सरकार र डा. केसीका प्रतिनिधिबिच वार्ता सुरु

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीका मागबारे सरकारले वार्ता थालेको छ । सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच बिहीबार शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो ।

शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनालीले गर्नुभएको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको टोली सहभागी छ ।

मैनाली नेतृत्वको सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य रहेका छन् ।

यस्तै, डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का प्रतिनिधिहरु नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारको माग राख्दै २५ दिनअघि जुम्लाबाट अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बुधबार सरकारले वार्ता टोली गठन गरेको हो । सरकारले टोली बनाएलगत्तै केसीको तर्फबाट पनि टोली घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार