‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान !’

  •   
  •  
  •  
  •  
  •  
  •  

115 जनाले पढ्नु भयो ।

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरुले समातेको ब्यानरको नारा अहिले सामाजिक सञ्जालमा भाइरल भएको । ब्यानरमा लेखिएको छ, ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार अटेन किसान !’ उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले काठमाडौंमा आएर आन्दोलन सुरु गरेका हुन् ।

पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् ।

उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पुरै पैसा नपाउँदा सम्म आन्दोलन नरोकिने बताउनुभयो । संरक्षक मिश्रले तिहार अगाडि उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्व सम्म भुक्तानी दिलाइदिन माग गरेपनि पैसा नआएकाले आफुहरु काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

मन्त्रालयले उद्योगीहरुको सम्पर्कमा छौं भन्ने तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगी बिच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानहरुको छ ।

यस अघि किसानहरु कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए । किसानहरुले २०७६ पुष १८ गते मन्त्रालयको उपस्थितमा किसान र उद्योगी बिच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योग मन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिम उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ ।

त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यस पटक किसानहरु निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।

चिनीको पैसा सिधै किसानको हातमा जाने व्यवस्था

यता, किसानहरु आन्दोलित भएपछि सरकारले भने चिनी उद्योगीबाट बिक्रि भएको पैसा सिधै किसानको हातमा जाने व्यवस्था सुरु गरेको छ। किसानको १७ करोड बक्यौता रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इण्ड्रष्टिजले चिनी बेचेको पैसा उद्योगीको हातमा नगई सिधै किसानको बैंक खातामा जाने व्यवस्था सुरु गरेको हो।

चिनी उद्योगीले किसानलाई वर्षौंदेखि उखुको पैसा नतिरेपछि सो उपाय अपनाइएको उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालय र सर्लाही जिल्ला प्रशासन कार्यालयको समन्वयमा हाललाई ५० लाख रुपैयाँ उद्योगीको हातमा नै नपारी किसानहरुको बैंक खातामा जम्मा गरिदिने व्यवस्था सुरु गरिएको हो । एसियन बिस्कुट एण्ड कन्फेस्नरी कम्पनी विराटनगरले ५० लाख रुपैयाँ बराबरको चिनी खरिदको तयारी गरेको थियो ।

किसानलाई उखुको पैसा नतिर्ने मुख्यतयाः ४ वटा उद्योगहरु देखिएका छन्। तीमध्ये अन्नपूर्ण सुगर एण्ड जनरल कम्पनीले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, श्रीराम सुगर मिलले २६ करोड र लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख रुपैंया किसानलाई तिर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *