स्वर्गद्वारीमा केबुलकार बनाउन सांसद जिसीको माग

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रसिद्ध पर्यटकीयस्थल प्युठानको स्वर्गद्वारीमा केबुलकार निर्माण गर्न माग गर्नुभएको छ ।

प्रदेश ५ को आर्थिक वर्ष २०७७/७८को बजेटमाथिको विषयगत छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले लुम्बिनी पछिको प्रदेशकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल स्वर्गद्वारीमा केबुलकार सुरु गर्ने घोषणा गतवर्ष नैगरिएपनि पर्यटन मन्त्रालयले बजेट नदिएको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय राजनैतिक पूर्वाग्रही भएको आरोप पनि लगाउनुभयो ।

‘ओखरकोट ग्रामिण पर्यटनका दृष्टिले अति महत्पूर्ण स्थान हो । उदाँउदो र अस्ताउँदो सूर्यको मनोरम दृष्यको साथै त्यहाँबाट तराईका फाँटको समेत अवलोकन गर्न सकिन्छ । त्यहाँ भ्यू टावर स्थापना गर्नसके भित्री र बाहिरी पर्यटक भित्राउने प्रसस्त सम्भावना छ’ उहाँले भन्नुभयो । संघीय सांसद दुर्गा पौडेलको विकास कोषको सानो हिस्सा र गाउँपालिकाको थोरै लगानीबाट चीनको ग्रेटवाल जस्तै मिनि ग्रेटवाल निर्माण भएको पनि उहाँले स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘२२ से २४ से राजाको दरबार समेतको भाग्नावेश समेत पुरातात्विक हिसाबले अति महत्वपूर्ण छ । सेरोफेरोमा रहेका देशकै १०० गन्तब्यमा सूचिकृत एशियाकै ठूलो प्राकृतिक रक गार्डन, ढुंगे युगको चाल चलन र संकृति झल्काउने ईस्नाथान, खड्क कोट र भुल्केको बुद्धको विशालकाय प्रतिमा बन्न सक्ने कल्पना गरिएको चट्टान आदि असिमित सम्भावना भएका स्थानहरुको ब्यवस्थापन गर्न सके देश विदेशका पर्यटक भित्राउने केन्द्र बन्न सक्छ ।’ सांसद जिसीले यति महत्वपूर्ण स्थान आफ्नै प्रदेशभित्र पर्छ भन्ने प्रदेश सरकारलाई थाह छकि छैन भनि प्रश्न पनि गर्नुभयो ।

उहाँले ओखरकोटको भ्यू टावर, रोल्पा खुंग्रीको शहिद प्रतिक्षालय सहित जम्मा तीन वटा माग सम्बोधन गराउन पटक–पटक पुग्दा पनि तीन वर्ष देखि राजनैतिक पूर्वाग्रह र महिला भएकै कारण एउटा योजना पनि सम्बोधन नगरेको भन्दै रोष प्रकट गर्नुभयो ।

उहँले तस्कर र वन रक्षक मिलेर ठूलो मात्रामा वन विनास र चोरी निकासी भैरहेको र अर्को तर्फ विदेशबाट महंगो काठ मगाएर फर्निचर वनाउन पर्ने बाध्यताको अन्त गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार