सर्बहारा वर्गीय चरित्र र शिक्षा

  •   
  •  
  •  
  •  
  •  
  •  

397 जनाले पढ्नु भयो ।

  • जनक विसी

सामन्तवादी वा पुँजिवादी सत्ताले आ आफ्ना वर्गीय स्वार्थ सुरक्षित गर्न शिक्षा नीतिहरु आफ्नो हितको निमित्त लागू गर्ने गर्दछन् । तर सर्बहारा वर्गले पनि आफ्नो वर्गिय सत्तालाई जोगाउन र बलियो पार्न सर्बहारा शिक्षा दिनु पर्नेमा नै जोड दिन्छन् र अत्यन्त आवश्यकता पनि छ । स–साना केटाकेटीहरुलाई दिईने शिक्षाको पनि वर्गीय स्वभाव हुन्छ तर गद्दार र आधुनिक संशोधनवादीहरु के भन्छन भने ः “विश्वका सम्पुर्ण स्वास्नी मानिसहरुका मुटु एउटै हुन्छ ।” यो भनाईलाई राम्रोसँग नजिकैबाट बिस्लेषण गर्यौं भने विल्कुलै गलत हो भन्ने निचोड निस्कन्छ, किन भने वर्गीय समाजमा वर्गीय संघर्ष पनि अनिवार्य रुपले सुक्ष्म वा बिस्तृत रुपमा अगाडि बढेर एउटा रुप धारण गर्ने गर्दछ । दुई फरक फरक वर्गहरु भएको वर्गीय समाजमा आमाहरुले पनि आफ्ना स–साना छोराछोरीहरुलाई वर्गीय स्वार्थ अनुसार कै बिचारहरु दिन्छन् । सर्बहारावादी क्रान्तिकारी आमाहरुले आफ्ना छोराछोरीहरु पनि आफ्नै वर्ग स्वार्थका लागि अगाडि बढोस्, आफ्नो वर्गको मुक्तिका लागि समर्पित होस् भन्ने चाहन्छन् । शोषक वर्गकी आमाहरुले पनि आ–आफ्नो वर्गीय स्वार्थ अन्तर्गत रहेको दृष्टिकोण अनुसारले नै आफ्ना स–साना बच्चाहरुको चेतनास्तरको विकास गराउने कोशिस गर्दछिन् । त्यसका साथै कसरी शोषणलाई विस्तृत बनाउने, कसरी आ–आफ्ना उत्पादनका साधनहरुको बिकास र सुरक्षा गर्ने ? कसरी घरका र बाहिरका काम गर्ने हलि, गोठला र मजदुरहरुप्रति कस्तो व्यवहार भन्ने बारेमा आफ्ना सन्तानको शिक्षा केन्द्रीत गर्न चाहन्छिन् ।

हाम्रो मुलुकको सन्दर्भमा सामन्तवादी दृष्टिकोण अनुसार शरिरबाट पसिना चुहाउने र हातबाट रगतको भेल बगाउने श्रमजीवी वर्गप्रति भेदभाब, छोइछिटो, उपेक्षा, घृणा, अपमान गर्ने, अशक्त अपाङग, रोगी, बुढाबुढि र केटाकेटीहरुको उपहास गर्ने प्रवृति आम शोषक वर्गमा पाइन्छ । बुढि भएमा बोक्सी र गरिब भएमा चोर भन्ने हाम्रो देशको समाजमा पुरानो चलन जस्तै भएको छ । वर्षेनी बोक्सीको आरोपमा कैयौं महिलाहरुले मरणासन्न हुने गरेर कुटिनुका साथसाथै दिशापिसाप खोवाइएका घटनाहरु घटिरहन्छन् । तर त्यस प्रकारका घटनाका दोषीहरुलाई कारवाही र पिडितहरुले न्याय पाएको अत्यन्तै कम छन् । अपराधिहरु भने खुलेआम छाति फुलाएर निर्धक्क हिडिरहेका हुन्छन् ।

पुँजिवादी शिक्षाको विश्व दृष्टिकोणका लागि सबैभन्दा डरलाग्दो पक्ष माक्र्सवाद–लेनिनवाद र माओसेतुङ बिचारधाराको सर्बहारावादी पक्षको सामुहिक प्रयास सामुहिक स्वार्थहरु र उत्पादनका साधनहरुको सामुहिक स्वामित्व हो । पुँजिवादी शिक्षाको व्यक्तिवाद व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन राम्रो नाफा नोक्सानको संसार मुद्रारुपि पुँजिको दासताको साङलो पुँजिवादी शिक्षा, संस्कृती, साहित्य, दर्शन र बुर्जुवा राजनीतिको आत्मा हो । पुँजिवादी तथा सामन्तवादी तथाकथित शिक्षित साहेबहरु मजदुर वर्गप्रति उपेक्षा घृणा र हेला गरिरहेका हुन्छन् । किन भने मजदुरहरुले पसिना बगाएर १२÷१३ घण्टा काम गरेर उनीहरुलाई पाल्नेपोस्ने र आरामको दिनहरु बिताउन र धनको पोको बढाइ दिनेहरुलाई मानिस नसम्झेर हिंडडुल गर्ने उत्पादनका औजारमात्र पुँजिपतिहरु सम्झन्छन् । यसकारण मुलुकमा सर्बहारावादी सत्ता तथा नयाँ जनवादी सर्बहारा समाजवाद र साम्यवादको लक्ष्य पूरा गर्ने सिद्धान्त बोक्ने कम्युनिष्ट पार्टीले श्रमजीवी जनता र शारीरिक श्रमप्रति प्रेम जगाउने शिक्षा दिने कामलाई प्राथमिक महत्व दिन्छ । जब कि पुँजिवादी शिक्षाको उदेश्य र बिस्वास श्रमको बिरुद्ध हुने गर्दछ किन भने पुँजिवादी शिक्षा पढाईमा मात्र विशेष जोड दिइन्छ र पुँजिवादी बुद्धिजीवीमा परिणत गरिन्छ जसले गर्दा उनीहरुमा साहेबी, बाबुजिपनको बिकास हुन्छ । पढाइमा मात्र जोड दिनाले शारिरिक श्रममा भाग नलिने हुनाले श्रमजिबि वर्गको काँधमा बसेर हैकम चलाउने र घमण्ड देखाउने गर्दछन् वा संस्कृती र बिज्ञानमा पनि एकाधिकार गर्ने हुनाले पुँजिपति वर्गको राजनीतिलाई सेवा गर्नु नै हुन्छ ।

सर्बहारावादी पार्टीको अनिवार्य उदेश्य साम्यवादको निर्माण गर्नु भएकाले यसका लागि उचित वातावरण बनाउन शिक्षा र शारीरिक श्रमको शंलेषण गरेर श्रमजीवी जनतालाई बुद्धिजीवीकरण गर्नु पर्दछ र बुद्धिजीवीहरुलाई उच्च स्तरको सर्बहारावादी (बिचारधाराले) सुसज्जित पार्नुपर्छ । यसरी शारीरिक र मानसिक श्रमका बिचको विभेद विस्तारै हट्दै जान्छ । जसरी अहिले मानसिक श्रम गर्नेहरु र शारीरिक श्रम गर्नेहरुका बिचमा ठुलो अन्तरबिरोध छ, यदि हाम्रो मुलुकका केटाकेटीहरुलाई प्रारम्भदेखि नै श्रम र (श्रमजिबि) मजदुर वर्गप्रति प्रेम गर्ने र श्रम गर्ने बानी पार्दै गयौं भने अहिलेका पुँजिवादी परजिबि राक्षसहरुले गर्ने श्रमिक वर्गको शोषण उत्पिडन अपमान र दमनका बिरुद्ध जुझारु युवा पिडिको निर्माण गर्न सजिलो हुने छ । सर्बहारावादी सोंचले गरिखाने भावनाले ओतप्रोत भएपछि अरुको श्रममा बाच्नु हिनता, लज्जाबोध हुनुका साथै श्रमिक वर्गलाई हेप्ने अपमानित गर्ने भाबनामा कमि आउने छ ।

पुँजिवादी बुद्धिजीवीको बौद्धिक स्तर नाप्ने मापदण्ड मान्यता भनेका विश्व बिद्यालयको डिग्री उपाधि बिद्याबारिधि आदि हुन् । यस कारण लाखौंको संख्यामा वर्षेनी उत्पादन हुने पुँजिवादी शिक्षित समुदायको दृष्टिमा किसान र मजदुरहरु कहिलै पनि बुद्धिजीवी हुँदैनन्, किन भने किसान र मजदुरका शरिरबाट पसिनाको गन्ध आउँछ, फोहोर मैला टालेका लुगा लगाउने फोहोर गाउँबस्तीमा बस्नेहरु मात्र “बोल्ने जनावर” हुन् । गरिब किसान मजदुरहरुमा कुनै शिर्जनसिलता र बौद्धिकता हुँदैन भन्ने मान्यता आम देशका पुँजिवादी (वुर्जुवा) शैक्षिक प्रमाण पत्रधारी बुद्धिजीवीहरुको छ । पुँजिवादी शैक्षिक प्रमाणपत्रको आधारमा देश साम्राज्यवादी तथा बिकसित पुँजिवादी देशका बजारमा बिक्नु र पुँजिवादी प्रतिक्रियावादी सत्ताको सेवक कमारो भएर हिंडनु नै बुद्धिजीवी हुनु हो बुर्जुवा बुद्धिजीवीको दृष्टिकोणमा ।

तर सर्बहारावादी बुद्धिजीवीहरुको मान्यता पुँजिवादी बुद्धिजीवीहरुका भन्दा फरक हुन्छ । सर्बहारावादी बुद्धिजीवीहरुको दृष्टिकोणमा गरिब किसान मजदुर लगायत सम्पुर्ण व्यक्तिविषेशलाई बुद्धिजीवी मान्दछन् जो समाजलाई र बिकासक्रमलाई ऐतिहासिक भौतिकवादी द्वन्द्ववादी दृष्टिकोणले हेर्ने र विश्लेषण गर्नुका साथै शोषक वर्गीय आर्थिक आधारलाई आमूल परिवर्तन गर्ने दिशामा अगाडि बढछन् । सर्बहारावादी बुद्धिजीवीको सबै भन्दा महत्वपूर्ण दृष्टिकोण हो श्रमप्रतिको सम्मानका साथै आफू पनि कुनै न कुनै शारीरिक वा मानसिक श्रमसँग जोडिनु र संलग्न हुनु हो । किन भने आजभन्दा ६ करोड वर्ष बानरबाट अहिलेको बिकसित दुई खुट्टामा उभिएर दौडने मानिसको रुपमा बिकास हुनु र सम्पुर्ण विश्व सभ्य बिकासको मुख्य शक्ति श्रम श्रमजिबि जनता नै हुन् । यस कारण विश्वका सम्पुर्ण श्रमजिबि जनता एक भएर साम्राज्यवादी तथा पुँजिवादी दासताको अन्त्य गर्ने हो भने आजको विश्व सभ्यताले झन् राम्रोसँग फडको मार्ने छ ।

१६ अप्रेल २०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *