हामी प्रवासीहरुप्रति सरकार कहिले सम्वेदनशिल होला ?

  •   
  •  
  •  
  •  
  •  
  •  

787 जनाले पढ्नु भयो ।

  • त्रिभूवन भट्टराई

अहिले नेपालको सरकार कम्युनिष्ठ सरकार हो भन्ने हल्ला नेपालमा त छ छ, दुनियाँ भरि निकै फैलाइएको छ । स्वयं सरकारले पनि आफुलाई समाजवाद उन्मुख सरकार भन्दै दशहात कुर्लिन्छ । अहिले ब्यापक रुपमा देखिएको सरकारको जनबिरोधी कृयाकलापले भने अहिले नेकपाको सरकारप्रति अनगिन्ती प्रश्नहरु खडा भएका छन् । नेकपाको सरकार कम्युनिष्ठ सरकार हो या हैन र यो सरकार समाजवादी दिशामा उन्मुख छ या छैन ? त्यो उसको परिणाले नै सावित गर्नेछ । संविधान समाजवाद उन्मुख छ तर यो सरकार समाजवाद उन्मुखबाट विमुख हुँदै गएको देखिन्छ । यो सरकारको व्यवहारलाई गम्भिर भएर नियाल्ने हो भने, नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद वा भारतको उत्तर प्रदेशका अखिलेस यादवको समाजवाद जस्तै जस्तै देखिन थालेको छ ।

अहिले संसारमा कोरोनाले आफ्ना खुनी पञ्जाहरु गाडिरहेको अबस्थामा नेपालमा पनि कोरोनाको ठुलो खतरा छ । भारतमा कोरोनाको बढ्दो अबस्था र नेपाल–भारतको खुला सीमानाको कारण नेपालमा ठुलो जोखिम छ । यो कठिन समयमा नेपाल सरकारले पुरै नेपाल लकडाउन त गरेको छ तर यसका व्यवहारिक पक्ष भने अरु केही देखाउँछ । नेपाल–भारतका बोर्डरहरुमा आवत जावत त बन्द छ, बोर्डर पनि शिल छ तर त्यसका कतिपय पक्षमा ध्यान दिंदा समस्या गम्भीर देखिन्छ । केही दिन पहिला भारतीय मिडीयाहरुले नेपालका नागरिक जालिम मुखियाले नेपालबाट ४०/४५ जना कोरोना संक्रमित व्यक्ति भारतमा पठाएर कोरोना फैलाउने साजिस गरेको भन्दै ठूलो हल्ला फैलाए । त्यसबारे नेपाल सरकार चुँसम्म पनि बोल्न सकेन । नेपाल सरकारले भारतीय मिडियाहरुद्वारा फैलाइएको यस्तो गलत अफाहको प्रतिरोध गर्ने आँट समेत गरेन । त्यसको एक हप्ता पनि नवित्दै उदयपुरको गाइघाटमा १६ जना कोरोना संक्रमित भारतीय नागरिकहरु भेटिए । यहाँनेर गम्भीर सवाल उत्पन्न हुन्छ ति धार्मिक कट्टरपन्थीहरु कसरी नेपाल प्रवेश गरे ? सीमाना त शिल छ । ८ सय किलोमिटर पैदल हिंडेर सीमानासम्म पुगेका आफ्ना नागरिकहरुलाई त लकडाउनले छेकेको छ, तर ति कट्टरपन्थीहरुलाई किन छेकेन ? यस बारे पनि नेपाल सरकार अमुक तथा बधिर जस्तै चुपचाप बसिरहेको छ ।

अहिलेको समय भनेको लकडाउनको समय हो, लकडाउनमा जो जहाँ छ त्यहीं बस्नु पर्ने हो । लकडाउनमा फसेका जुनसुकै देशका भएपनि हिफाजत गर्ने काम सरकारको हो । लकडाउनमा फसेका मान्छेहरु सबैको अबस्था एकनास पनि छैनन् । सम्पन्न शाली मान्छेहरु र गरिखाने मान्छेहरुको बिचको अन्तरमा हुने अबस्थामा फरक छ । एकथरि मान्छेरु यो लकडाउनलाई पिक्निकको रुपमा लिइरहेका छन् । दिनमा चार पहर बिभिन्न परिकार बनाई फेसबुक, वाट्सप र ट्युटरमा शेयर गरिरहेका छन् भने अर्काथरि मान्छेहरु भोकै दिन काटन् बाध्य छन् । यहाँसम्म की भोक र शोकको कारणले आत्महत्या जस्ता घटनाहरु पनि हुन थालेका छन् । कैयौं स्थानहरुमा गरिबहरु बच्चालिएर सड्कमा भोकै प्यासै पल्टिरहेका छन् भने कोही ७/८ सय किलोमिटरसम्म पैदल यात्रा गरेर आफ्नो गाउँ फर्कंदैछन् ।

लकडाउन सुरु भएपछि नेपाल सरकारले आफ्नो प्रशासन मार्फत लकडाउन सशक्त प्रकारले लागु गर्दै छ । मान्छे किन घर बाहिर निस्किन्छ ? मेडीसिन लिन आएको होकी, घरमा राशन नभएर लिन पो आएको होकी नबुझि पुलिसले मान्छेहरुलाई भाटा हानिपनि रहेको छ । लकडाउन अबधिमा सरकारले मजदुर, किसान, ज्यामी, भरियाप्रति आफ्नो बर्गिय चरित्र पुरै उजागर गरेको छ । लाठी, बुट र बन्दुकको भरमा भोको पेट कसरी खटाएर बस्न सक्छ मान्छे ?

ठिक छ, लकडाउन हामी सबैलाई बाच्न र बचाउनको लागि हो तर जनचेतनाका लागि सरकारले के पहल गर्यो ? लकडाउन अबधिमा फसेका जनताका दैनिक जीबनलाई भित्रभित्रै चलाएमान बनाउनु सरकारको जिम्मा हो, तर नेपाल सरकारले लकडाउनमा बसेका जनताप्रति जिम्मेबार तथा उत्तरदायी भूमिका निभाउन सकेन नै, ठिक उल्टो सरकार निरंकुश, तानाशाही र निर्दयी बन्दै गइरहेको छ ।

कैयौं नेपाली नागरिकहरु दिल्लीबाट गर्भवती महिला, बच्चा बच्ची सहित ठुलो संख्यामा पैदल हिँड्दै नेपालको सीमानासम्म पुगे । सयौं किलोमिटर पैदल हिंडेर नेपाल पुग्ने कुरा सामान्य हैन । बाँच्नको लागि र मातृभूमिको ममताप्रतिको प्रस्तुती पनि हो यो । ति पैदल यात्रीहरु बिगत २५ दिनबाट आज पनि बोर्डरमा भोकै प्यासै आफ्नो देशप्रति आश लगाएर बसिरहेका छन् । के सरकार भन्न सक्छ बोर्डरमा बसेका नागरिकहरु आफ्ना हैनन् भनेर ? के सरकारले बोर्डरमा बसेका नेपालीहरुलाई सुरक्षाको दिन सकेको छ ? के त्यहाँ खान बस्न व्यबस्था मिलाइएको छ ? हैन भने किन बोर्डरमा नेपालीहरुलाई लाबारिस छोडियो त ? यो सरकार नेपाली जनताको हो भने ति बोर्डरमा भएका नेपालीहरुलाई तुरुन्त नेपाल प्रबेश गराउनु पर्छ र सबैको चेकजाँच पछि आवश्यकता अनुसारको व्यवस्थापन मिलाउनु पर्छ । कोरोना संक्रमणको बहानामा आफ्ना २ हजार नागरिकहरुलाई बोर्डरमा अलपत्र पर्नुपर्ने, काठमाडौंबाट डोटीसम्म, पाल्पाबाट धनगढीसम्म, बुटबलबाट ८ दिनकी सुत्केरी नेपालगञ्जसम्म साइकलमा रक्त्याम्मै हुँदै बाटामा हिडन बाध्य हुनुपर्ने कम्यूनिष्ट पार्टीको शासन सत्ताको वेलामा ? जसले मजदुरी गरेर दैनिक जीबिका चलाएका थिए उनीहरु पनि भोकभोकै मर्नुपर्न अवस्था श्रृजना भएको छ, के यो पनि सरकारका जनहितका लागि गरिएका काम हुन् त ? यी बीच बाटामा बिचल्लीत नेपालीहरुको उद्दार कसले गर्ने ? त्यसको जिम्मेबारी कसले लिने ? यो सरकारमा अलिकति पनि मानबियता छ भने उसले आफैले सोंच्नु पर्ने विषय हो ।

अहिले संसार भरमा नेपालीहरुको स्थिती अत्यन्तै नाजुक बन्दै गएको छ । अमेरिका, इटली, स्पेन, भारत लगायतका मुलुकहरुमा हजारौं नेपालीहरु कोरोना संक्रमित भएका खबरहरु आइरहेका छन् । अमेरीकामा कोरोना पिडीत नेपालीलाई अस्पताल भित्र घुस्न नदिएर घरमा खुरि खेल्दै मरेको समाचार जगतमा छ । यस्तो भयावह अवस्था संसारका अन्य देशहरुमा पनि नहोला भन्न सकिंदैन । यस्तो अवस्थामा सरकार कहिले गम्भिर बन्ने र ध्यान दिने ? संसारका विभिन्न देशहरुमा रहेका राजदूतावासहरु कहिले जिम्मेवार हुने ? बिडम्बना यी नै प्रबासी नेपालीहरुको श्रमबाट प्राप्त हुने रेमिट्यान्सले सरकारको अर्थतन्त्र चल्छ, तर विश्वस्तरमा फैलिएको महामारीको वेलामा समेत आफ्ना नागरिकको संरक्षणका लागि सरकार सम्वेदनशिल बन्दै ।

देशका गरिब जरुरत मन्दहरुलाई राहात दिनुको साटो ठुलो पैमानामा भ्रष्टाचारमा तल्लिन रहेको खबर पनि सुन्नमा पाइन्छ । यसरी हेर्दा त सरकार माथिबाट तलसम्म भ्रस्ट देखिन्छ । हालै स्थानीय सरकारले नगन्य र सिमित रुपमा राहात बाँडन लाग्दा आम सर्बसाधारणलाई १० किलोको राहात तौलने तराजुमा गडबढ गरेर ७ किलो दिन्छ । यस्तो आपत बिपतको समयमा पनि जनतामामा आएको राशन, तेल, नुनमा समेत भ्रष्टाचार ? सरकारका यी सबै जनबिरोधि कृयाकलाहरुलाई हेर्दा यो सरकारमा हुनु पर्ने जनपक्षिय कार्यदेखि कम्युनिष्ठ सरकार निकै टाढा देखिएको छ । आशा गरौं सुध्रिएर जनताको पक्षमा खरो उत्रनेछ, अनि नेपाली जनताले सरकार आफ्नो पक्षमा सम्वेदनशिल भएको प्रत्याभूमि महशुस गर्न पाउने छन् ।

(लेखक : मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *