सांस्कृतिक संस्थाको आवरणभित्र मसालविरोधी चरित्र : खास्टोले छोपेको बिरालोको ‘म्याउँ’

  •   
  •  
  •  
  •  
  •  
  •  

589 जनाले पढ्नु भयो ।

कथित जागरण अभियानले आफ्नो कार्यविधि सार्वजनिक गरेको बताएको छ । उक्त कार्यविधिमा उल्लेख भएका विवरणबाट त्यो एउटा राजनीतिक उद्देश्यका लागि गठन गरिएको संस्था भएको कुरा स्पष्ट छ । विगतमा उनीहरुले झुट बोलेका थिए, त्यो झुट(सांस्कृतिक संस्था)को आवरणभित्र मसालविरोधी चरित्रलाई ढाकछोप गर्नका लागि त्यसप्रकारको प्रपञ्च गर्नुपर्ने वाध्यता उनीहरुलाई थियो । त्यो कुरा खास्टोले छोपेको बिरालो जस्तै थियो । बिरालोले ‘म्याउँ’ नगरेकोले खास्टोमा के छोपिएको छ भन्ने कुरा सबैलाई स्पष्ट थिएन । तर अहिले बिरालोले ‘म्याउँ’ गरेको छ र त्यो ‘म्याउँ’ यस ‘कार्यविधि’ मार्फत सार्वजनिक भएको छ ।

वास्तवमा यथार्थता विगतमा नै स्पष्ट भइसकेको थियो, तर त्यसबेला त्यो संस्थाको निर्माण गरी सार्वजनिक गर्दा त्यसलाई सांस्कृतिक रुपान्तरण गर्नका लागि निर्माण भएको संस्था भनी हल्ला गरिएको थियो । त्यसो गर्नुको मुख्य कारण नेकपा (मसाल)का विरुद्ध धावा बोल्न सजिलो होस् भनेर त्यसलाई सांस्कृतिक संस्था भनेर हल्ला पिटाइएको थियो । त्यो कुरा प्रमाणित पनि भयो कि हाम्रो पार्टीबाट बिभिन्न सन्दर्भमा पार्टीबाट निष्काशित गरिएका बिभिन्न व्यक्तिलाई संगठित गर्ने र तथाकथित ‘हाँक’लाई प्लेटफर्म बनाएर मसालका विरुद्ध सम्पूर्ण शक्ति केन्द्रित गर्ने काममा उनीहरुले धेरै समय खेर फाल्ने काम पनि गरे । उनीहरुले लगातार रुपमा त्यो कार्य गरे र अहिले पनि उनीहरुको मुख्य कार्य त्यो भन्दा छुट्टै भए जस्तो देखिँदैन । उनीहरुले नेकपा (मसाल) र त्यसको नेतृत्वका विरुद्ध घृणा पैदा गराउनका लागि गरेको प्रयासमा उनीहरु कति सफल भए ? त्यो उनीहरुलाई राम्ररी थाहा होला र त्यसको परिणाम पनि देख्न सकिन्छ ।

जहाँसम्म ‘घृणा’को कुरा छ, हजारौँ पार्टी सदस्य भएको नेकपा(मसाल) जस्तो एउटा जीवन्त पार्टीबाट बिभिन्न सन्दर्भमा फ्याँकिएका वा निष्काशित गरिएका मुठ्ठीभरका व्यक्तिहरुले सामाजिक सञ्जाल, छद्म नाम वा वास्तविक नामबाट समेत मसालका विरुद्ध होहल्ला गरेर पुष्टि हुने कुरा होइन । त्यसको परिणामको रुपमा एकातिर, पार्टीको सम्पत्ति हड्प्ने कुचेष्टा सहित पार्टीका विरुद्धमा खडा भएका व्यक्तिहरु र अर्कोतिर बिभिन्न सन्दर्भमा पार्टीबाट निष्काशित भइसकेका व्यक्तिहरु मिलेर एउटा झुण्ड तयार गरी कुनै संस्थाको घोषणा गरिनुलाई मान्न सकिँदैन । त्यसो त विगतमा पार्टीबाट कैयौँ चोइटा जाने गरेका छन् र त्यो कुरा सदैव सम्भावना रहन्छ । तर हामीले पार्टीको रक्षा गर्दै त्यसलाई सुदृढ बनाउन सधैँ ध्यान दिनुपर्दछ ।

कार्यविधि निर्माण गर्नुको अर्थ हो, कामलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनु । व्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि संगठनको आवश्यकता पर्दछ । संगठन भएर मात्र हुँदैन, त्यो चुस्त–दुरस्त तथा अनुशासित र कामकाजी पनि हुनुपर्दछ । अहिले त्यो आवश्यकताको महशुस भएर जागरणलाई ‘कार्यविधि’ बनाउनुपर्ने वाध्यता सिर्जना भएको देखिन्छ ।

कार्यविधिमा ‘सहमतीय पद्धतिद्वारा निर्णय गरिनेछ’ भनेर निर्णय प्रक्रियाबारे व्यवस्था गरिएको छ । ‘विशेष परिस्थिति’ भएकाले अहिले उनीहरुले यो पद्धतिलाई अपनाउनुपरेको छ र पछि साधारण सभा भएपछि विचार गरिने कुरा पनि त्यसमा उल्लेख छ । त्यो अर्थमा अहिले यो संस्था कम्युनिस्ट मूल्य र मान्यताको संगठनात्मक सिद्धान्तभन्दा धेरै नै टाढा छ । ‘सहमतीय पद्धति’ अलग अलग मूल्य र मान्यता बोकेका बिभिन्न पक्ष वा व्यक्तिहरुद्वारा कुनै खास कार्य सम्पन्न गर्नका लागि एकता कायम रहोस् भनी बनाइएको एउटा आचारसंहिता जस्तो हो । त्यसरी त्यो संगठनको अहिलेको अवस्था अलग–अलग मूल्य र मान्यता बोकेका पक्षहरुको जस्तो छ र ‘सहमतीय पद्धति’बाट चल्नुपर्ने वाध्यात्मक अवस्था छ ।

तर अर्कातिर अर्को अचम्मको व्यवस्था पनि छ । सदस्य हुनाका लागि “सामान्यतः माक्र्स, लेनिन र माओत्सेतुङद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त र विचारको अध्ययन गरेको र सामाजिक परिवर्तनमा अगाध रुचि राख्ने, जडसूत्रवाद, अधिभूतवाद, संकीर्णवाद, प्राधिकारवाद, व्यक्तिवादप्रति असहमति राख्ने, साम्राज्यवाद, विस्तारवाद, संशोधनवाद र पुँजीवादको विरोध गर्ने जनताको जनवादी अधिकारका निम्ति संघर्षरत रहने र जनताको सेवाप्रति सचेत र जागरुक रहने जुझारु कर्मठ तथा समाजमा प्रगतिशील र क्रान्तिकारी भूमिका रहेका व्यक्तिहरु यस संगठनका सदस्य रहन सक्ने छन्” भन्ने व्यवस्था छ । यसरी यति धेरै गुणले युक्त भएका सदस्यहरुलाई सञ्चालन गर्ने पद्धति भने ‘सहमतीय पद्धति’ रहेको छ । ‘सहमतीय पद्धति’को संगठनात्मक सिद्धान्त अँगालेर त्यसप्रकारका सदस्यहरु निर्माण गर्न सकिने साँच्चिकै अचम्मको कुरा त हो नै, तर सदस्य हुनाको लागि माथिका गुणले भरिपूर्ण व्यक्ति त्यो संगठनमा भर्ना हुन कताबाट आउने हुन् ? त्यो कुरा भने केही उल्लेख छैन ।

एउटा कम्युनिस्ट पार्टीले कुनै पार्टी सदस्यमा रहेका कमजोरीलाई हटाउनका लागि सधैँ विचारधारात्मक तथा संगठनात्मक पक्षसित सम्बन्धित विषयमा ध्यान दिने गर्दछ र सदस्यताका लागि केही खास शर्तहरु पनि रहेका हुन्छन् । तर जनजागरणले राखेका माथिका शर्तहरु जस्तो गुणबाटयुक्त व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य हुन सक्ने पूर्व शर्त भने हुँदैन । कम्युनिस्ट पार्टीको उद्देश्यका लागि काम गर्ने मजदुर किसान वर्ग, जो सैद्धान्तिक वा राजनीतिक अध्ययन नगरेका पनि हुन सक्दछन्, तर कम्युनिस्ट पार्टीप्रति दृढ आस्था दर्शाउँछन्, उनीहरुलाई कम्युनिस्ट पार्टीको सदस्य हुन पाउने पुरा अधिकार हुन्छ । तर जनजागरण अभियानको सदस्य हुन त्यत्तिले पुग्दैन । एकातिर ‘सहमतीय पद्धति’, अर्कातिर माक्र्सवाद–लेनिनवादलाई पहिले नै बुझेका व्यक्तिहरु त्यसको सदस्य हुन सक्ने ? यो अचम्मको संयोजन कसरी हुँदै जानेछ ? भविष्यमा अरु साफ हुँदै जानेछ । तर हाम्रो पनि के भनाइ छ भने, निश्चय नै कम्युनिस्ट पार्टीका सदस्यहरुले यी गुणमा दख्खलता प्राप्त गर्दै जानुपर्दछ र पूर्णतातिर लैजाने कोशिस गरिरहनुपर्दछ ।

उनीहरुले आफ्नो कार्यविधिमा आफ्नो संगठनको जन्म हुँदा ‘रक्तिम सांस्कृतिक अभियानका कलाकर्मीहरुको रिहर्सल’को प्रसङ्ग पनि उल्लेख गरेका छन् । जगजाहेर छ कि, रक्तिम सांस्कृतिक अभियान नेपाल कम्युनिस्ट पार्टी(मसाल)को नजिकको सांस्कृतिक मोर्चा हो । त्यसले देशको सांस्कृतिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा पनि प्रष्ट छ । गौरवपूर्ण संघर्षको इतिहास बोकेको नेपाल कम्युनिस्ट पार्टी(मसाल)को देशको राजनीतिमा जल्दोबल्दो भूमिका रहँदै आएको र त्यो यात्रा अहिले पनि कायम भएको अवस्थामा पार्टीबाट निष्काशित व्यक्तिहरुले गठन गरेको त्यो जागरण अभियानका लागि रक्तिम सांस्कृतिक अभियानका कुनै कलाकारले कुनै रिहर्सल गरिदिएको भन्ने कुरा हास्यस्पद कुरा हो । रक्तिम सांस्कृतिक अभियान नेकपा (मसाल) नजिकको सांस्कृतिक मोर्चा भएकाले त्यसका सांस्कृतिक आचरण त्यस अनुसार बन्नु पनि स्वभाविक छ । यति कुरा स्पष्ट भइसकेपछि त्यसमा आवद्ध सांस्कृतिककर्मीहरुको अनुशासन, कर्तव्य, दायित्व र अभिभाराका बारेमा दोहो-याएर भनिरहनुपर्दैन ।

रक्तिम सांस्कृतिक अभियानको लामो इतिहास छ र त्यसका विरुद्धमा विगतमा पनि आक्रमण नभएका होइनन् । तर त्यो एउटा अथक र निरन्तर सांस्कृतिक आन्दोलन भएको र त्यसको सम्बद्धता नेकपा(मसाल)सित भएकोले त्यो संस्था अर्थपूर्ण औचित्यताका साथ जीवन्त रहने कुरा दुनियाँलाई थाहा छ । तर आफ्नो उत्पत्तिको आधार नै मसाल विरोधी बनाएको संस्थाले ‘रक्तिम अभियान’को व्याज लिएर जीवित रहने कार्य गर्नु हास्यस्पद छ । यस सिलसिलामा यो कुरालाई अस्वीकार गर्न सकिन्न कि पार्टीबाट निष्काशित व्यक्तिहरुले रक्तिमको नामबाट अनाधिकार केही गतिविधि गरेका हुन सक्छन् र त्यसलाई जनजागरण अभियानमा संलग्न व्यक्तिहरुले आफ्नो फाइदाको रुपमा जोडेका हुन सक्छन् । पार्टीबाट निष्काशित व्यक्तिहरु मध्ये कतिपय रक्तिम सांस्कृतिक अभियानमा पहिले सम्बन्धित रहेका कारणले उनीहरुलाई रक्तिम सांस्कृतिक अभियानका कलाकर्मी भन्नु मसालविरोधी छविलाई झल्काउनु मात्र हो । त्यसबाट उनीहरुलाई मसालको विरोधका लागि थप बदनामी कमाउनु बाहेक अरु उपलब्धी हुने छैन ।

उनीहरुले आफ्नो कार्यविधिको प्रस्तावनामा लेखेका छन् : “सामन्ती शासनकालद्वारा पालित पोषित सामन्तवर्ग अझै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपले पराजित भइसकेको छैन । नेपाली समाज पूर्ण रुपले लोकतान्त्रिक भएको छैन । हरेक क्षेत्रमा, विशेषतः सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सामन्तवाद जीवित छ ।” यसको अर्थ हो, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपले सामन्तवर्ग अँझै शक्तिशाली छ । अर्थात् सामन्तवादको धरातलमा सामन्तवर्ग जीवित छ । त्यसरी नयाँ राजनीतिक चरणमा पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समेत सामन्तवादको बलियो स्थिति रहेकोले सामन्तवर्ग पराजित हुन सकेको छैन ।

यदि त्यसो हो भने त्यसरी सामाजिक तथा सांस्कृतिक रुपले जीवित रहेको सामन्तवादका विरुद्धको संघर्षमा जोड दिनु आवश्यक हुन्छ । तर उनीहरुले सामन्तवाद विरोधी संघर्षको स्वरुप बताएका छैनन् । उनीहरुले आफ्नो कार्यविधिमा सामन्तवादका विरुद्धको संघर्षलाई प्रधान भएको त बताएका छन् । त्यसका विरुद्धको संघर्षको स्वरुप ठम्याउन नसक्नाले उनीहरु विद्यमान गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध उभिन पुगेका छन् । त्यसरी उनीहरुको सामन्तवादका विरुद्धको संघर्षलाई प्रधान बताउने चरित्र प्रकारन्तरले स्वयम् सामन्तवादको रक्षा गर्ने र विद्यमान गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा खडा भएको स्पष्ट छ ।

अहिलेको गणतन्त्र र धर्मनिरपेक्षता लगायतका कतिपय राजनीतिक उपलब्धीहरु सामन्तवादका विरुद्धमा उभिएका छन् । यदि देशमा सामन्तवादले सामाजिक र सांस्कृतिक रुपले गाँजिरहेको अवस्था छ भने गणतन्त्र र धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धीमाथि सामन्तवादद्वारा जहिले पनि खतरा रहने कुरा प्रष्ट छ । त्यो खतराबाट गणतन्त्र र धर्मनिरपेक्षतालाई बचाउन विद्यमान गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध काम गर्ने वा सामन्तवादका विरुद्ध ? सामन्तवाद राजनीतिक रुपमा शक्तिशाली हुनाको लागि अनेक प्रयत्न गरिरहेको अवस्था छ । त्यो सिलसिलामा प्रतिगमनकारीहरुले राजतन्त्रको पक्षमा आफ्ना गतिविधि बढाउँदै लगेका छन् भने गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्धमा वातावरण तयार पार्नका लागि सक्रिय भइरहेका छन् । यसप्रकारको अवस्थामा विद्यमान गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको प्रश्न प्रधान हुन्छ वा ‘दलाल पुँजीपतिको व्यवस्था’ भन्ने नाममा त्यसलाई नै समाप्त पार्नका लागि काम गर्ने कुरा प्रधान हुन्छ ? वर्तमान उपलब्धीमाथि सामन्तवादको खतरा हो भने सामन्तवादका विरुद्धको संघर्षलाई प्रधान कार्यक्रम बनाउनु जरुरी हुन्छ ।

त्यो कार्यविधिमा लेखिएको छ : “राजनीतिक परिवर्तनले मात्र, संविधानले अधिकार दिएर मात्र वा आफूलाई मन परेको जनप्रतिनिधि चुनेर संसदमा पठाएर मात्र जनता शोषण, दमन, अन्याय, अत्याचारबाट मुक्त हुन्छन् भन्ने कुरा सत्य नभएको कुरा गणतन्त्र स्थापनाको करिब डेढ दशकको अभ्यासबाट थाहा हुन्छ ।” बितेका डेढदशकदेखि जनआन्दोलनले स्थापित गरेका उपलब्धिहरुलाई समाप्त पार्नका लागि प्रतिगमनकारीहरुले लगातार रुपमा प्रयत्न गर्दै आएका छन् । यस सन्दर्भमा कार्यविधिले कुनै धारणा राखेको छैन । तर जनआन्दोलनले स्थापित गरेका महत्वपूर्ण उपलब्धि गणतन्त्र, राजनीतिक परिवर्तन, संविधानमा व्यवस्था भएका कतिपय सकारात्मक पक्ष, राजनीतिक अधिकार आदि विषयका विरुद्धमा भने कार्यविधिमा माथिको कुरा उल्लेख छ ।

यसरी गणतन्त्रका विरुद्ध घृणा पैदा गराउनका लागि यो प्रयत्न प्रतिगमनकारीहरुको भन्दा कम छैन । निश्चय नै हाम्रो उद्देश्य र वर्तमान गणतन्त्रका विचमा ठूलो अन्तर्विरोध छ । त्यसको हल कसरी गर्ने भन्ने कुरा हाम्रो संघर्षको कार्यक्रममा ठोस विश्लेषण सहित हुनुपर्दछ । मुख्य कुरा हो सामन्तवाद र गणतन्त्र बिचको अन्तर्विरोध । अर्थात् सामन्तवादी तत्वद्वारा गणतन्त्रका विरुद्ध भइरहेको षडयन्त्रका विरुद्धमा उभिने वा सत्ताधारीका कमजोरीहरुका ढाडमा टेकेर गणतन्त्रका विरुद्धमा क्रियाशील प्रतिगमनकारीका कित्तामा उभिने ।

हामीले मान्दछौँ, वर्तमान गणतन्त्र बुर्जुवा हो, जसबाट जनताका आवश्यकताको सम्बोधन हुँदैन । तर समस्या के छ भने जनताको आवश्यकताको सम्बोधन गर्ने गणतन्त्र स्थापना गर्ने परिस्थिति पनि वर्तमानमा तयार भएको छैन । बरु यो सम्भावना छ कि विद्यमान गणतन्त्रलाई समाप्त गरेर प्रतिगमनकारीहरु शक्तिमा आउने कसरत गरिरहेका छन् । त्यो अवस्थामा राजनीतिक परिवर्तन, संविधानले दिएका अधिकार, गणतन्त्र र राजनीतिक अधिकार र स्वतन्त्रताको रक्षाको प्रश्न वर्तमान राजनीतिक भूमिकामा प्रधान भएर आउँदछन् । यसरी एकातिर, सामन्तवादलाई सामाजिक र सांस्कृतिक रुपले जिउँदै देखेको भएपनि अर्कातिर गणतन्त्रका विरुद्धमा व्यक्त भएको दृष्टिकोणले प्रकारन्तरले प्रतिगमनको नै सेवा पु-याउने देखिन्छ ।

नेकपा(मसाल)को नेतृत्व दक्षिणपन्थी दिशामा गएको भनी पहिले प्रचार गर्दै आएको जागरण अभियानले आफूले गर्नुपर्ने क्रान्तिकारी काम भने केही उल्लेख गरेको देखिँदैन । शायद अहिले ‘सांस्कृतिक जागरण’को आवश्यकता महशुस गरी त्यतातिर लाग्नुपर्ने भएकोले अरु ‘क्रान्तिकारी काम’ गर्न सम्भव नभएको हुन सक्छ ।

कार्यविधिमा नेपाललाई अर्धसामन्त र अर्धऔपनिवेशिक मुलुकको रुपमा स्वीकार गरिएको छ । तर अर्धऔपनिवेशिकको मुख्य स्रोतको रुपमा रहेको भारतीय साम्राज्यवादका विरुद्धको संघर्षबारे केही उल्लेख गरिएको छैन । त्यसरी कार्यविधिमा सामन्तवादलाई मात्र प्रधान दुश्मनको रुपमा लैजाने र भारतीय साम्राज्यवादलाई छोडिदिनाले उनीहरुले अर्धऔपनिवेशिकता विरुद्ध संघर्ष नगर्ने देखिन्छ । यदि सामन्तवाद मात्र प्रधान दुश्मनको रुपमा रहन्थ्यो भने अर्धऔपनिवेशकताको समस्या रहने थिएन । नेपालमा अर्धऔपनिवेशिकताको मुख्य स्रोत भारतीय साम्राज्यवाद हो । नेपाली जनताको प्रधान दुश्मनको रुपमा सामन्तवाद र भारतीय साम्राज्यवाद रहेका छन् ।

अहिले दलित, महिला वा अरु पिछडिएका वर्गहरुको जुन अधिकार उपलब्ध भएका छन्, त्यो गणतन्त्र र धर्मनिरपेक्षताको मूल्यमाथि आधारित छन् । गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पारेपछि ती सबै अधिकारहरु कानुनी रुपमा समेत कुण्ठित हुन पुग्नेछन् । नेपालको सामन्तवाद वर्गीय विभेदका साथसाथै कट्टर हिन्दुवादी, जातीय, क्षेत्रीय तथा लैङ्गिक विभेदसहित अस्तित्वमा रहँदै आएको छ । त्यसको सामाजिक तथा सांस्कृतिक अस्तित्व यिनै विभेदकारी पक्षमाथि जीवित रहने गरेको छ । कुनै राजनीतिक, सामाजिक वा सांस्कृतिक परिवर्तन हुने क्रममा सामन्तवादका माथिका विभेदकारी पक्षहरु खलबलिन्छन्, जसले गर्दा स्वाभाविक रुपमा सामन्तवाद कमजोर हुन्छ र अग्रगामी लक्षण अगाडि आउँदछन् । गणतन्त्र र धर्मनिरपेक्षताले बोकेका (चाहे त्यो बुर्जुवा नै किन नहोस्) अग्रगामी मूल्य भनेका त्यही सामन्तवादका विभेदकारी पक्षहरुका विरुद्धमा देखिने राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका परिवर्तन वा कानुनी प्रावधान हुन् । त्यसरी सामन्तवाद भन्दा बुर्जुवा गणतन्त्रको औचित्यता र प्रगतिशील महत्वलाई ठीक ढङ्गले ठम्याउन नसकेका कारणले भनाइमा सामन्तवादसितको अन्तर्विरोध प्रधान भएको कुरा उल्लेख भएको भएपनि व्यवहारमा वर्तमान गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त पार्ने कुरामा जोड रहेकोले त्यो कार्यविधिले उनीहरुलाई प्रतिगमनकारीहरुको समकक्षमा लैजाने कुरा प्रष्ट छ ।

नेकपा(मसाल)को नेतृत्व दक्षिणपन्थी दिशामा गएको भनी पहिले प्रचार गर्दै आएको जागरण अभियानले आफूले गर्नुपर्ने क्रान्तिकारी काम भने केही उल्लेख गरेको देखिँदैन । शायद अहिले ‘सांस्कृतिक जागरण’को आवश्यकता महशुस गरी त्यतातिर लाग्नुपर्ने भएकोले अरु ‘क्रान्तिकारी काम’ गर्न सम्भव नभएको हुन सक्छ । जनवादी क्रान्तिको चरणलाई पार गर्नुपर्ने आवश्यकतामा जोड दिइएको भएपनि “नयाँ जनवादी व्यवस्थाको चरणमा पुग्न नेपाली समाजलाई धेरै कठिन यात्रा निर्धारित गर्नुपर्ने अवस्था छ” भन्ने नमीठो स्वीकारोक्ति पनि छ । यो स्वीकारोक्ति भएपछि ‘सांस्कृतिक जागरण’को काम नै अहिलेको ‘क्रान्तिकारी काम’ भएको ठहर हुन गएको देखिन्छ ।

कार्यविधिमा अनुशासन सम्बन्धी व्यवस्था छ । त्यो अनुशासन लेनिनवादी संगठनात्मक सिद्धान्त र विधिसम्मत हुनेछ वा कुनै नयाँ आविष्कारको आधारमा चल्ने छ ? त्यो प्रष्ट नभएपनि केही कुरा भने प्रष्ट नै छन् । यी बुँदाहरुलाई हेरौँ : “कुनै साथीले गल्ती गरेको खण्डमा उसलाई मैत्रीपूर्ण ढङ्गले गल्तीको महशुस गराउन र सुधार्न, यदि संगठनमाथि नै आघात पुग्ने काम गरेको छ भने आलोचना गर्दा पनि नसुध्रिएको अवस्थामा चेतावनीपछि मात्र हटाइने छ ।”

यही नियम अनुसार प्रक्रिया पुरा भई पार्टीबाट निष्काशित भएका कतिपय व्यक्तिहरुले “मसालभित्र दुई लाइनको संघर्षमा फरक मतमाथि कारवाही गर्ने गरिएको” भन्ने जुन होहल्ला मच्चाउने गरेका थिए, त्यो मसालविरोधी क्रियाकलापलाई ढाकछोप गरी सहानुभुति बटुल्ने असफल प्रयत्न थियो । स्वयम् जागरण अभियानका कतिपय व्यक्तिहरुले कब्जा गरिएको हाँकमा मसालका विरुद्ध फोरम नै चलाएका थिए । त्यसप्रकारको हर्कतबाट मसाललाई नोक्सान हुनेछ भन्ने उनीहरुको ठूलो आशा पनि थियो । त्यसका लागि उनीहरुले अनेक कामना पनि गरेका थिए र गरी पनि रहेका छन् । तर उनीहरुका लागि दुर्भाग्य नै भनौँ, त्यो हर्कतबाट पार्टीबाट निष्काशित हुनुपरेका व्यक्तिहरुको गठजोड हुनु बाहेक केही हात लाग्न सकेको छैन ।

हाम्रो भनाइ छ, हजारौ–लाखौँ पार्टी सदस्यहरुले भिन्न मत बीचबाट साझा निर्णय गर्दै एकतावद्ध हुने हो । हजारौँ सदस्यका हजारौँ मत हुन्छन्, तिनीहरु सबैको निर्णय प्रक्रियामा योगदान हुन्छ, तर ती सबै स्वीकृत हुँदैनन् । स्वीकृत नभएपनि निर्णय जे हुन्छ, त्यसलाई मानेर जाने संस्कार नै सर्वहारावर्गीय संस्कार हो । यो संस्कार लादिने कुरा होइन, पार्टी सदस्यले अनिवार्य रुपमा स्वयम् लागू गर्ने पद्धति हो । मानिसहरुले सोच्दछन् कि नेतृत्वले अनुशासन लाद्छ । त्यो होइन, नेतृत्वले विधि र पद्धतिको मार्गनिर्देशन गर्दछ र कार्यान्वयन गर्दछ । प्रत्येक पार्टी सदस्य नेतृत्वको एक अंश हो, त्यसैले विधि र पद्धतिलाई मार्गनिर्देशन गर्नका साथै कार्यान्वयन गर्नु उसको दायित्व र कर्तव्य हो । दायित्व र कर्तव्यलाई ‘लादिएको’ अर्थमा बुझ्न थालेपछि त्यो कम्युनिस्ट पार्टी सदस्यको रुपमा रहन सक्दैन ।

पार्टी सदस्य यसबाट विचलित भएपछि समस्या उत्पन्न हुन्छ वा उसले गल्ती गर्न पुग्दछ । पार्टीले त्यसलाई सच्याउन विधिसम्मत ढङ्गले प्रयत्न गर्दछ । आफ्नो प्रयत्नमा असफल भए पार्टीले विधि र नियमलाई प्रयोग गर्दछ । नेकपा(मसाल)ले अपनाएको यही पद्धति थियो, जसलाई “फरक मतमाथि कारवाही” भन्ने हल्ला गरिएको थियो, प्रकारन्तरले अनुशासन सम्बन्धीको यो नियमलाई जनजागरणले पनि आफ्नो कार्यविधिमा राखेको छ । उनीहरुले यसलाई व्यवहारिक सिद्धान्तको रुपमा अपनाउने छन् वा नीति–निर्देशक सिद्धान्त जस्तो बनाउने छन् ? त्यो विषयमा पनि भविष्यमा अरु प्रष्ट हुँदै जानेछ ।

अनुशासनसम्बन्धी अर्को ठाउँमा उनीहरुले लेखेका छन् : “हामीले सर्वहारा अनुशासनमा जोड दिनुपर्दछ तर अनुशासन लाद्ने प्रयत्न गर्नु हुँदैन ।” यो हास्यस्पद छ । सर्वहारा अनुशासनमा “जोड दिनुपर्दछ” तर “लाद्ने प्रयत्न गर्नु हुँदैन” भनेर एकैचोटी भन्न पुगेका छन् । उनीहरुका अनुसार सर्वहारा अनुशासनलाई कार्यान्वयन गर्ने कुरा “लाद्ने प्रयत्न” हो । अब उनीहरुले सर्वहारा अनुशासनमा कसरी जोड दिने हुन् ? त्यो प्रतिक्षाको विषय बन्न गएको छ ।

अनुशासनलाई लाद्ने प्रयत्न गर्नु हुँदैन भनेपछि उनीहरुले लेखेका छन् : “कुनै नयाँ विषयमा बोल्ने वा लेख्ने सन्दर्भमा केन्द्रीय कार्यालयसित सरसल्लाह गर्नुपर्दछ । यदि त्यो सम्भव नभएमा कम्तीमा सचिवालय सदस्यसँग सरसल्लाह गरेर मात्र धारणा सार्वजनिक गर्नुपर्दछ । सार्वजनिक रुपमा विचार प्रकट गर्दा एक अर्काका विचारहरुमा एकरुपता देखिएको हुनुपर्दछ ।” धन्यवाद छ, कुरा ठीक छ । निश्चय नै अनुशासनलाई कार्यान्वयन गर्ने निर्देशन हो यो । उनीहरुले भने जस्तो हामीले यसलाई “अनुशासन लाद्ने प्रयत्न” भन्दैनौँ ।

कुनै सदस्यले माथि भने बमोजिम नगरे के हुन्छ ? त्यसलाई अनुशासनको प्रक्रियामा लैजानुपर्ने छ । त्यस अनुसार उसलाई सहमतीय पद्धति, सदस्यको कर्तव्य, कार्यविधिका नियम, अनुशासन र पद्धतिबारे जानकारी गराइने छ र तिनीहरुलाई मान्नुपर्ने आवश्यकतामाथि जोड दिइनेछ । त्यसरी पनि सुधार नभएपछि कुनै सदस्यलाई निष्काशित गर्नुपर्नेछ । निश्चय नै, उनीहरुले यस्तो गर्नुपर्नेछ, तर यही कुरालाई उनीहरुले “अनुशासन लाद्ने प्रयत्न” को रुपमा अथ्र्याएका कारणले त्यसलाई कुन रुपमा कार्यान्वयन गर्ने छन् ? त्यो भने प्रतीक्षाको विषय नै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *