्ने धम्कीपूर्ण विज्ञप्ति प्रकाशित गरेको थियो । भदौ १८ गते गृहमन्त्रालयले विज्ञप्ति निकालेर विदेशी सहयोगका परियोजना र छिमेकीविरुद्ध प्रदर्शन गर्नेमाथि निगरानी भइरहेको जनाउँदै कारबाही चेतावनीसहितको विज्ञप्ति निकालेको थियो ।

हाल एमसीसी परियोजनाको विरोध र तुइन प्रकरणका विरुद्ध विभिन्न दल निकट युवा विद्यार्थीहरुले प्रदर्शन गर्दै आएका छन् । गठबन्धन सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले यसविरुद्ध आन्दोलनको घोषणा गरिसकेको छ भने अखिल (छैठौं) ले शनिबार कैलालीमा नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

यस्तै, सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका युवा विद्याथीसहित विभिन्न दल र नागरिक समूहले पनि एमसीसी र तुइन प्रकरण तथा दार्चुचालमा भारतीय हेलिकोप्टर उडाइएको घटनाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *