हाम्रो संवेदनालाई समवेदना !

  •   
  •  
  •  
  •  
  •  
  •  

1666 जनाले पढ्नु भयो ।

बालाराम तिमिलसीना

निकै अभिसप्त छ हाम्रो संवेदना
निर्देशित, निस्प्राण र निरर्थक छ
म त्यो दुखी संवेदनालाई
हार्दिक समवेदना प्रकट गर्न चाहन्छु !

हामीलाई मान्छे कम
र माटो बढी दुख्छ
हामीलाई यात्रा कम
बाटो बढी दुख्छ
हामीलाई रगत कम
र पानी बढी दुख्छ
हामीलाइ हृदय कम
र हिमाल बढी दुख्छ
सायद हामी मान्छे कम
र ढुङ्गो-माटो पानी र हावा बढी हौं !

हामीलाई देश
बेस्सरी दुख्छ
र हतारमा निको हुन्छ
दुख्नको लागि व्युँझिन्छौं
र पञ्चवर्षीय निद्रा सुत्छौं
हामी राष्ट्रवादी बन्न व्युँझन्छौं
अनि गौरवको निद्रा सुत्छौं !

हामीलाई माटो पनि
पहाडको बढी र मधेशको कम दुख्छ
हामीलाई मान्छे पनि
गोरो बढी र कालो कम दुख्छ
हामीलाई माटो पनि
भूगोल हेरेर दुख्छ
हामीलाई मान्छे पनि
अनुहार हेरेर दुख्छ !

उहिलैदेखि हो
उसले सडक खनेको
हस्तिनापुर- सिंहदरवार
जुन सडकबाट ऊ
निर्वाध ओहोर दोहोर गरिरहन्छ !

वासिङ्टन -सिंहदरवार
वेइजिङ-सिंहदरवार
कसले खनेको छैन सडक ?
कसले दौडाएको छैन
अभिमानको गाडी
हाम्रा छात्तीको बाटो भएर ?
तर हामीलाई
स्वभिमान कम दुख्छ !

सडकहरू
स्थल मार्ग
हवाई मार्ग
र तरङ्ग मार्ग भएर बनिरहेछन
निर्वाध छिरिरहेछन् ती
हाम्रा भान्सा र ओछ्यानसम्म
जहाँबाट छिरेर तिनले हामीलाई
आफ्ना सांस्कृतिक नागरिक बनाईरहेछन् !

हामीलाई
उतैको धर्म मन पर्छ
उतैका धाम मन पर्छ
उतैका कृष्ण र राम मन पर्छ
नून तेल साइकल रेल
सबै उतैको मन पर्छ
सरफमा एरिएलदेखि
मनोरञ्जनमा सिरियलसम्म
सबै उतैको मन पर्छ !

हामीलाई हाम्रा युवाले
उसैको वर्दी लगाएर
उसैको बन्दूक बोकेर
उसको दुश्मनलाई आफ्नो दुश्मन मान्दै
गोली ठोकेको मन पर्छ !

हामीलाई हाम्रा युवालाई उसले
उसको सरहदको सुरक्षामा
आफ्नालाईभन्दा बढी पत्याएको मन पर्छ !

सायद हामी
हेपिन लायक छौं र हेपिएका छौं !
हाम्रो नक्कली राष्ट्रवाद
वुख्याँचा राष्ट्रवाद हो !

हामी लेण्डुपहरूको सरकार चुन्छौं
र उसलाई भिमसेन थापा बन्न भन्छौं
हामी लुसुलुस लैनचौर छिर्छौं
छात्रवृत्तिको लागि गिडगिडाउँछौं
र “रातो र चन्द्र सूर्य” गाउँदै हिड्छौं
सायद हाम्रो रगतमा पनि
वर्षौंको आहार बिहारले
गण्डकी कम बग्छ
गङ्गा बढी बग्छ
हामी दाम्लाले वाँधिन
र घाँस हालिन लायक नालायकहरू हौं
हाम्रो संवेदनालाई समवेदना छ !

यस्तो लाग्छ –
सायद हामी
हाम्रो सुझबुझ र वीरताले कम
कागतालीले जोगिएका छौं
सायद हामी उसकोलागि
“बाहरवाली” बन्न जोगिएका छौं !

आफैंभित्र टुक्रिएर
आफैंभित्र खिइएर
आफैंभित्र खुइलिएर
सायद हाम्रो राष्ट्रवादले
उहिलै आत्महत्या गरिसक्यो !

सायद हामी
मृत राष्ट्रवादको लास बोकेर
चितातिर हिडिरहेछौं !

सायद हामीलाई
यथार्थ कम र भ्रम बढी मन पर्छ
हामीलाई केवल हल्ला मन पर्छ !

आफ्नै संवेदनाको मृत्युको
यो दुखद क्षणमा
समवेदना प्रकट गर्नु र रुनु
रुनु र हलुका हुनु
हलुका हुनु र सोच्न थाल्नु
यही नै सही कर्तव्य हो !

आउनोस खलपत्रे राष्ट्रवादीहरू
हाम्रो संवेदना-मृत्युले आहत बनेको
यो कहाली लाग्दो घडीमा
आफैंले आफैंप्रति समवेदना प्रकट गरौं !

२०७७|०१|

Leave a Reply

Your email address will not be published. Required fields are marked *