हामी मानव कि रोवर्ट ?

शेयर यहाँबाट गर्नुहोस्
  •   
  •  
  •  
  •  
  •  
  •  

47 जनाले पढ्नु भयो ।

सुवाश जि.सि.

यो सहि हो- हामी विज्ञानको युगमा छौं । विज्ञानले कामको सजिलोको लागि रोवर्ट बनायो । `दुर्भाग्य´ त्यही विज्ञानको अनुचित प्रयोगले हामी नै रोवर्ट बन्दै छौं । मुलत हाम्रा काम, व्यवहार, सोंच्ने तरिका र यति सम्म कि हामीमा पैदाहुने विचार पनि यान्त्रिक, कहिलेकाही कृतिम र झण्डै झण्डै रोवर्ट स्टायलका हुन थालेका छन् । खासमा यसो हुनुको पछाडी दुईवटा कारण हुन सक्छन्- पहिलो हुनसक्छ- ज्ञानले प्रविधीको विकास गर्नुपर्थ्यो, हामीकहाँ प्रविधीले ज्ञान भित्राउँदै छ । दोस्रो- हामीलाई लाइब्रेरी थाहा हुन छाड्यो र हामी सामाजिक संजालहरुवाटै विचारहरुको निर्माण गर्न थाल्यौं ।

सामाजिक संजालको अर्थ हुन्छ समाजलाई जोड्ने जालो । अर्थात प्रविधिको माध्यमद्वारा कुनै एक व्यक्तिका विचारहरुलाई एकैपटक समाजमा संप्रेषण गर्नु वा सुचनाहरुको सामुहिक आदानप्रदान गर्नु । सामाजिक संजालमा व्यक्त गर्ने त्यसप्रकारका विचारहरु व्यक्तिले एकल रुपमा तयार गरे पनि सामाजिक संजालमा सेयर गरेपछी ती समाजको ठूलो हिस्सामा पुग्छन् र त्यसले सार्वजनिकरुप धारण गर्दछ ।

विचार सार्वजनिक हुँदैमा त्यो सामाजिक हुन्छ भन्ने हुँदैन । खासमा सामाजिक संजालको अर्थ सामाजिक विचारहरुको आदानप्रदान भएपनि विचारको रुप सामाजिक नहुदा सम्म त्यसलाई सामाजिक मान्न सकिँदैन । त्यसकारण हामीले सामाजिक संजालमा अभिव्यक्त गर्ने विचारहरु सामाजिक हुनुपर्ने हो, हुनुपर्दछ ।

सामाजिक विचार त्यसै उत्पन्न हुने होइन । त्यसकोलागि कम्तिमापनि व्यक्तिमा सामाजिक जीवन दर्शनको अध्ययन र त्यसको प्रभावको आवस्यकता हुन्छ । त्यसको साथै सोही अनुसारको व्यक्तिगत आचरण निर्माणको पनि जरुरी हुन्छ । तर विडम्बना हामी विषयवस्तुको अध्ययन, अनुसन्धान, खोज, विश्लेषण र त्यसको गहिराईमा पुग्नै सकेनौं, पुग्नै खोजेनौं । वरु हामी तिनै संजालहरुमा आउने सतहि विचारहरुको सिकार भएका छौं ।

हामीसङ्ग हाम्रो आफ्नै स्पष्ट घारणा र दृष्टिकोण छैन । छिनछिनमै हाम्रो धारणा वद्लिरहेको हुन्छ । कुनै एउटा विषयमा कसैले लेखेको एउटा स्ट्याटसको आधारमा एकैछिन हामीले एउटा विचार बनाइरहेका हुन्छौं । सोही विषयमा केहिबेरमा अर्को सुचना कसैले पोष्ट गर्यो भने हामीले फेरि आफ्नो धारणा परिवर्तन गर्छौं र बेग्लै दृष्टिकोण बनाइसकेका हुन्छौं । जस्तै कि कसैले नेतालाई गाली गरेर राजा नै उपयुक्त भएको विचार प्रवाह गर्यो भने हामी राजावादी भईसकेका हुन्छौं, फेरि कसैले राजालाई गाली गरेर लेख लेख्यो भने हामी गणतन्त्रवादी बनिसक्छौं । यसको अर्थ हो हामीसङ्ग हाम्रो आफ्नो विचार छैन, आफ्नो दृष्टिकोण र बुझाई छैन । यसरी हामी लगातार विचारविहिन दिशातिर दौडिरहेका हुन्छौं ।

एकातिर सामाजिक संजालले हामीलाई विचार र विवेकशुन्य बनाइरहेको छ भने अर्को तिर हाम्रो इमोशनलाई विचलित बनाएको छ । जस्तै हामीले कुनै आफ्नो आफन्तको मृत्युको खवर सुन्छौं र सामाजिक संजालमा उत्तिखेरै पोष्ट गरेर आफू निकै मर्माहत र दुखी भएको कुरा प्रेसित गर्छौं । त्यसको छिनमै कसैले विवाह गर्यो भने तुरुन्तै आफू अत्यन्तै खुसी भएको र कृतज्ञ भएको कुरा पोष्ट गरिभ्याउँछौं । यसरी एउटै मान्छे हरेक मिनेटमा अत्यन्तै खुसी र अत्यन्तै दुखि भइरहेको हुन्छ । यसले वास्तवमा हाम्रो मानवीय संवेगहरुलाई विचलित पारिरहेको छ । जसको कारण हामीले हाम्रा संवेगहरुमाथी नियन्त्रण गुमाउँदै छौं । अब हामीसङ्ग हाम्रो भावना छैन ।हामी रियल जीवन अर्थात सामाजिक संजाल विनाको जिवनमा रुने समयमा रुन सक्दैनौं, हाँस्ने समयमा हाँस्न सक्दैनौं । जसको कारण हामी विछिप्त हुँदैछौं र विछिप्तताको स्थितिवाट गुज्रदै छौं । यसको परिणाम ढिलो चाँडो मनोरोग र मनोरोगी हुनु नै हो ।

सबै भन्दा ठूलो कुरा विचारको निर्माण हो । आफुलाई चिन्ने विचार । समाज, देश र दुनियाँलाई बुझ्ने विचार । जिवनलाई हेर्ने विचार । जीवन दर्शनको विचार । त्यसकारण हामीले हाम्रो जिवनलाई सहि तरिकाले बुझ्न सक्यौं भने मात्र हामीले व्यक्त गर्ने विचारको अर्थ हुन्छ । अर्थ भएको विचारलाई समाजमा बाँड्न सक्यौं भने त्यसले सामाजमा अर्थ राख्दछ, त्यसको महत्त्व हुन्छ ।

सामाजिक संजालको प्रयोग हाम्रो विचारसङ्ग गरौं । आफ्नो विचारको लागि पहिले अध्ययन गरौं । अध्ययनको अर्थ होस् , निष्कर्ष होस् , त्यसलाई बाँड्यो भने समाजमा प्रभाव होस् । तवमात्र हामी सामाजिक संजालमा मानव देखिन्छौं । नत्र हामी मानव आकारका रोवर्ट, पपेट र कार्टुन जस्तै हुन्छौं , त्यस्तै लाग्छौं, जस्ले जसरी जतासुकै जेमा पनि हामीलाई प्रयोग गर्छ हामी प्रयोग भईरहेका हुन्छौं ।
२०७८-०२-०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *