हुलाकी सडकको निर्माणमा हस्तक्षेप आपत्तिजनक: मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं ८ पचुईमा भारतीय पक्षले पूर्व पश्चिम हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेकोप्रति आपत्ति जनाएको  छ ।

बिहीबार वक्तव्य प्रकाशित गरी मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालको भूमिमा रहेको हुलाकी सडक कालोपत्रे गर्नबाट रोक लगाउन खोज्ने भारतीय साम्राज्यवादी नीतिको विरोध गर्नुभएको छ । उहाँले यस विषयमा नेपाल सरकारले आवश्यक कदम उठाएर उक्त सडक निर्माणको कार्यलाई अगाडि बढाउन जोड दिनुभएको छ ।

यस्तो छ वक्तव्यः

‘२०७६ सालको चैत्र महिनामा नेपाल तथा भारतको प्राविधिक टोलीले कञ्चनपुर जिल्लासँग जोडिएको नेपाल भारत सिमानमा संयुक्त रूपमा स्तम्भ निर्माण गर्ने कार्य अगाडि बढाइएको थियो । नेपालतर्फ सिमा स्तम्भ निर्माण गर्ने क्रममाा कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रमा लामो समयदेखि भोगचलन गर्दै आएका नेपाली किसानहरूको लालपुर्जा प्राप्त जमिन सहित नेपालतर्फका नर्सरी, सिंचाइ नहर, स्थानीय विद्यालयको लालपुर्जा प्राप्त जमिन, निर्माणाधीन हुलाकी सडकका केही भाग समेत भारततर्फ पारिएकोमा त्यसको विरोध स्थानीय जनता लगायत देशव्यापी रूपमा भएको थियो । त्यसरी नेपालको भूमिलाई वैधानिक ढङ्गले भारतीय पक्षले अतिक्रमण गरेपछि त्यो संयुक्त सिमाङ्कनको कार्य रोक्ने सहमति भएको थियो ।

अहिले नेपालकोतर्फबाट कञ्चनपुरदेखि झापा जोडेने निर्माणाधीन हुलाकी सडकको कञ्चनपुर बेलौरी खण्डको बेलौरी नगरपालिकाको वडा नं. ८ को पचुई क्षेत्रमा भइरहेको हुलाकी कालोपत्रे सडक निर्माण कार्यलाई भारतीय पक्षले रोकेको छ । वास्तवमा नेपालका किसानहरूले लामो समयदेखि उपभोग गर्दै आएको उनीहरूको लालपुर्जा प्राप्त जमिन, स्थानीय विद्यालय, हुलाकी सडकको केही भाग लगायतका क्षेत्रहरूलाई भारततर्फ पार्ने षडयन्त्र भएकोले नै नेपाली जनतद्वारा त्यसको व्यापक विरोध भएपछि नेपाल र भारतको संयुक्त सीमाङ्कनको कार्यलाई रोकिएको थियो ।

यसकारण स्पष्ट छ कि हुलाकी सडक नेपालको भूमिमा छ र त्यसलाई निर्माण वा कालोपत्रे गर्नबाट रोक लगाउन खोज्ने भारतीय साम्राज्यवादी नीतिको विरोध गर्दै यस विषयमा नेपाल सरकारले आवश्यक कदम उठाएर उक्त सडक निर्माणको कार्यलाई अगाडि बढाउनको लागि हाम्रो पार्टीले जोड दिन्छ ।’

यसैबीच राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले सडक अवरोध भएको ठाउँको शुक्रबार निरीक्षण गरेको छ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वमा गएको टोलीले सडकको निरीक्षण गर्नुका साथै स्थानीय र सशस्त्र प्रहरीसँग जानकारी लिएको थियो ।

त्यस क्रममा गत साेमबार भारतीय एसएसबीका जवानहरुले सडक निर्माण गर्न अवरोध गरेपनि अहिले निर्माण कार्य जारी रहेको राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभयो ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार