स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई संरक्षण नगर्न मसालको चेतावनी

  •   
  •  
  •  
  •  
  •  
  •  

74 जनाले पढ्नु भयो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले घटनामा संलग्नलाई राजनीतिक संरक्षण नगर्न चेतचावनी दिनुभएको छ ।

सो घटनामा संलग्नमध्येका एक जना सत्तारुढ दल एमालेका नेता रहेको समाचार आइरहेका बेला मसालले उनीहरुले राजनीतिक संरक्षण पाउने आशंका गरेको हो । मसालले कोरोना संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने ठाउँमा उनीहरुमाथि नै आक्रमण हुनु निन्दनीय भएको जनाएको छ ।

अस्पतालका अनुसार उपचार क्रममा आफ्ना मानिस ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीहरूलगायत ४/५ जनाको समूहले बिहीबार राति डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए।

आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ :

‘नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको घटनालाई हाम्रो पार्टीले निन्दा र भ्रत्र्सना गर्दछ । स्पष्ट छ कि विश्वव्यापी रुपमा कोरोना महामारी विरुद्धको संघर्षमा चिकित्सक र स्वास्थ्यकर्मीहरू नै अग्रमोर्चामा रहेका छन् ।

त्यसरी विश्वव्यापी महामारीको सामना गर्ने सन्दर्भमा अग्रमोर्चामा उभिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति सम्पूर्ण मानवसमुदाय तथा राज्यबाट संयमता अपनाई सम्मानजनक तथा समझदारीपूर्ण व्यवहार गरिनुपर्दछ । त्यो सिलसिलामा अहिलेको संकटपूर्ण घडीमा राज्य र नागरिक समुदाय सबैले सुझबुझका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्नुपर्दछ ।

चिकित्सक र स्वास्थ्यकर्मीले जोखिमपूर्ण परिस्थितिमा पनि मानवसेवामा खटिएर कोरोना महामारीबाट मानवजातिलाई बचाउन ऐतिहासिक योगदान दिइरहेको परिप्रेक्ष्यमा भेरी अञ्चल अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि गरिएको आक्रमण र तोडफोड अपराधजन्य छ ।

उक्त अपराधजन्य घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई सरकारले तुरुन्त कारवाही गर्नका लागि हाम्रो पार्टीले सरकारको ध्यान आकर्षित गर्दछ । वर्तमान परिस्थितिमा त्यस प्रकारका अपराधजन्य क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कुनै पनि कारण देखाई कसैबाट पनि संरक्षण गर्ने कार्य नगरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता तथा उच्च मनोबल कायम राख्न तुरुन्त कदम उठाउनका लागि समेत हामीले सरकारसित माग गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *