सरिता गिरीको संशोधन प्रस्ताव खुला दलाली :मसाल

काठमाडौं । समाजवादी जनता दलकी सांसद सरिता गिरीले नेपाल सरकारले लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा र निशान छापसम्बन्धी संविधानमा संशोधन प्रस्ताव खारेज गर्न संसदमा प्रस्ताव दर्ता गरेर राष्ट्रघात गरेको नेकपा (मसाल) ले जनाएको छ ।

बुधबार एक वक्तव्य प्रकाशित गरी मसालका प्रवक्ता रामप्रकाश पुरीले गिरीको त्यो कार्यले उनलाई भारतीय दलालको रूपमा उभ्याइदिएको बताउनुभएको छ ।

लिम्पियाधुरा नेपालको हो भन्ने कुरा आफूले स्वीकार नगर्ने बताउँदै आएकी गिरीले बुधबार संसद सचिवालयमा निशान छाप सम्बन्धी संविधान संशोधन खारेज गर्न माग गर्दै संशोधनको प्रस्ताव दर्ता गराएकी छन् ।

वक्तव्यमा प्रवक्ता पुरीले कालिकोटमा भएको टिपर दुर्घटना प्रति दुःख व्यक्त गर्दै नेपालमा पटकपटक हुने सडक दुर्घटनाका कारण पत्ता लगाउन र नियम कानुनको कडाईपूर्वक पालना गराउन माग गर्नुभएको छ ।

वक्तव्यको पूर्ण पाठ :

नेपाल सरकारले लिम्पियाधुरा समेत समेटिएको नेपालको नक्सा र निशान छापसम्बन्धी संविधानमा संशोधन प्रस्ताव खारेज हुनुपर्छ भनी सरिता गिरीले संसदमा संशोधन दर्ता गराएको कार्यलाई हाम्रो पार्टीले गम्भीर राष्ट्रघाती कार्य मान्दछ । गिरीको त्यो कार्यले उनलाई भारतीय दलालको रूपमा उभ्याइदिएको छ । कालापानी, लिपूलेक र लिम्पियाधुरा नेपालको भूमि भएको कुरालाई ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा नयाँ नक्सामा समावेश गरिएको कुरा स्पष्ट छ ।

भारतीय साम्राज्यवादद्वारा नेपालको भूमिमाथि भएको अतिक्रमणका विरुद्ध नेपाली जनताले बिभिन्न प्रकारले सङ्घर्ष गरिरहेको परिप्रक्ष्यमा उक्त क्षेत्र नेपालको हो भन्ने कुनै प्रमाण नभएकोले नक्सा र निशान छापसम्बन्धी संविधान संशोधनको प्रस्ताव खारेज हुनुपर्छ भन्ने गिरीको संशोधन दर्ता भारतीय साम्राज्यवादको खुला दलाली हो । गिरीको त्यसप्रकारको राष्ट्रघाती कार्यको हाम्रो पार्टीले विरोध र भ्रत्र्सना गर्दछ ।

कालिकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको, ६ जना वेपत्ता रहेको र १४ जना घाइते भएको समाचार सार्वजनिक भएका छन् । सो दुर्घटनाप्रति हाम्रो पार्टीले गम्भीर दुःख व्यक्त गर्दछ र वेपत्ता रहेकालाई शीघ्र खोजी गरी अवस्था पत्ता लगाउन हामी सरकारलाई जोड गर्दछौँ । उक्त टिपर दुर्घटनामा मृत्यु भएका मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यसका साथै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूलाई उपचारको व्यवस्था गर्नका लागि हामीले सरकारसित माग गर्दछौँ ।

नेपालमा पटकपटक सडक दुर्घटनासम्बन्धी सरकारको गम्भीर ध्यान गएको पाइँदैन । सडकको स्तर, सवारी साधनको अवस्था, चालकको मनःस्थिति, सडक सवारी ऐन–कानुन आदिबारे गम्भीर ध्यान नपुर्‍याइएकोले नै पटकपटक त्यसप्रकारले सवारी दुर्घटना हुने गरेका छन् । त्यसकारण यी सबै पक्षप्रति ध्यान दिंदै सवारी ऐन–कानुनलाई कडाइपूर्वक लागू गर्नका लागि हामी सरकारको ध्यान आकर्षण गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार