सहमति पालना गर्न मसालको जोड

काठमाडौं । आगामी मंसीरमा हुने विभिन्न तहका उपनिर्वाचनहरुमा नेकपा मसालको केन्द्रीय तहमा भएको सहमति र समझदारीलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुने मसालले जोड दिएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारि गरि भन्नुभएको छः

“आगामी मंसीरमा हुने बिभिन्न तहका उपनिर्वाचनहरूबारे हाम्रो र नेकपाको केन्द्रीय तहमा सहमति भएको थियो । त्यसअनुसार बाग्लुङको बुर्तिबाङको प्रदेशसभाको उपनिर्वाचन तथा प्यूठानको बरौलाको वडा अध्यक्षको चुनावमा उनीहरूले हामीलाई समर्थन गर्ने र केन्द्र, प्रदेश र स्थानीय तहका अन्य सबै निर्वाचनहरूमा हामीले उनीहरूलाई समर्थन गर्ने सहमति भएको थियो ।

जहाँसम्म हाम्रो प्रश्न छ, हामीले आफ्नो प्रतिबद्धतालाई पूरै पालन गरेका छौँ । कतिपय स्थानीय तहका चुनावहरूमा हाम्रा कतिपय समर्थकहरूले उम्मेदवारी दिए पनि नेकपासित भएको सहमतिलाई पालन गर्नका लागि हामीले आफ्ना कतिपय उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएका छौँ वा उम्मेदवारी दिन चाहेका अन्य कतिपय समर्थकहरूलाई पनि त्यसो गर्न रोकेका छौँ ।

त्यसका लागि हामीलाई खुसी लागेको छ कि, बाग्लुङको वुर्तिवाङको प्रदेश उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिबद्धतालाई पालन गरेको छ । तर, प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उलंघन गरिएको छ । त्यहाँ नेकपाकातर्फबाट कुनै आधिकारिक उम्मेदवारी दिइएको छैन । तैपनि त्यहाँ उनीहरूकोतर्फबाट उम्मेदवार बनेको स्वतन्त्र व्यक्तिलाई त्यहाँको नेकपाको जिल्ला नेतृत्वले जिताउनको लागि आफ्नो पूरा शक्ति लगाएको छ । त्यो संगठनका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरू राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका छन् । त्यो वास्तवमा केन्द्रीय स्तरमा भएको सहमतिको पूरा उलंघन हो । त्यसले उनीहरूको अत्यन्त अविश्वसनीय र निम्न राजनीतिक स्तरलाई बताउँछ । त्यसलाई हाम्रो पार्टीले कडा शब्दमा दुःख र क्षोभ प्रकट गर्दछ ।

हाम्रो समझदारी नेकपाको केन्द्रीय तहमा भएको थियो । त्यसकारण प्यूठानबारे केन्द्रीय स्तरमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुन्छ । यदि त्यसरी प्यूठानको बरौलाको वडाध्यक्षको चुनावबारे भएको सहमतिलाई कार्यान्वयन गरिएन भने त्यसले परस्परमा अविश्वासको वातावरण सृजना गर्ने छ । हामीले आशा गर्दछौँ, त्यस्तो हुने छैन ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार