स्वच्छ राजनीतिक वातावरणको निर्माण गर्ने दायित्व हाम्रै काँधमा छ

  • बेल बहादुर रजाली, अध्यक्ष, मध्य पश्चिमोत्तर क्षेत्रीय समिति, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

विस २०३६ साल चैत्र १९ गते जिल्ला गुल्मी, गुल्मी दरबार गाउँपालिका, वडा नम्बर २, जुभुङ्गमा बुवा श्यामलाल रजाली र आमा ज्ञानकुमारी रजालीको कोखबाट जेष्ठ सन्तानको रुपमा जन्मनु भएका बेल वहादुर रजाली यतिवेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्ष हुनुहुन्छ । अखिल भारत नेपाली विद्यार्थी संघको जयपुर इकाई समितिको अध्यक्षको रुपमा सांगठनिक यात्रा शुरु गर्नुभएका रजाली अखिल भारत नेपाली विद्यार्थी सङ्घको केन्द्रीय वैकल्पिक सदस्य, सचिव साथै अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको जयपुर नगर समितिको सचिव, अध्यक्ष हुंदै केन्द्रीय सदस्यमा समेत चयन हुनुभएको थियो । पछी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छैठौं केन्द्रीय सम्मेलनद्वारा केन्द्रीय परिषद सदस्य हुंदै वर्तमानमा केन्द्रीय वैकल्पिक सदस्य हुनुहुन्छ । त्यसैगरी मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको सह सचिव, सचिव हुंदै २०१६ मा सम्पन्न ९औं मध्य पश्चिमोत्तर क्षेत्रीय सम्मेलनद्वारा बेल बहादुर रजाली अध्यक्षमा निर्वाचित हुनुभएको थियो । प्रस्तुत छ वहाँसँग भएका अन्तरङ्ग कुराकानी :

देशको तात्कालिक राजनीति परिस्थितिलाई कसरी हेर्नु हुन्छ ?

– नेपाली जनताको करीब ६ दशक लामो संघर्ष पश्चात निर्माण भएको संविधान नेपालको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हो । हुन त यो संविधानबाट नेपाली जनताका सबै समस्याको समाधान सम्भव छैन । किनभने यो अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था अन्तर्गत बनेको संविधान हो, तर पनि संविधानमा व्यवस्था गरिएका धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता, गणतन्त्र जस्ता अति महत्वपूर्ण उपलब्धिहरुलाई संस्थागत गर्दै यसलाई अझै बलियो बनाउनुपर्ने आवश्यकता छ । किन भन्दा प्रतिगामी शक्तिहरु फेरि सलबलाइरहेका छन् । आफ्नो गुमेको सत्तालाई फर्काउन योजनाबद्ध तरिकाले उनीहरू आउने प्रयास गरिरहेका छन् भने अर्कोतिर वर्तमान दुईतिहाइ बहुमत प्राप्त सरकारको काम कारवाही हेर्दा खेरी उसले जनताको म्याण्डेट अनुसार काम गर्न सकेको छैन । कतिपयले प्रदेशको नामाकरण हुन सकेको छैन, राजधानीको टुंगो लाग्न सकेको छैन । जनताका दैनिक उपभोग्य वस्तुहरुमा महंगी, अत्यधिक मात्रामा करवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ । भ्रष्टाचार, माफियातन्त्र, घुसखोर, तस्करहरुको चंगुलमा सरकार फँसेको छ । संघीयताको आड़मा देशमा विखण्डनकारीहरूको चलखेल बढेको छ । आफ्नै देशका राष्ट्रपति र प्रधानमन्त्री आउँदा अपमान गर्ने तर भारतीय प्रधानमन्त्री, मुख्यमन्त्री आउँदा उनीहरूको स्वागतमा जयजयकार गर्ने क्रियाकलाप प्रदेश नम्बर २ मा देखिएको छ । यहि बेलामा राष्ट्रियता माथि गम्भिर प्रकारको आँच पुगेको छ । भारतीय साम्राज्यवादले नेपालको दर्जनौं ठाउँमा हजारौं किलोमीटर भूमि अतिक्रमण गरेको छ । हालै सार्वजनिक गरेको नक्सामा उसले नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालाई आफ्नो नक्शामा देखाएको छ, जसले गर्दा नेपाली जनतामा तीब्र आक्रोश छ । नेपाली जनता सडकमा उत्रेर आन्दोलन गरिरहेका छन् । नेपालको सरकारले यस्तो गम्भीर अवस्थामा पनि भारतसित कूटनीतिक माध्यमद्वारा समस्या समाधान गर्ने दिशामा पहलसम्म गर्न सकेको छैन । यो सरकारको लागि अत्यन्त लज्जाजनक विषय हो । सीमा अतिक्रमणको विरुद्ध सारा नेपाली जनता र नेपाली राजनीतिक पार्टीहरु सडकमा उत्रेर आन्दोलन गरिरहँदा मधेस केन्द्रीत दलहरु चुप लागेर बस्नु आश्चर्यको विषय बनेको छ ।

तपाईको क्षेत्रमा श्रमजिवी नेपालीहरुको अवस्था कस्तो प्रकारको छ ?

– भारतभरी छरिएर रहेका आम नेपाली मजदुरको अवस्था जस्तो छ यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था पनि त्यस्तै हो । यस क्षेत्रमा रहने नेपालीको समस्या भारतका अन्य क्षेत्रहरुमा रहेका नेपालीहरूको भन्दा फरक खालको छैन । यस क्षेत्रमा हरियाणा राजस्थान क्षेत्रमा रहेका नेपालीहरुलाई आमरुपमा आइपर्ने समस्याहरु भनेका विभिन्न किसिमका अन्याय, अत्याचार, भेदभाव कतिपय प्राइभेट सेक्टरमा काम गर्ने नेपालीहरुलाई तोकिएको भन्दा कम तलब दिनु, कतिपय अवस्थामा विभिन्न बहाना देखाएर तलब नदिनु, उल्टै उनीहरुलाई चोरीको झुट्टा आरोप लगाएर नौकरीबाट निष्काशित गर्नु जस्ता समस्याहरु यस क्षेत्रमा आइरहन्छन् जस्लाई हामी सङ्गठनको माध्यमबाट गएर मालिकसित वार्ता गरेर उनीहरुलाई न्याय दिलाउनका लागि लागिरहेका छौं । न्यून चेतनाको कारणले कतिपय नेपालीहरु आपसमा झिना मसिना कारणले झगडा गर्ने, श्रीमान् श्रीमतीबीच विवाद हुने जस्ता घटनाहरु पनि घटी रहन्छन् । जसलाई हामी सामाजिक सङ्गठनको हैसियतले समाधान गर्दछौं ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ४०औं वर्ष पार गरिसेकेको छ, क्षेत्रीय समिति अन्तर्गत के कस्ता कार्यक्रम गर्नु भो र गर्ने योजना छ ?
– हाम्रो सङ्गठनले गौरवशाली ४० वर्ष पार गरेर ४१औँ बसन्तमा पाइला टेकेको टेकेको छ । निश्चित रुपमा यो अत्यन्त गौरवको विषय हो । किन भन्दा हाम्रो सङ्गठनको नीति, सिद्धान्त र काम आम नेपालीहरूको हकहितको पक्षमा हुने हुनाले यति लामो समयसम्म अनवरत रुपमा क्रियाशील रहेको छ । यो हाम्रो लागि निकै गौरवको विषय हो । यो सङ्गठनलाई यहाँसम्म ल्याई पुराउन सङ्गठनका हजारौं कार्यकर्ताहरुको योगदान छ । यस क्रममा शहिद शोभाखर धनन्जय (सरोज शर्मा), विद्या ढकाल (जलजला), गंगाधर घिमिरे जस्ता व्यक्तिहरुले ज्यान गुमाउनु भएको छ । सर्व प्रथम यो ४०औं वर्ष पार गरेको अवस्थामा हामीहरु उहाँहरुलाई सम्झदैं ऊहाँहरुप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छौं । उहाँहरुको त्याग र बलिदान बिना शायद यो सङ्गठनले यसरी विकास गर्न सक्दैन थियो । हालै मात्र ७ नोवेम्बरका दिन यसको स्थापना दिवसको अवसरमा हामीले यस क्षेत्र अन्तर्गतका सबै नगर समितिहरुमा भब्यताका साथ स्थापना दिवस मनाइयौं । अबको हाम्रो योजना भनेको सर्वप्रथम त हाम्रो मुखपत्र नेपाली समाचारको ग्राहक अभियान सञ्चालन गर्ने, बढीभन्दा बढी संख्यामा यसको ग्राहक संख्या बृद्धि गर्ने, त्यसपछि सम्पूर्ण नगरहरुमा सदस्यता अभियान चलाउने, सदस्य संख्या वृद्धि गर्ने, पुराना सदस्यतालाई नविनिकरण गर्ने र बढीभन्दा बढी नयाँ मान्छेहरुमा सदस्यता वितरण गर्ने, नगरदेखि टोलसम्म बैठक बसालेर संगठनलाई मजवुत र दरिलो तरिकाले क्रियाशील बनाउने, त्यसको साथसाथै मूल प्रवाह अन्तर्गतका महिला विभाग, विद्यार्थी विभाग, जनजाति, समता, कलाकार लगायत सम्पूर्ण विभागलाई चुस्त दुरुस्त बनाउने अबको हाम्रो योजना छ ।

त्यस क्षेत्रमा नेपाली मजदुरहरु माथिको भेदभाव के कत्तिको छ ?
– सामान्यतया यस क्षेत्रमा नेपाली मजदुरहरुको अवस्था बारे अघी नै बताई सकें । प्रदेश भनेको प्रदेश नै हो, आफ्नो देश जस्तो हुँदैन । जहाँसम्म भेदभाबको कुरा छ यहाँका मानिसहरू अहिले पनि नेपाली भनेपछि कडा शारीरिक श्रम गर्ने मान्छे भनेर चिन्ने गर्छन् । जस्तो कि होटलहरुमा, कोठीहरुमा काम गर्ने, चौकीदारी गर्ने जस्ता कामहरु नेपालीले गर्छन् भन्ने छाप यहाँका मानिसहरुमा छ । नेपालीहरुले बैंकिंग, कम्प्यूटर, पत्रकारिता, अफिसियल आदि बौद्धिक क्षेत्रमा पनि काम गर्छन् भन्दा यीनीहरुलाई पत्याउन गाह्रो हुन्छ । यस्तो मानसिकता रहेको ठाउँमा काम गर्नु पर्दा त्यो पनि अझै हामी विदेशीहरु भएकोले प्रायःजसो नेपालीहरु भेदभावको शिकार भई नै रहन्छन् । तर पनि बेला बेलामा हुने हाम्रा सभा, सम्मेलन, पत्रकार सम्मेलन, विभिन्न प्रगतिशील पर्व र दिवसका कार्यक्रमहरु विभिन्न मीडियाको माध्यमबाट प्रचार प्रसार भइरहने हुनाले नेपालीहरु सचेत र संगठित छन् । यीनिहरुको बीचमा बलियो एकता छ भन्ने कुरा थोरै मात्रामा भए पनि यहाँका मानिसहरुले बुझ्न थालेका छन् ।

यात्राका दौरानमा नेपालीहरु बढि मात्रामा लुटिने, कुटिने घटनाहरु सुन्नमा आउँछ, त्यसप्रकारका समस्याहरु समाधानका लागि के कस्ता योजना छन् ?
– हो । यस्ता घटनाहरु पनि घटी रहन्छन् । रेल यात्राको क्रममा नेपाली डक्यूमेन्ट देखाउँदा विदेशी भनेर अनावश्यक दुःख दिने । भारतको आधार कार्ड देखाउँदा कसरी फर्जी डक्यूमेन्ट बनाइस भनेर टीटीले दुःख दिएको कैयौं घटनाहरु छन् । सीधा सादा नेपालीहरुले टीटी सित प्रतिवाद गर्न नसकेर टीटीलाई घुस खुवाएर यात्रा गरेका कैयौं उदाहरणहरु छन् । कतिपय अवस्थामा असामाजिक तत्वले नेपालीहरुलाई दुःख दिने गर्छन् । उनीहरु समुहमा हुन्छन् भने नेपालीहरु एक्लो हुन्छन् र उनीहरुबाट लूटपाट र कुटपीटसम्म सहन बाध्य हुन्छन् । त्यसैगरी बसमा यात्रा गर्दा पनि त्यस खालका घटनाहरु घटछन् । खाने कुरामा विषादी मिलाई खुवाएर बेहोश बनाई लुटेका घटनाहरु पनि छन् । हामीले यस विषयलाई लिएर विभिन्न समयमा ज्ञापन प्रत्र, पत्रकार सम्मेलन आदिको माध्यमबाट सम्बन्धित निकायलाई झकझक्याउने काम गरिरहेका छौं । नेपाल बार्डरसम्म लामो रुटमा चल्ने बसमा हुने ठगीको विरुद्ध उत्तर प्रदेश परिवहन निगमको कार्यालय लखनउसम्म गएर यसको समाधानको लागि पहल गरी दिन आग्रह समेत गरेका छौं ।

अब आउने चुनावमा प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चिताको कत्तिको संभावना देख्नु हुन्छ ?
– नेपालमा हुने निर्वाचनमा प्रवासी नेपालीहरुलाई मताधिकारको सुनिश्चितता मात्र होइन, समानुपातिक प्रतिनिधित्व समेतको व्यवस्था सरकारले गर्नै पर्छ । यो विषय सबै भन्दा पहिला हाम्रो संगठनले नै उठाएको अत्यन्त जायज विषय हो । किन भने आज लाखौंको संख्यामा नेपालीहरु संंसारका विभिन्न देशहरुमा पुगेका छन् र आफ्नो कर्मभुमि बनाएका छन् । तीनै नेपालीहरुले मेहनत र पसीना बगाएर पठाएको रेमिट्यान्सबाट देशको अर्थ व्यवस्थामा मदद पुग्छ । पौने तीन करोड जनसंख्या भएको हाम्रो देशमा लाखौंको संख्यामा रहेका प्रवासी नेपालीहरुको सहभागीता बिना हुने निर्वाचन अधुरो हो । आजको इन्टरनेटको दुनियाँमा प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्नु सरकारको लागि ठूलो समस्या होइन । सरकारलाई आवश्यक परे विभिन्न देशमा रहेका राजदूतावास, वाणिज्यदूत, विभिन्न देशमा क्रियाशील नेपाली संघ संस्थाको मददबाट छिटो भन्दा छिटो यो व्यवस्था मिलाउनु पर्छ । यसका लागि हाम्रो पार्टी र हाम्रो संगठनले बारम्बार आवाज उठाउँदै आइरहेको छ । यदि छिटै प्रवासी नेपालीहरुको मताधिकारको सुनिश्चितता भएन भने कड़ा कदम सहित सड़कमा उत्रन बाध्य हुनेछौं ।

नयाँ परिस्थितिमा संगठनलाई अगाडि बढाउन के कस्ता आगामी कार्यनीति बनाउनु भएको छ ?
–हाम्रो संगठनको यो चार दशक लामो यात्रा सरल र सहज तरीकाबाट मात्र सम्भव भएको होइन । विभिन्न बाधा, अड़चन, आरोह र अवरोहलाई पार गर्दै यहाँसम्म आउन सफल भएको हो । संगठनको स्थापना कालको अवस्था र अहिलेको अवस्था एउटै छैन् । केही वर्ष पहिला र अहिलेको परिस्थितिमा पनि धेरै नै परिवर्तन आइसकेको छ । अहिले हामीसँग संगठन विस्तारको लागि पर्याप्त मात्रामा श्रोत साधन उपलब्ध छ । तर हामीले ती श्रोत साधनको सदुपयोग गर्न सकेका छैनौं । जति धेरै सुविधा हामीले पाएका छौं त्यति नै धेरै अल्छीपना पनि देखिन थालेको छ । तर पनि सबै चीजको फैसला विचार र राजनीतिले गर्छ भन्ने मान्यता हामी राख्छौं । त्यसकारण अहिलेको नयाँ परिस्थितिमा संगठन विस्तारको लागि सर्वप्रथम हाम्रा कार्यकर्ताहरुलाई सैद्धान्तिक, राजनीतिक र व्यवहारिक रुपमा परिपक्व बनाउँदै लैजाने र आम जनमानसमा चेतनास्तरको वृद्धि गर्ने, उनीहरुमा देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था बारे जानकारी गराउँदै उनीहरुलाई संगठित गर्ने हाम्रो प्रयास रहनेछ । आजका खासगरीकन युवा पुस्तामा राजनीति भनेको फोहोरी खेल हो, यसबाट टाढा रहनु पर्छ भन्ने मानसिकता पनि पाइन्छ । राजनीति आफैमा फोहोरी खेल होइन, केहि सिमित व्यक्तिको कारणले त्यसो देखिएको हुन सक्छ, त्यस्ता पात्र र प्रवृतिलाई खबरदारी गर्दै स्वच्छ राजनीतिक वातावरणको निर्माण गर्ने दायित्व हाम्रै काँधमा छ भन्ने कुरा युवा पुस्तालाई बुझाउन जरुरी छ । साथै जसरी आज नयाँ नयाँ तकनीक र प्रविधिको विकास भएको छ, ती तकनीक र प्रविधिलाई हामीले आफ्नो पक्षमा सदुपयोग गर्दै जानु पर्दछ । यीनै र यस्तै योजनाका साथ अगाड़ी बढ़दै जाने योजना छ ।

अन्तमा केही छुट्यो कि ?
–मलाई आफ्नो विचार राख्ने अवसर दिनु भएकोमा तपाईं र नेपाली समाचार साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु । यतिबेला राष्ट्रियता नै धरापमा परेको छ । भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपु लेक, लिम्पयाधुरालाई आफ्नो भूगोलमा पारेर नयाँ नक्शा जारी गरेको छ । त्यसको विरुद्ध नेपाली जनता सड़कमा उत्रेका छन् । यो अवस्थामा सम्पूर्ण नेपालीहरु एकताबद्ध भएर शक्तिशाली आन्दोलन उठाउन आवश्यक छ । त्यति मात्र होईन, पूर्वको काँकड़ भित्तादेखि लिएर पश्चिमको महेन्द्र नगरसम्म भारतद्वारा अतिक्रमण गरिएको सम्पूर्ण नेपाली भुमि फिर्ता गराउन आम नेपालीहरुलाई आफ्नो राजनीति, वर्ग, भाषा र धर्मबाट माथी उठेर यो आन्दोलनलाई सफल बनाउन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार