हरियो चुराले छुन नसकेको मेरो मन

  •   
  •  
  •  
  •  
  •  
  •  

363 जनाले पढ्नु भयो ।

–कौशिला रिसाल

अहिले श्रावण अर्थात् साउन महिनाको मध्य हुँदैछ । यो वर्षा ऋतुमा पर्ने अत्यन्त उर्वर महिना हो । प्राकृतिक रूपमा हरियालीको महिना हो । हरियाली साउनको विशेषता नै हो भने खेती बाली लगाउने महिना भएकोले पनि यसको आगमनले अझ महत्व राखेको हुन्छ । यस महिनामा प्रकृतिले अन्नबाली हरियो भई उत्पादन बढ्ने संकेत देखाउँछ । श्रावणको प्राकृतिक महत्व यस किसिमले पनि विशेष छ ।

यस महिनासँग हरियो चुराको साइना के हो ? फेरि साउनमा महिलाले लगाउने मेहन्दी र पहेँलो पहिरनले के अर्थ राख्छ ? किन साउनमा महिलाहरू हरिया, पहेला बस्त्र र हरियै चुरामा आफू सिंगारिएको र सजिएको ठान्छन् ? यो परम्परागत संस्कृति थियो कि ? यसलाई हामीले संस्कृति बनाउन खोजिएको हो कि ? यद्यपि पूर्वीय शास्त्रमा कतै पनि साउनसँग हरियो चुरा र हरियो बस्त्र जोडिएको भने पाइँदैन । जहाँसम्म लाग्छ भारतका मुस्लिम समुदायका मानिसहरूले आफ्नो व्यापारको लागि चुरा बनाएर बेच्न सुरु गरे ।

हामीले चाहिं विहे गर्दा त्यही चुरालाई अनिवार्य गर्यौं । विहेका दिनमा पुरुषले महिलालाई चुराको हतकडी लगाइ दिन थाले जसका कारण राता चुरा विहेको बन्दन बन्न पुग्यो । श्रीमान मर्दा महिलाले यिनै हातका चुरा फुटाउने नराम्रो परम्परा बसाले । श्रीमान भएका र नभएकाबिच फरक जनाउन विधवालाई हातमा राता चुरा लगाउन बन्देज गरियो । यो नै आजसम्म महिलाको नाममा लादिएको विभेदपूर्ण संस्कारको प्रतिफल हो । साउन लागेपछि सामाजिक संजालमा अधिकांश महिलाका हरिया चुरा र मेहेन्दी पोतिएका रङ्गिन हात देखिए । कसैले लेखे– “सुन मागेको छैन ३०÷३५ को चुरा हो ।” पुरुष साथीले सौन्दर्यको खुलेर प्रसंसा गरे । चुरा लगाउन उक्साए । मेहन्दीलाई स्वीकृति जनाए । यसलाई मैले उदाहरणको रूपमा मात्र प्रस्तुत गरेको हुँदा कसैले पनि अन्यथा नलिनु होला ।

यी सबै स्वतन्त्रतासँग जोडिएका विषय पनि हुन् । चुरा र मेहन्दी लगाउनु स्वतन्त्रता हो, फोटो पोष्ट गर्नु पनि स्वतन्त्रता नै हो । तर मैले भन्न खोजेको के हो भने हामीले यी कार्य के का लागि गर्दैछौँ ? थोरै सोंच्ने हो कि ? नेपालमा झण्डै डेढ करोड महिला छन् । एउटा हातमा लगाएको तीस पैँतीसको चुरा र मेहन्दी जोड्दा कम्तिमा ८० देखि १०० रुपैँया त पुग्ला । अनि समग्रमा भारतीय चुरा र मेहन्दीका लागि मात्र भएपनि हामीले कति खर्च गर्यौं त ? उता भारतले आफ्नो व्यापार कसरी बढाउँदै रहेछ त ? म्हेन्दी भारतीय संस्कृति हो भने यो व्यापारिक उद्देश्यले नेपाल पसेको हो । त्यसरी नै चुरा संस्कृति पनि भारतबाटै आयातीत हो । हरिया चुराको भने आजसम्म भेद खुल्न सकेको छैन ।

साउनमा पार्वतीले निराहार व्रत बसी शिवलाई प्राप्त गरिन् भन्ने जुन खालको प्रसङ्ग छ, यस किसिमको अन्धविश्वासको पछाडि लागेका देखिन्छन् महिलाहरू । पुरुष र महिला प्रकृतिका देन हुन् । एकलाई अर्काको आवश्यकता हुनु, चाहना राख्नु मानवीय स्वभाव हो । तपाइँलाई मनपर्ने पुरुषले यदि व्रत बसेर हरिया चुरा लगाएकै कारण तपाइँलाई मन पराउने हो कि नबस्दा पनि हो ? खास व्रत बस्दा मात्र तपाइँले श्रीमान् पाउने र व्रत नबस्दा गुमाउनु पर्ने हो त ? यी कुरामा महिलाले विचार पुर्याउनु पर्ला कि ?

आज आएर विशेष रूपमा साउन महिनामा हरिया र पहेँला चुरा सौन्दर्य प्रशाधनको साधन बन्दै गएका छन् । मलाई लाग्छ कुनै पनि कार्यको पछाडि कारणको आवश्यकता पर्छ । कारणको पुष्टि भयो भने मात्र कार्य गर्नु उचित हुन्छ । हामी खाना किन खान्छौँ ? कारण छ भोक मेटाउन । यस्तै जुनसुकै कामका पछि कुनै न कुनै कारण लुकेकै हुन्छन् । अर्को कार्य सृजनाका निम्ति कारण अनिवार्य हुन्छ । हप्तामा एक दिन व्रत बस्न्नु, फलाहार गर्नु चिकित्सा विज्ञानले स्वीकारेको छ । तर शरीरले नसकी नसकी अरुलाई देखाउनकै लागि र श्रीमानलाई खुसी पार्नकै लागि भनेर व्रत बस्नु संस्कृृतिको नाममा एक किसिमको ढोङ हो ।

नेपाली समाजका महिलाहरूमा साउनमा व्रत वसे मनले सोंचेको पुग्छ भन्ने जुन खालको विश्वास छ त्यो नितान्त रूपमा भ्रम हो । राम्रो काम गरेर कुनै क्षेत्रमा स्थापित हुन आफू सक्षम हुने कि ? परम्परित अन्धतालाई पछ्याउने ? भारतबाट आयातित चुरा र मेहन्दी हातमा लगाएर व्रत बसेर सोंचेका कुरा पाइने भए हामीले किन काम गर्नुपर्यो ? किन विश्वविद्यालय धाउनु पर्यो ? एक पटक राम्ररी सोचौँ । हामीले हातभरि दर्जनौँ चुराको भारी बोकेर नयाँ पुस्तालाई के सिकाउने ? कहीँ कतै, कसैले अलिकति पनि अरुको स्वतन्त्रतामा व्यवधान गर्न हुँदैन ।

तापनि आफूलाई सहज हुने पहिरन लगाउनु र उचित्र श्रृङ्गार गर्नु नै सबैको हित होला । मेहन्दीको विषयलाई लिएर केही कुरा स्वास्थ्यसँग पनि जोडिएका छन् । हामीले समाजको संस्कार र संस्कृतिलाई व्यवहारमा मनन गर्दै लानुपर्छ । अनावश्यक चलन लादेर संस्कृति बनाउनु मुर्खता हुन जान्छ । हाम्रो कर्म असल हुनुपर्छ । समाजलाई मार्गदर्शन हुने खालको कार्यमा हाम्रो निरन्तरताको खाँचो छ । अरुले गरेका हरेक कुरा राम्रा नै हुन्छन् भन्ने छैन । चाहे नेपाली हुन् या चाहे भारतीय या पश्चिमी देशका संस्कार यदि असल छन् भने अनुसरण गर्नु उचित होला नत्र व्यर्थमा पछि लाग्नु सान्दर्भिक छैन । हरिया चुरा र पहेँला वस्त्रबिना नै मनलाई पवित्र राख्न सकिन्छ । यी नलगाउँदा पनि अरुप्रतिको सद्भाव र माया घटेर जाँदैन र लगाएर बढ्ने त हुँदै होइन । सबैभन्दा असल हाम्रो चेतनास्तर कति छ भन्ने हो ।

छ वर्ष अघि खाना पकाउने एलपी ग्याँस, इन्धन लगायत अत्यावश्यक वस्तुमा नाकाबन्दी लगाएको भारतको विरोधमा उत्रेका हामी चुपचाप भारतीय चुरा र मेहन्दी पोतेर बसेका छौँ । सिँगारिएर हिडेका छौँ । के यसले हाम्रो स्वाभिमानलाई बचाएको छ त ? हामी हातभरि हरिया र पहेँला चुराबिना श्रावण बिताउन नसक्ने नै हौँ त ? सबै नेपाली महिलाले एकपटक मनन गरौँ । चुरा होइन, सद्भावको उपहार बाँडौँ । यो राम्रो संस्कृति पक्कै होइन र पनि करोडौँँ रुपैँया विदेश पठाएर देशलाई घाटा पु¥याइरहेका छौँ ।
(चर्चित खबर अनलाइन पत्रिकाबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *