साउन महिना र हरिया चुरा बारे

  •   
  •  
  •  
  •  
  •  
  •  

174 जनाले पढ्नु भयो ।

  • प्रगति शर्मा 

फेसबुकका वालहरुमा हरीया चुरा र मेहेन्दीले भरीएका हातहरुका फोटाले रंगीएको देख्दा मलाई केही लेख्न मन लाग्यो । आज हामी एकातिर महिला पुरुष समानताको लागि दिनहुँ जसो कार्यक्रम गर्ने, भाषण गर्ने गरिरहेका छौं भने अर्कोतिर हामी महिलाहरु आफै महिला भएकै कारणले गर्दा महिलालाई केवल कमजोर बनाउनका लागि श्रृजना गरिएका परम्परागत संंस्कृतिहरुलाई विस्तारै हटाउँदै जानुको सट्टा झन् त्यसलाई आधुनिकताको नाउमा विकृति फैलाउँदै गैरहेका छौं ।

यहाँ श्रावणमा लगाउने हरियो रंग, भाद्रमा लगाउने रातो रंगको बारेमा चर्चा गर्न चाहन्छु । एउटा चुरा कम्पनीले आफ्नो चुराको व्यापार धराषायी हुँदै गएपछि आफ्नो व्यापारलाई फैलाउनको लागि विभिन्न महिना वा चाडपर्वको बहाना बनाएर कुनै सेलीब्रेटीलाई प्रयोग गरी निश्चित महिना वा चाडपर्वमा निश्चित रंगको चुरा प्रयोग गर्नुपर्ने अफवाह फैलाइदिएर नारीको भावनालाई प्रयोग गरी आफ्नो व्यापार व्यवसाय फैलाएको सत्य सर्वविदीतै । तर यसलाई नारीलाई प्रभाव पार्ने गरी भगवान शिव पार्वतीको कथासँग लगेर जोडीदिने काम पनि कुनै बैज्ञानिक कुरा होइन । केबल धर्म संस्कृतिको माध्यमबाट महिलालाई अधिकांश समय अनुत्पादक कार्यमा समय खर्चन लगाई पुरुषहरु अगाडि बढ्ने माध्यम मात्र हो । यो त झन् विकसित हुँदै गएर सम्पुर्ण पहिरन नै एउटै रंगको प्रयोग गर्ने प्रचलन दुर दराजमा रहेका शिक्षाबाट टाढा रहेका महिलाहरुले भन्दा बढी शहर बजारमा बस्ने शिक्षीत महिलाहरुले नै बनाएको विकृति हो ।

मैले आजसम्म देखे भोगे अनुसार जतिसुकै अध्ययन गरेको महिला भए पनि चाहे डाक्टर, पाइलट, इन्जिनिएर, वकील नै किन नहोस् तर पुरुषहरुले हामीलाई विभेद गरे, अन्याय गरे भनेर भाषण गर्न र चर्का कुरा गर्न धेरै सजिलो छ । त्यसलाई जरादेखिनै निमिट्यान्न पार्नको लागि धर्म संस्कृतिले हामी महिलालाई महिला भएकै कारणले बाध्यकारी बनाइएका गलत परम्परा र संस्कारहरुलाई यो वा त्यो प्रकारले आफ्नो प्रकारले व्याख्या गर्दै अन्धभक्त भएर अनुसरण गरिरहेका हुन्छौं ।

यो हामी महिलाहरुको सौभाग्य हो, अथवा आफ्नो इच्छाले ब्रत बस्नु कुनै नराम्रो कुरा होइन, आफ्नो श्रीमानको लागि एक दिन ब्रत बस्नु नराम्रो होइन वा यो त एउटा इन्जोयको पाटो मात्र हो भनिरहँदा हामीहरु पुरुष भन्दा पछाडि धकेलीने कुरालाई नकार्न सकिंदैन । हामी महिलाहरु महिला विभेद अन्त्य हुनु पर्दछ भनेर कुर्लीरहँदा भन्ने गर्दछौं की हामी महिलालाई महिला भएकै कारणले अन्याय गर्न पाइँदैन तर धर्म, संस्कृतिको नाउँमा हामीलाई महिला भएकै कारणले पढ्नु लेख्नु भन्दा पनि सुन्दर बन्नु, पुतली बन्नु, पुरुषको लागि आकर्षणको विन्दु बन्नु पर्दछ भनेर गरिएका व्याख्याहरु गलत छन् । यसलाई अनुशरण गर्नु आवश्यक छैन भनेर बुझ्ने दिन कहिले आउँछ ?

उदाहरणको रुपमा बर्षको एकपटक स्वस्थानी पढ्नुको सट्टा महिला अधिकारका, महिला मुक्तिका कुरा पढ्न सक्यौं भने महिलालाई फाइदा पुग्दछ । स्वस्थानीले कुनै ज्ञानगुनका कुरा नदिइ कुनै समयमा महिलालाई दबाउनको लागि धर्मको माध्यमबाट गरिएका महिला बिभेदका कुरा सिवाय त्यसबाट केही फाइदा हुँदैन, यसको अध्ययनले झन् महिला हिंसा र बलात्कारका घटना बढ्ने गरेका थुप्रै भेटिएका छन्

यस प्रकारका गलत परम्पराले गर्दा पुरुषलाई फाइदा पुग्नेछ, पुँजिपतिलाई पुँजि थुपार्ने माध्यम त बन्नेछ तर हामी महिलाहरुको मुक्ति हुन सक्दैन । समाजमा रहेका गलत धारणाहरुलाई हामी महिलाहरुले नै मिलेर महिला र पुरुषमा रहेका प्राकृतिक असमानता बाहेक अरु सबै असमानताहरु पुरुष प्रधान समाजको उपज हो यसलाई अन्त्य गर्नु आवश्यक छ र यसको अन्त्य लागि पनि हामी महिलाहरु नै अग्रसर हुनपर्ने आवश्यक छ ।

आज हामीहरुले महिला समानताको कुरा गर्ने जीम्मेवारी हामी महिलाहरुको मात्र नभई पुरुषले पनि हातेमालो गरेर अगाडि बढ्नु पर्दछ भनेर आवाज उठाइरहँदा महिला स्वयंले गरेका व्यवहारको कारणले महिला पछाडि पर्न नपरोस् । यसरी महिलाहरुको बारेमा भनिँरहदा सबै महिलाहरु धर्म संस्कृतिको कारणले मात्र पछाडि परिरहेका छन् भनेर बुझ्नु गलत हुनेछ । कैयौं छोरीहरु अझै पनि छोरी भएको कारणले पराइको घरमा जाने जातलाई लगानी गर्नु हुँदैन भन्ने गलत धारणाका कारण शिक्षा जस्तो नैसर्गीक अधिकारबाट बञ्चीत हुनुपरिरहेको छ । अझ भनौं कती बालीकाहरु यो धर्तीमा आउन नपाउँदै भू्रणकै अवस्थामा मै निमोठिनु परिरहेको छ ।

अझै पनि हजारौंको संख्यामा महिलाहरु पुरुषबाट बिभेदको शिकार हुनु परिरहेको छ । चाहे त्यो दाइजोको निहुँमा होस् वा छोरी जन्माएको निहुँमा होस्, दिनहुँ जसो महिलाहरु जीउँदै जलिरहने वा मृत्युको शिकार बन्ने परम्परा अझैसम्म पनि रोकीएको छैन । कतिपय पुरुषहरु दिनभर मञ्चमा महिला अधिकारका चर्का भाषण गर्दै दिन बिताउने र राती आफ्नो घरमा फर्के पछि उही महिला हिंसा दोहोर्‍याउने प्रवृत्ति कतै केही मात्रामा घटीरहेको होला तर यो नगन्य मात्रामा छ, यसको अत्य हुन धेरै गाह्रो परिरहेको छ । महिलाहरु अध्ययन गर्ने, क्षमता विकास गर्ने क्रम बढ्दै जाँदा केबल चुलो चौको र घरको चौघेरामा मात्र सिमित रहने महिलाहरुले घरभन्दा बाहिरको संसारमा पनि आफ्नो पहुँच बढाउने क्रम बढिरहेको छ । तर पनि महिलालाई बाहिरको काम गर्न सजिलो छैन । यो महिला हो यसले गर्न सक्छेर ? भनेर हरेक पाइलामा प्रश्न चिन्ह खडा गर्ने प्रचलनको अन्त्य भएको छैन ।

अरु कैयौं देशको तुलनामा नेपालमा पनि युग फेरिंदै जाँदा धेरै परिवर्तनहरु भएका छन् । महिलाका लागि धेरै कानूनहरु बनेका छन् तर ती कानूनहरु कार्यान्वयन गर्न निकै गाह्रो परिरहेको अवस्था छ । हामी महिलाहरु जबसम्म सम्पत्तिमा पुर्ण अधिकार सम्पन्न हुन सक्तैनौं तबसम्म हामीलाई पुरुषबाट दमन र शोषण गर्न छोडीदैन । अझै पनि महिलालाई शिक्षा दिक्षा दिइयो भने, नागरिकता बनाइदियो भने सम्पत्तिमा अधिकार खोज्छन् भनेर कतिपय पुरुषहरुले पढ्नबाट बञ्चीत गर्ने साथै नागरिकता अधिकारबाट बञ्चीत गर्ने परम्परा छ । पुरुषलाई साम्पत्तिक अधिकार महिलालाई दिन एकदमै गाह्रो पर्दछ, किनकि पुरुषहरुको मानसिकतामा अझै पनि सम्पत्ति भनेको केबल पुरुषको मात्र अधिकारको कुरा हो, साम्पत्तिक अधिकार महिलालाई दियो भने महिला शक्तीशाली हुन्छन् र अन्यायका विरुद्ध लड्न सक्छन् भनेर डराउने गर्दछन् ।

हुनत कुनै बेला छोरीलाई पनि छोरा सरह सम्पत्तिमा समान अधिकार दिइनु पर्दछ भन्दा यो असम्भव हो भनेर विश्लेषण गर्नेहरु आज आएर पैतृक सम्पत्तिमा छोरा छोरीमा कुनै भेदभाव नगर्ने भनेर कानूनमा लेखिसकेको हेर्न र सुन्न पनि तयार छैन । तर बिडम्बना कहानेर छ भने यो कागजको पानामा त लेखिएको छ तर व्यवहारमा लागु गर्ने कसले र कहीले ? कोही पनि बाबा, आमा, दाजु भाईले सम्पत्तिको भाग लगाउने कुरा गर्दा सरासर रुपमा दिदी बहिनीलाई पनि सम्पत्तीको भागेदार बनाउन धेरै गाह्रो पर्दछ । कुनै मुद्दा मामीला परेको अवस्थामा वा छोरी विवाह नगरी बसेको अवस्थामा र विवाह गरेर पनि घरबार विग्रेर बसेको अवस्थामा बाहेक छोरीलाई अंश दिएको देखिंदैन । यसरी कसैले सम्पत्ति समान रुपमा दिन चाहन्छ भने त्यो केबल अपवादको रुपमा रहन्छ र समाजको उदाहरणीय व्यक्ति बन्दछ । किनकी उसले समाजमा अरुले गर्न नसकेको काम गरिरहेको हुन्छ ।

आज हामीले गर्व गरिरहेका छौं कि मुलुकका तिन महत्वपूर्ण र गरिमामय पदमा महिलाहरुले ठाउँ पाइसकेको अवस्था छ । तर तीन जना महिलाहरु माथिल्लो स्थानमा पुग्दैमा सबै महिलाहरुले अब विभेद खेप्नु पर्दैन, अब शीक्षाको अधिकारबाट बच्चीत हुनु पर्दैन भनेर भन्न सकिंदैन । उपयुक्त ठाउँमा चाहे पुरुष होस् चाहे महिला होस् यो मुख्य कुरा होइनकी उसले बोक्ने बिचार कुन छ भन्ने कुरा मुख्य हुन्छ एक जना पुरुषले महिलाका लागि राम्रो काम गर्न सक्छ । तर कतिपय अवस्थाहरु यस्ता हुन्छन् कि पूर्ण समानताको अवस्था नभएसम्मका लागि दुइवटा परिस्थितिहरु कायम रहन्छन् एउटा क्षमताको आधारमा अवसर प्रदान गर्ने अर्को पनि यत्तिकै महत्वपूर्ण हुन्छ कि अवसर प्रदान गरे पछि पनि क्षमता बिकास गर्दै जाने, आजको आवश्यकता भनेको यि दुवै अवस्थाहरुलाई व्यवहारमा लागु गर्नुपर्ने अवस्था हो । संविधानमा महिला अधिकारका कुरा सुनिश्चित गर्नको लागि केबल महिलाले मात्र संभव भएको होइन केही पुरुषहरुको पनि समानताको सोंच भएका कारणले संभव भएको हो । हुनत महिला अधिकार सुनिश्चित गर्नको लागि महिलाहरुको योगदान कम चुनौती पूर्ण थिएन तर पनि पुरुषहरुले साथ नदिएको भए सायद यो सम्भव हुन सक्ने थिएन ।

महिला अधिकारका लागि जे जति कानूनहरु अहिलेसम्म बनेका छन् यो कदम अरु देशको भन्दा अगाडि नै छ तर यो नै अन्तिम बिन्दु होइन अझै धेरै कानूनहरु बन्न आबश्यक छ, यो केबल प्रगतिशील कदम मात्र हो । केबल महिलाहरुलाई अहिले दिइएका पदहरुमा मात्र सिमित हुन नपरोस् । आउँदा दिनहरुमा सबै क्षेत्रमा महिला सहभागिता केबल कोटाको आधारमा मात्र नभई पुर्ण प्रतिस्पर्धाको आधारमा जान सक्ने अवस्था आउनु पर्दछ । यो काम महिलाले गर्न सक्छन् र भनेर शंका गर्ने परम्पराको अन्त्य हुनुपर्दछ । आजसम्म चालिएका कदमहरु केबल समानताका लागि गरिएको मात्र हो । पूर्ण समानता आउन बाँकि छ । यसको लागि अझै ठूलो मेहनत र संघर्षको खाँचो छ ।

अन्त्यमा: चाहे पुरुष होस् चाहे महिला होस् आ–आफ्नो ठाउँबाट समानताको लागि पहल गर्नु पर्दछ । परम्परादेखि चलिआएका धर्म र संस्कारका नाममा रहेका गलत धारणाहरुको अन्त्य गर्नुपर्दछ । यसको अन्त्य गर्नको लागि पुरुषहरुको सहयोगको खाँचो छ भने महिलाले अनुशरण गर्नु भन्दा अगाडि आफुले यसलाई अनुशरण गर्दा मलाई के फाइदा हुन्छ र सिंगो समाजले यसबाट के फाइदा लिइरहेको छ भनेर विश्लेषण गर्नु आवश्यक छ । साथै महिलाका लागि जे जति कानूनहरु बनाइएका छन्, ती कानूनहरु कार्यान्वयनको पक्षमा पहल गर्नुपर्दछ । भावी पुस्ताले छोरी भएका कारणले कुनै प्रकारका विभेदको शिकार बन्नु नपरोस् भन्ने कामना सहित प्रयास सबैले गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *