सरकार र जनता मिलेर कोरोनाको सामना गर्नुपर्दछ

0Shares

135 जनाले पढ्नु भयो ।

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

० अहिलेसम्मको जीवनमा यस्तो महामारी कहिल्यै बेहोर्नुभएको थियो  ?

– थिइनँ । यस्तो महामारी अहिलेसम्म बेहोरेकै थिइनँ ।

० लकडाउन वा निषेधाज्ञाको समयमा दिन कसरी बिताइरहनुभएको छ  ?

– अहिले त सबै काम कोठाबाटै भइरहेको छ । इन्टरनेट र प्रविधिलाई सदुपयोग गरेर पार्टी र जनवर्गीय सङ्गठनका बैठक, प्रशिक्षण भइरहेका छन् । मिडियासित कुराकानी भइरहेको छ । मिडियाका साथीहरूलाई समेत कोठामा ल्याउने गरेको छैन । कसैलाई घरनजिक बोलाएर कुराकानी गरेको छु । कसैसित यस्तै फोनमार्फत कुराकानी/अन्तर्वार्ता दिने गरेको छु । सङ्क्रमणबाट बच्न यस्तो तरिका अपनाएको छु ।

० लकडाउनलाई कतिपयले “ज्यानमारा” भनिरहेका छन्, यो सत्य हो ?

– होइन, त्यस्तो होइन । सबैलाई थाहा छ, विश्वमा जसले लकडाउनको बेवास्ता गरे, त्यहाँ कोरोनाको सङ्क्रमण झन् बढ्दै गयो । फेरि ती देशहरूले पुनः लकडाउन लगाउन थाले । नेपालमा पनि त्यस्तै भयो । केही दिन लकडाउन लगाइएन । अहिले फेरि कोरोनाको सङ्क्रमण बढेको बढ्यै छ । त्यसकारण लकडाउनलाई पूरै “ज्यानमारा” भन्न मिल्दैन । लकडाउनको पालना त सबैले गर्नैपर्दछ, जनताले पनि गर्नुपर्दछ ।

० निषेधाज्ञा र लकडाउनमा फरक के हो ?

– उस्तै उस्तै हो । लकडाउन भने पनि, निषेधाज्ञा भने पनि मानिसहरूको एकै ठाउँमा एकै समयमा बाक्लो जमघट नहोस् भन्ने कुरा नै हो । तर मैले देखिरहेको छु, निषेधाज्ञा वा लकडाउन लगाइए पनि मानिसहरूको भिड बढेकोबढ्यै छ । बिहान साढे ७ देखि ९ बजेसम्म त भिडै हुन्छ । मानिसहरूको घुइँचो लागेको देखिन्छ । मैले पनि देखेको छु, तरकारी, खाद्यान्न किन्न घुइचै लागेको छ । यसरी तीनचार घण्टासम्म भिडभाड भएपछि सङ्क्रमण झन् बढ्ने खतरा देखिएको छ ।

० पछिल्लो केही दिनयता सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । यस्तो किन भइरहेको छ ? तपाईलाई के लाग्छ, यसको कारण के हो ?

– विदेशमा गएका नेपालीहरू उतै कोरोनाको चपेटामा परे । उनीहरूको रोजगारी पनि गुम्यो । अलपत्र भए । त्यसमध्ये केही नेपालीहरू स्वदेश फर्किएका छन् । यता, छिमेकी देश भारतमै कोरोनाको सङ्क्रमण बढिरहेको छ । शनिवार मात्रै त्यहाँ ७८ हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । भारतमा ठुलो सङ्ख्यामा नेपालीहरू पनि छन् । कोरोनाले उनीहरूलाई पनि नछुने कुरा भएन । खुला सिमानाका कारण उनीहरू नेपालतर्फ आउँदा कोरोनाको सङ्क्रमण बढ्ने देखियो । यसरी नेपालको दक्षिणी भेगमा कोरोना फैलिने नै भयो । भन्न त नेपाल र भारतको माझमा १० ठाउँबाट मात्रै ओहोरदोहोर गर्ने भनिएको छ । तर पनि भनेजस्तो भएकै छैन । मानिसहरू जताततैबाट नेपाल प्रवेश गरिरहेका छन् । यसरी तराईमा भारत हुँदै फैलिएको कोरोना काठमाडौँसम्म पनि आइपुग्यो ।

भारतबाट आउनेहरूलाई पिसिआर परीक्षण गरेर नेपाल प्रवेश गराउने वा नेपाल प्रवेश गराएपछि पनि निश्चित समयसम्म क्वारेन्टाइनमा राख्ने विषयमा सरकारले काम गर्न सकेन । सरकारको क्षमताले पनि पुगेन । त्यसले गर्दा पछिल्लो समयमा हामीकहाँ कोरोनाको सङ्क्रमण फैलिएको छ । ठुलो सङ्ख्यामा चिकित्साकर्मी, सुरक्षाकर्मी र मिडियाका साथीहरूसमेतमा पनि सङ्क्रमण फैलिएको अवस्था छ ।

० बेलायतको एउटा संस्थाले नेपालमा गरेको भनिएको एउटा अध्ययनमा यस वर्ष २०२० को डिसेम्बरसम्ममा ५० हजार नेपाली कोरोना सङ्क्रमणबाट मृत्यु हुने अनुमान व्यक्त गरिएको छ । यस्तो हुन सक्छ ?

– त्यो अध्ययन मात्रै हो । त्यसैको रिपोर्टमाथि पूरै विश्वास गरिहाल्ने अवस्था छैन । सामाजिक–शारीरिक दुरी कायम राखेर, औषधिउपचार व्यवस्थित गराएर, क्वारेन्टाइन, आइसियू र भेन्टिलेटरसहित अस्पतालको स्तरोन्नति गरेर हामीले सम्भावित मृत्यु सङ्ख्या घटाउन सक्दछौँ । तर नेपालमा यी सबै सुरक्षाका उपायहरू व्यवहारमा कार्यान्वयन नगरिएकाले त्यो रिपोर्टमा भनिए झैँ कोरोनाले भयावह रूप लिने हो कि भन्ने लागेको पनि छ । यसरी सङ्क्रमण द्रुतगतिमा नफैलियोस्, त्यसका लागि सरकारले उच्चस्तरमा काम गर्नुपर्दछ । तर सरकारको असक्षमतालाई हेर्दा अथवा पछिल्लो समयमा तराई र काठमाडौँको अवस्थालाई हेर्दा त्यो अध्ययनमा भनेजस्तै त्यस्तो नहोला नै भनेर ठोकुवा गर्न भने सकिन्न । फेरि पनि सरकारले उच्चस्तरको तयारी र व्यवस्थापन गरेर कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्दछ ।

० लकडाउनकै बेलामा भ्रष्टाचारका समाचार आउँदै गरे । यो समाचार मात्रै हो कि भ्रष्टाचार भएकै हो ? के लाग्छ यहाँलाई ?

– भ्रष्टाचार नभइकन कसैले भयो भन्दै–भन्दैन । काँचो खरमा आगो बल्दैन । फेरि यो नयाँ विषय पनि होइन । यसभन्दा अघि पनि भ्रष्टाचार भइरहेकै हो । हामीकहाँ मौकामा चौका हान्ने प्रवृत्ति छ नै । गल्ती–कमजोरी भएकै छ । भ्रष्टाचार भएकै छ । त्यसैले यो खबर बाहिरिएको हो ।

यस्तो अहिले मात्रै भएको भन्ने पनि होइन, पञ्चायत कालदेखि नै मौकामा चौका हान्ने प्रवृत्ति यथावत चलिआएको छ । भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने काम सरकारले गर्दै गरेको छैन, उल्टै तिनैको पक्षपोषण गर्ने गरेको छ । पञ्चायत कालमा पनि बाढीपहिरो, भुइँचालो, महामारीजस्ता प्राकृतिक र मानवीय प्रकोप आउँदा उल्टै त्यसलाई देखाएर केही मान्छेले कमाउने प्रवृत्ति हामीकहाँ पहिलेदेखि नै छ नि ! अहिले पनि त्यस्तै गरे । जनतालाई राहत बाँड्ने भनेर त्यसमा पनि फाइदा उठाए । औषधिउपचार वा चिकित्सायन्त्र खरिद् गर्ने नाममा पनि भ्रष्टाचार गरेको खबर बाहिरियो । यस कार्यमा सरकार पनि चोखो देखिएन । यही बेला हो कमाउने भन्ने प्रवृत्ति देखियो ।
यदि स्वास्थ्योपचार वा चिकित्सायन्त्र खरिद्मा भ्रष्टाचार भएको छैन भने सम्बन्धित घटनाको छानबिन गर्नुपर्यो । निस्पक्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्यो । दोषीउपर कारबाही गर्नुपर्यो । यस्तो गरियो भने त अफवाह फैलिने कुरै हुँदैन । भ्रष्टाचर नभए अफवाह कसरी फैलिन्छ ? केही भएर नै बाहिर कुरा आएको हो । तर जनताले यी सबै हेरिरहेका छन् । यस्तो प्रवृत्तिलाई जनताले माफी दिने छैनन् ।

० कोरोना नियन्त्रण गर्न सरकारले केकस्ता कदम उठाउनुपर्दछ भन्ने लाग्दछ यहाँलाई  ?

– कोरोना नियन्त्रण खालि सरकारको एकतर्फी प्रयत्नले मात्र सम्भव हुन्न, जनता पनि चनाखो हुनुपर्दछ । सतर्कता सरकारको लागि होइन नि, आफ्नै लागि हो । तर हामी देखिरहेका छौँ, बिहान त पूरै मेला लाग्छ बजारमा । त्यसैले पहिलो कुरा त जनता आफै पनि सचेत र सतर्क हुनुपर्दछ । अर्कातिर, सरकारले पनि जनताको जीवनरक्षालाई उच्च प्राथमिकता दिनुपर्यो । चिकित्साकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन दिनुपर्यो । तर यतिखेर सरकार आफै सत्ता र शक्तिको खिचातानमा मस्त देखिन्छ । उसलाई बाढीपहिरोपीडितलाई बचाउनमा ध्यान छैन । सिन्धुपाल्चोकको लिदीमै हेर्नुस् न, त्यहाँ एउटै त्रिपालमुनि २५ जना बसिरहेका छन् । उनीहरू कसरी बस्छन् ? कसरी सुत्छन् ? सरकारलाई खै चिन्ता ?

त्यस्तै, सेनाप्रहरीमा पनि कल्याणकारी कोष बनाइएकै छ । सरकारले मुखले त चिकित्साकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने भनेको छ । तर व्यवहारमा त्यसको कार्यान्वयन भएको छैन । हामीलाई थाहै छ, हिजो संसदमा बस्नेले प्रोत्साहन भत्ता खाएका थिए । तर आज चिकित्साकर्मी र सुरक्षाकर्मीले प्रोत्साहन भत्ता पाएका छैनन् । यसले गर्दा उनीहरूको मनोबल घटिरहेको छ । उनीहरूको मनोबल घट्यो भने के हुन्छ ? त्यसले त कोरोना नियन्त्रण गर्ने सरकारी प्रयासमा बाधा पुग्दछ । त्यसले गर्दा कोरोना महामारीले भयावह रूप लिन्छ । त्यसकारण सरकारले उनीहरूलाई प्रोत्साहन दिने विषयमा बेलैमा ध्यान दिनुपर्दछ ।

सरकारले यति बेला सबै काम छोडेर जनताको जिउधनको रक्षामा लाग्नुपर्दछ । सिङ्गो मानवजातिमाथि आएको यस्तो अकल्पनीय महमारीको सरकार र जनता दुवै मिलेर सामना गर्नुपर्दछ । यो महामारी कहिलेसम्म रहने हो ? थाहा छैन । त्यसकारण यसबाट जोगिन सरकार र जनता दुवै जिम्मेवार, सजग र सतर्क रहनुपर्दछ ।

० विदेशस्थित नेपालीलाई स्वदेश फिर्ताको काम अझै बाँकी छ । सरकार सुस्ताउनुका पछाडिको कारण के हो  ?

– सरकारले विदेशमा रहेका केही नेपालीमध्ये अलिकतिलाई त ल्यायो । तर अहिले पनि धेरै नेपालीहरू विदेशमा अलपत्र परेका छन् । प्रत्येक नेपालीलाई विदेश जाँदा १,५०० जति रुपियाँ अनिवार्य लिइन्छ नि, कल्याणकारी कोषमा जम्मा गर्ने भनेर । अहिले त्यही पैसा खर्च गर्ने हो नि ! त्यही पैसाले उनीहरूलाई उद्दार गर्ने हो । तर यहाँ पनि सरकारको गैरजिम्मेवारीपन देखिएको छ । कल्याणकारी पैसा खर्च गरेर विदेशस्थित नेपालीहरूलाई नेपाल ल्याउँदा एउटा तप्कालाई नाफा भएन । निजी विमान कम्पनीहरूलाई नाफा भएन । जसले हिजो तिनै विदेश जाने नेपालीले पठाएको रेमिट्यान्मबाट गाडी चढ्थे, आज उनीहरूलाई नाफा भएन । सरकारले नाफालाई ध्यानमा राखेकै कारण विदेशस्थित अलपत्र नेपालीलाई नेपाल फर्काउने काममा सुस्तता आएको हो ।

सरकारले कल्याणकारी रकम खर्च गर्ने बेला यही हो । यही बेला हो थैलो फुकाउने । तर सरकारलाई त प्राइभेट विमान कम्पनीलाई नाफा कमाउन दिने ध्याउन्ना छ । जनताको जिउधनको के चिन्ता सरकारलाई ? कोरोना फैलिएको छ महिना भइसक्यो । अहिलेसम्म पनि ती अलपत्र नेपालीलाई ल्याउन नसक्नु दुःखको कुरा हो । सरकारले तुरन्तै विदेशस्थित अलपत्र नेपालीलाई नेपाल फर्काउनुपर्दछ ।

० लकडाउनले बिपन्नवर्गलाई ‘रोगले होइन, भोकले मार्यो’ भन्ने गुनासो सुनिन्छ । बिपन्नवर्गको समस्या कसरी समाधान गर्नुपर्दछ सरकारले  ?

– बिपन्नवर्गका जनतालाई सरकारले यही बेला तत्कालै यथोचित सहयोग गर्नुपर्दछ । सुरु सुरुमा त सरकारले केही गरे झैँ पनि गर्यो । अहिले चुपचाप । जसले दिनभरि काम गरे बेलुका चुल्हो बाल्छन्, उनीहरू भोकै छन् । एक त लकडाउन लगाउनुभन्दा पहिले नै सरकारले उनीहरूको बारेमा विचार गर्नुपर्दथ्यो । उनीहरूलाई पहिले नै व्यवस्थापन गर्नुपर्दथ्यो, तर गरेन । अब गर्नुपर्यो । सांसदको तलबभत्ता कटाएर भए पनि कर्मचारीको आधा तलबभत्ता कटौति गरेर भए पनि उनीहरूलाई सहयोग गर्नुपर्यो । लकडाउन वा निषेधाज्ञाले उनीहरू बाटबाटै अलपत्र परिरहेका छन् । उनीहरूलाई व्यवस्थित गरेको झुटो प्रचार सरकारले गरिरहेको छ । बरु एक छिन विकास–निर्माणको काम रोकौँ, तर विपन्नवर्गका, दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने जनताको स्वास्थ्य परीक्षण गरौँ, उनीहरूको जीविकोपार्जनको तत्काल व्यवस्था गरौँ ।

० कोरोना महामारीको माझमा राष्ट्रिय जनमोर्चाका गतिविधि कसरी चलिरहेका छन्  ?

– प्रविधिको प्रयोग गरेर राष्ट्रिय जनमोर्चाका गतिविधि सञ्चालन गरिरहेका छौँ । भर्चुअल विधिबाट कार्यक्रमहरू भइरहेका छन् । प्रत्यक्ष भेटघाट सम्भव नभएको अवस्थामा त यसरी नै जानुपर्यो । हाम्रा साथीहरूले सम्भव भएसम्म स्थानीयस्तरमा सङ्क्रमित साथीहरूलाई सहयोग पुर्याइरहनुभएको छ । उपचारमा सहयोग गर्नुभएको छ । हाम्रा कतिपय साथीहरू आफै पनि सङ्क्रमित पनि हुनुभएको छ । उहाँहरूको उपचार पनि भइरहेको छ ।

० ओली सरकारले एमसिसी जसरी पनि पास गर्दै छ भन्ने खबर छ नि यति बेला । यो सत्य हो ?

– पास गर्ने प्रयासमा त छ नै । अमेरिकाको सहयोग लिएर वा अरू कुनै तरिकाले कसरी हुन्छ, पास गर्ने प्रयासमा यो सरकार छ । तर त्यसको विरुद्धमा त्यही पार्टीभित्रै पनि विरोध छ । हामीले पनि लगातार विरोध गरिरहेका छौँ । देशभरिका जनता एमसिसीको विरोधमा छन् ।

० भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेकलगायतका भूमि फिर्ता ल्याउनेबारे के काम भइरहेको पाउनुभएको छ ?

– यस विषयमा पहिल्यै सर्वदलीय बैठक बोलाइएको थियो । भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली अतिक्रमण गरेको विरोधमा सर्वदलीय सहमति कायम भएको थियो । यस मामिलामा अहिले पनि सिङ्गो देश एक ढिक्का छ । त्यहीअनुसार संविधान संशोधन पनि भइसकेको छ । तर भारतले यस विषयलाई आलटाल गरिरहेको छ । जालझेल गरिरहेको छ ।

भारतले लिम्पियाधुरा–लिपुलेकमा मात्रै होइन, सुस्तासहित धेरै ठाउँमा सीमा अतिक्रमण गरेको छ । उसले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेका छन् । भारतले भौगोलिक, जनसाङ्ख्यिक, संवैधानिक अतिक्रमण गरिरहेको छ । तर म देख्छु, एकाध वर्षयता भारतको माइक्रो म्यानेजमेन्टमा केही कम आएको छ । तर यो अस्थायी कुरा हो । उसले सीमा अतिक्रमण गर्ने मात्र होइन, सिङ्गै नेपाललाई सिक्किम बनाउन खोजिरहेको छ । त्यही क्रममा सङ्घीयता ल्याइयो । २ नं. प्रदेशका ८ जिल्ला त उनीहरूले अलग बनाइसकेका छन् । उनीहरूको यस्तो प्रयास जवाहरलाल नेहरूको पालादेखि नै चल्दै आएको छ ।

नेपाली जनताले भारतले गर्दै आएको यस खालको ज्यादतीको विरोध गरिरहेका छन् । यसबारे जनता सचेत पनि छन् । उनीहरूलाई थाहा छ, भारतले जबर्जस्ती गरिरहेको छ भन्ने । नेपाली जनताले जुनसुकै मूल्य चुकाएर भए पनि आफ्नो भूमि छोड्ने छैनन् । सन् १८१६ को सुगौली सन्धिपछि लामो समयसम्म लिम्पियाधुरा हाम्रै भोगचलनमा रहेको पनि हो । त्यसलाई फिर्ता गरिनुपर्दछ । सरकाले सम्भव भएसम्म कूटनीतिक रूपमा उच्चस्तरीय वार्ता गरेर र त्यसरी सम्भव नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर भए पनि अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्दछ ।

० अन्तमा युगदर्शनमार्फत भन्नुपर्ने केही छुट्यो कि  ?

– यतिखेर देश अप्ठ्यारो परिस्थितिमा छ । एकातिर, कोरोना सङ्क्रमणको चपेटामा छौँ हामी । अर्कातिर, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता गम्भीर स्थितिमा छ । यो अवस्थामा हामीले तात्कालिक रूपमा कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने छ । त्यस्तै सरकारले गरेका गल्ती–कमजोरीको आलोचना गर्नुपर्दछ । कोरोनाका कारण समस्यामा परेका बिपन्नवर्गका ज्यालादारी मजदुर, सुकुम्बासीको पक्षमा काम गर्न सरकारमाथि दबाब दिनुपर्दछ । राष्ट्रिय जनमोर्चाका साथीहरूले पनि यस क्षेत्रमा आफूले सकेको सहयोग गर्नुपर्दछ ।
अन्तमा, मलाई राष्ट्रिय जनमोर्चा र मेरोतर्फबाट विचार राख्ने अवसर दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिँदै यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

अन्तर्वार्ता : प्रकाश थापा मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *