स्टालिन : महान् मार्क्सवादी–लेनिनवादी

जोसेफ भिसारिओनोभिच स्टालिन । कम्युनिस्ट आन्दोलनको विराट् व्यक्तित्व । त्यसका साथै विवादास्पद व्यक्तित्व पनि । त्यो विवाद खालि विरोधीले सृजना गरेका होइनन्, स्वयं कम्युनिस्ट आन्दोलनभित्र उनको बारेमा विवाद छ । कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई लिएर विभिन्न देशका कम्युनिस्ट पार्टीले यस सम्बन्धमा थुप्रै प्रस्ताव पारित गरिसकेका छन् । माओको समयदेखि सुरु भएको स्टालिनको मूल्याङ्कनको सवाल अहिलेसम्म पनि त्यत्तिकै सान्दर्भिक छ । यस सन्दर्भमा उल्लेखनीय एउटा तथ्य यो छ– समय बित्दै जाँदा कम्युनिस्ट आन्दोलनभित्रैबाट प्रतिक्रियावादीले जस्तै स्टालिनलाई फासिवादी बताउने आवाज सुस्ताएको छैन । जब विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद बढी नै हावी भएको छ भने तब यसखालका अतिरञ्जना पनि त्यत्तिकै गुञ्जिन थालेका छन् ।

लेनिन जीवित छँदासम्म स्टालिनको भूमिकाबारे खासै विवाद भएको पाइँदैन । पक्कै पनि सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेभिक) भित्र उनको कामको दौरानमा कमजोरी भए होलान् । त्यसबारे सम्बन्धित समितिमा आत्मालोचना, आलोचनाको प्रक्रिया चल्यो होला । तर त्यसबारे चर्चा गर्न हामीसित पर्याप्त सामग्री छैनन् । त्यसको अर्थ हो– स्टालिन लेनिनको योग्य र इमान्दार पथिक थिए अर्थात् लेनिनले रुसमा मार्क्सवादको जुन सृजनात्मक प्रयोग सफलतापूर्वक सम्पन्न गरेका थिए, स्टालिनले त्यसमा पूरै इमान्दारिताका साथ, समर्पित भावका साथ योगदान दिएका थिए । यो मान्नका लागि ठाउँ छ– स्टालिनको यसखालको योगदानकै कारण रुसी भूमिबाट लेनिनवादको आविष्कार भएको थियो । त्यति मात्र होइन, लेनिनको मृत्युपछि रुसमा समाजवादको विकास र दोस्रो विश्वयुद्धको मौलिक चरित्र—यी दुई परिघटना नै पर्याप्त छन्, जसले बताउँछन्– स्टालिन महान् मार्क्सवादी–लेनिनवादी थिए ।

लेनिन जीवित सामान्य अवस्थामा रहँदासम्म अर्थात् लेनिनलाई गोली हानिनुभन्दा अघि लेनिनद्वारा स्टालिनको आलोचना गरिएको देखिन्न । तर जब लेनिनमाथि गोली हानियो, त्यसपछि लेनिन उपचाररत अवस्थामा रहे । चिकित्सकले लेनिनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुने मात्र होइन, शासनसत्ता र कम्युनिस्ट आन्दोलनसित सम्बन्धित गम्भीर विषयसमेतको जानकारी नदिन निर्देशन दिएका थिए । त्यसका बाबजुद कतिपय नेताहरूले लेनिनलाई पार्टीभित्रका गम्भीर विषय जानकारी गराउने गर्दथे । त्यसबारे स्टालिनले लेनिनकी श्रीमती नदेज्दा क्रुप्सकायासित कठोर शब्दमा कुराकानी गरेको पाइन्छ । यसबाट स्टालिनले कुनै व्यक्तिगत कारणले होइन, स्वयं लेनिनको स्वास्थ्यमा सुधार होस् भन्ने सदिच्छा र जिम्मेवारीका कारणले कतिपय बेलामा कठोर शब्द प्रस्तुत गरेको उल्लेख कम्युनिस्ट साहित्यमा पाइन्छ ।

लेनिनको अन्तिम समय चलिरहेका बेला सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा स्टालिन र ट्राटस्की सबैभन्दा उच्चस्तरीय नेतृत्व थिए । त्यतिबेला समेत लेनिनले स्टालिनको राजनैतिक, वैचारिक, सैद्धान्तिक आलोचना गरेका थिएनन्, खालि उनको स्वभाव वा कार्यशैलीको बारेमा आलोचना गरेका थिए । तर ट्राटस्कीको भने लेनिनले वैचारिक, सैद्धान्तिक र राजनैतिक आलोचना नै गरेका थिए । पछिको समयले स्पष्ट गरिसकेको छ– स्टालिन र ट्राटस्कीमध्ये स्टालिन नै सच्चा मार्क्सवादी–लेनिनवादी थिए भने ट्राटस्की दक्षिणपन्थी अवसरवादी थिए । त्यसका बाबजुद यदि कसैले ट्राटस्कीलाई सही बताएर स्टालिनलाई फासिवादी बताउँछ भने क्रान्तिकारी कम्युनिस्ट पक्षधरले त्यसबारे थप छलफल गर्नुपर्ने आवश्यकता देखिन्न ।

१९२२ मा लेनिन जीवित छँदै स्टालिन महामन्त्री चुनिएका थिए । तर ठिक त्यतिबेलै उनको स्वभाव र कार्यशैलीलाई लिएर स्वयं लेनिनले आलोचना गर्न थालेका थिए । त्यस सन्दर्भमा जनवरी ४, १९२३ का दिन लेनिनले आफ्ना सचिवलाई लेखाएका थिए– “स्टालिन धेरै कठोर छन् । यो कमजोरी महामन्त्री पदको सन्दर्भमा असह्य हुन पुग्दछ । म महाधिवेशनसित यस्तो उपाय निकाल्ने अनुरोध गर्दछु, जसले गर्दा स्टालिनलाई महामन्त्री पदबाट हटाएर कुनै अर्को व्यक्तित्वलाई उनको स्थानमा नियुक्ति गर्न सकियोस् । त्यो नयाँ महामन्त्री धेरै धैर्य, वफादार, विनम्र र आफ्ना कमरेडप्रति धेरै शिष्ट होस् ।”

स्वयं आफै उपचाररत अवस्थामा रहेका बेलामा लेनिनद्वारा गरिएको स्टालिनप्रतिको आलोचना गैरराजनीतिक, सैद्धान्तिक र वैचारिक रहेको प्रष्टै छ । उनले स्टालिनको स्वभावको बारेमा मात्र आलोचना गरेका छन् । सम्भवतः लेनिन उपचाररत रहेका बेला अर्थात् त्यसकारण विषयवस्तुप्रति समग्र, साङ्गोपाङ्गो र सन्तुलित दृष्टिकोणको अभावमा स्टालिनलाई महामन्त्रीबाट हटाउने लेनिनको प्रस्ताव आफैमा अपर्याप्त थियो । आखिर कुनै व्यक्तित्वको मूल्याङ्कन खालि उसको स्वभावको आधारमा हुन सक्दैनथ्यो । विशुद्ध स्वभावलाई आधार बनाएर वा राजनीति, विचार र सिद्धान्तलाई आधार नबनाएर कसैको मूल्याङ्कन न्यायोचित हुन नसक्ने प्रष्टै छ । पछिको समयले पनि यो प्रमाणित गरिसकेको छ– यदि स्टालिनको सट्टा लियोन ट्राटस्कीलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महामन्त्री बनाइएको भए के हुन्थ्यो ? परिणामस्वरूप सोभियत सङ्घमा समाजवादको स्थापना हुन सक्दैनथ्यो र दोस्रो विश्वयुद्धको चरित्र पनि त्यति मौलिक प्रकारको हुँदैनथ्यो ।

स्टालिनप्रति लेनिनको आलोचना र लेनिनको मृत्युपछि रुसमा सफलतापूर्वक समाजवाद निर्माण भएको थियो । खालि यस तथ्यले मात्र पनि ट्राटस्कीको तुलनामा स्टालिन महान् मार्क्सवादी–लेनिनवादी भएको प्रष्टै छ । यदि स्टालिन मार्क्सवादी–लेनिनवादी नभएको भए रुसमा समाजवाद कसरी निर्माण हुन सक्दथ्यो ? जब तथ्य यति प्रष्ट छ भने त्यसबारे थप छलफलको आवश्यकता नपर्नुपर्ने हो ।

लेनिनको मृत्युलगत्तै रुसमा प्रथम पञ्चवर्षीय योजना (१९२८–३२) सुरु भएको थियो । १९१७ मा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भए पनि त्यतिबेलै प्रथम विश्वयुद्ध चलिरहेकाले पहिले त्यहाँ युद्ध साम्यवाद (वार कम्युनिज्म) को नीति लागु गरिएको थियो । त्यस नीतिअन्तर्गत त्यहाँ उत्पादनको केन्द्रीकरण गर्ने नीति अपनाइएको थियो । विश्वयुद्धको समयमा त्यो नीति अत्यावश्यक भएको प्रष्टै छ । त्यसपछि नयाँ आर्थिक नीति (नेप) लागु गरियो । यसै अवधिमा अगस्त ३०, १९१८ मा लेनिनमाथि गोली प्रहार भयो । लामो समयसम्मको उपचारपछि जनवरी २१, १९२४ मा उनको मृत्यु पनि भयो । यी विशेष कारणले गर्दा समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि पञ्चवर्षीय योजना सुरु गर्न सकिएको थिएन । जब स्टालिनको नेतृत्वमा पञ्चवर्षीय योजना सुरु भयो, उक्त योजनामा तोकिएका लक्ष्यहरू निर्धारित समयअगावै पूरा भएका थिए ।

यहाँ प्रश्न उठाउन सकिन्छ– लेनिनले आफू उपचाररत रहेका बेला उल्लेख गरेजस्तै यदि स्टालिन ‘अधैर्य’, ‘बेइमान’, ‘कठोर’ र ‘अशिष्ट’ भएको भए पञ्चवर्षीय योजनाले निर्धारित समयअगावै लक्ष्य प्राप्त गर्न सम्भव कसरी भयो ? जब नेतृत्व नै ‘अधैर्य’, ‘बेइमान’, ‘कठोर’ र ‘अशिष्ट’ हुन्छ भने त्यही नेतृत्वद्वारा आयोजना÷आह्वान गरिएको योजनाले निर्धारित समयभन्दा पहिले नै लक्ष्य प्राप्त गर्नु सम्भव नै हुन्न । त्यसको अर्थ स्पष्ट छ– लेनिनले आफू उपचाररत रहेका बेला स्टालिनको स्वभावको बारेमा जुन आलोचना गरेका थिए, मूलतः त्यसमा सत्यता थिएन । प्रथम पञ्चवर्षीय योजनाको अभूतपूर्व सफलता नै त्यसको पक्षमा एउटा ठोस प्रमाण हो भन्ने प्रष्टै छ ।

यो तथ्य ठोकेर भन्न सकिन्छ– १९२९ मा पुँजीवादी–साम्राज्यवादी मुलुकमा आर्थिक महामन्दी चलिरहेको थियो । त्यसका बाबजुद रुसमा स्टालिनको नेतृत्वमा प्रथम पञ्चवर्षीय योजनाको अभूतपूर्व सफलता नै एउटा त्यो कारण थियो, जसले गर्दा विश्वव्यापी आर्थिक महामन्दीको हावाले रुसलाई छुन सकेन ।

दोस्रो विश्वयुद्धकै माझमा रुसमा अद्वितीय अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । युद्धको भीषण प्रभावकै माझबाट युद्ध साम्यवाद, नयाँ आर्थिक नीति, प्रथम पञ्चवर्षीय योजना हुँदै रुस आर्थिक रूपमा समेत सबल बन्दै जान थाल्यो । यी सबै सशक्तीकरण स्टालिन नेतृत्वको सोभियत सङ्घको कम्युनिस्ट पार्टीको पहलकदमीमा भइरहेको थियो । त्यसबाट विश्वभरिका जर्मन पुँजीवादी प्रतिक्रियावादी अत्तालिइरहेका थिए । यसरी एकातिर, रुसमा सफलतापूर्वक सर्वहारा समाजवादको विकास भइरहेको थियो, जसले गर्दा विश्वभरिका सर्वहारा वर्गलाई मुक्ति अभियानको पक्षमा अगाडि बढ्न उद्वेलित गरिरहेको थियो भने अर्कातिर, नजिकै जर्मनीमा एडोल्फ हिटलरको उदय भइरहेको थियो । हिटलरको उदय फासिवादको रूपमा हुँदै थियो । उनको विश्व विजय गर्ने अर्थात् “श्रेष्ठ” जर्मनको विश्वव्यापी अधिपत्य (विश्वभरि उपनिवेश स्थापना गर्ने) कायम गर्ने लक्ष्य थियो । त्यस सिलसिलामा जर्मनीको टक्कर रुससित अर्थात् हिटलर र स्टालिनको आमनेसामने हुने स्थिति बन्दै थियो । तर १९२९–३० तिर त्यो परिस्थिति प्रारम्भिक अवस्थामा नै थियो ।

१९३० देखि १९३८ सम्मको अवधिमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास केही विशिष्ट गतिमा अघि बढ्यो । लेनिनको अनुपस्थितिमा, तर स्टालिन नेतृत्वको यो अवधिमा अन्तरपार्टी सङ्घर्ष पनि त्यत्तिकै पेचिलो बन्दै गएको थियो । ट्राटस्की, बुखारिन, जिनोभियब, कामेनेभ, किरोभ, खु्रस्चेभलगायतले पार्टीमा भिन्नमत राखेका थिए । उनीहरूले खालि भिन्नमत राखेका मात्र थिएनन्, त्यस समयको विशिष्ट परिस्थितिमा कतिपय भ्रम वा घुसपैठ पनि हुने स्थिति थियो । जिनोभियब, कामेनेभलगायतका नेताहरू ती थिए, जसले १९१७ मा समाजवादी क्रान्ति गर्न नहुने मत राखेका थिए । त्यसमाथि ट्राटस्की, बुखारिन, किरोभ, खु्रस्चेभलगायतको समूह सामेल भएपछि स्थिति अरू जटिल बनेको थियो । त्यसमाथि विदेशी गुप्तचरको घुसपैठले गर्दा स्थिति गम्भीर बन्न पुगेको थियो । ठिक यही बेला स्टालिनको हत्या गर्ने योजनाको खुलासा भएपछि रुसमा प्रतिक्रियावादीको घुसपैठ सप्रमाण अगाडि आएको थियो । यी सबै आन्तरिक गतिविधि दोस्रो विश्वयुद्ध १९३९–४५ को ठिक अगाडि चलिरहेका थिए ।

भनिन्छ– १९३६ देखि १९३८ को माझमा थुप्रै केन्द्रीयस्तरका नेतासमेतको गिरफ्तारी र भौतिक सफाया भएको थियो । १९५६ मा खु्रस्चेभले गरेको दाबीमाथि विश्वास गर्ने भने त १९३७–३८ को माझमा तत्कालीन केन्द्रीय समितिको १३४ सदस्यमध्ये ९८ जनालाई गिरफ्तार गरिएको थियो । त्यसमध्ये कतिपय नेताको भौतिक सफायासमेत गरियो । खु्रस्चेभका अनुसार त त्यस अवधिमा ७,६७९ कम्युनिस्ट पार्टीका सदस्य दमनमा परेका थिए । उनीहरूलाई बिना चेतावनी गिरफ्तार गरियो । मुद्दा चलाइयो । सुदूरपूर्वको बन्दी शिविरमा पठाइयो । हजारौँलाई भौतिक सफाया गरियो । यही घटनालाई लिएर प्रतिक्रियावादीले मात्र होइन, दक्षिणपन्थी अवसरवादीले समेत स्टालिनलाई फासिवादी बताएका छन् । यस्तो सिलसिला अहिले पनि जारी छ ।

खासगरी १९३६–३८ को घटनाको बारेमा अमेरिकी पत्रकार अन्नालुई स्ट्रङले भनेकी छिन्– “म सोच्दछु, १९३६ देखि १९३८ को माझमा सोभियत सङ्घमा भएको ज्यादतीको सम्पूर्ण कथा कहीँ र कसैले पनि जानेको छैन, न त कसैले ठिक ठिक भन्न सक्छ, त्यसका लागि दोषी को थियो ?” एउटा वास्तविकता यो पनि हो । जसले खु्रस्चेभलाई विश्वास गर्दछ, त्यो बेग्लै विषय हो । तर निस्पक्ष तथ्यमाथि आधारित रहेर निष्कर्ष निकाल्ने स्थिति अहिले पनि त्यति सजिलो छैन । अन्नाले फेरि भनेकी छिन्– “निश्चित रूपमा स्टालिनलाई जिम्मेवार ठहराइनुपर्दछ, तर सम्पूर्ण दोष उनको टाउकोमा खन्याइदिँदा पनि हामीसत ठोस उत्तर छैनन् ।” उनको आसय हो– सर्वोच्च नेतृत्वका कारणले स्टालिनलाई त्यसका लागि दोषी मान्न सकिएला, तर तथ्य त्यति सरल छैन ।

अन्नाले यहाँ जुन अभिव्यक्ति दिएकी छन्, त्यसका पछाडि ठोस तथ्यहरूसमेत छन् । तीमध्ये केही तथ्य यी हुन् :

१. स्टालिन सोभियत सङ्घको कम्युनिस्ट पार्टीको सर्वोच्च नेतृत्व थिए । उनीभन्दा तलको निकायको रिपोर्टको  आधारमा स्टालिनले फैसला गर्नुपर्दथ्यो, त्यो पनि एकल रूपमा होइन, सामूहिक रूपमा ।

२. १९३६–३८ को माझमा जुन ज्यादती भएको भनियो, त्यस कारबाहीलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महाधिवेशनले सही बताएर स्वीकार गरेको थियो । यदि ठुलो सङ्ख्यामा पार्टी सदस्यमाथि अन्यायपूर्ण दमन भएको थियो भने महाधिवेशनले उक्त घटनालाई विरोध, भत्र्सना र अस्वीकार गर्नुपर्दथ्यो । तर त्यसो भएन ।

३. स्टालिन नेतृत्वसित भिन्नमत राख्ने ट्राटस्की, बुखारिन, कामेनेभ, जिनोभियब, किरोभ, खु्रस्चेभलगायतले विषयवस्तुलाई गलत प्रकारले प्रस्तुत गर्न सक्ने सम्भावना त्यत्तिकै थियो । उनीहरू अनुकूल परिस्थितिको सृजना गरेर खेल्न सक्दथे ।

४. विदेशी प्रतिक्रियावादीहरू सोभियत सङ्घको कम्युनिस्ट पार्टीभित्रको मतभेदमा खेल्न सक्ने सम्भावना त्यत्तिकै थियो । स्टालिनको हत्या योजना त्यस सन्दर्भमा एउटा ठोस प्रमाण हो ।

५. उक्त समय दोस्रो विश्वयुद्धको सङ्घारको थियो । त्यसकारण कम्युनिस्ट पार्टीका सामु आफ्नो राष्ट्रिय र सर्वहारा अन्तर्राष्ट्रवादको हितमा दृढतापूर्वक उभिनुपर्ने बाध्यता थियो । त्यसक्रममा कठोर कदम उठाउनु तत्कालीन बाध्यता बनेको थियो ।

यस आधारमा भन्न सकिन्छ : प्रथम– १९३६–३८ को माझमा वास्तवमा के भएको थियो ? त्यसको किटानी गर्नमा समस्या छन् । खालि अनुमान वा पूर्वाग्रहको आधारमा निर्णय लिनु अनुचित हुने छ । द्वितीय– यदि केही अनियमितता नै भएको थियो भने पनि त्यसका लागि वस्तुगत परिस्थितिलाई नजरअन्दाज गरेर स्टालिनलाई मात्र एकतर्फी रूपमा दोष दिन सकिन्न ।

स्टालिनको आलोचना जब माओले समेत गरे, त्यसपछि उनीप्रति नकारात्मक धारणा बढ्दै गएको सत्य हो । माओले स्टालिन ७० प्रतिशत अधिभूतवादी थिए भनेर आलोचना गरेका थिए, तर उक्त आलोचना गलत भएको प्रष्टै छ । कारण– ७० प्रतिशत अधिभूतवादी दृष्टिकोण भएको व्यक्तिको नेतृत्वमा सोभियत सङ्घ वा कतै पनि सर्वहारा समाजवादको स्थापना हुन सक्दैनथ्यो । माओको अर्को आलोचना समाजवाद निर्माणसित सम्बन्धित थियो । रुसको नकारात्मक शिक्षाबाट तयार भएको समाजवादसम्बन्धी माओका कैयौँ अवधारणा सही भए पनि रुस र चीनको वस्तुगत परिस्थितिमाथिको भिन्नताबारे हामी सबैको ध्यान जानुपर्दछ । रुसमा पुँजीवादको जगमाथि समाजवाद निर्माणको पहल सुरु गरिएको थियो भने चीनमा अर्धसामन्ती र अर्ध औपनिवेशिक राज्यसत्ता कब्जा गरेर क्रमशः समाजवादको निर्माण सुरु गरिएको थियो । त्यसकारण समाजवादी अभ्यासको सन्दर्भमा स्टालिन र माओको दृष्टिकोणमा भिन्नता अस्वाभाविक र आश्चर्यजनक दुवै थिएन भनी हामीले मान्नैपर्ने हुन्छ ।

गल्ती मानवीय स्वभाव हो । त्यसकारण स्टालिनका गल्ती नै थिएनन् भन्ने दावी कसैले पनि गर्न सक्दैन । उनका गल्ती अवश्य थिए होलान् । तर विश्व इतिहासमा सफलतापूर्वक समाजवाद निर्माण गर्ने महान् अभिभाराको तुलनामा ती गल्ती गौण महŒवका थिए भन्ने पनि प्रष्टै छ । त्यसैले उनको मैत्रीपूर्ण आलोचनाबाट पाठ सिकेर विश्व कम्युनिस्ट आन्दोलनलाई अझ सिर्जनात्मक र क्रान्तिकारी भूमिकामा अगाडि बढाउनु हाम्रो समयको महŒवपूर्ण अभिभारा हो । तर दुनियाँभरिका पुँजीवादी–साम्राज्यवादीसँगै काँधमा काँध मिलाएर जसरी दक्षिणपन्थी अवसरवादीले स्टालिनलाई फासिवादी बताइरहेका छन्, त्यसलाई क्रान्तिकारी कम्युनिस्टले सिधै खारेज गर्नुपर्दछ र स्टालिनलाई फासिवादी होइन, महान् मार्क्सवादी–लेनिनवादी घोषणा गरिनुपर्दछ । कारण– सोभियत सङ्घमा सर्वहारा समाजवादको निर्माण फासिवादी स्टालिनको नेतृत्वमा होइन, महान् मार्क्सवादी–लेनिनवादी स्टालिनको नेतृत्वमा सम्भव हुन सक्दथ्यो र सम्भव भएको पनि थियो । त्यसप्रति विश्वभरिका मार्क्सवादी–लेनिनवादीहरूलाई गर्व छ ।

अन्तमा, प्रशिद्ध अमेरिकी पत्रकार अन्नालुई स्ट्रङको पुस्तक “स्टालिनयुग” को हिन्दी अनुवाद गरेका भारतीय विद्धान राजेश उपाध्यायको यो अभिव्यक्तिका साथ यो सङ्क्षिप्त आलेख समापन गरौँ : “यो दावी गर्नु शायद ज्यादती हुने छ, माओ वा त्यसपछिको क्रान्तिकारी पिँढी स्टालिनभन्दा धेरै बुद्धिमान छन् । त्यसका विपरीत यदि उनीहरू स्टालिनको समयमा हुन्थे र तिनै ऐतिहासिक कार्यभार सम्पादन गर्दथे भने शायद उनीहरूले पनि त्यही गल्ती गर्दथे ।”

सन्दर्भ सूची

१. अन्नालुई स्ट्रङ, स्टालिनयुग (हिन्दीमा भाषान्तर राजेश उपाध्याय), फिलहाल ट्रस्ट, पटना (भारत) : सन् २०१२ (दोस्रो संस्करण) ।

२. स्टालिनका छानिएका रचनाहरू  (नेपालीमा भाषान्तर कृष्णदास श्रेष्ठ), पैरवी प्रकाशन, काठमाडौँ : वि.सं. २०६४ (पहिलो संस्करण) ।

३. जोसेफ स्टालिन, लेनिनवादका आधारहरू, जनसाहित्य प्रकाशन समूह, बुटवल (रुपन्देही) : वि.सं. २०६२ (दोस्रो संस्करण) ।

४. रसियन क्रान्तिका नायक जोसेफ स्टालिन (सम्पादन÷अनुवाद सिद्धिश्वरमान श्रेष्ठ), बिएन पुस्तक संसार, काठमाडौँ : वि.सं. २०६५  (दोस्रो संस्करण) ।

५. माओत्सेतुङ, स्टालिन : चिनियाँ जनताका महान् मित्र, माओका चुनिएका रचना (दोस्रो खण्ड), विदेशी भाषा प्रकाशन गृह, पेकिङ : सन् १९६५ (पहिलो संस्करण) ।

स्टालिन : संक्षिप्त घटनाक्रम

  • डिसेम्बर २१, १८७९ : जन्म, साविक तिफलिस गोरी ।
  • १८९६–९७ : पाठशालामा माक्र्सवादी अध्ययन मण्डलको नेतृत्व ।
  • १८९८ : रसियाली सामाजिक जनवादी मजदुर पार्टीको सदस्य ।
  • १८९९ : मार्क्सवादी विचार प्रचार गरेकोमा पाठशालाबाट निस्कासित ।
  • १९०१ : भूमिगत जीवन सुरु (१९१७ सम्म) ।
  • १९०२ : पहिलो गिरफ्तारी (जीवनमा सातपटक गिरफ्तारी र छपटक निर्वासनको सजाय) ।
  • १९०५ : अखिल रसियाली बोल्सेभिक सम्मेलनमा भाग लिँदा लेनिनसित भेट ।
  • १९०६ : क्याटरिना सेवानिडेजसित विवाह । एक वर्षमै उनको मृत्यु । १९१९ मा नदेज्दा अलिल्युयेबासित विवाह ।
  • १९१० : पार्टीको केन्द्रीय सदस्य चयन ।
  • १९१७ : पोलिट्ब्युरो सदस्य चयन ।
  • अप्रैल ३, १९२२ : महामन्त्री चयन ।
  • १९२३ : जातीय मामिलाका मन्त्री नियुक्त ।
  •  मे ६, १९४१ : केन्द्रीय मन्त्रिपरिषद्को अध्यक्ष ।
  • १९४५ : दोस्रो विश्वयुद्धमा रुस विजयी ।
  •  मार्च ५, १९५३ : मृत्यु ।

मुख्य रचना : १. सर्वहारा समाजवाद, २. मार्क्सवाद र जातीय सवाल, ३. माक्र्सवाद या अराजकतावाद, ४. रुसी कम्युनिस्ट पार्टीको रणनीतिक र कार्यनीतिक सवालबारे, ५. भी.आई. लेनिन, ६. लेनिनवादका आधारहरू, ७. माक्र्सवाद र भाषाशास्त्र, ८. सङ्गठनको बारेमा ।a

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार